गर्मी र लामो खडेरीका कारण मुलुकका अधिकांश जनताले पानीको अभाव झेलिरहेका बेला चितवनको कर्णाली भनिने माडी नगरपालिका–११ की सरिता रेग्मीलाई त्यसको कुनै चिन्ता छैन । पानीको छेलोखेलो उपयोग गर्न पाउँदा उनी दङ्ग छिन् ।
घरभन्दा टाढाबाट पिउन दिनहुँ एक–दुई गाग्री पानी ल्याए पनि गाईवस्तुलाई दिन, नुहाइधुवाइ गर्न, घरको सरसफाइ र शौचालयमा प्रयोग गर्न दिनहुँ पाँच–छ सय लिटर पानी चाहिने भए पनि मुस्किलले हाते पम्पबाट गुजारा चलाउँदै आएकी उनी अहिले पानीको चिन्ताबाट मुक्त भएको बताउँछिन् ।
सोलार पम्पबाट जमिनमुनिको पानी तानेर उनले गाईपालन, माछापालन, बङ्गुरपालनदेखि तरकारीखेती गरेकी छन् । तीन वर्षअघि इन्द्रबस्तीमा सोलार पम्पबाट पानी तानेर गाउँलाई नै पिउने पानीको आपूर्ति गरेको देखेपछि आफूलाई घरमा सानै क्षमताको भए पनि पम्प जडान गर्ने चाहना आएको उनले बताइन् ।
“पहिले तीन चारवटा गाईलाई पानी खुवाउन पम्पसेट चलाउँदा निकै गाह्रो हुन्थ्यो,” उनले भनिन् – ‘‘अहिले चाहेका बेला ‘स्विच अन’ गर्नेबित्तिकै चाहिए जति पानी आउँछ ।’’ पम्पमा घन्टौँ लगाएर पानी थिच्दा हात गल्ने, ढाड दुख्नेजस्ता समस्याबाट मुक्ति मिलेकामा उनी खुसी छन् ।
सोलार पम्प जडान गरेपछि उनलाई व्यावसायिक गाईपालनमा निकै सहजता आएको महसुस भएको छ । अहिले उनीसँग १३ वटा विभिन्न जातका उन्नत गाई छन् । एउटै गाईलाई दैनिक ७०/८० लिटर पानी चाहिन्छ । “पहिले पानीको समस्याले तीन÷चारवटा मात्रै गाई पालेका थियौँ,” उनका श्रीमान् रुद्रप्रसाद रेग्मीले भने – “घरमै पानीको सुविधा भएपछि गाई बढाउने सोचमा छु ।”
गोरखाली रेवा गाई फार्मको दर्ता गरी व्यावसायिक रुपमा गाईपालन गरेका उनले दैनिक ४०/५० लिटर दूध बिक्री गर्ने गर्दछन् । यसबाट मासिक रु ५० हजार आम्दानी जति हुने गर्दछ । उनले गाई पाल्नका निम्ति लिएको रु पाँच लाख ऋण दुई वर्षमै चुक्ता गर्न सकेका थिए । “सुरुमा त मलाई पनि विदेशमा गएर काम गरौँ कि भन्ने विचार आएको थियो तर पछि त्यो विचार त्यागेर खेती किसानीमै लागेँ,” रुद्रप्रसादले भने – “मेहनत गर्यो भने यहीँ विदेशको भन्दा राम्रो कमाइ गर्न सकिने रहेछ ।”
रेग्मी दम्पतीले गाईपालनसँगै छ/सातवटा बङ्गुर पनि पाल्न सुरु गरेका छन् । ब्राह्मणले बङ्गुर पाल्न हुँदैन भन्ने सामाजिक मान्यतालाई तोड्दै आफूले बङ्गुर पाल्न सुरु गरेको उनको भनाइ छ । “कसले के भन्छ भन्ने होइन, परिश्रम गरेर कमाइ गर्न के को जात ? छोटो समयमै बङ्गुरमा राम्रो आम्दानी गर्न सकिन्छ,” – उनले भने ।
सात वर्षदेखि गर्दै आएकोे माछापालनबाट पनि उनीहरुलाई राम्रै आम्दानी भएको छ । सुक्खायाममा पोखरीमा पानी कम हुँदा माछा मर्ने समस्या पनि अहिले सोलार पम्प जडानपछि अन्त्य भएको सरिता बताउँछिन् । “पोखरीमा पानी सुक्न थालेपछि पम्प चलाएर भर्न सजिलो भएको छ,” – उनले भनिन् । वर्षमा चार/पाँच क्विन्टल माछा बिक्री हुने गरेको उनको भनाइ छ ।
सोलार पम्पबाट चौबिसै घन्टा पानीको व्यवस्था भएपछि सोही गाउँकी सोममाया पुनलाई पनि कुनै व्यवसाय गर्ने चाहना भयो । गाउँमा कुनै होटल नहुँदा चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी क्षेत्रमा आउने पर्यटक, सरकारी वा अन्य संस्थाका कर्मचारीलाई खानबस्न समस्या रहेकाले उनले होमस्टे (घरबास) सुरु गरेकी छन् ।
माडी–सौराहा सडक निर्माण हुने भएपछि सौराहा आउने विदेशी पर्यटकलाई समेत लक्ष्य गरी उनीसँगै गाउँका ११ परिवारले अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे सुरु गरेका छन् । रु पाँच लाख लगानी गरी दुई कोठाको पक्की घरमा उनले होमस्टे बनाएकी हुन् । होमस्टेमा दिनहुँ पाहुना आउने भएकाले उनीहरुलाई नुहाउन, शौचालयमा नियमित पानी उपलब्ध गर्न र घर वरपर सफासुग्घर राख्न ३ सय वाटपिक क्षमताको सोलार पम्पले सजिलो भएको उनको अनुभव छ ।
केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको माडी क्षेत्रका बासिन्दाले ऊर्जाको आवश्यकता सौर्य ऊर्जाबाट पूरा गरेका छन् । पानीको सुविधा भएपछि सोममायाले तरकारीखेती सुरु गरेकी छन् । माछापालनबाट पनि उनलाई राम्रै आम्दानी भएको छ । होमस्टेमा बस्न आउने पर्यटकलाई उनी आफ्नै घरको खाद्यान्न, बारीको ताजा तरकारी र पोखरीको माछा खुवाउन सकेको बताउँछिन् । पर्यटकको सुविधाका लागि इन्टरनेट, पङ्खा र फ्रिज राख्न सौर्य प्रणाली थप गर्ने उनको तयारी रहेको छ ।
सौर्य ऊर्जाबाट बत्ती मात्र बाल्न सकिन्छ भन्ने देखेका गाउँलेलाई पहिलो पटक सोलार पम्पबाट पानी तान्न सकेको देख्दा आश्चर्य लागेको थियो । पानीको समस्या झेलेका गाउँले अब आफूले राखे जस्तै पम्प राख्न तयार रहेको सोममाया बताउँछिन् । पानीको सुविधा भएपछि अब व्यावसायिक रुपमा तरकारीखेती गर्ने योजना रहेको उनले सुनाइन् ।
गाउँमा नमुनाका रुपमा दुई यी परिवारले सौर्य पम्प राखेकामा यसको प्रभावकारिता राम्रो देखिएपछि अन्य घरमा पनि राख्ने तयारी भएको सामुदायिक होमस्टेका अध्यक्ष मोहनबहादुर पुन बताउँछन् ।
“पहिले सार्वजनिक धाराबाट पानी ल्याएर ट्याङ्की भर्नु पर्दथ्यो, गाउँका केटाकेटीलाई बोलाएर वा खेताला लगाएर पानी भर्दा पटकैपिच्छे चार/पाँच सय रूपैयाँ खर्च लाग्थ्यो,” उनले भनिन् – “अहिले यो पैसा पनि बचत भएको छ ।”
पर्वतबाट २०२७ सालतिर बसाइँ सरी यहाँ आएको सोममायाको परिवार अहिले निकै खुसी देखिन्छ । श्रीमान् तुलबहादुरले पनि उनको काममा सहयोग गरेका छन् । सातजनाको परिवारमा दुई छोरा विदेशमा रोजगारीमा गएका छन् । वर्षमा १० क्विन्टलजति माछा बिक्री गरी रु दुई/तीन लाख आम्दानी गर्न सफल तुलबहादुर विदेशमा रोजगारीमा गएका छोराको आम्दानीभन्दा आफूले कम आर्जन नगरेको उनी बताउँछन् ।
सोलार पम्प जडान गर्न कूल ९३ हजार रूपैयाँको लागतमध्ये विनरक इन्टरनेसनलले २० हजार रूपैयाँ अनुदान प्रदान गरेको थियो भने उपभोक्ताले २० हजार रूपैयाँ लगानी गरेका थिए । नपुग रकम सन फार्मर नामक संस्थाले स्थानीय कृषि महिला सहकारी संस्थामार्फत वित्तीय ढाँचाअनुसार मासिक दुई हजार रूपैयाँका दरले दुई वर्षभित्र चुक्ता गर्ने गरी ऋण सुविधा उपलब्ध गराएको थियो । सन फार्मरको यसखालको प्राविधिक तथा वित्तीय ढाँचाले साना किसानलाई सोलार पम्प राख्न सहज भएको सो संस्थाका अध्यक्ष अभिशेष मल्ल बताउँछन् ।