च्यापिएर, ठेलमठेल गरेर भगवान् हलेसी महादेवको दर्शन गर्ने घुइँचो देखिन्छ अहिले । श्वास फेर्न पनि गाह्रो होलाजस्तो तर सबैले एकै स्वरमा भनिरहेका छन् ‘जय शम्भु’ ‘जय शम्भु’ । मन्दिर पूरै यस्तै आवाजले गुञ्जयमान छ ।
हलेसी महादेवको दर्शन गरेपछि सबैले आ–आफ्नै भावना व्यक्त गर्न उत्सुक हुन्छन् । जन्मद्वार, धर्मद्वार, पापद्वार, गर्भद्वार र कर्मद्वारमा आउने र जाने क्रम जारी देखिन्छ ।
कोही गाईको थुनबाट दूध आउने प्रतिक्षामा छन् व्सासाको थानमा हत्केला थाप्ने गर्छन्। कोही शङ्ख फुक्न त कोही ढाड दुःखेको ठीक गर्ने लाइनमा बस्दै ‘जय शम्भु’।
खोटाङ जिल्लाको हलेसीस्थित माँझ किरात बस्तीमा रहेको सो मन्दिर झट्ट हेर्दा निकै अद्भूत लाग्छ । धार्मिक ग्रन्थमा उल्लेख भएजस्तै लाग्छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार वृकासुर नामक राक्षसले शिवजीलाई प्रशन्न पार्न धेरै तपस्या गर्यो । महादेश प्रसन्न बनाएर वृकासुरले ‘मैले जस्को शिरमा हात राख्दछु त्यो व्यक्ति तत्कालै भष्म भइजावस्’ भन्ने बर माग्यो ।
वृकासुरको वरदान माग सुन्दा भगवानलाई खिन्न भयो । त्यति बेला वृकासुरको मनमा पार्वतीको सम्झना आयो । अहिले तत्काल महादेवको शिरमा हात राखेर भष्म पार्न पाए आफूले पार्वतीसँग भोग गर्न पाउने सोच्यो । उसले हात उचाल्दै महादेवलाई लखेटन लाग्यो ।
भाग्दैभाग्दै महादेव हलेसीको पहाडमा आएर लुकेर बस्नुभएको थियो । त्यही पार्वती, गणेशलगायतका देवीदेवता विराजमान भएको हलेसी धामलाई अहिले पनि पूर्वका पशुपतिनाथ भनेर चिनिन्छ ।
सो मन्दिरमा महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीमा विशेष पूजा हुने गर्दछ । सोमबार र शनिबार भक्तजनको अलि बढी भीड हुन्छ । सङ्कटबाट बच्नका लागि भगवान् शिव आएर लुकेको हुनाले सो मन्दिरमा गई दर्शन गर्नाले सारा दुःखबाट छुटकारा मिल्ने विश्वास गरिन्छ ।
‘पुराणमा भारत वर्षको हिमखण्ड भनेर हलेसी महादेवको बारेमा वणन गरिएको छ, आदिमकालदेखि नै तपोभूमि तथा धार्मिक तीर्थस्थलको सङ्गम भनेर परिचित छ’– हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए ।
पहाडमा प्वाल परेर बनेको भगवान् शङ्करको यो मन्दिर कुनै व्यक्ति कालिगढ तथा सङ्घसंस्थाले निर्माण गरेको नभईकन भगवान् शङ्करको आफ्नो रचना भएको भन्ने विश्वास छ ।
अध्यक्ष राईका अनुसार यो मन्दिरको उत्पत्ति परापूर्व कालदेखि नै भएको हो । किराती भाषामा राजालाई हो भनिन्छ । ‘पारुहाङ हो’ अर्थात् राजाभन्दा पनि ठूलो भगवान् शङ्करको रूपमा लिइन्छ । त्यसैले यहाँ हिन्दूधर्म, वुद्ध धर्म, किरात धर्म मान्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
सो मन्दिरमा २०६२ साल मङ्सिर १ देखि सर्वपक्षीय समिति निर्माण गरेर मन्दिरको पूजा कर्म हुँदै आएको छ । गिरी पुजारी राख्ने चलन छ । मन्दिरको २६ रोपनी जग्गामा महादेव र पार्वतीको मन्दिरसहित बसाहा र भैरव गुफा छ ।
गत वर्ष सुनकोसी पुल बनेपछि भक्तजनको सङ्ख्या बढ्दै गएको छ । वार्षिक रु १७/१८ लाख भेटी सङ्कलन हुने गर्दछ । मन्दिरको व्यवस्थापन, पुजारी गरी मासिक रु ४५ हजार खर्च लाग्छ । मन्दिरमा एक मूल पुजारी र दुई बाल पुजारी छन् ।
सुनकोसी पुल बनेपछि भक्तजनको घुइँचो
हलेसी महादेवको भक्तजनप्रति विश्वास बढ्दै गए पनि सुनकोसी पुल नबन्दा भाकल गरेकाले पनि दर्शन गर्नबाट वञ्चित हुनुपर्यो । गत वर्ष मात्र सो पुल बनेर अहिले दर्शन गर्न आउने भक्तजनलाई सहज बनेको छ ।
हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राईले सुनकोसी पुल बन्न नसक्दा भक्तजन दर्शन पूजा गर्नबाट वञ्चित हुनुपरेको र गत वर्ष पुल बनेपछि भक्तजनको निकै घुइँचो लागेको सुनाए ।
जल चढाउनै पाउँदैनन् भक्तजन
हलेसीमा पानीको निकै हाहाकार छ । दर्शन गर्न आउने भक्तजन आफैँले पानी बोकेर जानुपर्ने अवस्था छ । भक्तजनले महादेवलाई जल चढाउनसम्म पाउँदैनन् ।
जल चढाउने पानीसम्म नहुँदा सुनकोसीबाटै पानी ल्याएर जल चढाउनुपर्ने अवस्था छ ।
सुनकोसीमा पानी बगेर खेर गइरहेको छ । तर त्यहाँका जनप्रतिनिधिको ध्यान त्यहाँ पुग्न सकेको देखिँदैन । ‘खोलाबाट पानी ल्याउनुपर्ने हुन्छ, ४५ किमीबाट पानी ल्याउनुपर्छ, ट्याङ्करबाट दुई रुपैयाँ लिटर पानी ल्याउनुपर्छ’– अध्यक्ष राईले भने । रासस
अडियाेः गजुर्मान रार्इ