के हो दोरम्बा हत्याकाण्ड ?
साउन महिनाको अन्त्यसँगै बाईस जना अजम्बरी योद्धाहरूको तातोरातो रगतले दोरम्बाको डाँडाकटेरी लछप्पै भिजेको दृई दशक पुग्न लागिसकेको छ । २०६० साउन ३२ गते तत्कालीन शाही सेनाले बाईस जना नेपाल आमाका सपूत एवं नेपाली क्रान्तिका अथक योद्धाहरूलाई निःशस्त्र अवस्थामा पक्राउ गरी पाशविक ढंगले हत्या गरेको थियो ।
जुन दिन डा. बाबुराम भट्टराई नेतृत्वको माओवादी वार्ताटोली र तत्कालीन मन्त्री नारायणसिंह पुन नेतृत्वको सरकारी वार्ताटोलीका बीच दाङको हापुरेमा गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको एजेन्डामाथि चर्काचर्की बहस हुँदै थियो । त्यसबेला कांग्रेस–एमालेहरू भने संविधानसभा निर्वाचन गरिनुपर्छ भन्ने माओवादीको माग कुनै पनि हालतमा स्वीकार्नु हुँदैन भन्दै सरकारलाई दबाब दिइरहेका थिए । ठीक त्यही दिन सरकारी सेनाद्वारा पूर्वी नेपालका लोकप्रिय माओवादी नेता बाबुराम लामा ‘पुष्प’ सहित बाईस जना होनहार योद्धाहरूलाई निःशस्त्र अवस्थामा पक्राउ गरी बर्बरतापूर्ण हत्या गरियो ।
माओवादी नेतृत्वले वार्ताबाट निस्कर्ष निकाल्ने प्रयास इमानदारितापूर्वक गरिरहेकै बेला घटाइएको जघन्य दोरम्बा हत्याकाण्डलाई त्यतिबेलै विश्वस्तरबाट मानवीयता विरुद्धको नृशंश अपराधका रूपमा चित्रण गर्दै सरकारी कायरताको भर्त्सना गरिएको थियो । दोरम्बा हत्याकाण्डमार्फत सरकारले भड्काएको द्वन्द्वमा दसौं हजार नेपालीहरूको रगत बगिसकेको छ ।
माओवादी शान्ति प्रक्रियामा आएयता पनि गौर हत्याकाण्ड भयो । राजधानीलगायत विभिन्न स्थानहरूमा माओवादी पार्टीका क्षेत्रीय र जिल्ला स्तरका नेता–कार्यकर्ता; वाईसीएल, किसान सङ्घसहित सहायक र जनसंगठनका नेता–कार्यकर्ता गरी सयौंको हत्या भयो । दसवर्षे जनयुद्धका क्रममा देशैभरिबाट दसौं हजारको बलिदान हुन पुग्यो ।
प्रत्यक्षदर्शीको बयान : यसरी भयो हत्याकाण्ड
दोरम्बा हत्याकाण्डबारे पंक्तिकारको जिज्ञासामा घटनाका प्रत्यक्षदर्शी एवं उक्त हत्याकाण्डका ‘जिउँदा सहिद’ हरि दाहाल ‘ललित’ भन्छन्— ‘दाङको हापुरेमा सरकार–माओवादी दोस्रो वार्ता चलिरहेको थियो । युद्धविरामको मौका, त्यसमा पनि तत्कालीन शाही सेना ब्यारेक वरिपरिको केवल ५ किलोमिटर क्षेत्रभन्दा बाहिर निस्कन नपाउने आचारसंहितामा सरकारले सहमति गरेको थियो । सेनाभन्दा करिव २५ कोष टाढा दोरम्बामा पार्टी बैठकका लागि तत्कालीन जिल्ला इन्चार्ज म, पार्टी सेक्रेटरी मैनकुमार मोक्तान ‘मदन’, रामेछाप जिल्ला जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’, एरिया इन्चार्ज अम्बिका दाहाल ‘ललिका’ लगायत ३२ जना भेला भएका थियौं ।’
ललित भन्छन्– ‘एकाएक सेन्ट्री बसेकी बहिनीलाई भीरबाट लडाएर हत्या गरेलगत्तै घर गएर फर्कंदै गरेका क. टेकबहादुर मगरलाई बाटैमा हत्या गर्यो । हामी बसेकै घरको करेसाबारीमा प्रदीप दोङ ‘रक्तिम’ लाई पनि हत्या गरेपछि हामी बसेकै ठाउँमा बन्दुक पड्केको आवाज आयो । साथीहरूलाई घेरामा मिलाएर मसहित दस जना साथीले सेनाको इन्सासबीचबाट घेरा तोड्यौं तर धेरै साथीहरूलगायत मेरी जीवनसङ्गिनी ललिका समेत घेरामा परिसक्नु भएको थियो । घेरामा पर्नुभएका सबै साथीलाई शाही सेनाले हात पछाडि लगेर डोरीले बाँधेको दृश्य मैले अलि परको घरबाट देखिरहेको थिएँ, मलाई साह्रै पीडाबोध भइरहेको थियो । हात बाँधेका निहत्था सबैलाई शाही सेनाले १ घन्टा हिँडाएर डाँडाकटेरी पुर्याई लाम लगाएर एकएक गर्दै गोली ठोकेर नृशंसतापूर्वक हत्या गर्यो । यस प्रकारको मानवताविरुद्धको अपराध गर्ने शाही सेनाका कमान्डरलाई कारबाही गर्नुको साटो पुरस्कृत गरेर सरकारले शान्ति सेनामा पठायो । जुन मानवअधिकारको ठाडो उल्लङ्घन थियो ।’
ललित भन्छन्– ‘दोरम्बा हत्याकाण्डका अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्नु पर्दछ । अपराधीहरूले उन्मुक्ति पाउनुहुँदैन, कुनै पनि बहानामा तिनलाई छुट दिइनुहुन्न ।’
यी हुन् दोरम्बाका सहिदहरु…
दोरम्बा हत्याकाण्डमा सहादत प्राप्त गरेका बाईस जना लालयोद्धाहरूमध्ये बाबुराम तामाङ ‘पुष्प’ रामेछाप जिल्ला जनसरकारका प्रथम प्रमुख थिए । वि.सं. २०१६ सालमा रामेछाप जिल्लाको बेथान गाविसस्थित भलवाडीमा जन्मेका बाबुराम २०३६ सालदेखि नै निरन्तर कम्युनिस्ट आन्दोलनमा लागी जनयुद्धको पहलकदमीदेखि नै सक्रियतापूर्वक युद्धमा होमिएका थिए ।
दोरम्बाका अरु सहिदहरुमा अम्बिका दाहाल ‘ललिका’, प्रदीप दोङ ‘रक्तिम’, उमा कार्की ‘सहारा’, ठूलोराम तामाङ ‘छोप्पा’, युवराज मोक्तान, लिला मोक्तान, चतुरमान थामी, सोमई थामी ‘संगिता’, टेकबहादुर थापामगर ‘विवेक’, विष्णु थापामगर ‘विमा’, श्याम तामाङ ‘इन्क्लाव’, हर्क घिसिङ ‘यथार्थ’, रवि चौहान ‘समिर’, उषा, हर्कलक्ष्मी राई ‘विमला’, लक्षुमन तामाङ र जमिन लगायत हुन् ।
जनताले दोरम्बा हत्याकाण्डमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न अपराधीहरूलाई सख्त कारबाहीको माग गरिरहेको स्थितिमा हत्याकाण्डको नेतृत्व गर्ने तत्कालीन शाही सेनाका मेजर राममणि पोखरेल हाल अमेरिकामा मोजमस्तीपूर्ण जीवन बिताइरहेका छन् । कूटनीतिक पहलमार्फत् उनलाई तत्काल नेपाल झिकाई मुद्दा चलाउन विभिन्न मानवअधिकारवादी संघ–संस्थाले सरकारलाई बारम्बार आग्रह गरे तापनि कुनै कारबाही हुन नसकेकोमा सहिद परिवार आक्रोशित एवं दुःखित छन् ।
अगुवा नै भँडुवा भैदिएपछि…
दोरम्बा हत्याकाण्डको केही पछि संविधानसभा निर्वाचन सम्पन्न भई माओवादी पार्टी मुलुककै सबभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित पनि भयो । तर, विडम्बना ! ऊ पनि प्रकारान्तरले कांग्रेस–एमाले झैं सामन्तवाद र विस्तारवाद–साम्राज्यवादको चंगुलमा फस्न पुग्यो ।
ऐतिहासिक संविधानसभालाई विनाउपलब्धि तुहाइयो । त्यसपछि देशी–विदेशी प्रतिक्रियावादीहरुद्वारा प्रायोजित नक्कली संविधानसभाबाट ‘नयाँ संविधान’ का नाममा प्रतिक्रियावादी संसदीय संविधान नै लादियो ।
यसरी आज माओवादी पंक्ति विभाजित, विशृङ्खलित र दिशाहीन भएर कुहिरोको कागझैं रुमल्लिइरहेका बेला अनि महान् नेपाली जनयुद्धको सिंगो इतिहास धूलीसात भएर यथास्थितिवादको पुनर्उदय भएका बेला दोरम्बा हत्याकाण्ड र जनयुद्धका हजारौं सहिद, घाइते–अपांग तथा बेपत्ता योद्धाहरुलाई सम्झँदा र उनीहरुको स्मृति दिवस मनाइरहँदा देशभरका सबै माओवादीहरुको हृदय जलेर छियाछिया भइरहेको छ । र, यसै परिवेशमा हामी दोरम्बा हत्याकाण्डको स्मृति दिवस मनाइरहेका छौं ।