newskoseli.Com

‘वुडकटर’ देखि ‘ग्रीन सोल्डर’ सम्म : अचुत गुरुङको अनौठो जीवनयात्रा

निरन्तर संघर्ष गर्ने हो भने मान्छेले नसोचेको सफलता हासिल गर्न सक्छ भन्ने उदाहरणका पात्र हुन् पर्यटन व्यवसायी अचुत गुरुङ । काभ्रेपलाञ्चोक जिल्लाको नाल्दुम गाविस (नगरकोट) साठीखुरिय, रोहिनी भञ्ज्याङमा बुबा उत्तरबहादुर गुरुङ र आमा साहिँली गुरुङका जेठा सन्तानका रुपमा विक्रम् सम्वत् २०२९ जेठ १९ मा पर्यटन व्यवसायी गुरुङको जन्म भएको हो ।

बुबाआमा, चार दाजुभाइ तथा तीन दिदी बहिनी सहित नौ जनाको परिवार (दुइजना भाइकाे वाल्यकाल मै निधन भयाे) को लालनपालनमा  बुबालार्इ सानैदेखि साथ दिए । व्यवसाय गर्नुपर्छ र स्वाबलम्वि बन्नु पर्छ भन्ने बानी उनलार्इ सानैदेखि पर्‍यो । मेहनत परिश्रमको महत्व सानैदेखि बुझेकाले नै उनी सफल व्यवसायी बन्न सफल भए ।

संयोग र बियोगको अनौठो बाल्यकाल

घरको जेठो सन्तान भएकाले परिवारमा उनको दायित्व र कर्तव्य पनि धेरै हुनु स्वाभाविकै हो । राजधानीबाट नजिकै भए पनि अति नै दुर्गम क्षेत्र भएकाले हरेक कुराको अभाव, अध्ययनका लागि विद्यालय जान एक घन्टा हिँडेर आवतजावत गर्नुपर्ने । गुरुङका बुबा शिक्षाको महत्व बुझेका व्यक्ति थिए, समाजसेवामा भिजेका थिए । उनी चाहन्थे छोराले पढेर बैंकको हाकिम बनोस्, बैङ्कर होओस् । त्यही भएर छोरालाई पढ्न अभिप्रेरित गरे ।

नगरकोटकै सेतीदेवि प्राविमा पाँच कक्षा पास गरे । ६ कक्षा पढ्न चण्डेश्वरी नालामा गए तर धेरै टाढा भएकाले पास हुन सकेनन् । त्यसपछि भक्तपुरस्थित मामाघरमा बसेर ६ र ७ कक्षा अध्ययन गरे तर ७ कक्षामा सफल हुन सकेनन् ।

विद्यालय अध्ययन गर्दा नै उनले फलफूल तथा दाउराको व्यापार पनि गरे । होटलहरुमा पर्यटकहरुका लागि आगो बालेर न्यानो दिने गरिन्थ्यो । त्यसैका लागि आवश्यक पर्ने दाउरा सप्लाइको काम गरे गुरुङले । आफ्नो खर्च आफैं जुटाउदै पढे । पर्यटकहरुसँग संगत भयो । पढाइभन्दा पर्यटकसँग बढि समय व्यतित हुन थाल्यो । एउटै कक्षामा धेरै पटक फेल भएपछि बुबाले सिस्नुपानी लगाए तर पनि उनको खासै ध्यान पढाइमा गएन ।

घरबाट भाग्दा रत्नपार्कमा बास

पढाइमा सफलता प्राप्त गर्न नसकेपछि बैंकको हाकिम (ब्याङ्कर) बनाउने बुबाको सपना पूरा नहुने भयो । उनले घरबाट भागेर काठमाडौं जाने निधो गरे । बुबाको सय रुपियाँ, कुखुराका केही अन्डा र पाँच पाथी तोरी चोरेर उनी एकाबिहानै घरबाटे हिँडे । खरिपाटीमा आएर तोरी र अन्डा बेचे । करिब तीन सय रुपियाँ जम्मा पारेर हिँडे काठमाडौंका लागि ।

बसले रत्नपार्क नजिकै छोडिदियो । उनी यताउता घुमे । नौला मानिस, नौलो ठाँउ । कता जाने, के गर्ने– कुनै भेउ पाउन सकेनन् । त्यस रात रत्नपार्कको चउरमा खुला आकाशमुनि केही घरविहीन मानिसहरुसँग बिताए । उनको बाल्यकालको दिमागले सोच्न सक्यो या सकेन– मानिसले जतिसुकै धनसम्पत्ति कमाए पनि अन्तिममा उसलाई साथ मिल्ने भनेको खुला आकासमुनिको केही फिट जमिन मात्रै हो ।

ट्रेकिङको काम सुरुः दैनिक ७५ रुपैयाँ आम्दानी

रत्नपार्कबाट बिहानै उठेर भोटाहिटीको बाटो हिँड्दै गर्दा एक जना मानिसले उनलाई बोलाए र काम गर्न प्रस्ताव राखे । उनलाइ ‘के खोज्छस् काना आँखो’ भनेजस्तै भयो । मासिक २ सय ७५ रुपैयाँ तलब पाउनेगरी रेष्टुरेन्टमा काम सुरु गरे । केही समय काम गरेपछि बुबालाई पैसा पठाइदिए, गाउँकै मान्छेमार्फत ।

रेष्टुरेन्टमा काम गर्दा मण्डला ट्रेकिङका स्व. इमानसिंह घले गुरुङसँग भेट भयो । घलेले ट्रेकिङमा दैनिक ७५ रुपैयाँ पाइने गरी काम लगाइदिए– सगरमाथाको बेस क्याम्पसम्म जानुपर्ने । उनी तयार भए।

१४–१५ वर्षको सानो केटो, भारी बोकेर हिमालको यात्रा, कठिन त हुने नै भयो । सबैभन्दा सानो मान्छे, त्यसमा पनि ‘काम गर्न सकेन भने शेर्पाहरुले मारिदिन्छन्’ भन्ने सुनेका । त्यहाँ पुगेपछि डर र घरपरिवारको सम्झनाले नराम्राेसँग सतायो । सानैदेखि पर्यटकसँग घुलमिल गरेकाले अंग्रेजी पनि बोल्न आउँथ्यो, त्यसैले हिम्मत भने हारेनन् गुरुङले ।

उनको व्यवहार अभिरुचिपूर्वक हेरिरहेका थिए पर्यटकले । सानो मान्छे, थोरै अंग्रेजी पनि बोल्न सक्ने देखेपछि ‘काठमाडौं लगेर पढाइदिन्छौं’ भन्दै पर्यटकले लुक्लाबाटै प्लेन चढाएर काठमाडौं पठाइदिए । धोबीचौरमा डेरा खोजी बसे र अंग्रेजी भाषा सिके । साथसाथै काम पनि सुरु गरे ‘मल्ल ट्रेक’ मा ।

घर फर्किए दुई वर्षपछि

घरबाट भागेर आएका उनी काम गरेर आर्थिक रुपमा समेत केही सक्षम भएर घरबाट निस्केको २ वर्षपछि घर गए । त्यसअघि नै उनले कमाएका केही पैसा  बुबालाई पठाइसकेका थिए । नगरकोट गएपछि पनि उनले होटलको घडेरी खन्नेदेखि पानी बोक्नेसम्मका काम गरे । त्यसबेला नगरकोटमा केही होटल र गेस्टहाउस खुल्ने क्रममा थिए । मासिक ५ हजार तलब पाउनेगरी ‘भ्यु प्वाइन्ट’ भन्ने होटलमा गाइडको काम सुरु गरे । २०४६ को राजनीतिक परिवर्तनताका उनी राम्रो गाइड बनिसकेका थिए ।

१८ वर्षकै उमेरमा मागीविवाह

1

बुबाले छोराको विवाहका लागि पहिल्यै केटी खोजेर राखेका थिए । घरबाट हिँडेको २ वर्षपछि गुरुङ घर जानासाथ १८ वर्षकै उमेरमा विवाह भयो । दुई सन्तानका पिता अचुत गुरुङका एक छोरा हाल अमेरिकामा इन्जिनियरिङ अध्ययनरत् छन् भने छोरी

काठमाडौंमा १२ कक्षा अध्ययनरत् छिन् । गुरुङ भन्छन् ‘मैले पूरा गर्न नसकेको शिक्षालाई पनि मेरा छोराछारीले नै पूरा गरिदिऊन् ।’

ट्रेकिङ व्यवसायको सुरुआत

नगरकोटमा करिव तीन वर्षजति काम गरिसकेपछि उनले काठमाडौंको ‘गणेश हिमाल ट्रेकिङ’ मा पथप्रदर्शक अर्थात् ट्रेकिङ गाइड, सहायक म्यानेजर हुँदै  म्यानेजरमा बढुवा भए र त्यही कम्पनीमा साझेदारीमा शेयर समेत लिए ।

धेरै वर्ष त्यहीं काम गरेपछि कारणवश त्यो कम्पनी छाेडेर उनले सन् २००३ मा आफ्नै कम्पनी खोले ।  करिब तीन वर्षको अवधिमा उनले यति पैसा कमाए कि त्यो उनको कल्पनाभन्दा पनि बाहिरको कुरा थियो ।

कुलतमा धकेल्यो पैसाले

कमाइ धेरै भएपछि संगत पनि धनाढ्यहरुसँगै हुन थाल्यो । खर्चालू बानी हुन थाल्यो । क्यासिनोमा जाने लत् बस्यो । क्यासिनोमा हार्ने क्रम पनि सुरु भयो र जारी रह्यो सम्पत्ति हार्ने । क्यासिनोको लतले गुरुङलाई यस्तो अवस्थामा पुर्यायो कि अफिसको सटरमा लगाउन ताल्चा किन्ने पैसा समेत उनीसँग बाँकी रहेन ।

कर्मचारीहरुले एकएक गरी कम्युटर, टेबल, कुर्सीलगायतका सबै सरसामान उठाएर लगे । त्यस बेलासम्म कमाएको करिव अाठ करोड रुपैयाँ क्यासिनोमै स्वाहा भयो । त्यति मात्र होइन, ऋण गरिगरि करिब असि लाख पनि क्यासिनोमै सके अचुतले ।

व्यवसायी गुरुङका दुःखद् क्षण

क्यासिनोको लतले ऋणमा डुबाएपछि गुरुङलाई साहुदेखि भागेर लुकीलुकी हिँड्नुपर्ने अवस्था आयो । ऋण उठाउन आउनेहरुबाट बच्न घरपरिवारलार्इ समेत  छाेडेर भूमिगत भइ हिड्नु पर्दाकाे  क्षण अत्यन्तै दुःखद् रहेको बताउँछन् गुरुङ ।

उनले ढुक्कसँग कुनै पनि काम गर्न पाएनन् । धेरै ठाँउमा भौंतारिँदै हिँडे, कहिले नगरकोट त कहिले काठमाडौं । गुरुङ जहाँ पुगे पैसा उठाउन पच्छ्याउने साहुहरुले उनलाई छोडेनन् ।

यस्ता छन् गुरुङका सुखद क्षण

पैसाले नै मानिसलाई कहिले खुसी गराउँछ त त्यही पैसाले कहिले दुःखी बनाउँछ । पैसाकै कारण संसारमा धेरै मान्छेहरु सुखी र दुःखी भएका छन् । अरुलाई जस्तै अच्युत गुरुङलाई पनि पैसाले सुखी र दुःखी दुबै बनायो ।

अहिले उनी पैसाका कारण सुखी र दुःखी दुवै छैनन् । यतिबेला उनलाई खुसी बनाउने माध्यम बनेका छन्– समाजसेवामा लागेका आफ्नै हातहरु । आत्मसन्तुष्टि मिलेको छ समाजसेवाबाट नै । एक सिपाहीको यात्राझैं उनी विद्यालय बनाउने कार्यमा जुटेका छन् । समाजसेवामा बिताउँदाको क्षणबाट आत्मीय खुसी मिलेको छ गुरुङलाई । ‘आफूले दुःखीहरुका लागि केही सहयोग गर्न सकेको अवस्था नै मेरा लागि सुखद् क्षण हो’– उनी भन्छन् ।

जहाँ पीडा, त्यहीं उनको मन

मन पर्ने स्थान कुन हो भन्ने प्रश्नमा गुरुङ भन्छन्– ‘संसारमा धेरै मानिसहरु पीडा र दुःखमा जीवन गुजारिरहेका हुन्छन् । दुःखी र पीडितलाई केही मलमपट्टी लगाउन सकियो भने त्यो खुसीले अरु खुसीलाइ जित्छ । नेपालका सम्पूर्ण भूभाग रहणिय र स्वर्ग झै लाग्ने बताउछन् अचुत गुरूङ ।

जहाँ जे भेटिन्छ, त्यही मिठो

काठमाडाैंकाे मुटु ठमेलमा अाफ्नै अत्याधुनिक स्तरकाे रेष्टुरेण्ट मालिक भएपनि उनलाइ खानाकाे खास साेख भने छैन । उनि अाफू खान हाेइन  अरूलार्इ खुवाउनुमा खुसी र गर्व मान्छन् ।

आधुनिक युगका हरेक मान्छे नयाँ स्वादमा मस्त हुन मन पराउँछन् । हरेक कुरामा सोखिन बन्छन् । तर, अचुत गुरुङमा यस्तो कुनै सोख छैन खानामा । ‘भोजनभन्दा भोक मिठो’ भने झैं उनलाई यस्तै खाना खानुपर्छ भन्ने लाग्दैन । भन्छन्– ‘भोक लागेपछि सबै खाने कुरा मिठो हुन्छ, जहाँ जे भेटिन्छ मलाई त्यही मिठो लाग्छ ।’

सुरुआतः ‘हिमालयन ट्रायल फाइन्डर’ को

भागेर कुनै काम गर्न सकिँदैन भन्ने बुझेका गुरुङले अठोट गरे– ‘ अब नयाँ तरिकाले काम गर्छु ।’ ठमेलमा सटर भाडामा लिए नयाँ अफिसका लागि । टेबल–कुर्सी बनाउने पैसा नभएकाले सुकुल किनेर त्यसैबाट जन्म दिए– ‘हिमालयन ट्रायल फाइन्डर’ नामक अफिसको । हाल ‘हिमालयन ट्रायल फाइन्डर’ अफिस स्पेनकाे वार्सिलाेना र इटालिकाे फिनाले लिगुरियामा विदेशी कम्पनीहरूसँगकाे साझेदारिमा समेत विस्तार भइ हजाराै पर्यटक नेपालमा भित्र्याउन सफल भएका छन् । यसका लागि व्यापारिक साझेदारि वसन्द गुरूङ (मामा), सानु राना, निरण गुरूङ, अरूण गुरूङ, राजु गुरूङ (भाइ) काे साथ र सहयाेगलार्इ अन्तरअात्मादेखि धन्यवाद दिन्छन् अचुत ।

‘फाइन ग्रुप’

‘हिमालयन ट्रायल फाइन्डर’ को सुरुका दिनमै चार देशका चार पर्यटकका ग्रुपबाट काम सुरु गरे उनले । ग्रुपको नाम राखे– ‘फाइन ग्रुप’ । यो कामको सुरुआतपछि गुरुङले व्यवसायबाट पछि फर्कनु परेन । केही राहत त मिल्यो तर ऋण तिर्न चाहिँ सकेका थिएनन् ।

८ वर्ष अष्ट्रेलियामा

यसै क्रममा उनको चिनजान भयो अष्ट्रेलियन साथीहरूसँग । गुरुङको अवस्था थाहा पाएपछि उनीहरूले प्रस्ताव राखे अष्ट्रेलिया जाने । साथीहरूकै साथ र सहयोगबाट अष्ट्रेलिया पुगे । १ वर्षको भिसामा गएका गुरूङले भिसा सकिएपछि साथीहरूको साथ पनि पाउन सकेनन् । तैपनि विचलित नभई  विनाभिसा नै उतै काम थाले । राम्रो कमाइ गरे ।

विनाभिसै ७ वर्ष अष्ट्रेलियामा बिताए गुरुङले । यताका कतिपयको  ऋण उतैबाट तिरिदिए । नेपालको राजनीतिक परिवर्तनपछि र युद्धविरामपश्चात नेपालमै केही गर्नुपर्छ भन्ने लाग्यो । लामो समय विनाभिसा बस्न मन पनि नलागेपछि उनी पासपोर्टसहित राजदूतावास गए र आफू नेपाल फर्कन चाहेको बताए ।

गुरुङ इमानदारितापूर्वक अाएको देखेर दूतावासका कर्मचारीले उनलाई सम्मानपूर्वक नेपाल फर्कने चाँजो मिलाइदिए । र, नेपाल फर्केपछि उनी फेरि व्यवसायमै व्यस्त भए । गुरुङ भन्छन्– ‘भगवानको देनले मेरो सबै कुरा राम्रो भयो ।’

‘ग्रीन सोल्डर’ देखि ‘आर्टमान्डू’ सम्म…

यसरी जन्म्यो ‘ग्रीन सोल्डर ग्रुप’

1 (8)

पैसा कमाएर र खर्च गरेर मात्रै देशलाई कुनै टेवा पुग्दैन भन्ने सोचेका गुरुङले यात्राको क्रममा घोरेपानी पुगेको समयमा त्यस क्षेत्रमा थुप्रिएका प्लास्टिक र बोतल टिपेर सरसफाइको कामबाट समाजसेवामा हात हाले । घोरेपानीमा प्लास्टिक टिप्ने क्रममा स्थानीय बासिन्दाले नेपाली सेना, माओवादी सेना भनेजस्तै ‘गोरा सेना’ को नाम दिएछन् ।

त्यहाँ प्लास्टिक टिप्दा स्वदेशी तथा विदेशीहरुले दिएको साथ र उत्साहले उनले सरसफाई गर्ने टिमको नाम ‘ग्रीन सोल्डर’ राखे । सबैलाई उत्साह र जाँगर दिँदै लगातार तीन वर्ष यो समूहले काठमाडौंको स्वयम्भूमा सरसफाइको काम गरिसकेपछि सन् २०१२ डिसेम्वर १२ मा विधिवत् रुपमा दर्ता गरेर ‘ग्रीन सोल्डर’  दर्ता भएर हरेक शनिबार निरन्तर सरसफाइको कार्य गरिरहेको छ । (३० जुलाइ २०१६) मा याे समुहले २ सय हप्ता पुरा गरेकाे छ । हरेक शनिवार सक्रिए रहेर हाल सम्म् ७२ हजार केजी भन्दा बढी प्लाष्टक जन्य फाेहरहरू  संकलन गरिसकेकाे छ । केहि साथिहरूकाे समन्वयमा अाउदाे २०१७ जुन महिनामा  १० लाख जनसहभागिता गराइ प्लाष्टिकजन्य  फाेहाेरहरू संकलन गरि व्यवस्थित् गर्ने कार्यमा विभिन्न सघंसस्था तथा सबन्धित निकायसँगकाे सहकार्य गर्ने कार्यमा व्यस्त रहेकाे बताउँछन गुरूङ ।

गुरुङकै अध्यक्षतामा दर्ता भएको यो ग्रुपले व्यापकता पायो । यो ग्रुपको सफलताले यतिसम्म चर्चा पाएछ कि इटालीको एक डकुमेन्ट्री कम्पनीले उनको समाजसेवाका क्रममा मिल्काइएका प्लास्टिकका सामानहरुलाई नै विषयवस्तु बनाएर ‘वेस्ट मण्डला’ नामको ४५ मिनेट लामो वृत्तचित्र (डकुमेन्ट्री) नै बनायो ।

1 (12)

युरोपका केहि टेलिभिजनले उनको अन्तर्वार्ता  लियो र उनको कार्यमा थप प्रोत्साहन दियो । इटालिकाे राष्ट्रिय टेलिभिजन RAI ONE ले वृत्तचित्र WASTE MANDALA लाइ प्रशारण समेत गर्याे ।नेपालका अधिकांश पत्रपत्रिकका तथा केहि टेलिभिजनमा समेत गुरूङकाे कार्यका बारेमा महन्वका साथ प्रकाशन, प्रशारण गर्याे ।

गुरुङलाई निरन्तर समाजसेवामा लाग्न यी घटनाक्रमले थप अभिप्रेरित गरिरहेका छन् ।

‘मेरो हातले साथ दिएसम्म समाजसेवामा निरन्तर लागिरहन्छु’– गुरुङ भन्छन् ।

‘फोहर र मोहर’ को बीचबाट ‘आर्टमान्डू’ को जन्म

पर्यटन व्यवसायी गुरुङले ‘आर्टमान्डू’ नामको रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । सुन्दा पनि अचम्मजस्तो लाग्ने ‘आर्टमान्डू’ नामको रेष्टुरेन्टको जन्म पनि अचम्मैसँग भएको रहेछ । ‘कसैले काम नलाग्ने ठानेर फालेको र स्वयम्भूको सरसफाइका क्रममा भेटिएको काठको सानो टेबलबाट यसको जन्म भयो’, गुरुङ भन्छन्– ‘हामीले ‘फोहरबाट मोेहर’ भन्ने सुन्दै आइएका छौं तर फोहरलाई बेचेर वा नष्ट गरेर मोहरमा परिणत गर्नुअघि कलाको माध्यमबाट पुनः प्रयोग गर्न  सकिन्छ भन्ने कन्सेप्ट आयो, त्यही कलाको कन्सेप्टको आधारमा फोहर र मोहरको बीचबाट ‘आर्टमान्डू’ को जन्म भयो ।’

1 (10)

‘आर्टमान्डू रेष्टुरेन्ट’ मा प्रयोग भएका सामानहरु सबै नै कलाको माध्यमबाट पुनः प्रयोगमा ल्याइएका सामान हुन् । सम्भव नदेखिएका कुराहरु पनि ‘आर्टमान्डू’ मा सम्भव भएका छन् ।

पर्यटकिय नगरी ठमेलमा इटालियन खानाकाे कमि महशुस गरि अाल्केमि पिजेरिया रेष्टुरेण्ट शुरू गरे, र छाेटाे समयमा नै स्वदेशी तथा विदेशी पाहुनाकाे मन जित्न सफल भइ सफलताकाे शिखरमा पुर्याउन सफल भए ।

र, अाफ्नाे व्यापारमा नाफा वा सफलता भन्दा पनि भूकम्पकाे कारणले दुःख र पीडाकाे महासागरमा रूमल्लिएका युवाहरूलार्इ अाफ्नै देशमा  राेजगरि दिन सफल भएकाेमा गर्व महशुस गर्छन् गुरूङ ।

बुद्धिजीवीको रोजाइमा ‘आर्टमान्डू’

आर्टमान्डू रेष्टुरेन्टमा एउटा सानो कोठा गुफाको आकारमा निर्माण गरिएको छ । यो गुफामा बुद्धिजीवी वर्गका मानिसहरु भलाकुसारी तथा बौद्धिक मन्थनका लागि आउने गरेका छन् । ‘शान्त वातावरण भएकाले साहित्यकार तथा बुद्धिजीवीहरुको रोजाइमा परेको छ आर्टमान्डू’, गुरुङ भन्छन्– ‘आर्टमान्डू खुलेको छोटो अवधिमै धेरै विद्धत् वर्गको आगमन भइसकेको छ, यसको भविष्य राम्रो देखेको छु ।’

IMG_0010

‘आर्टमान्डू’ मा खुवाइने खानाको स्रोत प्रत्यक्ष किसानको घरमा गएर ल्याइन्छ ।

कुन परिकार कुन खाद्य सामग्रीबाट बन्यो भनेर देखाउन खाद्यसामग्रीको कच्चा पदार्थ सजाएर राखिएका छन् ।

‘ग्राहकले टेबलमा खाद्य सामग्री हेर्दै मनोरञ्जक तरिकाले खाना खाएको देख्दा आनन्द लाग्छ’– गुरुङ भन्छन् ।

 

आगामी योजना

बाल्यकालदेखि जानीनजानी दाउराको सानो व्यापारबाट व्यवसाय सुरु गरेका अचुत गुरुङ व्यवसाय थप्ने योजनामा छैनन् । जे छ, त्यसलाई नै व्यवस्थित बनाउने र त्यसैमा सन्तुष्ट हुने उनको सोचाइ छ । अबको उनको योजना वृक्षारोपणमा लाग्ने र समाजसेवालाई निरन्तरता दिने नै छ ।

…र, अन्त्यमा

सानो उमेरमा पैसाको अभाव हटाउन दाउरा काटेर स–साना मुठा बनाई बेच्ने काम गरेका गुरुङ अहिले रुख काट्ने होइन, बिरुवा रोपेर वातावरण जोगाउनुपर्छ भन्ने दृढ मान्यताका साथ वृक्षारोपणमा लागिपरेका छन् । दाउरा बेच्ने सामान्य ‘वुडकटर’ देखि वातावरणीय संरक्षणमा लागिपरेका ‘ग्रीन सोल्डर’ सम्मको जीवनमा रमाइरहेका समाजसेवी गुरुङका आगामी योजनाहरु सफल रहून्– शुभकामना !

1 (6)

1 (7)

1 (9)

IMG_0004

IMG_0015

1000

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर