राजनीतिक आयामका हिसाबले अत्यन्तै प्रभावहीन र सङ्गठनात्मक हैसियतका दृष्टिले नगन्य अवस्थामा रहेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे नेपाली राजनीतिका चर्चित खेलाडी हुन् । आफूलाई ‘वाम’ धारको दावी गर्ने तर सधैं कांग्रेसको राजनीतिमा सहयोगी बन्ने नेमकिपा र अध्यक्ष विजुक्छेका कतिपय अभिव्यक्ति सांकेतिक हुने गरेका छन् ।
यतिबेला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदबाट बजेट पारित भएलगत्तै केपी ओली नेतृत्वको वर्तमान सरकारको विघटन भई नयाँ सरकार गठन हुने पक्कापक्की भएको बताउन थालेका छन् । दोस्रो पटक कांग्रेसको ‘हाइकमान्ड’ सँग तालमेल मिलाइवरी अध्यक्ष दाहालले यस्तो भनाइ सार्वजनिक गर्न थालेपछि कांग्रेसको बहुमत हिस्साले फरक कोणबाट तर दाहालकै लाइनबाट ओलीको सट्टामा नयाँ सरकार अनिवार्य भइसकेको अभिव्यक्ति दिन थालेको छ । यसै मेसोमा घुमाउरो भाषामा तर प्रष्ट बुझिने गरी एमालेकै वरिष्ठ नेताहरु समेतले तत्कालै ओली सरकारको विकल्प खोज्नुपर्ने पक्षमा अभिमत प्रकट गर्न थालेका छन् ।
हिजो आफू पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री बन्नुपर्दा केपी ओलीले ‘नेपालको दोस्रो राष्ट्रपति तपाईंलाई नै बनाउँला’ भनेर झलनाथ खनाललाई दरिलो आश्वासन दिएको एमालेकै उपल्लो तहबाट पटकपटक सार्वजनिक भइसकेकै छ । तर, ती सबै पद हत्याइसकेपछि दूधबाट झिँगा निकालेर फाले झैं खनालाई मिल्काइदिएर ओलीले अकस्मात विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रस्तावित गरे र बैठकमा उपस्थित सबैजसो नेताले तुरुन्तै पररर्र ताली बजाइदिए । यो अवस्था देखिसकेपछि किंकर्तव्यविमुढ भएर झलनाथले पनि विद्याकै पक्षमा समर्थन जनाएका थिए ।
यो त भयो ओली–खनाल सम्बन्धको प्रसंग । योभन्दा पनि बढ्ता रोचक छ ओली–नेपाल सम्बन्धको प्रसंग । विगतमा आफू प्रधानमन्त्री बनेका बेला ओलीका तर्फबाट सहयोग पाउनु त परकै कुरा, विपक्षीसँग मिलेर असफल पार्न र सत्ताच्युत गराउन उनले खेलेको भूमिका, महाधिवेशनमा झिनो मतान्तरले आफूले हारेको अनि ओलीले जितेको अवस्था, दुवै पक्षबीच राजनीति नैतिकता मात्रै होइन सामान्य शिष्टाचार र मर्यादा समेतको सीमा नाघेर एकापसका विरुद्ध गरिएको तिक्ततापूर्ण व्यवहारका कारण ओलीसँग नेपाल निकै क्षुब्ध रहेका छन् । यति मात्र नभई हिजोसम्म तेस्रो वरियतामा रहेको व्यक्ति आज एकाएक पार्टीप्रमुख, संसदीय दलको प्रमुख, सरकारप्रमुख बन्नु र राष्ट्रप्रमुखकै हैसियतको राष्ट्रपति पद समेतमा आफ्नै ‘फेबर’ को मान्छेलाई पुर्याउन समर्थ हुनु तर आफू पूर्णतः भूमिकाविहीन बन्न बाध्य हुनु अनि पार्टी केन्द्रमा समेत ओलीले एकलौटी हैकम जमाउन थाल्नुका कारण माधव नेपाल केपी ओलीलाई जतिसक्दो चाँडो प्रधानमन्त्रीको कुर्सीबाट ओराल्न आतुर छन् ।
यसरी ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने काकाबाउको अनुहार’ भनेजस्तै स्थिति छ एमालेका तीन शीर्ष नेताबीचको सम्बन्ध । हिजो माधव नेपाल प्रधानमन्त्री बन्दा ओली र खनालले छुट्टाछुट्टै तर एकै आशयबाट उनीमाथि गरेको प्रहार, लगत्तै झलनाथ प्रधानमन्त्री बनेपछि ठीक त्यसैगरी नेपाल र ओलीले गरेका राजनीतिक आक्रमण अनि नेपाल र खनाल पालैपालो पार्टीप्रमुख रहँदा ‘असन्तुष्ट पक्ष’ को नेतृत्व गर्दै दुवै नेतामाथि ओलीले गरेको छेडखानी, घोचपेच, दाउपेच र जोरजबर्जस्तीका सबै घटना–परिघटना सबैलाई थाहा भएकै कुरा हो । तर, आज खनाल र नेपाल दुवैजना हिजोकै शैलीमा सबै बारबन्देज भत्काएर ओलीका विरुद्ध खुलेआम उत्रन भने सकिरहेका छैनन् । नेपाल र खनालका पालामा उनीहरुले देखाएको अभद्रता, अशिष्टता र असहिष्णुताका कारण जनतासामु अनुहार देखाउन आफूलाई गाह्रो परेको गुनासो देशैभरिका कार्यकर्ताले गरेपछि एमालेमा अहिले रुपका दृष्टिले हिजोको भन्दा फरक स्थिति भए पनि सारका दृष्टिले हिजोकै अवस्थाको पुनरावृत्ति देखिँदै छ ।
परिस्थितिको यही पेचिलोपनका बीच नारायणमान बिजुक्छेले यतिबेला केपी ओली नेतृत्वको सरकार ढाल्ने प्रयास गरिए संसद् विघटन हुने र ओलीकै नेतृत्वको कामचलाउ सरकारले संसदको चुनाव गराएपछि नयाँ संसदले चुन्ने नयाँ सरकारलाई मात्रै उनले सत्ता हस्तान्तरण गर्ने अभिव्यक्ति दिएका छन् । संसदीय राजनीतिका माहिर खेलाडी नारायणमान बिजुक्छेबाट आएको विगतकै शैलीमा ‘सांकेतिक भाषा’ लाई राजनीतिक विश्लेषकहरुले अर्थपूर्ण ठानेका छन् ।
बहुदलीय व्यवस्थाको पुनर्स्थापना यता नेपालमा दर्जनौं पटक चलेका सरकार परिवर्तनका सबै खेलहरुमा नेमकिपा र बिजुक्छे बाहिरबाट हेर्दा निरपेक्ष देखिने तर सारभूत रुपमा चाहिँ निर्णायक बन्ने गरेका छन् । गिरिजाप्रसादका कतिपय सरकार बनाउने र टिकाउने सवालमा अनि वामपन्थी पृष्ठभूमिका उम्मेदवारलाई हराएर कांग्रेस नेता रामवरण यादवलाई राष्ट्रपति बनाउने खेलमा चाहिँ बिजुक्छेको खुल्लमखुला कांग्रेसको सहयोगीकै भूमिकामा प्रकट भए । सोझै सरकामा चाहिँ कहिल्यै सहभागी नहुने तर सरकारको गठन र विघटनमा ‘भित्री–बाहिरी तीव्र चलखेल’ मा रमाउने भनिएका बिजुक्छेको पछिल्लो अभिव्यक्तिले राजनीतिक रंगमञ्चमा ठूलै तरंग ल्याएको छ ।
अध्यक्ष बिजुक्छेले सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै ‘तत्काल सरकार परिवर्तन सम्भव नभएको’ बताए । उनले ‘वर्तमान प्रधानमन्त्रीसँग गोली भरिएको बन्दुक भएको’ उल्लेख गर्दै ‘यही सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद विघटन गरी निर्वाचनमा जान सक्ने’ बताए ।
‘वर्तमान सरकारले स्थानीय निकायको निर्वाचनसम्म आफ्नो उपस्थिति जनाउने’ उल्लेख गर्दै बिजुक्छेले ‘वर्तमान सरकार न्यूनतम पनि अर्को १ वर्षसम्म रहन सक्ने’ बताए ।
‘नेपालका ठूला राजनीतिक दलहरुमा १० प्रतिशत भारतीय एजेन्ट रहेको’ दावी गर्दै बिजुक्छेले ‘यहाँका २२ हजार कर्मचारी भारतको एजेन्ट भएकाले भारतले नेपालमा आफ्नो पहुँचकै आधारमा परिवर्तनको खेल खेल्ने गरेको’ समेत बताए ।
‘भारतले संविधानप्रति देखाएको समर्थन सरकार परिवर्तन गरी आफ्नो पहुँच बढाउने प्रयास’ भन्दै बिजुक्छेले ‘भारतसँग मिलिरहेका विदेशीहरुले समेत नेपालमा सरकार परिवर्तनको खेल सुरु गरेको’ दावी गरे ।
भारतीय राजदूत रञ्जित रेले नेपालमा ‘राजदूतको भन्दा पनि गुप्तचरको काम गरेको’ उल्लेख गर्दै बिजुक्छेले राजदूत रेलाई नेपाल सरकारले तत्काल भारत फिर्ता गर्नुपर्ने बताए ।
भक्तपुरको एउटा निर्वाचन क्षेत्रमा खुम्चिएको पार्टीका अध्यक्ष भए तापनि कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षस्थ नेताहरुसँग बाक्लै उठबसमा रहेका र नेपालको संसदीय खेलको इतिहासकै सिङ्गै कालखण्डभर निर्णायक खेलाडी रहेका बिजुक्छेले सार्वजनिक गरेका यी अभिव्यक्तिको निहितार्थतालाई वर्तमान राजनीतिका शीर्ष खेलाडीहरुले चाहिँ कसरी बुझेका छन् कुन्नि ?