यो मुक्ति यात्रामा धेरै काट्यौं उकालो,
अझै काट्नु छ
आइपुगियो नेटोमा,
शिखर पुग्न अझै बाँकी छ…
आफ्नै शब्द, संगीत र स्वरमा सजिएको यो सुन्दर गीत ‘रक्तक्रान्तिका गीतहरू’ शीर्षक अडियो सीडी, म्युजिक भिडिओ र गीतिपुस्तिकामा संग्रहित छ । यी र यस्तै हजारौं कालजयी एवं जीवनोपयोगी सरल, सहज र सुमधुर गीत–संगीतका सर्जक हुन् उनी ।
उनी शिरैमाथिबाट बारम्बार शाही सेनाका हेलिकप्टर उड्दा पनि रत्तिभर डराएनन्; बरु अविचल भई निरन्तर लागिरहे जनसांस्कृतिक अभियानमा । शोषित–पीडित जनतामा वर्गीय चेतना जगाउन र तिनलाई मुक्तिआन्दोलनमा सहभागी गराउन अहोरात्र खटे ।
शुक्लाफाँटा वन्यजन्तु आरक्षणमा रात बिताउँदै होस् या बबई र भेरीका किनारैकिनार गाउँगाउँ, जिल्लाजिल्ला चहार्दै होस्– उनी एकनास लागिरहे जनयुद्ध विजयी बनाउन । न घाम भने न पानी, न दिन भने न रात– उनको तन, मन र चिन्तनको एउटै लक्ष्य छ– सर्वहारा वर्गको राज्यसत्ता स्थापना ।
टाउकामा कालो क्याप, आँखामा पावरफुल चस्मा, फुल्दै गएको कपाल र चाउरी पर्दै गएको अनुहार; तैपनि चुस्त–दुरुस्त देखिन्छन् । छ दशक आसपास वृद्धवयको शरीरका बाबजुद स्वर अझै क्रान्तिकारी छ, उनको सोचजस्तै । समकालीन नेपाली जनसांस्कृतिक अभियानका सर्वाधिक आदरणीय पात्र खुसिराम पाख्रिनको जन्म ११ कात्तिक, २००९ मा गोरखाको खरिबोटमा भएको थियो ।
सगरमाथाको काखमा
नेपाल भन्ने देश छ
त्यही नै हाम्रो देश रे
भोका र नाङ्गाको बास छ…
यिनै शब्दहरूबाट सांगीतिक यात्रा सुरु गरेका पाख्रिन, तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा दस वर्षसम्म सञ्चालित नेपाली जनयुद्धको एउटा पाटोका कमान्डर हुन् । कलम, मादल र बन्दुकको अभूतपूर्व संयोजन सहित अघि बढेको जनयुद्धका प्रमुख तीन मोर्चामध्ये मादलको मोर्चालाई प्रमुखता दिँदै सबै मोर्चामा सहभागी भए पाख्रिन दाइ ।
जतिबेला नेपालका गाउँवस्तीहरू बन्दुक र बमका धमाकाभित्र रुमल्लिइरहेका हुन्थे, त्यतिबेला त्यसै आसपासका ग्रामीण इलाकाहरूमा घन्किरहेका हुन्थे मादलहरू र गुञ्जिरहेका हुन्थे जनवादी गीतहरू ।
गीत–संगीतका तिनै झन्कारमय परिवेशमा अत्यधिक मात्रामा गुन्जिरहे पाख्रिन दाइकै शब्द, संगीत अनि स्वरहरू पनि ।
अझैसम्म पनि साँझ–बिहान टार्न धौ–धौ पर्ने पाख्रिन दाइको आर्थिक अवस्था उकालो लाग्ने कुनै मेलो देखिएको छैन र उनी त्यतातिर केही सोच्ने धुनमै छैनन् । शारीरिक उचाइ भने सामान्य नेपालीकै जत्तिको भएका पाख्रिनको राजनीतिक उचाइ चाहिँ नेपालका ‘राजनीतिज्ञहरू’ को भन्दा निकै ऊँचो छ ।
‘अहिले अलिअलि ‘डायबिटिज’ छ’ आफ्नो स्वास्थ्यस्थिति अवगत गराए पाख्रिन दाइले । युद्धकालमा डाँडाकाँडा घुम्दै साम्यवादको बिऊ छर्न खटेका पाख्रिन अझै पनि छोटो दुरीका बाटोमा मोटर नचढी पैदल यात्रा गर्न रुचाउँछन् ।
पाख्रिन दाइको परिचय जनकलाकारमा मात्र सीमित छैन । उनी ०६४ पछि मुलुकको सर्वाधिक प्रभावशाली राजनीतिक दल बनेको तत्कालीन एकीकृत नेकपा (माओवादी) का सभासद् थिए । उनी त्यस ताका पार्टीको केन्द्रीय सल्लाहकार पनि हुन् ।
पुराना नेता भएर पनि उनको सरल जीवनपद्धति र दिनचर्याले पाख्रिन दाइ वास्तवमै एकजना सच्चा कम्युनिस्ट भएको पुष्टि गर्दछ । एक हातमा बन्दुक र अर्को हातमा मादल बोकेर जनयुद्धमा होमिने थोरैमध्येका एक हुन् उनी । पञ्चायतकालदेखि सुरु गरेको जनसांगीतिक अभियान यहाँसम्म आइपुग्दा सुरुसुरुका सहकर्मीहरू कोही पनि नभेटिनुले उनलाई दुःखित तुल्याउँछ ।
जनयुद्ध सफल पार्न त्यत्रो त्याग र वलिदानका साथ अहम् भूमिका निर्वाह गरेका जनकलाकारहरूलाई अहिले पार्टीले बेवास्ता गरेकोमा दुःखित हुँदै पाख्रिन दाइ भन्छन्– ‘देशमा सामन्ती व्यवस्था बहाल रहँदा नौमती बाजा बजाउने ‘दमाइँ’ र ‘गाइँने’ हरूसँग जस्तो व्यवहार गरिन्थ्यो, अहिले जनकलाकारहरूसँग पार्टीले त्यस्तै व्यवहार गर्न थालेको छ ।’ पाख्रिन दाइ भन्छन्– ‘राज्यले न जनकलाकारहरूको सम्मान गर्न सकेको छ न त जनसंस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्न नै चासो देखाएको छ ।’
संस्कृतिका नाममा मौलाउँदै गएको विकृति अर्थात्, यहाँ बढ्दै गएको विदेशी संस्कृतिको दुष्प्रभावप्रति पनि पाख्रिन दाइ चिन्तित छन् । गम्भीर मुद्रामा उनले भने– ‘राज्यले मौलिक र प्रगतिशील संस्कृतिलाई प्रोत्साहित गर्ने ठोस नीति ल्याएन भने नेपालमा प्राचीन एवं मौलिक संस्कृति बाँकी रहने छैन ।’ हामीसँगको कुराकानीका क्रममा समेत उनीभित्रको कलाकार बारम्बार प्रकट भैरह्यो । आजभोलिको ‘आधुनिक’ पुस्ताले नेपाली गीत–संगीतको बेवास्ता गर्न थालेको देख्दा भोलिका दिनहरूमा नेपालले मौलिक पहिचान गुमाउने डर पाख्रिन दाइमा व्याप्त थियो ।
पाख्रिन दाइले यतिबेर आफ्नो दिमागमा चिन्ता र चिन्तन दुवैलाई प्रश्रय दिएका छन् । तरल एवं अस्थिर राष्ट्रिय राजनीति, वैदेशिक शक्तिहरूको बढ्दो प्रभाव र हस्तक्षेप, माओवादी पार्टीभित्र चरमोत्कर्षमा पुगेको सैद्धान्तिक–वैचारिक अन्तर्संघर्ष आदिलाई उनले एकदमै नजिकबाट नियालिरहेका छन् ।
‘वर्गीय मुक्ति आन्दोलनलाई वर्गसमन्वय र संशोधनवादको भाषमा लैजान चाहने पक्ष र कुनै पनि हालतमा माओवादको मूल मर्म त्याग्नुहुन्न भन्ने क्रान्तिकारी पक्षबीचको घर्षण’ का रूपमा विश्लेषण गर्छन् पाख्रिन दाइ वर्तमान माओवादी अन्तर्विरोधलाई । उनी चार नेताबीच हालै भएको सातबुँदे सम्झौतालाई ‘एनेकपा (माओवादी) ले गरेको ऐतिहासिक चुक’ को संज्ञा दिन रुचाउँछन् ।
‘प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्णरूपले भारतपरस्त हुनुहुन्छ र भर्खरै उहाँले गरेको बिप्पा सम्झौता राज्यको हितमा होइन, भारतलाई रिझाउने मनोकांक्षाद्वारा प्रेरित छ’ पाख्रिन दाइको प्रष्टोक्ति छ– ‘पार्टीलाई जनयुद्धकालदेखि अहिलेको अवस्थासम्म ल्याउन कमरेड प्रचण्डले खेलेको भूमिकाको सम्मान नगर्नु अन्याय हुन्छ तर अहिले आएर उहाँले पनि बाटो बिराउनु साह्रै नै दुःखको कुरा हो ।’
अध्यक्ष प्रचण्डलाई जनविद्रोहको कार्यदिशाबाट विमुख हुन नदिन वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ अहोरात्र लागिरहेको बताउँछन् पाख्रिन दाइ । एकातिर पार्टी अध्यक्ष प्रचण्डको बचाउ गर्नु अनि अर्कातिर ‘क्रान्तिकारी पक्ष’ को दृढ समर्थनमा उभिने चातुर्यता देखाए पाख्रिन दाइले । यसलाई हामीले ‘रूपान्तरण सहितको पार्टी एकता’ खोज्ने पाख्रिन दाइको ‘सत्प्रयास्’ का रूपमा अर्थ्यायौं ।
‘तर पार्टी यसरी नै अगाडि बढ्ने हो भने एमालेकरणबाट बच्न वरिष्ठ उपाध्यक्ष किरण र उहाँपक्षीय ‘क्रान्तिकारी’ हरूले नयाँ बाटो रोज्ने बाध्यता सिर्जना हुन्छ’– पाख्रिन दाइले वैचारिक पक्षधरता लुकाएनन्– ‘अहिलेको सम्झौताबाट जनमुक्ति सेनालाई विघटन गर्ने षड्यन्त्रले जितेको छ । विश्वमा कहीं पनि बन्दुक नबोक्ने तर कुटो र कोदालो बोक्ने सेना हुँदैन भन्ने कुरा जान्दाजान्दै यस्तो ‘प्याकेज’ लाई स्वीकारेर पार्टीको नेतृत्वपङ्क्तिले जनसेनाको अपमान गरेको छ ।’
‘पुनर्स्थापना र स्वैच्छिक अवकासको प्याकेज हेर्दा त मात्रैजस्तो देखिन्छ तर यसबाट कुनै हालतमा जनसेनालाई फाइदा पुग्दैन’ पाख्रिन दाइ भन्छन्– ‘किस्तामा पाइने पैसा सदुपयोग गर्नु असम्भव हुन्छ ।’ सातबुँदे सम्झौतामा हस्ताक्षर गरेर मूल नेतृत्वले पार्टीलाई प्रतिक्रान्तिकारीहरूको जालमा फसाएको उनको ठहर छ ।
‘मोहन वैद्य ‘किरण’ एक निष्ठावान् कम्युनिस्ट नेता हुन्’ पाख्रिन दाइ भन्छन्– ‘अहिलेको उहाँको उद्देश्य भनेको पार्टीलाई गलत दिशामा जान नदिन खबरदारी गर्नेतिर मात्र केन्द्रित छ ।’ द्वन्द्वकालमा जनताले कब्जा गरेका सामन्त, फटाहा र जमिनदारको जग्गा एनेकपा (माओवादी) ले धेरै पहिलेदेखि जनतालाई देखाउँदै आएका सपनाहरूको एउटा अंश भएकाले विनाविकल्प फिर्ता गराउन खोज्नु आफ्नै खुट्टामा बन्चरो हान्नुजस्तै भएको बताउँछन् पाख्रिन दाइ ।
जनयुद्धकालमा दसतिर भागेर सहजकालमा माओवादीमा थुप्रिएका ‘नयाँ नेताहरू’ लाई काखी च्यापेर अध्यक्ष र प्रधानमन्त्री (बाबुराम भट्टराई) सत्ताकेन्द्रित भएको पाख्रिन दाइको बुझाइ छ । ‘मन्त्रिमण्डलको विस्तार पनि त्यत्तिकै विडम्बनापूर्ण छ’ उनी भन्छन्– ‘जनताले दिएको म्यान्डेटबाट चुकेर सामन्तीहरूलाई फाइदा पुग्ने खालको संविधान बनाउन अध्यक्ष र प्रधानमन्त्री पक्षधरहरू ‘सक्रिय’ हुनु चिन्ताको विषय हो । संघीयता नै नचाहँने पार्टीहरूलाई खुशी बनाउने प्रयासमा जनचाहनाविरुद्ध विश्वासघात गर्न खोज्नु झनै विडम्बना देखिँदैछ ।’
‘लचकता’ का नाममा ‘विचारबाट पतन’ हुनुलाई धोखा ठान्छन् पाख्रिन दाइ । जनयुद्धको एउटा बफादार योद्धा हुन पाएकोमा उनलाई जति खुशी र गर्व छ, उति नै ठूलो जनयुद्धको घाउ पनि बोकेर बाँचिरहेका छन् ।
स्वभावैले हँसिला र फुर्तिला पाख्रिन दाइ जनयुद्धका तितामिठा घटनाहरू सम्झँदा भने बीचबीचमा भावुक हुन्छन् । यही भावुकता एउटा यस्तो विशेषता हो, जुन विशेषता जनयुद्धसँग प्रत्यक्षतः जोडिएका प्रत्येकजसो अभियन्ताहरूले हासिल गरेका छन् ।
अर्थात्, उनी एकजना त्यस्ता पिता हुन्, जसले आफ्नो मुटुको टुक्रासरहको छोरालाई जनयुद्धको मैदानमा गुमाए । यो प्रसंग सम्झँदा भने उनी एकाएक भावुक हुन्छन् । ‘हुन त सहिदपिता हुनु आत्मसम्मानको विषय हो’, उनी भन्छन्– ‘तर अहिले पार्टीले न त सहिदका सपना पूरा गर्ने ठोस कार्यक्रम अघि बढाएको छ न त सहिद परिवारलाई केही गर्न सकिराखेको छ ।’
दुःखित हुँदै पाख्रिन दाइ भन्छन्– ‘अब पार्टी सिद्धिन्छजस्तो पनि लागेकै हो तर किरणजीले क्रान्तिलाई निरन्तर अगाडि बढाउन खोजेको देख्दा चाहिँ ठूलै आशा जागेको छ ।’
जनयुद्धको सुरुआतभन्दा निकै अघिदेखि नै पार्टीलाई छहारी दिइरहेको खुसिराम पाख्रिन नामक बुढो रुख अझै शिथिल भएको छैन; न त यसले शितलता नदिई आफ्नो धर्म नै छाडेको छ । चिन्ता छ त केवल क्रान्तिलाई आधा बाटोमा अलपत्र छाडिहिँड्ने ‘धोकेवाज’ हरूको ‘बेइमानी’ प्रति मात्र छ ।
क्रान्तिका क्रममा आइपर्ने सबैखाले उतारचढाव, घुम्ती र मोडहरूलाई प्रतिबिम्बित गर्दै हजारौं जनवादी गीतहरू पहिले नै सिर्जन सक्नु चाहिँ उनको दूरदर्शिता र वैचारिक परिपक्वताकै परिचायक हो । राजनीति गर्ने मानिस, अझ मार्क्सवादी कहिल्यै बुढो हुँदैन भन्ने कुराको प्रमाणका रूपमा पाख्रिन दाइलाई नै लिन सकिन्छ ।
युवावस्थामा पलाएको क्रान्तिकारी भाव उनीबाट घटेको छैन, बरु बढेकै छ । मार्क्सवाद–लेनिनवाद–माओवादप्रति सतिसाल झैं निष्ठावान् पाख्रिन दाइ नयाँ पुस्ताका क्रान्तिकारीहरूका निम्ति आदर्श पात्र एवं प्रेरणास्रोत हुन् ।
(‘पाख्रिन दाइको खोजी : रूपान्तरण सहितको एकता’ शीर्षकमा जनजिब्रो साप्ताहिक, वर्ष– १७, अंक– १५ (९ मंसिर, २०६८) मा प्रकाशित यो सामग्री ५ मंसिर, २०७४ मा दिवंगत जनसांस्कृतिक अगुवा खुसिराम पाख्रिनप्रति श्रद्धाञ्जलीस्वरूप हामीले यहाँ प्रस्तुत गरेका हौं । –सम्पादक)
र, यो पनि पढ्नुहोस्–
प्रसिद्ध जनकलाकार एवं माओवादी नेता खुसिराम पाख्रिनको निधन
यो हो खुसिराम पाख्रिनले गाएको अत्यन्तै लोकप्रिय एउटा गीत…
यो हो खुसिराम पाख्रिनले गाएको जीवनकै अन्तिम गीत…
https://www.youtube.com/watch?v=Yea-nHt-FMs