धनगढीबाट काठमाडौंका लागि हिँडेको बस यात्रु बटुल्दै मसुरिया आइपुग्दा घडीको सुई दुई घन्टालाई छिचोलेर अघि बढिसकेको थियो ।
दसैंको टीकाको दोस्रो दिन भएकाले यात्रुहरुमा कुनै उत्साह थिएन । घर छाड्नु परेकाले सबैजना उत्साहविहीन थिए ।
युवाहरु प्रफुल्ल भए, उनको प्रवेशपछि । ६० कटेका बाजेहरुले पनि नजर उठाएर हेरे । उनकै लिङ्गीहरुले समेत डाहले नियालेजस्तै गरे केहीबेर ।
फक्रँदो यौवन, बैंसले भरिएका वक्षस्थल, नितम्ब अनि गुच्छाजस्ता आँखा र हँसिलो अनुहार… । त्यसमाथि निधारको रातो टीकाले झन् सुनमा सुगन्ध नै थपेको थियो, उनको सुन्दरतामा ।
उनलाई हेर्नतिर भन्दा पनि उनलाई हेरिरहेकाहरुका अनुहार पढ्न चाहिँ मलाई धेरै आनन्द लागिरहेको थियो । लाग्थ्यो–पुलिङ्गी अनुहारहरु ती सुन्दरीलाई आफ्नै छेउमा बस्न अपिल गरिरहेका छन् । उनीसँगको रंगीन रातको सपना बुनिरहेका छन् ।
उनको पहिरनले स्पष्ट झल्काइरहेको थियो उनी विवाहिता हुन् । तर कसैलाई पर्बाह थिएन, मात्र लालसा पालिरहेका थिए– आफ्नै छेउमा परेकी भए हुन्थ्यो !
आफूले त सोचेर पनि केही हुनेवाला थिएन किनकि छेउको स्थान बहिनीले ओगटिसकेकी थिइन् । यदि बहिनी नहुँदी हुन् त मेरो पुरुषत्वले पनि त्यही अपिल गर्थ्यो होला । त्यही कुन्ठा जाग्न सक्थ्यो होला । उनी मेरै छेउमा भैदिए हुन्थ्यो भनेरै सोच्थ्यो होला । आखिर पुरुष मन न हो मेरो पनि !
जब ती स्त्रीका बुबा गाडी मालिकसँग कड्किए– ‘महिला सिट छैन महिला ? ल ल महिला सिट मिलाइदिनुस् त !’ त्यही महिला सिट मिलाउन ५–७ मिनेट समय खर्च भयो तर सम्भव भएन । आफ्नो जोडीसँग बसेका कसैले छाडेनन् ।
बुबाचाहिँ छोरीका लागि महिलाजाति नै खोजिरहेका छन् । त्यही नै बेला मैले उनकी छोरीलाई नियालें । छोरीको अनुहार भनिरहेको थियो– ‘किन केटी मान्छे चाहियो ?’
उनले पनि शायद एउटा पुलिङ्गीकै चाहना गरिरहेकी छन् । मनमनै आफ्नो सिट छाडौं कि भनेर सोचिरहेको म उनको अनुहारको भाव पढिसकेपछि भने नछाड्ने अर्को बहाना खोजिरहेको थिएँ । कन्डक्टर कराए– ‘जाऊँ–जाऊँँ… बाटोमा मिलाउँला ।’
मलाई सिट छाड्ने बिन्ती नआउँदै बस हुइँकियो । बुबाले त्यत्रो कराउँदा पनि छोरीले अर्को समलिङ्गी खोज्ने झिनो प्रयास पनि गरिनन् । मेरो मथिङ्गलमा यही जिज्ञासाले प्रश्न गरिरह्यो । उनीभन्दा एक लहरपछिको सिटमा भएकाले आग्रह गर्ने अवसर नै आएन– ‘मेरी बहिनीसँग बस्नुस्, म सिट छाड्छु ।’
छेउमा उनकै उमेर हाराहारीको पाको लक्काजवान छन्, करिव ३५ कटेका । एक घन्टा बित्दैछ– उनीहरु मौनता साँधिरहेका छन् । म चिन्तित थिएँ– कतै उनको अनुहारमा मैले गलत अर्थ पढेको त थिइँन ।
वातावरण सुनसान छ । बसमा म्युजिक सिस्टम नभएकाले मौनतालाई राम्रो सपोर्ट भइरहेको थियो । लोकल बसमा झैं छिनछिनमा चढिरहेका छोटो दुरीका यात्रुहरुले मौनता भंग गर्नुबाहेक मौनता भंग हुने अर्को कुनै कारण थिएन ।
कर्णाली आउनै लाग्दा भर्खरै चढेको युवाको आवाजले मौनता तोड्योे– ‘माछा ! माछा !! सुद्ध कर्णालीको माछा, केवल तपाईंहरुका लागि !’ मैले पनि माछा किनेकाले खानमै व्यस्त भएँ । उनीहरुले के गरे– पत्तै भएन ।
कर्णाली चिसापानी, बर्दिया राष्ट्रिय निकुञ्जलाई छिचोल्दै बस कोहलपुर पुगेपछि बाहिर सवारी साधनको हर्न, भित्र उनै युवती र उनको छेउको युवकको मधुर बोली मात्र सुनिइरहेको थियो ।
जतिजति सूर्यको प्रकाशले दिनको साथ छाड्दै र अँध्यारोलाई स्वीकारोक्ति दिँदै थियो उतीउती ती युगल जोडीले सामीप्यतालाई स्वीकार्दै गएको आभाष भइरहेको थियो ‘आवाजको भोल्युम’ ले ।
पछाडिबाट अर्को अपरिचित जोडी र अगाडिबाट उही ‘छोरीका लागि महिला साथी खोज्ने’ बुबाकी छोरीको जोडीले बसमा म्युजिकको काम गरिरहेका थिए । यतिबेला मैले ती युवतीको अनुहारमा पढेको भावले सही अर्थ ग्रहण गर्दै गएको आभाष भयो ।
रात छिप्पिँदै छ । बाहिरी वातावरणले बसको मौसम पनि चीसो बन्दै गइरहेको छ । सबैलाई न्यानोको आवश्यकता भयो र भयो मलाई पनि । ब्यागबाट ज्याकेट निकालें । झ्यालमा भएकी बहिनीलाई आफ्नो सिटमा राखेर झ्यालपट्टि बसें ।
मेरो सम्पूर्ण ध्यान अगाडि नै छ । धेरै पटक बसको यात्रामा भएका कथा पढेको छु । धेरै पटक आफैंले पनि देखेको छु– त्यस्ता कथाका पात्रहरुका क्रियाकलाप । आज उनका बुबाले छोरीका लागि महिलासँगै बसाल्न खोजेकाले मेरो ध्यान उनीतिरै छ ।
रात छिप्पिएपछि, बसभित्रका लाइट पनि बन्द भए । अब म केवल उनीहरुको आवाज सुन्न सक्छु । उनीहरुको क्रियाकलाप हेर्न मैले सिट छाड्नुपर्छ, त्यो सम्भव छैन ।
धेरै घुम्तीहरु पार गर्दै बसले दाङको लमही वनगाउँस्थित ‘होटल हाइवे’ मा विश्राम लियो । सबैजना खाना खान थाले, मेरो ध्यान उनैमा थियो । खाना खाइसकेपछि होटलबाहिर सबैजना आराम गर्न थाले । उनीहरु पनि त्यहीं छन् । मख्ख भएर गफिइरहेका छन् । केटाले अनुहारमा उत्साह छचल्किन दिएको छैन तर केटी भने मुखले कम, आँखाले बढी कुरा गरिरहेकी छन् ।
मानौं, उनी त्यो केटाको आँखामा आफूलाई खोजिरहेकी छन् । उनका आँखामार्फत हृदयमा बस्ने अनुमति दिँदैछिन् उनी । बाँकी रात रंगीन बनाउने अभिलाषासहित त्यो पुरुषभित्रको मदाङ्गी नापिरहेकी छन् ।
केटाको मन के थियो ? के केटीले मात्र त्यस्तो सोचिरहेकी होलिन् ? केटीजातिको मात्र उछित्तो काडिरहेको जस्तो लाग्ला तपाईंलाई । केटा त सिनो पर्खिरहेको स्यालजस्तै थियो होला ।
त्योभन्दा पनि छोरीलाई महिला सिट नै खोजिदिने बुबाको सपना र निर्दोषीपनलाई छोरीले कसरी लिएकी छन् ? कति घन्टासम्म जोगाउन सक्लिन् आफ्नो इमानदारिता या जोगाउन सक्दिनन् ? यिनै प्रश्नको उत्तर चाहिएको थियो मलाई ।
कुरा प्रस्ट थियो, उनी माइतीघरमा दसैंको टीका थाप्न आएकी हुन् । श्रीमान् र छोराछोरीलाई एक्लै भए पनि सुरक्षित आउँछु भनेर बचन दिएकी थिइन् होली । आमाबुबा वा अग्रजहरुबाट पतिब्रता बन्ने, सदा सुहागन रहने आशिष थाप्न गएकी थिइन् होली या अरु नै, त्यो उनैले जानून् । मेरो चिन्ता थियो– उनले १८ घन्टा आफूलाई काबुमा राख्न सक्छिन् या सक्दिनन् ?
बसले वनगाउँ लमही छाड्यो । भातले मात लाग्यो सबैलाई । म पनि भुसुक्क निदाएँछु । निन्द्रालाई जित्न सकिनँ, त्यसैले बाँकी क्रियाकलाप न सुनें न देखें ।
बिहान निन्द्रा ब्युँझिएपछि बाहिर हेरें बस रोकिइसकेको थियो, नौबिसेभन्दा उतै । म पनि झरें, सबैजना शौच गर्न लाइनमा छन् । कोही तातो चियाको चुस्की लिइरहेका छन् । अहिले पनि धेरैका नजर उनै युवतीमा छन् । धेरैले चियाको चुस्कीसँगै ती युवतीको जवानी पनि मनमनै पिइरहेका होलान् ।
फेरि मेरो ध्यान उतै मोडियो । शौचालयको लाइन पातलिएपछि म पछाडि गएँ । त्रिशुली सुस्ताइरहेकी छन् । शायद निन्द्रा भंग होला भनेर होला, त्रिशुलीले जोरले सुस्केरा हालिरहेकी छैनन् ।
मैले भनें– केही साताअघि पूर्वगृहमन्त्री घिमिरेका परिवारलाई खाएर टन्न अघाएकी होलिन् त्रिशुली । त्यसैले त चुपचाप डकार्दैछिन् । शौचालयको ढोका खोल्दा छेउमै ठिंग्रिंग उभिएकी थिइन् उनै युवती, जसलाई धेरैका नजरले बस चढेदेखि मनमनै बलात्कार गरिरहेका थिए ।
उनीसँग बोल्ने बहाना खोजिरहेको म हात मुख धुन खोज्दै थिएँ । भर्खर पुगेको सानो भाइलाई भनिन् डर लाग्छ बाहिर पर्खिरहनु है ।
म हिँडें चियापसलतिर । त्यहाँ उनै युवतीको कुरा चलिरहेको थियो– कस्ती रै’छे, चिन्नु न जान्नु परपुरुषसँग लट्ठिएकी ! एक छिनपछि सबैजना बसमा चढे, ड्राइभरले मसँग कानेखुसी गर्दै भन्यो– ‘यो आइमाइसँग के भयो, थाहा पाउनुभयो ?’
‘नाइँ त । के भयो ?’
‘बुबाचाहिँले महिला नै खोज्नुपर्यो भन्थे तर यसले त मज्जा लिई नि !’
‘के मज्जा ?’
‘राति केटाले बेस्सरी यसका संवेदनशील अंग चलाइरहेको थियो, ऊ मौन समर्थन जनाइरहेकी थिई ।…’
‘त्यति मात्र कहाँ हो र ! त्यो केटीले पनि मज्जाले अँगालो हालेर ‘किस’ खाइरहेकी थिई । कति पिई कति जवानीको रस…’ – ती महिलाको सिधा अर्काेतर्फ बसिरहेको केटा बोल्यो ।
ऊ एक्लै बसिरहेकी देखेर सोधें– ‘अनि केटा खै त ?’
‘मज्जा लियो, मुग्लिनमा झर्यो ।’
‘अनि त्यो सिटमा को छ ?’
‘म…’– रातभरि गाडी चलाइरहेको ड्राइभर बोल्यो ।
‘अनि भ्याउनु भो त ?’
‘काँ भ्याउनु ! मेरो कुरा सुनेपछि राता आँखा बनाएर हेर्छे । त्यस्ती …सँग को बस्छ !’
त्यहाँदेखि काठमाडौंसम्म सिटमा एक्लै बसेकी ती महिला शायद रंगीन रातलाई सम्झिरहेकी होलिन्– आँखा चिम्म गरेर बसिरहेकी छन् । धन्य हो– १८ घन्टासम्म पनि काबुमा राख्न नसक्ने त्यो जवानी कि दिवानी !