संसदीय गोलचक्करमा फसेको नेपाली राजनीतिको सडेगलेको थोत्रो संरचना ध्वस्त बनाएर नयाँ जनवादी राज्यसत्ताको जग बसाल्ने स्पष्ट लक्ष्य र योजनाका साथ तत्कालीन नेकपा (माओवादी) ले ‘प्रतिक्रियावादी राज्यसत्तालाइ ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्वको बाटोमा अघि बढौं’ भन्ने नाराका साथ २०५२ फागुन १ गते महान् जनयुद्धको थालनी गर्यो ।
त्यतिबेलाको परिवेशमा संसदवादीहरूबाट भएको जनचाहनाहरुको उपेक्षा, फरक मत र विचार राख्नेहरूमाथिको निर्मम दमन र हत्या, जनताको अपमान, राष्ट्रविरोधी गतिविधि तथा विदेशी हस्तक्षेपलाई खुलेआम प्रोत्साहनजस्ता गततिविधिबाट आजित नेपाली जनतालाई जनयुद्वले तीब्र रुपमा आकर्षित गर्यो । त्यसैको फलस्वरुप नेपाली जनयुद्धले छिट्टै उचाइ चुम्न सफल भयो ।
‘राजनीतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ’ भन्ने माओको भनाइलाई आत्मसात् गर्दै दीर्घकालीन जनयुद्धको रणनीति अवलम्बन गर्दै जनसत्ता स्थापनमा अगाडि बढेको नेपाली जनयुद्व करिव १० वर्षको अवधिभित्र मुलुकमा समानान्तर सत्ताको सफल अभ्यास गर्दै राजनीतिक र फौजी दुवै ढंगबाट नेपालको ८० प्रतिशत भू–भागमा आफ्नो नियन्त्रण कायम गर्न सफल भयो ।
यसबाट मुलुकमा कोही पनि अछुतो रहन सकेन । वर्गीय मुक्तिका खातिर हजारौं युवाहरू जनयुद्वमा लामबद्ध भए । तिनै साहसी एवम् क्रान्तिकारी युवामध्यका एक हुनुहुन्थ्यो विष्णु चौलागाईं अर्थात कमरेड अभय ।
जनयुद्धको मैदानमा बहादुरीपूर्वक लड्दालड्दै २०६० असार ३१ वीरतापूर्ण शहादत प्राप्त गर्नुभएका विष्णु चौलागाईं अर्थात् कमरेड अभयको आज (३१ असार, २०७३ मा) १३औं स्मृति दिवस हो । यस सन्दर्भमा श्रद्धाञ्जलीस्वरुप उहाँकै सेरोफेरोमा केन्द्रित रही यी पंक्ति कोरिरहेको छु ।
उसै त विद्यार्थीहरू त्यसमाथि महान् जनयुद्धको अगुवाई गरिरहेको क्रान्तिकारी माओवादी पार्टीसँग सम्बद्ध अखिल क्रान्तिकारी । देशमा जनयुद्ध घनिभूत ढंगले अगाडि बढिरहेका बखत त्यस्तो संगठनका सदस्यहरुले समयको गतिबाट पृथक् भएर बाँच्न सक्ने कुरै भएन । दनदनी जलिरहेको देशमा किनारामा उभिएर तमासा मात्र हेरिरहने कुरै थिएन युवा जोश–जाँगरले भरिपूर्ण क्रान्तिकारी विद्यार्थीहरुले ।
जतिबेला आवश्यक पर्छ, बन्दुक उठाइहाल्न तत्पर थिए क्रान्तिकारी विद्यार्थीहरु । कलमको मोर्चाबाट लडिरहेका कयौं विद्यार्थी नेता–कार्यकर्ताहरू इतिहासले माग गर्नासाथ बन्दुकको मोर्चामा पुगेर बहादुरीपूर्वक लड्दालड्दै वीरगति प्राप्त गर्न किञ्चित पछि हटेनन् ।
नेपालको गौरवपूर्ण इतिहासमा गंगालाल श्रेष्ठबाट सुरू भएको यात्रा विष्णु चौलागाईंसम्म आइपुग्यो । मृत्यु त उसको शरीरको मात्रै भयो, विचारको भएन र कदापि हुँदैन पनि । ऊ जहाँ ढल्यो, त्यहाँ रगत छ, त्यो क्रान्तिको बिऊ हो, एक दिन त्यही रगत रातो गुलाफ भई फक्रनेछ । उसको ‘चिहान’ ले सत्ताका मालिकहरूलाई सधैं तर्साइरहनेछ ।
उसको ‘चिहान’ बाट विचार, त्याग, अठोट र बलिदानको झन्डा सदासर्वदा फर्फराइरहनेछ । त्यही बलिदानले नै त हामीलाई बाँच्ने, लड्ने र क्षितिजसम्म पुग्ने ऊर्जा दिइरहेको छ र दिइरहने नै छ । सहिदको रगतले लेखिएको इतिहासलाई निरन्तरता दिँदै रगतले नै लेखेर बाँकी कामलाई पूर्णता दिने दायित्व हाम्रो काँधमा छ ।
जुन गोली उहाँको छातीमा दागियो त्यो केवल विष्णुको हत्या गर्न मात्रै दागिएको थिएन, त्यो त देशलाई माया गर्ने, जनताको मुक्तिआन्दोलनलाई आफ्नो जीवन बनाउने, सुन्दर संसारका समग्र स्वप्नद्रष्टाहरूकै नाभीस्थलमाथि प्रहार गरिएको गोली थियो । हामीले आज उहाँलाई सम्झनु भनेको आफ्नो जीवनलाई विचार, आदर्श, दर्शनअनुसार बनाउन प्रतिबद्धता व्यक्त गर्नु पनि हो । यो नै महान् सहिद विष्णु चौलागाईंको ओजत्व र स्वत्व समेत हो ।
उहाँका विचारहरुलाई मार्न शासकहरुले विष्णुलाई जेलका चिसा छिँडीहरुमा कोचे । तर, शासकहरुले जित्न सकेनन्, हारे । उहाँले जेलबाटै हुंकार गर्नुभयो र भन्नुभयो– ‘हेर ! जनताको पक्षमा उभिने बहादुर छोराहरु कहिल्यै जनविरोधी शासकहरुसामु शीर निहुर्यायाउँन चाहँदैनन्, बरु सारा भौतिक सुख–सुविधाहरु त्याग्न सक्छन् र अन्त्यमा आफ्नो जीवनकै आहुति दिन पनि हिच्किचाउँदैनन् । हामी मृत्युलाई अँगालेर पनि आम शोषित–पीडितहरुको पक्षमा उभिन्छौं । तर, शासकहरु जनताका असल मान्छेहरुलाई गोलीले भुटेर आफ्नो सत्ता लम्ब्याउन चाहन्छन् तर उनीहरु त्यसमा कहिल्यै सफल हुन सक्दैनन् ।’
कमरेड विष्णु चौलागाईं आज हामीबीच हुनुहुन्न । तर, उहाँका विचारहरु र उहाँले देखाउनु भएको गौरवशाली मृत्युको दस्तावेज हामीसँगै छन् । उहाँको भौतिक शरीर हामीबीच छैन तर महान् अठोटहरु अर्थात आफू मरेर पनि उहाँले बाँचेकाहरुलाई तानाशाहहरुका अगाडि शीर झुकाउनु नहुने अमूल्य पाठ छाडेर जानु भएको छ । इतिहासमा तानाशाहहरु सजिलै मर्न पाएका छैनन् । तानाशाहहरुको मृत्यु सधैं प्वाँखभन्दा हलुंगो हुन्छ र इतिहासका कलंकित पक्षका रुपमा ती रहन्छन् । तर, इतिहासमा यस्ता वीरहरुको गाथा भेट्न सकिन्छ, जो मरेर पनि अनन्त कालसम्म बाँचिरहेका छन्, जसको मृत्यु पहाडभन्दा उच्च र गौरवशाली हुन्छ । विष्णु चौलागाईं यस्तै एकजना पहाडभन्दा उच्च र गौरवशाली मृत्युवरण गर्ने साहसी वीर योद्धा हुन् ।
समय फेरिएको छ । विष्णु चौलागाईंहरूको बलिदानपश्चात नेपालको राजनीतिमा धेरै उथलपुथल आएको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । समावेशी–समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता सुनिश्चित भएको छ । वलिदानका असंख्य कीर्तिमानहरू खडा भएका छन् तर पनि क्षितिजमा काला बादलहरू मडारिन छाडेका छैनन् । हिजोका जनयुद्वका योद्धाहरूमाथि झुठा मुद्वा चलाएर उनीहरुलाई खोरमा थुन्ने दुःचेष्टा गरिँदैछ । नेताहरू पनि अवसरवादमा चुर्लुम्मै डुबेका छन् । आदर्शहरू ढलेका छन् । बेपत्ता योद्धाहरू अझैसम्म पनि बेखबर छन् । सहिद परिवारहरूको विचल्ली छ । सपनाहरू मरेका छन् । पाइला–पाइलामा प्रतिक्रान्तिको खतरा कायमै छ ।
नायकहरू खलनायकमा रूपान्तरित भएको बोध हुन थालेको छ । आफ्ना हुन् कि पराई ? भेद पाउँन गाह्रो हुन थालेको छ । हिजोका हत्याराहरू पार्टीमै ‘कमरेड’ बनेर भित्रिएका छन्, धमाधम भित्रिने क्रम जारी नै छ । सगरमाथाको काखमा अवस्थित किसानहरूको देशमा सर्वहारा वर्गको मुक्तिका खातिर उठेको यो झन्डा अझै खतरामुक्त छैन । सबैखाले अवसरवादका विरूद्व निर्मम संघर्ष गर्दै अगाडि बढ्ने दायित्व हाम्रो काँधमा छ ।
महान् सहिद विष्णु चौलागाईं : संक्षिप्त परिचय
जन्म, बाल्यकाल र शिक्षादीक्षा
विष्णु चौलागाई ‘अभय’ को जन्म बुबा तुल्कप्रसाद चौलागाईं र आमा टीकामाया चौलागाईंको कोखबाट २०३७ पुस ८ गते रामेछाप जिल्लाको गुन्सीभदौरे गाविस वडा नं. ३, स्वाँरा टोलमा भएको थियो । उहाँले स्थानीय श्री शतलिङ्गेश्वर उमाविबाट प्रारम्भिकदेखि माध्यामिक तहसम्मको शिक्षा आर्जन गरी २०५३ मा एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । त्यसपछि उहाँले २०५४ देखि २०५९ सम्मको अवधिमा पाटन संयुक्त क्याप्पसबाट स्नातक तेस्रो वर्षसम्मको औपचारिक अध्ययन गर्नुभयो । २०५८ मा आफ्नै गाँउकी निर्मला गौतमसँग वैवाहिक जीवनमा बाँधिनुभएका विष्णुकी १ छोरी (नविना) छन् ।
राजनीतिक–संगठनात्मक भूमिका
सांगठनिक रूपमा उहाँ २०५२ मा अखिल (क्रान्तिकारी) को साधारण सदस्य हुँदै २०५४ मा पाटन संयुक्त क्याम्पस इकाई सदस्य हुनुभयो भने २०५६ मा क्याम्पस इकाई सचिव हुनुभयो । २०५७ मा ललितपुर जिल्ला सदस्य हुँदै कोषाध्यक्षसम्मको जिम्मेवारी बहन गर्नुभयो । २०५७ देखि पूर्णकालीन भई सांगठनिक जिम्मेवारी सम्हाल्ने क्रममै उहाँ २०६० मा रामेछाप जिल्ला सचिव हुनुभएको थियो । अत्यन्तै शिष्ट, मिलनसार, मेहनती, इमानदार, मृदुभाषी, अध्ययनशील कमरेड अभय पार्टीको एरिया समिति सदस्य हुनुहुन्थ्यो ।
हिरासत, जेलजीवन र शहादत
उहाँले २०५५ देखि २०६० सम्ममा ४ पटक कथित सार्वजनिक अपराध, हातहतियार–खरखजना, सार्वजनिक सुरक्षा, राज्य विप्लवजस्ता मुद्वाहरू खेप्दै काभ्रेको धुलिखेल, काठमाडौंको नख्खु र सदरखोरमा करिव ३ वर्षसम्म हिरासतको यातना तथा जेलजीवन व्यतित गर्नुभएको थियो । कमरेड विष्णु चौंलागाईलाई २०६० असार ३१ गते दोरम्बाबाट आएको तत्कालीन शाही सेनाले रामेछाप जिल्लाको गौंश्वारा गाविसस्थित शैलुङको जङ्गलमा रहेको चौंरीगोठमा आश्रय लिइरहेका बेला घेरा हाली गोली हानेर घाइते बनायो । करिब दुई घन्टा हिँडेपछि अत्यधिक रक्तश्रावका कारण सोही दिन उहाँको शहादत हुन पुग्यो ।
२०७३ असार ३१ मा न्युजकोसेलीले प्रकाशित गरेको यो सामग्री महान् सहिद विष्णु चौलागाईंप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै आज (२०७६ असार ३१ मा) पुनः प्रकाशन गरिएको हो– सम्पादक ।