अहिले म व्यस्त समयका बाबजुद सानो सन्देशमूलक पत्र कोर्दै छु । प्रचण्डजी ! आजभोलि त खुब लाजिम्पाटको बाहिर मूल ढोकामा एकताको हाटबजार लागेको छ रे । म सोच्दै छु, एकताको हाटबजारमा पनि उस्तैउस्तै पात्रको जमघट रहेछ । फुर्सदको समय निकालेर अखबारका पाना पल्टाउने गर्छु । र, देख्छु– मणि थाप , मातृकाप्रसाद यादव, रामबदुर थापा, यस्तैयस्तै । अब तपाईंको एउटा ठूलो ‘धर्म’ हुनेछ ।
जसले तपाईंलाई युद्धमा साथ दिएनन् र क्रान्तिका अनेकौं कठिनाइसँग तपाईंको नाता र अस्तित्व निस्तेज पार्ने काममा सहयोग गरे, उनै तपाईंको विश्वसनीयताका मुख्य पात्रको भूमिकामा उभिँदै छन् । यसमा मलार्इ गर्व लाग्छ किनकि तपाईं र तपाईंका सहयोगी यस्तैयस्तै पात्रले यो उचाइमा पुर्याउन सहयोग गरेको हुन् – किन एकताको नामको हल्ला फिजाउँदै गोयबल्स शैली अपनाउँदै आफ्नो समय खेर फाल्दै छौ ?
अब त सबैले चिनिसके प्रचण्ड एक जमनाको अलि मानिने क्रान्तिकारी धारभित्रको शङ्कास्पद तर अपत्यारिलो निरंकुशताको श्रीपेचबिनाको महाराज भनेर सम्मानित गरेकै हुन । तर, जब तिमीमा एउटा अहम चढ्नु अनि तिमीले अजय सुमार्गीसँगको घनिष्टता बढाउनु यी त सबै तिम्रो जीवनको संयोजित परिघटना मात्र हुन् ।
वास्तविकतामा तिमीले आफ्नो सक्कली अनुहार देखाउन हामीले धेरै समय कुर्नुपरेन । आखिर परिचय दिएरै छाड्यौ । तिमीलार्इ याद नहोला, तिम्रो जीवन रक्षाका निम्ति भनेर मैले आफ्नो भौतिक जीवनको परबाह नगरी अहिलेसम्म पनि शरीरमा बमका छर्राहरु बोकेर कस्टकर जीवन मरुभूमिको बालुवामाथि चहर्याइरहेको घाउसँग बिताइरहेको छु ।
मसँग उतिबेला अरु केही सपना थिएनन् किनकि म आफैं पनि शाेषणबाट अपहेलित भएको पात्र थिएँ । मलाइ मुक्ति चाहिएको थियो । र, त्यसका तिम्ति म तिम्रो जीवनरक्षा गर्दै थिएँ । अफसोच ! तिमीले मेरो शरीरमा भएको बमको छर्रा र मेरो सपनालार्इ धितो राखेर आफ्नो जिवीकोपार्जनको माध्यम बनायौ ।
यो कस्तो तिम्रो सहिनसक्नु निरङ्कुुशता सुनेको छु । हिटलरजस्तो तानाशाह अहिलेसम्म बिश्वमा कोही निस्केको छैन । तर, त्यो हिटलरको भन्दा पनि तिम्रो खपीनसक्नु यातनाको म आरोपित पात्र हुँ । तिमीमा यो दूरदृष्टि थियो होला, मैले बुझ्न सकिनँ किनकि म मेरा बाबाको र मेरा हजुरबाबाको अपहेलित भएर बाँच्ने बिरासत तोड्न चाहन्थें ।
मजस्तै छापामारको जीवन मरुभूमिमा सुकाउने र अड्किएका बमका छर्राहरुसँग आँशुको मूल्य उठाउने तिम्रो नियत बल्ल बुझियो । बादल पनि तिम्रै खेमाका मान्छे हुन्, तिनी तिमीमा बिलय हुनुलार्इ अनौठो मानेको छैन । तिमीसँगको सम्बन्ध–विच्छेदमा पनि बादल पतिङ्गर भएर आएका हुन् ।
अहिले हुरीले कायापलट गर्यो, यसले खासै अर्थ राख्दैन । अब चैते र काइतेको सङ्गत तिम्रा लागि काफी छ । हामीसँग तिमी बस्न सक्ने अवस्थामा छैनौ किनकि हामीसँग त घाइते शरीर मात्रै बाँकी छ । हामीसँग सहिदको रगत छ र हामीसँग उतिबेला तिमी–हामी सँगै हुँदा बाँडेका सुन्दर सपनाहरू छन् ।
यसले तिमीलार्इ यो बाटो रोज्न अप्ठ्यारोमा पारेको छ, मैले बुझेको छु । त्यसैले तिम्रा लागि क्रान्तिकारी बाटोभन्दा गद्दारीको बाटो नै शुभ होला ।
उही मरुभूमिमा सडिएको
घाइते पूर्वछापामार