newskoseli.Com

तामाङ सभ्यता र ल्होछार पर्व

यतिबेला नेपालका तामाङ, ह्योल्मो, सिङ्सा, थकाली, लार्के, तोप्के, भोटे लगायतका समुदाय तथा चीन, मङ्गोलिया, जापान, कोरिया, लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, म्यानमार, सिङ्गापुर, मलेसिया, फिलिपिन्स, ताइवान, मकाउ, हङकङ, भुटान, चीनको तिब्बत, भारतको झारखण्ड, लद्दाख आदि मुलुक/क्षेत्रमा चन्द्र पात्रो अनुसारको नयाँ वर्ष आगमनको स्वागत गर्न आ–आफ्नो रीतिथिति, परम्परा र सभ्यताअनुसार भव्य तयारीमा लागिरहेको पाइन्छ ।

नेपालमा यसरी चन्द्र पात्रो अनुसारको नयाँ बर्ष मनाउने समुदाय मध्यको प्रमुख जाति भनेको तामाङ जाति हो । तामाङ जाति नेपालको एउटा प्राचीन समुदाय पनि हो । यो समुदायको आफ्नो भाषा, धर्म संस्कृति, परम्परा रितिरिवाज, सामाजिक तथा राजनीतिक संरचना भएको आफ्नो भुमि र भूगोल भएको किपट राज्य प्रणाली अवलम्बन गर्दै आएको न्याय समानताको विश्वास गर्ने अत्यन्तै सोझा–सिदा इमानदार समुदायको रूपमा चिनिन्छ ।

नेपालमा यो समुदाय जनसंख्याको हिसाबले पाचौं ठूलो समुदाय, भाषिक हिसाबले तेस्रो ठूलो समुदायभित्र पर्दछ भने धार्मिक हिसाबले यो समुदाय बौद्ध धर्म मान्ने सबभन्दा ठूलो समुदाय हो । बुद्ध धर्म मान्ने समुदायहरुमध्ये तामाङ समुदाय नेपालको पहिलो बुद्ध धर्म मान्ने ठूलो एकल समुदाय पनि हो ।

लेखक

यो समुदायको नयाँ पुस्तामा धार्मिक बिचलन आएको पाइन्छ र आगन्तुक धर्मको स्वार्थमा परेको पनि देखिन्छ । तर, धर्म जे अपनाउने भए पनि आफ्नो संस्कृति भने छोडनु सकेको छैनन् र आफ्नो घरपरिवार र समाजमा ल्होछार पर्व भने धुमधामका साथ मनाउने गर्दछन् । अहिले नेपालमा तामाङ समुदाय कूल जनसंख्याको ६% अर्थात अहिले १६ लाख जनसंख्या रहेको तथ्यांक अनुसार देखिन्छ । तर, यो समुदायले तथ्यांकलाई मान्दैनन् र झण्डै २२ र २५ लाख जनसंख्या रहेकोे अनुमानित स्थिति छ । सेना, प्रहरी, प्रशासन, न्याय र राजनीति क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै अगाडि बढेको पाइन्छ । तर राज्यको समानुपातिक सिद्धान्तको हिसाबले हेर्दा अझैसम्म राज्यको निकायहरूमा पुग्ने संघर्ष बाकी रहेको छ । यो जातिको सामाजिक राष्ट्रिय संस्थाको रूपमा नेपाल तामाङ घेदुङ साझा संस्थाको रूपमा कार्यरत रहेको पाइन्छ ।

तामाङ समुदायले कहिलेदेखि ल्होछार मनाउन थाले त ?

नेपालमा तामाङ समुदायले सदियौ बर्ष देखिनै आफ्नो ल्हो परम्परा मान्दै आएको पाइन्छ । नेपालको तत्कालीन राज्यको साशकहरुले यस समुदायलाई मासिन्या मतवालीको दर्जामा राखेर दमन गरेपछि यो समुदायले आफ्नो परम्परा संस्कृतिहरु खुलेर उत्सवमय भएर मनाउन सक्ने स्थिति बन्द हुन गयो । त्यस कारण यस समुदायले निश्चित ठाउँमा गुम्बा, ल्हाखाङ, चोहो, मुल्मी, चोक, लामा , ताम्बा, गान्बा, बोम्बो, लोब्बन, लाप्ताबा जस्ता मुख्य व्यक्तित्वको घरमा लुकिछिपी मनाएको दर्दनाक मौखिक आख्यानहरुमा पाइन्छ ।

यसरी ल्होछार मनाउने परम्पराको एउटा बलियो आधार भनेको तामाङले “ख्रेला छेपागी ल्हो खाजीरो”, माघे संक्रान्तिलाई पनि एउटा आधार बनाएर ल्होछार खाबा भन्ने र एक अर्काको जन्म सोधपुछ गर्दा “तिला ल्होरी” अर्थात कुन ल्हो भनेर ल्हो सोधे पछि यो ल्होको हो भनेर गणना गर्ने गरिएकोले यो समुदायले सदियौ बर्ष देखि ल्होछार मानेको भन्न सकिन्छ । नेपालको लामो राणा साशन र पन्चायत व्यवस्थाको राजनीति प्रणालीमा परिवर्तन आए पछि २०४६ सालबाट आफ्नो समुदायको भाषा, धर्म संस्कृति परम्पराको खोजी र खुल्ला हर्षाेउल्लासका साथ ल्होछार चाडपर्व मनाउन तामाङ संघ संस्था, गुठी र विशेष गरेर नेपाल तामाङ घेदुङको सक्रियता हुन थालेपछि ल्होछार मनाउने नयाँ चरणमा प्रवेश गरेको देखिन्छ ।

यो प्रक्रियामा निरन्तर ल्होछार मान्ने समुदायको सहकार्य र ल्होछारलाई राष्ट्रिय मान्यता दिलाउन राज्यको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने क्रम चलिरहेको थियोे । प्रजातान्त्रिक भन्ने सरकारले पनि खासै महत्त्व दिएन ।

तर, २०५१ सालमा तत्कालीन एमालेको मनमोहन अधिकारीको सरकारले संयुक्त रूपमा तामाङ, शेर्पा, गुरुङ, ह्योल्मो, मगर, थकाली, दुरा, सिङ्सा, भोटे, लार्के आदि दस वटा समुदायको माग अनुसार सौर्य पात्रोमा उल्लेख कृष्णपक्ष माघ शुक्ल प्रतिपदाको दिनलाई सम्पूर्ण ल्होछार मान्ने समुदायको निमित्त एक दिन बिदा दिने भनेर २०५१ माघ १३ गते बसेको मन्त्री परिषदले निर्णय गरेपछि नेपालमा पहिलो पटक हिन्दू धर्मअन्तर्गतका चाडपर्व बाहेकका राज्यले सम्बोधन गरेको पहिलो ल्होछार पर्व थियोे ।

यसरी ल्होछार मान्ने समुदायले राज्यको बिदा प्राप्त गरे पछि काठमाडौमा तामाङ, शेर्पा, गुरुङ, ह्योल्मो, थकाली लगायतका समुदायले तीन बर्ष सम्म सहकार्य गर्दै संयुक्तरुपमा पनि ल्होछार मनाए । तर राज्यलाई गुरुङ समुदायले पुस १५ गतेलाई ल्होछार मान्ने भनेर तमु ल्होछारको मान्यता ५४ सालमा दिलाए । यसैगरी, शेर्पा समुदायले फागुन शुक्ल प्रतिपदाको दिन ग्याल्बो ल्होसार मान्ने भनेर ५५ सालमा मान्यता दिलाए पछी नेपालमा मुलत ३ वटा राष्ट्रिय मान्यताको ल्होछार र लोसार पर्व बन्नु पुग्यो । यसरी गुरुङ र शेर्पा समुदायले छुट्टाछुट्टै मान्यता लिएपछि तामाङ, ह्योल्मो लगायतका समुदायले माघ शुक्लक्षमा आधारित ल्होछार मनाउदै आएको छ र यस ल्होछारलाइ सोनाम ल्होछार पनि भन्ने गरिन्छ ।

माघ शुक्ल प्रतिपदामा आधारित ल्होछारको महत्त्व के हो त ?

ल्होछार अर्थात ल्हो भनेको वर्ग/वर्ष र छार भनेको नयाँ = ल्होछार भनेको नयाँ बर्ष र नयाँ पर्व भनेको हो । यो ल्होछार र पर्व मितिमा होइन तिथिमा आधारित हुन्छ र यो तिथि चक्रको आफ्नो पात्रो हुन्छ । अहिलेसम्म संसारमा थुप्रै पात्रोहरु भए पनि मुख्यत ३ वटा पात्रो प्रचलनमा देखिन्छ । यी पात्रो मध्य दुईवटा सौर्य÷सुर्यमा र एउटा चन्द्रमा÷जुनको गतिविधिमा चल्ने पात्रोहरु हुन । सुर्यको गतिविधिमा चल्ने पात्रोले घडीपोला अर्थात २४ घण्टाको एक दिन र त्यही समय अनुसारको महिनालाई निर्धारण गरेको पाइन्छ । एउटा महिना २९ दिन देखि ३१ र कुनै बर्ष ३२ सम्मको महिना बनाएर ३६५ दिनको एकबर्ष हुन्छ । अब यसरी बनेको पात्रो एउटा ग्रेगोरियन पात्रो हो भने अर्काे हामी नेपाली अर्थात हिन्दु जोतिष पण्डित आचार्यहरुले बनाउने पात्रो । यी दुबै पात्रोले चन्द्रमाको गतिविधिलाई पनि गणित गरेको हुन्छन् ।

यी दुबै पात्रोको समय गति मिल्दा मिल्दै पनि ग्रेगोरियन पात्रो अर्थात इस्वी सम्बतको अग्रेजी पात्रोले चन्द्रमास मान्दैन र हामीले हेर्ने गरेको नेपाल पन्चाङ्गको वि.सं. पात्रोले चन्द्रमास मान्ने गर्दछ । यहि कारण वि.सं. पात्रोले मलामास लागेको छ भनेर भन्ने गर्दछ भने तिथिहरु पनि जोडिएको हुन्छन् । अर्थात्, कहिलेकहीं औशी–पुर्णे दुई–दुई दिन परेको पाइन्छ र दशमी, एकादशी जस्ता चौथी पन्चमी दुई–दुई दिन पर्छन् । त्यस कारण हिन्दु धर्मका दशैं, तिहार कहिले असोजको पहिलो हप्तामै पर्छन् भने कहिले असोजको अन्तिम हप्ता र कहिले कार्तिक पनि छुने हुन्छन् ।

यी सबै चन्द्रमासको गतिविधिमा आधिपत्यको कारणले हो । तर चन्द्रमाको गतिविधिमा आधारित चन्द्र पात्रोको गणितमा ३५४ दिनको एकबर्ष हुन्छ भने एउटा महिना २८ दिन देखि २९, ३० र कहिलेकाही ३१ को एक महिना बन्ने गद्र्छ । यसरी बनेको चन्द्रपात्रो चाहिँ मुख्यत तिथिमा प्रष्ट हुन्छ । अर्थात चन्द्र पात्रोले कुनै स्थिति बिना दुई–दुई वटा तिथि राखेको हुदैन । यस्तो चन्द्र पात्रोमा आज पुर्णिमा लेखिएको छ भने सौर्य पात्रोमा हिजै पुर्णिमा परेको हुनसक्छ । त्यस कारण हामीले मानेको चन्द्रापात्रोले मलामास मान्ने गर्दछ । यस्तो मलामासको कारण यो हरेक तेस्रो वर्षमा प्रकाशित हुने चन्द्रपात्रो १३ महिनाको हुने गद्र्छ । बाह्र वर्षमा चारवटा पात्रो १३ महिना जोडिएको हुन्छ । यसलाई अधिकमासको वर्ष भन्ने गरिन्छ । यहि तेह्र महिनाको कारण यो पात्रो अफिसियल हुन सकेन किनकि कर्मचारीहरुलाई तेह्र महिनाको तलब दिनुपर्ने झन्झटिलो स्थिति भएको कारण यस पात्रो तिथिमा आधारित भएर योगफल, शुभ, अशुभ जस्ता कुरामा सिमित हुँदै गयो । हामी तामाङ र चीनिया सभ्यताको आधारित मुलुकमा चलाउने चन्द्र पात्रो (astrology) तत्त्व ज्याेतिषशास्त्र अनुसारको हुने हुन्छ ।

यस पात्रोमा बाह्रवटा जिवजन्तुको बार्षिक शासन प्रक्रिया चल्दै आउँछ । यो प्रक्रियामा एउटा जिवले एक वर्ष शासन गद्र्छ भने फेरि यो जिवलाई बाह्र वर्ष पछि मात्र पालो आउने हुन्छ र नेपालको पनौतिमा लाग्ने बाह्रवर्षे मेला मुलपुख्री/डुक ल्होमा पर्ने गरेको छ । यो पनि हाम्रो चन्द्रपात्रोको एउटा महत्त्वपूर्ण पद्धति हो । अब माघशुक्ल प्रतिपदामा मानिने ल्होछारको किन महत्व हुनगयो ? भन्ने प्रश्न आउने हुन्छ र किन यो ल्होछारलाई सोनाम ल्होछार भनियो ? भन्ने पनि आउँछ । यी कुरामा हामीहरुले बुझ्नुपर्ने हुन्छ । नेपालमा चन्द्र पात्रो प्रचलनमा नभएको भए पनि यहाँको हरेक चाडपर्व, तिथि चन्द्रपात्रोकै आधारमा चलेको छ । तामाङ समुदायले भन्ने गरेको “ख्रेलाछेपागी” सौर्य पात्रोबाट बुझ्ने गर्दा माघेसंक्रान्ति भनेको हो र चन्द्र पात्रोको प्रयोग माथि पनि दमन भएको कारण तामाङ समुदाय लगायत नेपालीहरुले माघेसंक्रान्ति मान्ने प्रचलन रहिआएको छ र तामाङ समुदायले “माघरी ल्हो पोवारो/फेराप लाबा” भन्ने गरेको हो ।

माघ महिना एउटा आधार मात्र हो । हामीले बुझ्ने कुराचाही “ख्रेलाछेपागी” हो । यो चन्द्र पात्रोको पहिलो महिना पद्र्छ । यो भनेको तिथिमा आधारित भएर हो । हाम्रो ल्होछार नयाँ वर्ष बैशाख १ गते भनेको जस्तो हुँदैन । गुरुङ समुदायले पुस १५ गते भनेको जस्तो पनि होइन । त्यस कारण हाम्रो ल्होछार यो वर्ष माघ ८ गते “ख्रेलाछेपागी” अर्थात नयाँ वर्षको पहिलो दिन भनेको हो । बाघ बर्ग सकिएर खरायो बर्गको प्रारम्भ दिन हो । ताक ल्होको अन्त्य पछि ह्योयी ल्हो सुरु भएको भएर यो नयाँ वर्षको स्वागत सत्कार गरिएको हो । ताक ल्होको अन्तिम दिन माघको ७ गते रात्री दिपावली गरेर बिदाइ गर्नेगर्छन् भने चन्द्र पात्रोको घडिपोला गन्ती गर्दा ह्योयी खरायो वर्षको प्रारम्भ रात्रीको ११ः०० बजे बाट पनि सुरुवात हुने हुन्छन् । यस्ता विशेषताहरु हुने हुन्छन् । तर हामीले अझैसम्म पनि हाम्रो ल्होछार परम्पराको पूरा कुरा त बुझ्ने ठाउँमा पुगेको छैनौं । तथापि हामीले जानेका र खोज अनुसन्धानले पुष्टि गरेका कुरामा त जानुपर्ने हुन्छ ।

हामीले ल्होछार कसरी मनाउने त ?

