newskoseli.Com

कहिले, कोबाट, किन र कसरी मारिए आलोक ?

दसवर्षे जनयुद्धमार्फत नेपालको एउटा प्रभावशाली राजनीतिक शक्तिका रुपमा उदायो तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) । माओवादी पार्टीको इतिहासलाई धेरैले नितान्त नयाँ अर्थात् नवोदित शक्तिका रुपमा चर्चा गर्ने गर्दै भन्ने गरेका छन्– ‘जम्मा १० वर्षको इतिहास बोकेको कान्छो राजनीतिक शक्ति ।’

तर, यथार्थता त्यस्तो होइन । वि.सं. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुँदादेखिकै एउटा प्रमुख प्रवृत्ति अथवा धारको निरन्तरता हो माओवादी पार्टी । वि.सं. २००६ देखि नै नेपाल कम्युनिस्ट पार्टीभित्र विद्यमान दुई धारमध्ये एउटा धार तत्कालीन माले हुँदै अहिलेको एमालेमा आइपुग्यो । त्यस्तै अर्को धारचाहिँ तत्कालीन चौथो महाधिवेशन (चौम), मशाल हुँदै अहिलेको माओवादी आन्दोलनका रुपमा विकसित भएको हो ।

२०५२ मा जनयुद्ध थाल्नुभन्दा केही वर्ष अगाडि अर्थात वि.सं. २०४७ को अन्त्यतिर माओवाद–विचारधारा अँगाल्ने ४ वटा कम्युनिस्ट घटकहरु तत्कालीन नेकपा (मशाल), नेकपा (चौम), सर्वहारा श्रमिक संगठन र मोहनविक्रम सिंहको मसालबाट विभाजित भई हरिबोल गजुरेल (शितलकुमार) को नेतृत्वमा बनेको बाबुराम भट्टराई, हिसिला यमी, देवेन्द्र पौडेल, गंगा श्रेष्ठलगायत रहेको समूहका बीच पार्टी एकता भई बनेको थियो नेकपा (एकताकेन्द्र) । र, २०५२ फागुन १ गते जनयुद्ध थाल्नुभन्दा झन्डै पौने १ वर्ष अघि मात्रै नेकपा (एकताकेन्द्र) को नाम बदलेर नेकपा (माओवादी) बनाइएको थियो ।

नेकपा (माओवादी) निर्माणको मूल पहलकर्ता, नेतृत्वकर्ता र दसवर्षे जनयुद्धको प्रमुख योजनाकार थियो तत्कालीन नेकपा (मशाल) । एकताकेन्द्र बन्नुभन्दा केही अघिसम्म मोहन वैद्य महामन्त्री रहेको नेकपा (मशाल) मा एकताकेन्द्र बन्दाताका भने पुष्पकमल दाहाल (प्रचण्ड) महामन्त्री भइसकेका थिए । सो पार्टीका प्रभावशाली नेताहरुमा दाहालसहित वैद्य, चन्द्रप्रसाद (सीपी) गजुरेल, पोस्टबहादुर बोगटी, रामबहादुर थापा (बादल), यानप्रसाद गौतम (आलोक), कृष्णबहादुर महरा, सुरेश वाग्ले (बासु) , देव गुरुङ आदि थिए ।

Aalok_Picयसरी नेपालमा माओवादी धाराको विकास, विस्तार र संस्थागत गर्न नेतृत्वदायी भूमिका खेलेका पुरानो पुस्ताका वरिष्ठ नेताहरुमध्ये कोही प्रधानमन्त्री बने, कोही मन्त्री बने भने कोही यतिबेला पनि प्रभावशाली नेता छन् । सोही हैसियतका सुरेश वाग्ले (बासु) जनयुद्धकालमै सहिद बने, पोस्टबहादुर बोगटी वरिष्ठ मन्त्री र पार्टीको केन्द्रीय सचिव बनेपछि केहीअघि उनको निधन भयो तर सोही बराबर हैसियतका यानप्रसाद गौतम (आलोक) को भने जनयुद्धकालमै बडो अपमानजनक ढङ्गबाट गुमनाम ‘मृत्यु’ भयो ।

पार्टी कारबाहीमा परेर सबै जिम्मेवारीबाट मुक्त भई तत्कालीन जनमुक्ति सेनाको हिरासतमा रहेका भनिएका यानप्रसाद गौतमलाई लिस्ने–गाम भीडन्तताका २०५९ वैशाख २२ गते तत्कालीन शाही सेनाले मारेको कुरा प्रचारमा आयो । तर, उनी न पार्टीबाटै मारिए, न सरकारी सुरक्षा फौजले मार्यो– आधिकारिक र प्रष्ट जानकारी कहींकतैबाट सार्वजनिक भएको छैन ।

युद्धसरदारीय कार्यशैली, सैद्धान्तिक–राजनीतिक एवम् सांस्कृतिक विचलन, आर्थिक अपचलन र ढाँटछलपूर्ण व्यवहार गरेको भन्दै तत्कालीन नेकपा (माओवादी) ले सो पार्टीका त्यतिबेलाका पोलिटब्युरो सदस्य एवम् पूर्वी कमान्ड इन्चार्ज यानप्रसाद गौतम (आलोक) लाई पार्टी सदस्य समेत खोसेर जनमुक्ति सेनाको नियन्त्रणमा राखेर ‘कारबाही’ गरेको थियो । पार्टी केन्द्रीय समितिको बैठकबाटै गौतमका उल्लेखित ‘व्यवहार’ लाई ‘आलोक प्रवृत्ति’ को नाम दिएर प्रस्ताव नै पारित गरिएको थियो ।

यतिबेला आधा दर्जनभन्दी बढी ‘पार्टी’ मा विभक्त माओवादी घटकका धेरैजसो नेताहरु त्यतिबेला आलोकमाथि लगाइएका उपरोक्त ‘आरोप’ बाट मुक्त हुने देखिँदैनन् । मान्छे हो, कमीकमजोरी हुन्छन् । आलोकबाट पनि धेरै कमीकमजोरी र गल्ती–त्रुटिहरु भए होलान् र त्यस्ता गल्ती, कमीकमजोरी र त्रुटिहरु अरु नेताबाट पनि नभएका छैनन्, कुरा समय–सन्दर्भ र धेरैथोरैको मात्रै हो । तर, नेपालमा कम्युनिस्ट आन्दोलनलाई विस्तार एवम् विकास गर्न यानप्रसाद गौतमको निकै ठूलो भूमिका र योगदान रहेको यथार्थतालाई कसैले नकार्न मिल्दैन र सक्दैन ।

यानप्रसाद गौतमले धर्ती छाडेको आज ठ्याक्कै १८ वर्ष पूरा भएको छ । कम्युनिस्ट आन्दोलनको इतिहासलाई उजिल्याउन, माओवादी धारालाई विकास, विस्तार र संस्थागत गर्न, जनयुद्धको उठान, निरन्तरता र विकास गर्न तथा सामन्तवाद–साम्राज्यवादको दबदबालाई धूलोपीठो पार्न उच्च तहबाट योगदान गर्दै सिङ्गै परिवारसहित आफ्नो जीवनलाई वलिदान गरेका यानप्रसादको जीवन एवम् उनी कहिले, काेबाट, किन र कसरी मारिए भन्नेबारे यथार्थपरक ढङ्गबाट प्रकाश पार्नु आफूलाई कम्युनिस्ट र अझ माओवादी समेत दावी गर्ने सबै घटक एवं जीवित नेताहरुको न्यूनतम कर्तव्य होइन र ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर