मध्य युक्रेनमा गत महिना मारिएका एक जना प्रसिद्ध पत्रकारको हत्यामा सम्लग्नलाई खोजीगरी कारबाही गर्न पत्रकारहरुले माग गरेका छन् ।
युक्रेनका वरिष्ठ पत्रकार पाभेल सेरेसमतको गत महिना हत्या गरिएको थियो । फ्रान्सेली समाचार समिति, एएफपीका समाचारदाताले ती पत्रकारका हत्याराको खोजी अहिलेसम्म गर्न नसकेकोले सरकारको आलोचना गर्दै कारबाही गर्न माग गरेका हुन् । उनी युक्रेनिस्का प्रभदा नामक सञ्चारगृहका पत्रकार थिए । उनी यसअघि रसियाको एक टेलिभिजनमा काम गर्थे ।बम फिट गरिएको अर्काे एक कार ल्याएर उनको कारमा जुधाइएको थियो । त्यसपछि उनको कार ध्वस्त भएको र पछि आगो लागेको थियो ।
यस आक्रमणलाई युक्रेनियन राष्ट्रपति पेट्रो पोरोसेन्कोले ठूलो अपराधको संज्ञा दिँदै हत्याराको खोजीगरी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको थिए । यस हत्याको जिम्मेबारी कसैले पनि लिएको छैन । पछिल्लो समयमा युक्रेनमा हिंसा मच्चिएको छ । युक्रेनको पूर्वी भूभागका रसियाली मूलका नागरिकले अलग्गै राज्यको मागगरी त्यहाँ आन्दोलन गरिरहेका छन् ।
सोही कारणले पछिल्लो समयमा रसियाली समर्थक र युक्रेनी सेनाबीच भिडन्त जारी रहेको छ । त्यस भिडन्तका क्रममा सयौँ नागरिक मारिएका छन् । युक्रेनका पत्रकारहरुले पछिल्लो समयमा पत्रकारमाथि सुरक्षा खतरा बढेको भन्दै हत्यारालाई कारबाही गर्न माग गरेका हुन् ।