NewsKoseli.Com

यस्तो थियो दोरम्बा हत्याकाण्डपछिको त्यो दृश्य

यसरी बटुल्यौं हामीले दोरम्बाका सहिदहरुको शव !

 

दोरम्बा हत्याकाण्ड हुँदा हामी कोशीपारि तिल्पुङमा थियौं । हामीले सरकारी सञ्चार माध्यममार्फत् दोरम्बा घटनाको पहिलो खबर सुन्यौं ।

सुरुमा त पत्याउनै सकिएन किनकि दाङको हापुरेमा डा. बाबुराम भट्टराई नेतृत्वको माओवादी वार्ताटोली र सरकारी वार्ता टोलीबीच उच्चस्तरीय वार्ता भइरहेको अवस्थामा यस्तो हुनै सक्दैन जस्तो हामीलाई लाग्यो । कतिपय सञ्चार माध्यमबाट कमरेड ललिकासहित ७ जनाको हत्या भएको खबर आए । केही माध्यमबाट १३ जना त केही माध्यमबाट ३ जना मारिएको खबर सुनिए ।

हामी एकदमै छट्पटाएर तत्कालीन एरिया सेक्रेटरी प्रयास, उज्ज्वल कमरेडहरू लगायतका बीच छलफल गर्यौं । सबै छलफल अनुउत्तरितजस्तै देखिए । एरिया इन्चार्ज कमरेड प्रयाससँग अनुमति लिएर हामी केही साथीहरू पारि जान खोज्यौं ।

Bodh Bahadur

लेखक बोधबहादुर चौलागार्इं

उच्च नेतृत्वसँग फोन सम्पर्क सम्भव भएन । भदौ २ गते बिहान ८ बजे हल्दी भन्ने नाका क्रस गरेर दोरम्बातर्फ लाग्यौं । बाटोमा पर्ने गेलु, फुलासी हुँदै घटना–विवरण बुझ्दै दोरम्बा पुगियो । १९ जना मान्छे मारिका हुन्, चतुरमान थामीको शब गाउँलेहरू आफैंले ल्याए, अरु शब त्यहीं छन् भन्ने कुरा दोरम्बा नपुग्दै थाहा पाइसकियो ।

फेरि पनि घटना दोहोरिन सक्ने सन्त्रास एकातिर, अर्कातिर आक्रोश र पीडाका साथ हामी घटनास्थल पुग्न आतुर थियौं । त्यहाँ पुग्दा त्रासदीयम वातावरण थियो । अहिलेसम्म पनि दोरम्बा हत्याकाण्डबारे बोल्नुपर्दा कसरी बोलूँ र कहाँबाट सुरु गरूँ भनेर म सधैं अल्मलिन्छु ।

घटनाको भोलिपल्ट दिउँसो दिन २ बजेतिर हामी घटनास्थल पुग्यौं र केही स्थानीय साथीहरू समेतको सहयोगमा यथार्थ विवरण बुझ्यौं । सबै साथीहरूको शब संकलन गरेर लाइनमा राखी गन्ती गर्यौं अनि अन्तिम श्रद्धाञ्जली दिनेतिर लाग्यौं ।

पाखाभरि यत्रतत्र छरिएका साथीहरूका शव हेर्दा खापैखाप दाउरा चिरेर फालेको जस्तो, मूढा पल्टाएर छरपस्ट फालेको जस्तो देखियो । यतिसाह्रो निर्मम क्षण पनि भोग्नुपर्ला भन्ने त हामीले कल्पनासम्म पनि गरेका थिएनौं, जो त्यस दिन प्रत्यक्षतः व्यहोर्नुपर्यो ।

दुस्मनप्रति तीव्र आक्रोश, घृणा र सुराकीको पहिचान गर्ने चुनौतीले हाम्रो दिमाग रिङ्ग्यायो । यो घटनाको सुराकी पार्टीभित्रकै हो वा बाहिरको ? यस घटनाले के–कस्तो राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभाव पार्ला ? यस्तैयस्तै प्रश्न रुमल्लिए हाम्रो मथिंगलमा । यो घटना सामान्य खालको वा ख्यालठट्टाको विषय थिएन ।

त्यतिसाह्रो दुःखद् र मर्माहत परिवेशमा समेत पार्टी परिस्थितिलाई पचाउँदै, संयमित हुँदै अगाडि बढ्ला र घटनालाई अन्तर्राष्ट्रियकरण गर्न समर्थ होला भन्ने त हामीले त्यसबेला सोच्न पनि सकेनौं । पछि त्यो घटना अन्तर्राष्ट्रियकरण भयो, रामेछापले साँच्चै नै वीरताको नयाँ कीर्तिमान कायम गर्यो भन्ने यथार्थ स्थापित हुँदै जाँदा त्यत्रो नरसंहारका बाबजुद पनि हामी सम्हालियौं, धैर्यता लियौं ।

हामीले अब चुनौतीको सामना गर्नुपर्छ र दुस्मनविरुद्धको आक्रोश र घृणालाई विस्फोटित गरेर ज्वालामुखी बन्नुपर्छ भन्ने प्रेरणा लियौं । त्यस परिवेशमा स्थानीय जनताले हामीप्रति देखाएको सदभाव र साथीहरूको अनुहार नियाल्दा वातावरण एकदमै त्रसित र भरेभोलि नै कहाँ के भइहाल्छ भनेजस्तो आभाष हुन्थ्यो । अर्कोतिर, चौतर्फी चनाखो भएर हेरिरहेका आँखाहरू न हामीलाई यहीं सिध्याउँछन् कि भनेजस्तो मुद्रामा देखिन्थे ।

सिमसिम पानी परिरहेको अनि कुहिरोले ढपक्क ढाकेको वर्षामासको त्यस दिन साथीहरूका ढाडिएर गन्हाउन थालेका शव उचाल्दै गर्दा कमरेडहरू चनाखो भएर यताउति हेरिरहेका थिए । कोही कमरेडहरू त डराएर त्यहाँ आउनै नमानेको अनुभव समेत हामीले पचाउँदै र पार गर्दै आएका छौं ।

नेपाली क्रान्ति अझै पूरा नभएकाले आवश्यक पर्छ भने अझै पनि यस्ता घटनाहरू धेरै पचाउनुपर्छ । परिआएमा अझै यीभन्दा ठूलठूला घटनाहरू समेतको सामना गर्नुपर्छ, नत्र सहिदहरूले दोरम्बामा बगाएको रगतको मूल्य चुक्ता हुन सक्दैन भन्ने मलाई लाग्दछ ।

त्यतिबेलाको हाम्रो पार्टी र अहिलेको पार्टीलाई तुलना गर्दा मन धेरै नै कुँडिन्छ । माथिदेखि तलसम्मको नेतृत्वपंक्तिमा देखिएका विकृति र दिशाहीनता हेर्दा मेरो मनमा एकैसाथ अनेकौं प्रश्न उब्जिन्छन् । कम्युनिस्ट के हो ? रगत किन बग्छ ? सर्वहारा वर्ग र कम्युनिस्ट पार्टीका नाममा यत्रा बलिदान किन हुने गर्दछन् ?

Doramba3

दोरम्बामा मारिएका मुख्य नेता बाबुराम लामाको शव

‘राजनीति भनेको फोहोरी खेल हो’ भन्ने आदर्शवादी उक्तिलाई कतै हाम्रै पार्टीले त चरितार्थ गरेको होइन भन्ने प्रश्न पनि उब्जन्छ । जबजब सत्ता अथवा कुर्सीको नजिक पुगिन्छ, तबतब जनताविरुद्ध धोका भएका विगतका इतिहास हामीबाट पनि दोहोरिन पुगेका हुन् कि भन्ने चिन्ताले सताउँछ । हाम्रो पार्टीको अहिलेको हालत देख्दा अहो ! साँच्चै नै कुनै हुलदंगा, जात्रामात्रामा त आइएन भन्ने लाग्छ ।

अहिलेसम्म पनि म दोरम्बा घटनास्थलका जनसमुदायसित निरन्तर सम्पर्क–सम्बन्धमै छु । त्यसै आसपास कार्यक्षेत्र बनाएर महिनामा एक–दुईपटक त्यो बाटो हिँड्छु । ‘यस्तायस्ता घटना घटे; जसलाई हामीले पचायौं, सामना गर्यौं तर अबको बाटो चाहिँ के हो त ?’ त्यहाँका जनताले हामीसँग बारम्बार यही प्रश्न दोहोर्याइरहेका छन् । अब हामीले के उत्तर दिने दोरम्बालाई ?

त्यो बाटो ओहोरदोहोर गर्दा दोरम्बा र देशैभरिका सहिदहरूले मलाई सोधिरहेको भान हुन्छ– ‘यतिबेला तिमीहरू कहाँ छौ ?’ शहादत पाएका मेरा साथीहरू त्यहाँ उभिएर (ठडिएर) मुठ्ठी उठाउँदै हामीलाई सोधिरहेका छन्– ‘तिमीहरू के गर्दैछौं ?’ मैले गलत काम गरें भने तिनले मलाई गिज्याउनेछन् र धिक्कार्नेछन्, तिनीहरूको घोर अपमान हुनेछ ।

तर, म क्रान्तिपथमा अविचल डटिरहें भने, मैले सही काम गरिरहें भने उनीहरूप्रति गद्दारी हुनेछैन, सहिदहरूको अपमान हुनेछैन र सहिदविरुद्ध धोका हुनेछैन भन्ने म सदैव सम्झन्छु । जहिले पनि त्यस ठाउँमा पुगेपछि म मुठ्ठी उठाएर शिर निहुर्याउँदै सहिदका सपनाप्रति प्रतिबद्धता प्रकट गर्छु– हामी झुकेका छैनौं र कदापि झुक्ने छैनौं । दोरम्बा र त्यस आसपास पुग्दा म जहिले पनि यही प्रतीज्ञाका साथ सबै सहिद कमरेडहरुको सम्झना गरेर बाटो लाग्छु ।

सहिदहरूका सपना पूरा गर्न हाम्रो पार्टी लाइन, सिद्धान्त र आफ्नो वर्गप्रति इमानदार हुनैपर्छ । हिजोको आचरण, संस्कार, संस्कृति, राष्ट्रिय–अन्तर्राष्ट्रिय छवि जोगाएर तिनलाई विकसित गर्दै अगाडि बढ्नैपर्छ । रिम, कम्पोसा आदि भाइचाराहरूसँगको सम्बन्ध विकसित गर्नैपर्छ ।

समग्र कम्युनिस्ट आन्दोलनका दृष्टिले अहिले हामी शिशु कक्षामा मात्र छौं, कम्युनिस्ट बनिसकेका छैनौं । कम्युनिस्ट बन्ने बाटो र प्रक्रियामा अघि मात्रै बढेका हौं, खुड्किला–खुड्किला गर्दै लम्कन प्रयत्न त गर्यौं तर सफल भइसकेका छैनौं ।

शोषित–पीडित वर्गका नाममा खोक्रो आदर्श छाँट्ने र भाषण मात्र गर्नेहरूलाई त्यो रगतको मान्य–मूल्यता थाहा पाउन गाह्रो पर्छ । आवरणमा कम्युनिस्ट खोल ओढेर हिजो युद्धकालमा माओवादी र जनयुद्धलाई सत्तोसराप गर्ने अनि अहिलेको सजिलो परिवेशमा तीन हात उफ्रेर माओवादीकै नाममा भाषण गर्नेहरूलाई पनि हामीले नजिकैबाट नियालिरहेका छौं ।

अहिलेसम्मका घटनाक्रम नियाल्दा शायद दोरम्बालाई बिर्सने, दोरम्बालगायत नेपाल आमाका हजारौं सपूत छोराछोरीले सत्य र न्यायका पक्षमा बगाएको रगत खेर जाने पो हो कि भन्ने गम्भीर चिन्ता हामीमा छाएको छ ।

भीमदत्त पन्तदेखि यहाँसम्म आइपुग्दा देश र जनताका पक्षमा जति रगत पोखिएको छ, त्यसलाई सम्झेर इमानदारिता र जनताप्रति वफादारिताका साथ अगाडि बढ्न हाम्रो पार्टी प्रतिबद्ध छ । तर, नीति–योजना र कर्मबाट नै त्यो प्रतिबद्धता व्यक्त हुनुपर्छ । हामी एक इन्च पनि गलेका छैनौं र गल्दैनौं बरु तिनै महान् सहिदहरूले देखाएको बाटोमा अघि बढ्छौं । दोरम्बालगायत देशैभरका हत्यास्थलहरू माओवादी पार्टीबाट सही नीति र भिजनको आशा गर्दै पर्खिरहेका छन् । पहरेदारी र खबरदारी गरिरहेका छन् ।

(लेखक तत्कालीन माओवादी केन्द्रसम्बद्ध किसान संघका केन्द्रीय नेता हुन्)

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर