नेपाली राजनीतिकका महारथी पुष्पकमल दाहालले हावादारी गफ दिने घमण्डी प्रधामन्त्री केपी ओलीलाई सत्तामा टिकाइराखेको छन् । यस्ता महाजन, खेलाडी पुष्पकमल नयाँ शक्ति नेपालको स्थापनाबाट भयभीत बनेका छन् ।
नयाँ शक्ति नेपालको उदय मधेश आन्दोलनको गर्भबाट मिथिलाञ्चलको पवित्र भूमि जनकपुरबाट भएको छ । मधेश र मधेशी जनताका हकअधिकारमाथि कुठाराघात गर्दै अन्तरिम संविधान २०६३ को मर्म र भावनाविपरीत संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रियामा सत्ताधारी पार्टी नेपाली कांग्रेस र एमालेको साथमा एमाओवादी पनि मधेशी गठबन्धनलाई त्याग्दै सत्ताधारीकै षड्यन्त्रमा लागिसकेपछि २०७२ साउन २९ गतेदेखि मधेश आन्दोलनको सुरूआत भएको थियो ।
मधेश आन्दोलनका क्रममा मधेशी युवाहरूलाई जानीजानी टाउको र छातीमा गोली प्रहार गरी निर्मम हत्या गर्न सरकार अगाडि बढ्दै जाँदा मधेश आन्दोलन लम्बिँदै नाकाबन्दीसम्मको अवस्था सिर्जना हुन पुगेको थियो । असन्तुष्ट मधेशीलाई वार्ताबाट सन्तुष्ट पार्नुको सट्टा बन्दुक चलाएर नै आन्दोलन दबाउन खोज्ने खस शासकहरूका गतिविधिबाट रूष्ट हुँदै एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असोज ३ गते संविधानसभाबाट जारी संविधानमाथि असन्तुष्टि जनाउँदै असोज ९ गते सांसद पदबाट राजीनामा दिँदै एमाओवादीको साधारण सदस्यताबाट समेत राजीनामा गरेर मधेश आन्दोलनको समर्थन गरे । उनले असोज १२ गते जनकपुर पुगेर मधेश जनआन्दोलन संघर्ष समितिको विरोधसभामा सम्बोधन गरेका थिए ।
मधेश आन्दोलनलाई जायज ठान्दै र भन्दै सरकारले बेलैमा संविधान संशोधन गरी मधेशीका माग पूरा गर्नुपर्छ भन्ने विचार डा. बाबुराम भट्टराईले राखे । मधेशका जायज मागहरू पूरा गराउन मधेश आन्दोलनमा हरेक प्रकारको सहयोग समर्थन गर्ने प्रतिबद्धता समेत डा. भट्टराईले जाहेर गरे । मधेशलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी कर्फ्यु लगाएर जारी गरेको संविधानले पचास प्रतिशत जनतालाई मात्र खुसी दिएको छ भने पचास प्रतिशतभन्दा बढी जनतालाई दुःखी र मर्माहत तुल्याएको छ । भट्टराईले सिंगै मधेश शोकाकूल रहेका बेला मधेशीमाथि लादिएको संविधानको स्वामित्व मधेशका जनताले ग्रहण गर्न सक्दैनन् भन्ने कुरा बताएका थिए ।
देशका समुदाय र समुदायबीच दुरी बढाउँदै पहाडी–मधेशीबीचको सद्भाव बिगार्दै राजनीतिक रूपमा असफल भइसकेका नेपाली कांग्रेस, एमाले र एमाओवादीलगायतका जडसूत्रवादी राजनीतिक दलहरूको विकल्पमा एउटा नयाँ शक्तिको आवश्यकता रहेको उनले उद्घोष गरे । दुई सय चालीस वर्षदेखि खस अहंकारवादको चपेटामा परी अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन र विभेदको शिकार बन्दै आएका मधेशी, दलित, महिला, मुस्लिम, थारू र आदिवासी–जनजाति समुदायहरूका हकअधिकारको ग्यारेन्टी समानुपातिक समावेशी र सामाजिक न्यायको आधारमा राज्यका हरेक अंग, तह र निकायहरूमा सुनिश्चित गरेर मात्रै संविधानलाई कार्यान्वयन गर्न सकिन्छ–गर्नुपर्छ ।
जबसम्म हामीले एक–अर्काको सम्मान गर्दैनौ, पूर्वाग्रही सोच, जातीय अहंकार, व्यक्तिगत स्वार्थ र लोभलालचबाट माथि उठ्दैनौं तबसम्म देशको उनन्ति, प्रगति र विकास गर्न सकिँदैन । राज्य पक्षबाट पहाडी र मधेशीलगायतका समुदायहरूबीच कुनै प्रकारको असमानता वा विभेद हुनु दुर्भाग्यपूर्ण कुरा हो । राज्य पक्षले वर्षैंदेखि मधेशी, दलित, महिला, मुस्लिम, थारू, आदिवासी–जनजाति समुदायमाथि गर्दै आएको शोषण, दमन, उत्पीडन र सबैखाले विभेदको पूर्ण रूपमा अन्त्य हुनुपर्ने डा. बाबुराम भट्टराईले बताएका थिए । त्यसैले भारत र चीनसँग हामीले सुमधुर सम्बन्ध कायम राख्दै दुवै समृद्ध, शक्तिशाली र प्रगतिपथमा अगाडि बढिरहेका मुलुकसँग रहकार्य गर्दै हाम्रो देशले प्रगति र समृद्धिको बाटो अपनाउनुपर्छ ।
देशका पुराना राजनीतिक दलहरू र उनीहरूको गठबन्धन सरकारले राजनीतिलाई जनसेवी बनाउने र तीव्र आर्थिक क्रान्ति गर्ने कुनै सम्भावना नरहेकाले यस्तो स्थायी संकटबाट निकास पाउन नेपाली राजनीतिमा नयाँ शक्तिको आवश्कता रहेको पनि भट्टराईले बताएका छन् । नयाँ शक्तिले मात्र राजनीतिलाई जनसेवी बनाउँदै समावेशी विकाशको बाटो निर्माण गर्न सक्छ । नयाँ शक्तिले मात्र नेपाली समाजको विविधतालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही दिशा दिन सक्छ ।
डा. बाबुराम भट्टराईले कल्पना गरेका नयाँ शक्ति नेपालको अदृश्य शक्तिबाट भयभीत हुन पुगेका पुष्पकमलले माओवादी केन्द्रको स्थापना गरेका छन् । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको स्वच्छ छवि, कार्यक्षमता, लगनशीलता, इमानदारिता र दृढसंकल्पबाट पुराना शक्ति नेपाली कांग्रेस, एमाले र एमाओवादी (हालको माओवादी केन्द्र) लगायतका शक्तिहरु त्रसित भई बाबुरामलाई राष्ट्रघाती, देशद्रोही तथा भारतीय एजेन्टसम्मका लाञ्छना लगाउँदै हिँडेका छन् । डा. बाबुराम भट्टराईको कार्यशैली, कर्मठता, क्षमता, दक्षता र स्वच्छ विचारबाट परिचित नेपाली जनता, समाजसेवी कर्मचारी, पूर्वप्रशासकहरू, युवावर्गलगायतका विचारका धनीहरू नयाँ शक्ति नेपालमा दिनप्रतिदिन सहभागी हुँदै नयाँ शक्ति नेपालको आधारस्तम्भलाई बलियो पार्दैछन् । हामी सबैले वैकल्पिक शक्तिको रूपमा उदीयमान नयाँ शक्ति नेपाललाई सहयोग–समर्थन गरी समृद्ध र प्रगतिशील नयाँ नेपाल निर्माणमा सहभागी बनौं ।
मधेश दर्पण फिचर सेवाबाट