वर्षौंपछि नेपाल विद्यार्थी संघले महाधिवेशनमार्फत नयाँ नेतृत्व पाएको छ । साउन २३ देखि ३ दिनका लागि भनेर सुरु भएको महाधिवेशन १२ दिनपछि नयाँ नेतृत्व दिँदै सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका नेताहरुको ‘अस्तित्व’ को लडाइँसँग जोडिएको नेविसंघको महाधिवेशन काठमाडौंलाई बिर्सनै नसकिने छाप छाडेर गएको छ । संसदको सबैभन्दा ठूलो दलको प्रभावशाली संगठन, त्यसैमा ९–९ वर्षपछि भएको महाधिवेशनले कसरी र कस्तो नेतृत्व चयन गर्ला भन्ने धेरैको चासोको विषय बनेको थियो ।
अन्ततः विधि र प्रक्रियाजस्तो भए पनि निर्वाचनमार्फत नैनसिंह महरको नेतृत्वमा १ सय ५१ सदस्यीय कार्यसमिति चयन भएको छ । यद्यपि यसमा केही संख्या मनोनीत गर्न बाँकी छ ।
निर्धारित समयभन्दा झन्डै १० दिन बढी लागेपछि धेरैलाई चुनाव नै नहुने हो कि भन्ने आशंका थियो । तर, भागबन्डा मिलाएरै भए पनि महाधिवेशन सम्पन्न भएको छ ।
पाँच महिनाअघिकाे माउपार्टी नेपाली कांग्रेसको महाधिवेशनमा देखिएको चहलपहल र रस्साकस्सीलाई समेत माथ गर्नेगरी भएको नेविसंघ चुनाव काठमाडौंका लागि अविस्मरणीय छाप छोड्दै सम्पन्न भएकामा पार्टीले ठूलै युद्ध जितेको महसुस गरेको छ ।
नेविसंघ महाधिवेशनका केही रोचक पक्षहरु
चुनाव विद्यार्थीको : प्रतिश्पर्धा ३ गुटको
पाँच महिनाअघि नेपाली कांग्रेसको महाधिवेशन भयो, जसमा ३ गुटबीच चर्को प्रतिस्पर्धा भयो । समय घर्किंदै जाँदा धेरैले त्यतिबेलाको ‘गुटको ह्याङओभर’ बिर्सने प्रयास गरिरहेका थिए । तर, नेविसंघ महाधिवेशनले त त्यो गुटबन्दीलाई झन् जलमल गरेको छ ।
तडकभडक हेर्दा लाग्थ्यो, चुनाव विद्यार्थीको होइन– सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच पार्टी नेतृत्व हत्याउनका लागि भइरहेको छ । ६४ जिल्लाबाट २ हजार ३ सय प्रतिनिधि चयन भएका थिए । ११ जिल्लाको विवादलाई आधार मानेर तीनै गुटलाई आफ्ना मतदाता संख्या बढाउने अवसर जुट्यो । विवाद समाधानका नाममा १ हजार ५ सय ५० जति मतदाता नेताहरुका गुटबाट थपिए । र, अन्ततः चुनाव भयो ।
बन्दशत्रबिनै निर्वाचन !
महाधिवेशन केवल नेतृत्व फेर्नका लागि मात्र होइन, धेरै महत्वपूर्ण काममध्येको एक पाटो मात्रै हो नेतृत्वचयन वा परिवर्तन । महाधिवेशन विचार–विमर्श गर्ने थलो पनि हो । यो संगठनका लागि नयाँ नीति र निर्णय गर्ने औसर पनि हो । धेरै संगठनमा विवाद नीतिमा हुन्छ, बन्दशत्रमा वादविवाद हुन्छ । तर, नेविसंघमा त्यो भएन । १२ दिन बिते तर प्रतिनिधि मिलाउन र नेता छान्न मात्र ।
चेन–अफ कमान्डको धज्जी : व्यक्तिवादी सोच हावी
राजनीति आफू र आफ्ना मुद्दाहरु स्थापित गर्नकै लागि हो । त्यो सम्भव नभएमा विचार मिल्ने समूहबीच तालमेल हुन्छ । तर, नेविसंघमा आफू भए ठीक अरु भए बेठीक भन्ने व्यक्तिवादी स्वार्थ हावी हुँदा नेताहरुको प्रभाव कमजोर देखियो । कसैले कसैलाई नमान्ने, कसैलाई नटेर्ने प्रवृत्ति मौलायो ।
त्यसैले केहीलाई आश्वासन दिएर थुम्थुम्याउन सकिए पनि धेरैलाई मनाउन सकिएन । पौडेल समूहभित्रबाटै चुनौती दिँदै शेखर कोइरालाले आनन्दप्रसाद त्रिपाठीलाई काँधमा बाेके । आफ्नै नेता पौडेलको उम्मेदवार मनोजमणी आचार्यलाई हराउन सफल भए ।
वर्षौंसम्मका सहयात्री खुमबहादुर खड्काले देउवाको साथ छाडे, आफ्नो अलग्गै उम्मेदवारका रुपमा शुभराम बस्नेतलाई अध्यक्षमा उठाए । आफू हारे तर देउवालाई धक्का दिन सकेनन् ।
पार्टी राजनीतिमा परेको प्रभाव : सिटौलाको रथमा देउवा कुद्दै
लामो रस्साकस्सीका बीच चुनाव सम्पन्न भयो । देउवाले वर्षौंदेखि नेविसंघमा गुमेको प्रभाव फर्काए । यो उनको आफ्नै बलबुतामा सम्भव नभएको कुरा निर्वाचन परिणामले देखाइसकेको छ । त्यसैले धेरैले विश्लेषण गरिरहेका छन्– देउवाले सिटौलाको काँधमा बन्दुक राखेर सिकार गरे ।
देउवा सिटौलारुपी रथमा पार्टीको महाधिवेशनमै चढिसकेका थिए । नेविसंघको निर्वाचनमा त्यो रथलाई अझै दौडाए । अन्ततः गन्तव्यमा पुगे, नेतृत्व मात्रै हत्याएनन्, क्षेत्रीय रुपमा पनि आफ्नो बलियो उत्तराधिकारी तयार पार्ने रणनीतिमा सफल भए ।
घिस्रिंदै पौडेल… !
पार्टीको महाधिवेशनमा हार व्यहोरेको पौडेल समूहले संसदीय दलको निर्वाचनमा फेरि प्रतिस्पर्धा गर्रयाे तर सफल भएन । अहिले पार्टीमै निकै प्रभाव राख्ने, भविष्यमा नेता स्थापित गर्नका लागि महत्वपूर्ण ‘प्लेटफर्म’ का रुपमा हेरिएको नेविसंघमा समेत प्रभाव जोगाउन निकै मेहनत गरे । तर, कुशल व्यवस्थापकको भूमिका खेल्न सकेनन् ।
आफ्नै समूहका बागी उम्मेदवारलाई मनाउन सकेनन् या कमजोर ठानेर मिल्नु जरुरी ठानेनन् । त्यही नै उनका लागि भारी पर्यो । नेविसंघमा वर्षौंदेखिको साख गुमाए ।
पौडेल समूहमा धेरै नेताहरु भए पनि उनीहरुको दम्भ र एकले अर्कालाई नमान्ने प्रवृत्तिका कारणले पौडेलले निरन्तर घिस्रिने प्रयास गरे पनि अर्कोले उनको प्रयासमा ब्रेक लगाइदिन्छन् । टोलीनेता भएकाले यस्तो निरन्तरको असफलताले पौडेलको व्यवस्थापकीय क्षमतामा प्रश्न त उठेको छ नै । ‘जुन थालमा खायो, त्यसै थालमा छेर्ने’ प्रवृत्ति हावी भएकाले उनको समूहमा रहेका अन्य नेताहरु पनि कमजोर सावित हुँदै गएका छन् ।
सिटौला : कार्यकर्ता संरक्षणमार्फत शक्ति आर्जन गर्दै
पार्टी र नेविसंघको महाधिवेशनबाट प्रष्ट भएको छ— सिटौलाविना देउवा वा पौडेल एक्लै बलियो हुन सक्दैनन् । पार्टी वा संगठनमा सिटौला जहाँ उभिन्छन्, उतै पल्लाभारी हुने कुरा प्रष्ट छ ।
यही तथ्यलाई अात्मसात गर्दै सिटौला कार्यकर्ता संरक्षण गरेर बलियो बन्ने दाउमा छन् । नेविसंघमा ८–९ जना पदाधिकारी सहित कार्यसमितिमा ४० जना जिताउन सफल भएका छन् सिटाैला । यस्तो रणनीतिले उनलाई पार्टी राजनीतिमा थप बलियो बनाउँदै लैजाने संकेत गरेको छ ।