यो पनि महत्त्वपूर्ण कुरा हो । हाम्रो तामाङ समुदाय आफ्नो ह्रुयीप्रथा÷कुलपरम्परा भएको संस्कृति सभ्यताको समुदाय भएकोले ल्होछार मनाउदा तीन कुरामा ध्यान दिनुपर्ने हुन्छ । पहिलो ः पुर्व तयारी अर्थात ल्होछार आउनु भन्दा कम्तिमा एक महिना अगाडी देखि तयारीमा जुट्नुपर्छ । त्यस्तो तयारीका सुची बनाउने जस्तै घर परिवार पाहुना कति हुन सक्छन् त्यसको लेखाजोखा त्यसको आधारमा खाद्यान्न फलफुल पुजा सामाग्री आदिमा र दक्षिणा कति हुनसक्छ भनेर लाग्ने खर्चको आर्थिक जोहो गर्नुपर्ने हुन्छ । अब दोस्रोः  आफ्नो घर रंग रोगन गर्ने बाटो सरसफाई, धारापधेरी पानीको मुल सरसफाई, घरमा आउने मुख्यबाटोको प्रवेशद्वारमा ल्होछारला ज्याबाडान्बा, फ्याफुल्ला ल्होछारला डेन्साङ जस्ता शब्दमाहरुको स्वागत गेट बनाउने , अनि आफ्नो घरेलु खाद्य उत्पादनबाट र आफ्नोमा नभएको खाद्य बजारबाट खरिद गरेर विभिन्न खाद्य परिकार के के हुने कन्दमुल, आलुम , भाल्डुम , विभिन्न घेङ/रोटी सागसब्जी , अचारबिचार साकाहारी/माङ्साहारी के के गर्ने त्यही अनुसारको मासुको परिकार, घ्यू तेल, नुन खोर्सानी, मरमसला आदि तयारीको सूचीसहित अन्य आवश्यक धज्र्यु, लुङ्तार, साङ्ग/धुप बत्तीजस्ता सामग्री खरिद गरेर बजारबाट घरमा भित्र्याउने ।

