पूर्वप्रसङ्गः
दीपक विश्वकर्मा पचासको दशकदेखि निरन्तर साहित्य सिर्जनामा साधनारत स्रष्टा हुन् । आत्मश्लाघा र आत्मविज्ञापनबाट टाढा रहेर झण्डै दुई दशकदेखि यिनी कहिले आत्म संस्मरणयुक्त बेजोड आख्यान लिएर देखा पर्दछन् भने कहिले विचारोत्तेजक काव्यसहित देखा पर्दछन् ।
संख्याको हिसाबै राख्न नसकिने गरी आइरहेका र छाइरहेका यिनका कविताहरु सामाजिक सञ्जालदेखि साहित्यिक पत्रपत्रिकाहरु र साहित्यिक गोष्ठीदेखि कवि सम्मेलनहरुसम्ममा पढिने र सुनिने गरिएको छ । राजधानीको चमकदमकभन्दा टाढा रहे पनि यिनका कविताहरु कुनै पनि चर्चित समकालीन कविका कविताहरुभन्दा कम चर्चित भने छैनन् ।
दुई दशकदेखि कविता यात्रामा खटिरहेका कवि दीपक पहिलोपटक संग्रहसहित पाठकसमक्ष आएका छन् । समकालीन चेतनाको दस्तावेज बनेको ‘काबुल एक्सप्रेस’ यिनको पहिलो र ऐतिहासिक कृति बन्न पुगेको छ । सङ्ग्रहमा ४० पेजको आयतनमा फैलिएको शीर्ष कविता ‘काबुल एक्सप्रेस’ र बाँकी ४० पेजको आयतनमा ९ वटा कविता गरी जम्मा दसवटा कविता समाविष्ट छन् ।
काबुल एक्सप्रेस : रचनागर्भ
वर्तमान समय मानवीय मूल्यको घनघोर अवमूल्यनको समय हो । आसन्न विगतमा यो राज्यमा मान्छेको टाउकाको मूल्य तोक्ने बर्बरता मात्र देखिएन,मानवीय जीवनको दर्दनाक मृत्युमा पनि संवेदनाको खडेरी परिरह्यो । भोकमरी, अशिक्षा, आधारभूत स्वास्थ्य उपचारको अभाव,गरीबी, बेरोजगारी र त्यसको ‘बाइप्रडक्ट’ को अँधेरले मान्छेको मृत्युलाई सस्तो बनाइदियो ।
सपनाहरुको उडान भरेर विदेशिने युवाहरुको दर्जनौ लाश कफिनमा ओइरिने क्रममा तीब्रता आयो । मानवीय मूल्यको यो दुरावस्थामा हाम्रो राजनीतिक र सामाजिक संरचनाको भूमिका नै जिम्मेवार छ ।‘काबुल एक्सप्रेस’को रचना गर्भमा यही संरचनामाथिको घृणा,व्यङ्ग्य र द्वन्द्वात्मकतालाई कलात्मक रुपमा अभिव्यक्त गर्ने सौन्दर्यबोधी चेतना अन्तर्निहीत छ ।‘काबुल एक्सप्रेस’ विपन्न वर्गका श्रमजीवी जनताको पीडा,आँसु र रगतको अनुभूतिमा भिजेर उम्रिएको छ ।
‘काबुल एक्सप्रेस’ मरुभूमिमा सीमान्तहीन श्रम बेच्दाबेच्दै अनपेक्षित रुपमा मृत्युको मुखमा परेका छोराहरु, बाबुहरु वा लोग्नेहरुको वियोगमा छट्पटिएका, तिनैका कफिनमा घोप्टिएर रोइरहेका, तिनैका लासमा आँसुको पुष्प गुच्छा चढाउँदै आर्तनाद गरिरहेका तिनैका स्वजनहरुका मूच्र्छनाबाट ब्युँतिएको छ ।
विचार वैशिष्ट्य
काव्यका पंक्तिहरु करुणाले मार्मिक र विचारले शक्तिशाली छन् । ती पंक्तिहरुमा घोत्लिदा राज्यद्वारा आक्रान्त र स्वदेशमा गरी खाने वातावरण नपाएर विदेशमा श्रम बेच्न बाध्य पारिएका निम्न वर्गीय नेपाली युवाहरुको जीवन शैली,पीडा र सपनाहरुसँग कवि सुपरिचित देखिन्छन् । तिनका आवाज बोल्दछन् कवि–
फूलको सपना देख्यो साइँलाले
रोप्नै पाएन
किनकि उसको आफ्नो करेसो नै रहेन
मन्थन गर्न चाह्यो जीवनचक्रको
तर सधैंभरि असफल भयो
किनकि उसको हातमा मदानी
कहिल्यै आएन । (काबुल एक्सप्रेस)
दीपकको कवि मनले खाडीमा सास्ती खेपिरहेका नेपाली युवाहरुको रगत र पसिनामा राज्यले जस्तै रेमिट्यान्सको श्रोत देख्न सक्तैन । यिनी त ती युवाहरुको रक्त पसिनाको प्रवाहमा दासताको प्रतिच्छाया देख्दछन् । आफ्ना नागरिकको दुर्दशामा ‘निरो’को व्यवहार प्रर्दशन गरिरहेको राज्यप्रति कविको व्यङ्ग्यचेत यसरी अभिव्यक्त हुन्छ–
साइँला सायद निग्रो हो
बाँधिएर फलामे जञ्जीरले
सिकागोको हाटहरुमा पुर्याइएको
के फरक छ,
एक आदिम अफ्रिकी निग्रो
र आजको साइँलामा ? (काबुल एक्सप्रेस)
विदेशिएका युवाहरुका लालाबाला, तिनका वृद्ध आमाबाबा र तिनका उदास जीवन साथीहरुको संवेदना, भावना, दुःखपीडा र आकांक्षासँग कवि मनले अन्तरक्रिया गरेको भेटिन्छ । त्यसैले ती सबै कविताको कथानकमा उपस्थित भएर बोल्छन् । तिनै पात्रहरुको उद्विग्नता र कविको संवेग अभिव्यक्तिको समीकरणको प्रतिफल बनेको छ–‘काबुल एक्सप्रेस’ । ‘काबुल एक्सप्रेस’मा कपि दीपक परदेशमा पसिना बगाइरहेका श्रमजीवि जनताको बीचमा पुगेका छन् र तिनकै पीडा बोलेका छन्–
कसको लागि बनाइरहेको छ
यति सुन्दर कफिन साइँलाले ?
कहिलेकाहीं गजबारमा
काँटी ठोक्दा ठोक्दै
रसाउँछन् उसका आँखा
र चुहिन्छन् हत्केलामा थोपा बनेर । (काबुल एक्सप्रेस)
शोषण, उत्पीडन र दमनको विरुद्धमा विद्रोहको आवाज कवि दीपकको कविताको स्वरगत विशेषता हो । मानवताविरोधी रुढिप्रति उनका कवितामा चुनौतिको शालीन हुँकार भेटिन्छ । दर्शन र विज्ञानको धरातलमा उभिएर अन्धपरम्परालाई थप्पड लगाउने र शोषणको जालोलाई काट्ने कवि दीपकका कविताहरु जति मानवतावादी छन् र विद्रोही पनि । त्यसैले उनका कविता सामान्य जनका प्रिय कविता बन्न पुगेका छन् ।
म पवित्र हिन्दू हुँ
जनै लगाइन त के भो ?
म परमेशवरको पवित्र विश्वासी हँु
गिर्जामा बप्तिस्मा लिइनँ त के भो ?
म पवित्र कुरान हुँ
अल्लाह हो अकबर भनिनँ त के भो ?
म विशुद्ध बुद्ध हुँ
माने घुमाउँदै हिँडिनँ त के भो ?
मसँग आकास पातालको अंश छ
सागर र वायुको अंश छ
र छ अग्निको प्रज्जवलित अंश । (जात नसोध जोगीको)
समग्रमा श्रमजीवि जनताको आवाजको अभिव्यक्ति ‘काबुल एक्सप्रेस’को वैचारिक वैशिष्ट्य हो ।
संरचनागत वैशिष्ट्य
‘काबुल एक्सप्रेस’को शीर्ष कविताको गम्भीर विषय र सुन्दर र सुकोमल विम्वद्वारा अभिव्यक्त कविताको स्वरबीच रचना कौशलमा सन्तुलन देखा परेको छ । पहाडी नदीजस्तै गड्गडाउँदै बग्ने कविताका भाव प्रवाहलाई सरल भाषा शैलीको विम्व र प्रतीकको दुई किनाराको बीचबाट संवेदनशील स्वरुपमा बगाउन सक्नुलाई कवि दीपकको सफलता मान्नु पर्दछ । जनजिब्रोले बोल्ने कथ्य भाषाको प्रयोगले कवितालाई सरल र बोधगम्य बनाएका छन् ।
जनताको मन र मस्तिष्कबाट टिपिने विम्व र प्रतीकले रचनालाई जनताको हृदयमा पु¥याउँछ । ‘काबुल एक्सप्रेस’को शीर्ष कवितासहित केही कविता जनताको हृदयमा बसिरहने स्तरका छन् । ‘जात नसोध जोगीको’, ‘गोठालोको आतमवृतान्त’ र ‘आगोको बिउ जो तिमीले नै रोपेका हौ’ यस कोटीका कविता हुन् ।
विम्वात्मक बुनोटयुक्त शब्द आयोजना र कलात्मक प्रस्तुति नै कविताको शिल्प संरचना हो । अन्य विधाको तुलनामा कवितामा सूत्रात्मकता,कलात्मकता र कल्पनाको आधिक्य हुन्छ । अभिधा र लक्षणा शक्तिले मात्र कविता शक्तिशाली हुन सक्तैन । कविता शक्तिशाली हुन्छ व्यञ्जनाले । त्यसैले व्यञ्जनावृति कविताको आधारभूत संरचना शर्त हो ।
व्यञ्जनावृतिको अभावमा कविता कलाद्वारा स्पर्शित हुन सक्तैन । विचार र भावपक्ष गम्भीर हुँदाहुँदै पनि, ती विचारहरु प्रगतिवादी कित्ताकै भए पनि लामो वर्णन, गन्थन वा विवरणका कारण कतिपय कविता कथानकयुक्त आख्यान वा माक्र्सवादी सौन्दर्यबोधी निबन्ध भइदिन्छ । सङ्ग्रहका बाँकी ६ वटा कविताहरु यसै कोटीमा पर्दछन् ।
काबुल एक्सप्रेस : निष्कर्ष
कवित्व, भावपक्ष र संरचना स्वरुपको सन्तुलनले कविताको मूल्य निर्धारण गर्दछ । ‘काबुल एक्सप्रेस’का शीर्ष कवितासहित केही कविता सन्तुलित, केही सन्तुलनका नजिक र केही भने सन्तुलनबाट टाढा देखिएका छन् ।
प्रगतिवादोन्मुख हुनु कवि दीपकका रचनाहरुको विशेषता रही आएको छ । तर यस संग्रहमा उनी राष्ट्रिय र अन्तरराष्ट्रिय दलाल पुँजीवादकाविरुद्धमा सार्थक गर्जन गर्न चुकेका छन् । नुन तेलको जोहो गर्न खाडीमा पुगेका निर्दोष नेपाली युवाहरुको दानवीय रुपमा हत्या गर्ने आतङ्कवादप्रति उनको मौनता निर्मम आलोचनायोग्य छ ।
कवि कल्पनामा रमाउँछ, कवितामा कल्पनाको आधिक्य रहन्छ तर कविता यही जीवन र जगतकै बारेमा यही धरातलमा लेखिने हुनाले कवितामा सत्य हुनै पर्दछ । ‘काबुल एक्सप्रेस’का सम्पूर्ण कविता सत्यका धरातलबाट टुसाएका छन् । त्यसैले कवि स्रष्टा मात्रै होइन, सत्यद्रष्टा पनि हो भन्ने कुरालाई स्पष्ट पार्न कवि दीपक पूर्णतया सफल रहेका छन् ।
‘काबुल एक्सप्रेस’ कवि दीपकका लागि संवेदनशील, शक्तिशाली र जनपक्षीय कविता यात्राका लागि साँच्चै नै ‘एक्सप्रेस’ ठहरिन्छ वा ठहरिदैन ? वा यसले कविलाई अरु विधारुपी गाडीलेभन्दा छिटो पाठकको हृदयको गहिराईसम्मको गन्तव्यमा पुर्याउँछ वा पुर्याउँदैन भन्ने कुराको निर्क्यौल भने यस कृतिमा अन्तरनिहीत काव्यमूल्यलाई समाजले कसरी ग्रहण गर्दछ भन्ने कुरामा नै भर पर्दछ ।