पाकिस्तानका वकिलहरूले मङ्गलबार देशभरीका अदालत बहिष्कार गरेका छन् ।
पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरमा सोमबार बिहान एक अस्पतालको आकस्मिक कक्षमा भएको विस्फोटमा परी आफना कैयाँै सहकर्मीलगायत ७२ व्यक्तिको मृत्यु भएपछि मङ्गलबार पाकिस्तानी वकिलहरूले देशव्यापी रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
गत सोमबार बिहान बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरू माझ सो भीषण आत्मघाती आक्रमण भएको थियो । आफ्ना सहकर्मी वरिष्ठ वकिलको मृत्युको समवेदना प्रकट गर्नका लागि करिब २ सय वकिल सो अस्पतालको आकस्मिक कक्षमा जम्मा भएका थिए । बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । वरिष्ठ वकिल बिलाल अन्वार कासी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा सोमबार बिहान मारिए थिए ।
शोक प्रकट गर्न जम्मा भएका वकिल तथा समाचार सङ्कलनका लागि पुगेका कैयौँ पत्रकारहरू घाइते भएका थिए । यस आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिवान र इस्लामिक स्टेट (आईएस) लडाकू समूह दुवैले लिएको ती आतङ्ककारी समूहले जानकारी दिएको छ । यद्यपि पाकिस्तानी अधिकारीहरूले भने सो दुई आतङ्ककारी समूहले यो आक्रमण गराएको पुष्टि गरिसकेको छैन ।
सो आक्रमणमा मारिने व्यक्तिको सङ्ख्या ७२ पुगेको र एक सयभन्दा बढी घाइते भएका सम्बन्धित अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । प्रान्तीय सरकारले बलुचिस्तान राज्यभर तीन दिन शोकको घोषणा गरेको छ ।