तपाईं सहिद परिवार, चर्चित सांस्कृतिककर्मी र एमाओवादीको पुरानै केन्द्रीय सदस्य, यतिबेला व्यापक असन्तुष्टि ओकल्न थाल्नुभएको छ नि ?
पार्टी एकीकरणको अहिलेको अवस्थामा अनावश्यक ढंगबाट ठूलो केन्द्रीय समिति बनाइँदा त्यो विचारको बहस गर्ने थलो नभएर भद्रगोल बन्न पुग्छ भन्ने मत प्रकट गरेको मात्र हुँ, व्यापक असन्तुष्टि ओकलेको छैन ।
‘सुपर–जम्बो’ केन्द्रीय समिति बन्दा अरुले त्यति असन्तुष्टि जनाएको देखिँदैन तर लेखनाथ न्यौपाने, तपाईं, दीपशिखालगायतका केही पात्रहरुमा चाहिँ यतिविघ्न छटपटी किन नि ?
अरु मित्रहरुको असन्तुष्टिका आ–आफ्ना कारणहरु होलान् तर मैले चाहिँ कसैसँग सल्लाह गरेर, समूह बनाएर असन्तुष्टि पोखेको होइन । र, तपाईंले सोधेजस्तो ममा ‘छटपटी’ पनि छैन । मैले त नेपाली कम्युनिस्ट आन्दोलनभित्र एउटा ठूलै परिघटना घटिरहेको सन्दर्भमा के गर्दा उचित होला भनेर आफ्नो मत राखेको मात्र हुँ ।
झन्डै दर्जनजति घटक र समूहहरुबीच एकता गराउनुपर्दाको स्थितिमा आज तपाईं नै माओवादी केन्द्रको अध्यक्ष हुनुहुन्थ्यो भनेचाहिँ संगठनात्मक समस्या कसरी हल गर्नुहुन्थ्यो ? १–२–३ गरेर बताइदिनोस् न !
यो प्रश्नको जवाफ अलि अप्ठ्यारो नै छ, तपाईंले म अध्यक्ष भएको भए के गर्नुहुन्थ्यो क्रम तोकेर भन्नोस् भन्नुभयो । आजको नेपालको र माओवादी राजनीतिका सन्दर्भमा म नै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय अध्यक्ष थिएँ भने एउटा मान्यताभित्र रहेर सापेक्ष सानो केन्द्रीय समिति बनाउँ भनेर पहल गर्थें । त्यो मान्यता भनेको कमरेड बादलहरु हामीबाट अलग हुने समयको केन्द्रीय समितिलाई नै आधार मानेर त्यसै बेलाका केन्द्रीय सदस्यहरु समेटिने गरी केन्द्रीय समिति बनाउने प्रस्ताव अघि बढाउँथें । एकतामा सामेल हुन आएका अरु समूहका साथीहरुलाई पनि त्यही मान्यताको सेरोफेरोबाट समेट्न कोशिस गर्दथें । शायद कमरेड प्रचण्डलगायतका नेतागणहरुले पनि यसैगरी कोशिस गर्नुभयो । तर, यसो गर्दा एकता नै सम्भव नहुने देखिएपछि मात्रै एकता चाहिँ मुख्य कुरा भएकाले एकता नै नहुने गरी सानो र चुस्त केन्द्रीय समितिको रटान लगाइरहनु मूर्खता मात्र हुने निष्कर्षका साथ बरु ठूलै केन्द्रीय समिति बनोस् तर एकता होओस् भन्नेतिर लाग्नुभयो । यसै बाध्यताका बीच सन्तुलन मिलाउनुपर्दा सोचेभन्दा ठूलो केन्द्रीय समिति बन्न पुग्यो ।
तपाईंहरुको अहिलेको पार्टी एकता वैचारिक सैद्धान्तिक जगमा नभई स्वार्थ र अवसरहरुको गठजोड मात्रै हो भन्नेहरुले कसरी गलत भने ?
अहिलेको एकता वस्तुगत आवश्यकताको उपज हो । एकताका पछाडि दुई–चार जना मान्छेका केही स्वार्थ पनि होलान्, त्यो बेग्लै कुरा हो । माओवादीहरु विभाजित हुँदै जाने कुरा नेपाली क्रान्तिका निम्ति ज्यादै खराब कुरा थियो । माओवादीहरु विभाजित हुँदै गर्दा हामीले वलिदान दिएर प्राप्त गरेका उपलब्धिहरु पनि धरापमा पर्ने गम्भीर आभाष पाइँदै थियो । जनता, कार्यकर्ता, सहिद तथा बेपत्ता योद्धाका परिवारजन, घाइते–अपाङ्ग सबै माओवादीहरु एक भएको देख्न चाहन्थे । कसैलाई प्रिय–अप्रिय जेसुकै लागि पनि र चाहे–नचाहे पनि हामी कसैको षड्यन्त्रको शिकार बनेर एकापसमा कुस्ती खेल्दै थियौं । योभन्दा भद्दा मजाक अरु केही हुँदैनथ्यो । त्यसैले अहिलेको एकता अवसरवादी सोचाइको जगमा होइन बरु देश, जनता र क्रान्तिप्रतिको दायित्वबोधबाट प्रेरित भएर गरिएको असाधारण काम हो ।
नेकपा (माओवादी केन्द्र) को आजको मूल समस्या संगठनात्मक नभएर सैद्धान्तिक–वैचारिक नै हो, संगठनात्मक समस्या त वैचारिक ‘विचलन’ को अनिवार्य परिणति मात्रै हो भन्नेहरुलाई के जवाफ दिनुहुन्छ ?
हाम्रो समस्या वैचारिक–राजनीतिक एवम् सङ्गठनात्मक दुवै हो । एकता भइसकेपछि महाधिवेशनसम्मका लागि सङ्क्रमणकालीन कार्यदिशा बनेको छ र त्यो हामीले हिजो भन्दै आएकोभन्दा खास भिन्न छैन–हुँदैन । मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकास गर्ने, सामन्तवादका बाँकी अवशेषहरुलाई समाप्त पार्दै र पुँजीवादसँग मुख्य सङ्घर्ष गर्दै समाजवादी क्रान्ति गर्ने मूल कुरामा पार्टीभित्र कुनै भ्रम र फरक मत–फरकपन छैन । यसरी हेर्दा आगामी महाधिवेशनबाट पनि हामी समाजवादी क्रान्तिको कार्यदिशामा नै अगाडि बढ्नेगरी निर्णयमा पुग्ने कुरा पक्का छ । तपाईंले प्रश्न गर्नुभएकै भाषामा ‘झन्डै एक दर्जन घटक र समूहहरुबीचको एकता’ पछि एउटै मूल्य–मान्यता र विधिभित्रबाट सङ्गठनलाई चुस्त र अनुशासित तुल्याएर कसरी सञ्चालन गर्ने भन्ने प्रश्न अलि चुनौतीपूर्ण नै छ । यो प्रश्नमाथि हामी गम्भीर विमर्श गरिरहेका छौं । त्यसो त सङ्गठनात्मक समस्या भनेको विश्वकम्युनिस्ट आन्दोलनमै अझै पनि सुल्झाउन बाँकी नै रहेको समस्या नै हो । केही नयाँ मान्यतासहित हामी यो क्षेत्रमा नयाँ उपायको खोजी गरिरहेका छौं ।
माओवादी केन्द्रको खास राजनीतिक कार्यदिशा चाहिँ के हो त ? तपाईंकै पार्टीका सय जना केन्द्रीय नेतालाई सोध्यो भने सयथरी नै अलग–अलग जवाफ पाइन्छ नि ?
कुरा प्रस्ट नै छ कि समाजवादी क्रान्तिमा अगाडि बढ्ने हाम्रो कार्यदिशा क्रान्तिकारी कार्यदिशा हो । जो साथीहरु अहिले पनि नयाँ जनवादी क्रान्तिकै कार्यदिशाको वकालत गरिरहनु भएको छ, उहाँहरुको त्यो कार्यदिशा चाहिँ जडसूत्रवादी–संशोधनवादी कार्यदिशा हो । नयाँ जनवादी क्रान्तिको कुरा गर्दैमा क्रान्तिकारी भइने र समाजवादी क्रान्ति गरौं भन्दा सुधारवादी होइने कुरा मार्क्सवादमा कहाँ लेखिएको छ ? हिजो तत्कालीन ‘रिम’ ले वि.सं. २०४८ देखि ५१ सम्म तत्कालीन एकताकेन्द्रलाई संशोधनवादी भन्दै सदस्यता समेत खोसेको थियो । २०५२ मा त्यही पार्टीले जनयुद्धको शंखघोष गर्यो र ‘रिम’ ले पनि क्रान्तिकारी नै ठान्यो । ‘रिम’ ले अहिले फेरि हामीमाथि त्यही आरोप दोहोर्याइरहेको छ । हामीलाई संशोधनवादीको आरोप लगाएर आफ्नो राजनीति थाम्नेमा हिजो मोहनविक्रम सिंहहरु हुनुहुन्थ्यो, आज मोहन वैद्यहरु पनि त्यसैमा थपिनुभएको छ, फरक यति मात्र हो ।
नढाँटीकन भन्नोस् त, जे–जस्ता शब्दजाल बिछ्याइए पनि माओवादी केन्द्रको अबको राजनीति क्रान्तिकारी वा आमूल परिवर्तनकारी नभई सुधारवादी र संसदवादी नै हो नि, हगि ?
समाजवादी क्रान्तिको कार्यदिशाको चरित्र नै लामो समयसम्म वैधानिक सङ्घर्षमार्फत तयारी गर्नु र उपयुक्त समयमा विद्रोहमार्फत क्रान्ति सम्पन्न गर्नु हो । जनवादी क्रान्तिको कार्यदिशाको चरित्र चाहिँ सुरुदेखि नै छापामार सङ्घर्ष गर्दै दीर्घकालीन जनयुद्धमा जाने खालको हुन्छ । कार्यदिशाको चरित्रमा हुने यही फरकपनले नै हामीले तत्काल गर्ने सङ्घर्षको तरिकामा फरकपन ल्याएको हो । संसद र सरकारका मोर्चाहरुको उपयोगको कुरा पनि त्यसैअन्तर्गत पर्दछन् । हामीले पुरानै तरिकाले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको भए शान्तिपूर्ण प्रतिस्पर्धाबाट पनि समाजवादमा जान सम्भव हुन्थ्यो । हामीले भनेजस्तो भएन, पुँजीवादी क्रान्ति पुरानो तरिकाले सम्पन्न हुन सकेन । प्रतिक्रियावादी राज्य–मेसिनरी यथावत रह्यो जसका कारण समाजवादमा जान बल प्रयोगको आवश्यकता अझै बाँकी रह्यो । नेकपा (माओवादी केन्द्र) को प्रस्ट कुरा छ– अबको क्रान्ति समाजवादी क्रान्ति नै हुनेछ र त्यसमा बल प्रयोग अनिवार्य हुनेछ । त्यसकारण हाम्रो राजनीति सुधारवादी–संशोधनवादी होइन, क्रान्तिकारी हो र हुन्छ ।
नेपालमा जनवादी क्रान्ति सम्पन्न भयो भन्ने खबर कहींकतै सुनिएको छैन तर तपाईंहरुले चाहिँ ‘समाजवादी क्रान्तिमा अघि बढ्ने’ कुरा गरिरहेको देख्दा धेरै मान्छे आश्चर्यचकित होलान् भन्ने लाग्दैन ?
बरु तपाईंले चाहिँ पो आश्चर्यलाग्दो प्रश्न गर्नुभयो । धेरैजसोले नेपालमा पुँजीवाद आइसक्यो नै भनेका छन् । समाजशास्त्री, अर्थशास्त्री, राजनीतिशास्त्रीहरुको ठूलो संख्याले पुँजीवाद आइसकेको व्याख्या गरेका छन् । देशको अर्थतन्त्र, राजनीति र संस्कृतिको तथ्यसहितको आँकडाले पनि त्यही भन्छ । अब केही व्यक्ति वा समूहले आफ्नो अध्ययन–विश्लेषण र चिन्तन–मननको कमीका कारण वा पूर्वाग्रहका कारण यो यथार्थतालाई बुझ्न सक्दैनन् या बुझेर पनि आत्मसात् गर्दैनन् भने त्यो उनीहरुकै समस्या हो ।
नेपालमा व्यक्ति सामन्त त झन्डैझन्डै छैन नै । अब सामन्तवाद गुठीहरुमा मात्रै बाँकी छ । गणतन्त्र पुँजीवादको राजनीतिक व्यवस्था हो भनेपछि राजनीतिमा पनि पुँजीवाद आयो । सांस्कृतिक क्षेत्रमा सामन्तवाद अलि बढी बाँकी छ तर त्यो पनि निर्णांयक छैन, निर्णांयक त पुँजीवाद नै छ । भलै हाम्रो पुँजीवाद आफ्नै आन्तरिक प्रक्रियाबाट विकसित भएको राष्ट्रिय पुँजीवाद नभएर मूलतः यो दलाल पुँजीवाद छ । राष्ट्रिय होस् वा दलाल, जुन पुँजीवाद भए पनि पुँजीवाद भनेको पुँजीवाद नै हो । त्यसैले नेपालको अर्थतन्त्र, राजनीति सबैतिर पुँजीवादकै बोलवाला छ । यी सबै कुरा छर्लङ्गै हुँदाहुँदै पनि पुँजीवाद आएकै छैन भन्नु केटाकेटी कुरा सिवाय केही पनि होइन । पुँजीवाद त आयो–आयो तर त्यो राष्ट्रिय चरित्रको नआएर साम्राज्यवादको दलाली गर्ने दलाल चरित्रको आयो । दलाल चरित्रको आयो भनेर रिसले यो पुँजीवाद नै होइन, सामन्तवाद हो भन्ने ? तथ्यहरुले जे भन्छन् त्यही भन्ने र त्यससँग लड्ने कार्यदिशा र कार्यनीतिको विकास पो गर्ने हो त । हो, यही कुरा हामीले गरेका छौं ।
माओवादी नेताहरु एमालेसँगको ‘भद्र सहमति’ को आधारमा अब आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दलिल पेस गरिरहेछन् तर प्रधानमन्त्री ओलीले चाहिँ त्यसको ‘प्रमाण देखाऊ’ भनेजस्तो अभिव्यक्ति दिइरहेछन् । ‘भद्र सहमति’ को ‘अभद्रता’ बारे तपाईं चाहिँ के भन्नुहुन्छ ?
हेर्नोस्, यो कुरा बडो विचित्र छ । भद्र सहमति भएकै हो । भद्र सहमति भनिसकेपछि त्यो लिखित वा हस्ताक्षरयुक्त हुने कुरै भएन । एउटा पक्षले म मान्दिनँ भनेपछि लिखित सहमति त खारेज हुन्छ भने भद्र सहमति कहाँ टिक्छ ? यो त इमान–जमानमा पो टिक्ने कुरा हो । हामी यसबारे गम्भीर समीक्षा गर्छौं । यसप्रकारको बेइमानी र धोकाबाट पाठ सिक्नुबाहेक अरु के नै गर्न सकिन्छ र !
आजकै दिनमा आमसञ्चार माध्यममार्फत भनिहाल्न खोज्नुभएका केही विशेष कुरा छन् ?
यसबेला म अझै पनि एकता प्रक्रियामा सामेल हुन बाँकी रहेका माओवादी घटकहरुलाई एकताको महान् झन्डा उठाउन अपिल गर्दछु । हामी नै आपसमा लडिराख्यौं भने हाम्रो सत्यानासलाई कसैले पनि रोक्न सक्दैन । हामी मिल्यौं र सही ढङ्गले अघि बढ्यौं भने हाम्रो विजयलाई कसैले पनि छेक्न सक्दैन । आपसमै लडेर, फुटेर समाप्त हुने कि सबै मिलेर समाजवादी क्रान्तिको ढोका खोल्ने ? यो समयमा हामी सबैले आग्रह–पूर्वाग्रह र दूराग्रहबाट मुक्त भएर सोचौं ।