नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेत्रविक्रम चन्द र उनी नेतृत्वको नेकपा माओवादीसँग राजनीतिक तथा फौजी दुवै कार्यदिशा नभएको दावी गरेका छन् ।
सोमबारदेखि बुधबारसम्म राजधानीमा चलेको वैद्य माओवादीको राष्ट्रिय भेलाका निर्णयहरु सार्वजनिक गर्न बिहीबार पार्टी मुख्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष वैद्यले त्यस्तो कुरा बताएका हुन् ।
‘विप्लवजीहरुले नयाँ जनवादी क्रान्तिको कुरा नै छाडिसक्नुभयो, एकीकृत क्रान्तिको कुरा अघि सार्नु भएको छ’ अध्यक्ष वैद्यले भने– ‘जनवाद, समाजवाद र साम्यवादको कुरै गर्नुभएको छैन, प्रतिक्रियावादी–यथास्थितिवादीहरुसँग सत्तासाझेदारीको माग गर्नु भएको छ । यस्तो स्थितिमा उहाँहरुसँग हाम्रो एकता सम्भव हुँदैन ।’
चन्द माओवादीले देशैभर सानाठूला हमला गर्दै क्रमशः फौजी कार्यदिशा लागू गर्न थालेपछि आफ्नो र पार्टीको राजनीतिक औचित्य सकिने त्रासमा जनता र कार्यकर्तालाई आफू वरिपरि थाम्न मात्रै राजनीतिक कार्यदिशाको बहस आझेलमा पर्नेगरी ‘फौजी कार्यदिशालाई समृद्ध पार्ने’ प्रस्ताव अघि सार्दै त्यसैलाई ‘हाइलाइट’ गरेर प्रचार गर्नु भएको हो त भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष वैद्यले भने– ‘कुरा त्यसो होइन, हामीले राजनीतिक कार्यदिशालाई समृद्ध पार्ने कुरामै जोड दिएका छौं । राजनीतिक कार्यदिशालई समृद्ध पार्नकै लागि फागुनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय लिएका छौं’, उनले अगाडि भने– ‘हामी स्पष्ट छौं कि बल प्रयोगको नीतिलाई कार्यान्वयन नगरी जनवादी क्रान्ति पूरा हुनै सक्दैन र फौजी कार्यदिशालाई समृद्ध नपारी बल प्रयोगको नीति कार्यान्वयन हुनै सक्दैन । त्यसैले फौजी कार्यदिशालाई समृद्ध पार्ने प्रश्नमा पनि गम्भीरतापूर्वक छलफल गरेका हौं ।’
संसदीय व्यवस्था नमान्ने, भर्खरै लागू भएको संविधानलाई प्रतिक्रियावादी संविधान ठान्ने, बल प्रयोगको अनिवार्यतामा विश्वास गर्ने र विद्रोहबाटै सत्ता प्राप्त गर्ने कुरामा तपाईंहरु र विप्लवजीहरुसँग ठ्याक्कै कुरा मिलेपछि एकता चाहिँ किन नहुने ? अध्यक्ष वैद्यले प्रतिप्रश्न गरे– ‘उहाँहरुसँग न राजनीतिक कार्यदिशा छ न त फौजी कार्यदिशा । केका आधारमा अनि के गर्न भनेर गर्नु विप्लवजीहरुसँग एकता ?’