newskoseli.Com

यस्ता छन् वैद्य माओवादीको राष्ट्रिय भेलाका निर्णय (विज्ञप्तिको पूर्णपाठ)

‘२०७३ असार ६ देखि ८ गतेसम्म काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को ऐतिहासिक राष्ट्रिय भेला सम्पन्न गरियो । राष्ट्रिय भेलाका कार्यक्रम तथा निर्णयहरूबारे यस प्रेसविज्ञप्तिमार्फत् सार्वजनिक रूपमा जानकारी गराइएको छ ।

उद्घाटन सत्र

१. २०७३ असार ६ गते अपराह्न २ः३० मा केन्द्रीय समितिको केन्द्रीय सङ्गठन ब्युरोका सदस्य क. सीपी गजुरेलको उद्घोषण तथा अध्यक्ष क. किरणको अध्यक्षतामा ऐतिहासिक राष्ट्रिय भेलाको प्रारम्भ भयो ।

२. प्रारम्भमा सामना सांस्कृतिक परिवारका कलाकारहरूसित अन्तर्राष्ट्रिय गीत गायन गरियो ।

३. केन्द्रीय समितिको केन्द्रीय सङ्गठन ब्युरोका सदस्य क. परी थापाद्वारा स्वागत भाषण गरियो ।

४. नेपाली तथा विश्वक्रान्तिका वीर अमर सहिदहरूप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

५. अध्यक्ष क. किरणद्वारा राष्ट्रिय भेलाको समुद्घाटनसहित उद्घाटन मन्तव्य दिइयो । सो मन्तव्यमा उहाँले यस भीषण दुईलाइन सङ्घर्षमा दक्षिणपन्थी नवसंशोधनवादमाथि विचारधारात्मक तथा राजनीतिक रूपमा शानदार विजय हासिल गरिएको कुराबारे प्रकाश पार्नुभयो ।

६. केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष क. ओम गुरुङसहित विभिन्न जनवर्गीय मोर्चाका नेताहरूद्वारा राष्ट्रिय भेलाको सफलताका लागि शुभकामना मन्तव्य दिइयो । त्यसपश्चात् उद्घाटन सत्रको समापन गरियो ।

बन्दसत्र

७. २०७३ असार ७ गते बिहान ॐ साई पार्टी प्यालेसमा केन्द्रीय सङ्गठन ब्युरो सदस्य क. सीपी गजुरेलको सञ्चालन र अध्यक्ष क. किरणको अध्यक्षतामा बन्दसत्र प्रारम्भ भयो । अध्यक्ष क. किरणद्वारा राजनीतिक प्रतिवेदन र केन्द्रीय सङ्गठन ब्युरोका सदस्य क. रामसिंह श्रीसद्वारा पार्टी विधानको संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिए ।

८. त्यसपश्चात् दस्तावेजहरूबारे छलफल तथा बहसका निम्ति प्रतिनिधिहरूलाई १९ समूहमा विभाजित गरियो ।

९. यसै क्रममा १९ ओटै समूहका नेताहरूद्वारा दस्तावेजहरूबारे अभिमत राख्ने काम भयो । त्यसपश्चात् दस्तावेज प्रस्तोता कमरेडहरूद्वारा स्पष्टीकरण दिइयो । अनि सर्वसम्मत रूपमा उक्त राजनीतिक प्रतिवेदन तथा विधान पारित गरिए । उक्त प्रतिवेदनमा उल्लिखित मुख्य सारवस्तुलाई सङ्क्षिप्त रूपमा यसरी प्रस्तुत गर्न सकिन्छः

  • प्रतिवेदनमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय राजनीतिक परिस्थितिको सङ्क्षिप्त मूल्याङ्कन गरिएको छ । विश्वमा भूमण्डलीकृत साम्राज्यवादी उत्पीडन तथा हस्तक्षेप बढ्दै गएको, नेपालमा सामान्यतः साम्राज्यवाद र विशेषतः भारतीय विस्तारवादको चलखेल तीव्र बनेको कुरा उल्लेख गर्दै दलाल, नोकरशाही पुँजीपति एवम् सामन्तवर्गीय राज्यसत्ताको उत्पीडन तीव्र बन्न गएको कुरा बताइएको छ । संविधानमा उल्लेखित गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायतका विषय अङ्शतः सकारात्मक रहे पनि समग्रमा यो संविधान प्रतिक्रियावादी नै रहेको कुरा पुनः ठहर गरिएको छ र यस प्रकारको राज्यसत्ता,
  • संविधान तथा संसदीय व्यवस्थाको विरोध तथा भण्डाफोर गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको छ ।
    विश्व र नेपालमा पनि क्रान्तिका लागि यो बेला वस्तुगत अनुकूलताको तुलनामा आत्मगत प्रतिकूलता बढी छन् । त्यस स्थितिमा प्रतिकूलतालाई अनुकूलतामा बदल्न, क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलनको पुनर्गठन गर्न र क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई सुदृढ तुल्याउँदै नयाँ जनवादी क्रान्तिको तयारीका कामलाई गम्भीरतापूर्वक अगाडि बढाउन विशेष जोड दिनुपर्ने कुरा दर्शाइएको छ ।
  • भूमण्डलीकृत साम्राज्यवाद तथा विस्तारवाद, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, देशको सामाजिक तथा आर्थिक अवस्था, नेपाली कम्युनिस्ट आन्दोलनलगायत विषयबारे द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा सकारात्मक तथा तथ्यसङ्गत रूपमा अध्ययन गरी पार्टीको आधारभूत कार्यदिशा, रणनीति तथा कार्यनीतिलाई परिमार्जित, समृद्ध तथा विकसित तुल्याउनका लागि राष्ट्रिय सम्मेलनको आवश्यकता खट्किँदै आएको र दुई लाइन सङ्घर्ष फुटमा परिणत हुनुको कारण सो हुन नसकेको स्थितिमा आवश्यक तयारीसहित यही २०७३ साल फागुन महिनामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय लिइएको छ ।
  • पूर्वएमाओवादी वा माओवादी केन्द्र दक्षिणपन्थी नवसंशोधनवाद मात्र होइन, पश्चगामी दिशातिर अग्रसर भइरहेको स्थितिमा त्यससितको पार्टी एकतालाई खारेज गरिएको छ । यसैगरी, पहिलेदेखि प्रस्तुत गरिँदै आएका सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक मान्यताका आधारमा सच्चा कम्युनिस्टहरूसहित क्रान्तिकारी माओवादी शक्तिका बीचमा सिद्धान्ततः एकीकरण र ध्रुवीकरण हुन सक्ने मान्यतालाई स्वीकार गर्दै व्यवहारतः त्यस प्रकारका कुनै पनि शक्तिसित सिद्धान्त तथा कार्यदिशाबारे समान धारणा नबन्दासम्म हतारमा एकीकरण वा ध्रुवीकरणको प्रक्रियामा संलग्न नबन्ने ठेगान गरिएको छ ।
  • सङ्गठन तथा सङ्घर्षका तात्कालीन योजना तथा कार्यक्रम बनाउने जिम्मा केन्द्रीय समितिलाई दिइएको छ ।
    राष्ट्रियता, जनतन्त्र तथा जनजीविकालगायतका विषयलाई लिएर आफ्नै पहलमा कार्यक्रम ल्याउने र कतिपय अवस्थामा मिल्दाजुल्दा साझा विषयमा कार्यगत एकता गर्न सकिने ठेगान भएको छ ।

१०. यसपश्चात् क. सीपी गजुरेलद्वारा विभिन्न विषयमा आधारित समसामयिक प्रस्ताव प्रस्तुत गरियो र सो प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित भयो ।

११. राष्ट्रिय भेला व्यवस्थापन समितिका तर्फबाट केन्द्रीय सचिवालय सदस्य क. दिनेश शर्माद्वारा व्यवस्थापनसम्बन्धी रिपोर्ट प्रस्तुत गरियो र सो रिपोर्ट अनुमोदन गरियो ।

१२. अन्तमा, अध्यक्ष क. किरणद्वारा सङ्क्षिप्त मन्तव्यसहित पार्टीको ऐतिहासिक भेला भव्य रूपमा सम्पन्न भएको घोषित गर्दै भेलाको समापन गरियो ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर