नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले प्रचण्डलाई ‘पाँडेगाली’ गरेको आफूलाई पटक्कै मन नपर्ने बताएका छन् ।
विगतमा एउटा आन्दोलनका रुपमा विकसित माओवादी पार्टी यतिबेला ४ भागमा विभाजित छ । माओवादी नेताहरु र विभाजित घटकहरुलाई अहिले कांग्रेस, एमाले, राप्रपा वा अरु कोही ‘परचक्री’ ले आलोचना, गाली, विरोध र ‘भण्डाफोर’ गरिरहुन पर्दैन । यो कर्ममा स्वयं माओवादी ‘स्कुलिङ’ बाटै जन्मे–हुर्केका र राजनीतिमा ‘स्थापित भएका’ नेता–कार्यकर्ता र घटकहरु नै ‘पर्याप्त’ या ‘सक्षम’ वा ‘योग्य’ देखिएका छन् । आफूबाहेकको घटकलाई जति बढ्ता गाली गर्न, सराप्न र हिलो छ्याप्न सक्यो, उति बढी योग्य, कर्मठ, सशक्त र क्रान्तिकारी भइने होडबाजी चलिरहेको छ ।
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले आफूलाई ‘माओवादी आन्दोलनको मूल धार’ र ‘मूलघर’ भन्ने गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सिद्धान्तका आधारमा आफूहरु मात्रै नेपालको सही माओवादी भएको दावी गरिरहेको छ ।
प्रचण्डहरुसँग ‘सम्बन्ध–विच्छेद’ गर्दै गठन भएको नेकपा–माओवादीलाई धेरैले ‘ड्यास माओवादी’ भन्ने गरेका थिए । ‘ड्यास माओवादी’ बाट समेत अलग्गिएर गठन भएको विप्लव नेतृत्वको पार्टीले पार्टी नामबाट ‘माओवाद’ हटाइदिएको छ र पार्टीको मार्गनिर्देशक सिद्धान्त भने मार्क्सवाद–लेनिनवाद–माओवाद नै रहेको बताएको छ । यस अर्थमा विप्लव नेतृत्वको नेकपालाई अझै धेरैले ‘विप्लव माओवादी’ नै भन्ने–लेख्ने गरेका छन् ।
कतिपयले भने व्यंग्यात्मक शैलीमा माओवादी आन्दोलन विभाजको श्रृंखलामा दोस्रो घटकका रुपमा जन्मेको वैद्य माओवादीलाई ‘टु–जी’ (दोस्रो पुस्ते), विप्लव माओवादीलाई ‘थ्री–जी’ (तेस्रो पुस्ते) र माओवादी पार्टी छाडेर बाबुरामहरुले नयाँ गठन गरेको नयाँ शक्ति पार्टीलाई ‘फोर–जी’ (चौथो पुस्ते) समेत भन्न थालेका छन् । ‘मार्क्सवाद–लेनिनवाद–माओवाद छाडेको’ भन्दै धेरैले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिलाई माओवादी या कम्युनिस्ट घटक मान्दैनन् । तर, ‘अरुले मालेमालाई भट्याए पनि कार्यान्वयन गरेका छैनन्, हामीले चाहिँ भट्याएका पनि छैनौं र छाडेका पनि होइनौं’ भन्ने बाबुरामहरुको तर्क छ ।
ठीक यस्तो परिवेशका बीच राजधानीस्थित पद्मकन्या क्याम्पसको डेनिस हलमा शनिबार अपराह्न एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले भने– ‘प्रचण्डलाई गाली गरेको र अझ पाँडेगाली गरेको त पटक्कै मन पर्दैन ।’
‘यहाँ ठूलठूला धेरै नेताहरु थिए, निर्मल लामाहरु थिए, रुपलाल विश्वकर्माहरु थिए, गने–मानिएका अरु थुप्रै थिए तर ती कसैले साहस गर्न नसकेको काम प्रचण्डले गरिदिनुभयो’, पार्टीसम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघद्वारा आयोजित ‘संसदवाद, फासिवाद र सांस्कृतिक आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले भने– ‘त्यति ठूलो जनयुद्ध प्रचण्डकै नेतृत्वमा भयो, नेपालको राजतन्त्र सिद्धिने र गणतन्त्र स्थापित हुने कुरा प्रचण्डकै अगुवाइमा सम्भव भयो ।’
‘हामी पनि नीति निर्माण गर्ने र योजना बनाउने टिममा प्रचण्डहरुसँगै थियौं, हामीले उहाँसँग विश्वासपूर्ण सहकार्य र सहयोग गरेकै हौं । कार्यनीतिमा लचकता विश्वमा अन्त पनि भएको छ र हामीकहाँ पनि भयो’, नेता बास्तोलाले भने– ‘वार्ता, संवाद, बहस, विवाद हुनुपर्थ्यो, भयो । प्रचण्डले कुशलतापूर्वक सेफल्यान्डिङ नगरेका भए नेपालमा इन्डोनेशिया वा चिलीजस्तो अवस्था पनि आउन सक्थ्यो ।’
तत्कालीन प्रधानसेनापति रूक्मांगद कटवालको आत्मसंस्मरणको प्रसंग उल्लेख गर्दै बास्तोलाले भने– ‘गिरिजाले ‘यस’ मात्रै भनेका भए बालुवाटारमै मुख्य नेतृत्व टिमको कत्लेआम हुन सक्थ्यो, बुद्धनगर हेडक्वार्टरमा हमला हुँदा मुख्य नेतृत्वपंक्ति सिद्धिन सक्थ्यो र त्यसो हुँदा पार्टी र आन्दोलन पनि सिद्धिन्थ्यो, यी सबै चुनौती र कठिनाइका बाबजुद प्रचण्डले कुशल व्यवस्थापन गर्नुभएकै हो ।’
‘तर त्यसपछि जुन स्टेप लिनुपर्थ्यो, त्यतापट्टि लाग्न चाहिँ प्रचण्डमा बुद्धि आएन कि जाँगर पलाएन– त्यो हामीले जान्ने कुरा भएन’, मन्तव्यलाई आफ्नो ‘लाइन’ तर्फ सोझ्याउँदै बास्तोलाले भने– ‘हामीले सुझाव दियौं, विवाद गर्यौं, बहस चलायौं तर उहाँ यथास्थितिमै अडिइराख्नुभयो त्यसपछि सँगै जान सकेनौं र हामीले चाहिँ आफ्नो बाटो ततायौं ।’
अब पनि प्रचण्डहरुलाई गाली गर्नु नपर्ने तर्क गर्दै उनले भने– ‘राजनीति स्वैच्छिक कर्म हो, जसले जति जान्दछ र जे ठान्दछ सोहीअनुसार योगदान गर्ने हो । उहाँहरुलाई क्रान्ति पूरा गर्न मन लागेन– आफ्नो बाटो लाग्नुभो, हामी क्रान्ति पूरा गर्न चाहन्छौं त्यसैले नयाँ ढंगले अगाडि बढ्ने प्रयास गरेका छौं ।’