साथै, आफ्नो घरको परिवार छोराछोरी बुहारी, छोरी ज्वाइ नाताले बोलाउनु पर्ने जति सबैलाई कम्तिमा १५ दिन अगाडि घरको मुल व्यक्तिको नामबाट निम्तो गर्ने । घर बाहिर गएका रहेका भए परदेशबाट छुट्टी लिने र कर्मचारीले थप बिदा लिएर आफ्नो घरमा आउन तयारी गर्ने । अब तेस्रो चाहिँ मुख्य तिथि आउनु अघिल्लो दिन यस वर्षको हिसाब किताब र लिनदिनको कारोबार सुन्यमा राख्ने अर्थात वर्ष भरिको आर्थिक कारोबारको अन्त्य (close) गर्ने र साँझ बेलुकी घरका सबै सदस्यले आ–आफ्नो तर्फबाट भएका कामको समीक्षा गर्ने र राम्रो नराम्रो जे भए पनि भोलि नयाँ वर्ष/नयाँ बर्ग देखि हरेक कुरा राम्रो गर्नेछु भनेर घरको ठुला व्यक्तित्व आखे म्हेमे, माम, आमा, आपा जस्तोको अगाडि प्रतिबद्धता व्यक्त गर्ने र यस बर्षको अन्तिम बिधाइ र नयाँ वर्ग आगमनको लागि धुमधाम दिपावली गर्ने घरमा आ–आफ्नो थरका लाब्बोन, लाप्ताबाको सल्लाह बमोजिम कुल लाई सम्झने पुजा गर्ने, लामा गुरुको सल्लाह लिएर धज्र्यु लुङ्तार ह्राप्ने गर्ने र यस वर्ष माघ ७ गतेनै धज्र्यु लुङ्तार राख्ने दिन पनि छ । यस्ता शुभकार्य गर्ने र माघ ८ गते सबै घरमा घर परिवारको जम्मा भएर ठुलोबडा बाट कोकोम्हेन्दोको टीका वा ब्रामाको टीका ठाउँ विशेष र हाम्रो तामाङ परम्परा प्रचलन अनुसार टीका साथै खादा लगाएर गक्ष अनुसारको दक्षिणा सहित सानाहरुलाइ आशिर्वाद दिने र सानाहरुले घरको ठुला व्यक्तिको हातबाट टीका खादा र आशिर्वाद ग्रहण गर्ने र दोस्रो दिनबाट आफ्नो निम्तो अनुसारको पाहुनालाई ल्होछार खुवाउने र आफू पनि निम्तो मान्नु जाने । अनावश्यक भट्किलो तरिका नगर्ने । आफ्नो रितिथिती परम्परालाई भावनात्मक सम्बन्ध प्रगाढ बनाउदै भव्यताका साथ ल्होछार मनाउने ।

यसरी मनाउने ल्होछार परम्परा तामाङ जातिको ऐतिहासिक संस्कृति पनि हो । तसर्थ गाउँमा आफ्नो छरछिमेक सबैलाई शुभकामना दिने रमाइलो नाचगान गर्ने सदभावपुर्ण व्यबहार गर्दै सबैलाई हाम्रो ल्होछार पर्व मैत्रीपुर्ण बनाउने गर्नु पद्र्छ र यो पर्व १५ दिन अर्थात पुर्णिमाको दिन सम्म मनाउन सकिन्छ । यो हामीले मनाउने ल्होछारबाट पृथ्वीको तापक्रम बढ्न थाल्छ । नयाँ नयाँ पालुवा पलाउन थाल्ने छ । फुलहरु फुल्नु थाल्ने छन सिकृक्क बनेका रुखले नयाँ पात पाउन थाल्नेछ । अनि जमिन पनि तात्न थाल्छ सुकेका झारपात पनि अंकुरण हुन थाल्ने छ । अर्थात प्रकृतिको रुप सबै नयाँ हुनेछ । हाम्रो ल्होछारको पाचौं दिन पन्चमी तिथि पर्दछ । त्यस दिन सबै किसानहरुले जमिन जोतेर मकै छर्ने आदि कृषि कर्म गर्न थालेका हुन्छन् ।

नवशिशु तोते बोली बोल्ने नानीहरूलाई ज्ञान दिने कार्य पनि प्रारम्भ गरिन्छ । हिन्दुधर्मका आधारमा सरस्वती पुजा गर्ने र नयाँ विद्यार्थी भर्ना गर्ने चलन छ । त्यस कारण यो ल्होछारलाइ सोनाम पनि भनेको हो अर्थात छ्योयी अनुसार अब नयाँ कृषिको वर्ष आरम्भ भयो । नयाँ पर्व आयो भनेको हो । यो ल्होछार पर्व ल्हो/वर्ग मञ्जुश्री पात्रो अनुसारको भएकाले अहिले तामाङ समुदायले मान्दै आएको पात्रो सबभन्दा पुरानो परम्परागत पात्रो पनि हो ।

ल्हास्सो थुजेछे ! ल्होछारला ज्याबाडान्बा !!

लेखक नेपाल तामाङ घेदुङका निवर्तमान महासचिव हुन्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर