भैंसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला । तर, यहाँका केही किसानले भने राँगो पालेरै भैंसीबाटभन्दा धेरै आम्दानी लिइरहेका छन् । बीजका लागि ल्याएका उन्नत जातका राँगा पाल्ने यहाँका किसानले भैंसीलाई राँगो लगो लगाएरै वार्षिक लाखौं रुपैयाँ कमाउने गरेका हुन् ।
पहाडी जिल्लाका लेकाली गाउँमा घरैपिच्छे जस्तो भैंसी पाल्ने चलन अझै हराएको छैन । गोठमा दुहुनो भैंसी भए मात्र घरको मुहार उज्यालो हुने पुर्ख्यौली कथन पनि छ । तर, राँगोलाई स्याहार गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएकाले गाउँमा राँगो पाल्ने र बहालमा लगाउने किसानका दिन फिरेका हुन् ।
राँगो पालेर भैंसीको जति आम्दानी लिन नसकिने भएपछि राँगोलाई मासुको रुपमा प्रयोग गर्ने चलन छ । खानपिन र स्याहारमा धेरै मेहनत गर्नुपर्ने भएकैले पनि राँगोपालन त्यति सजिलो नभएकाले राँगो पाउन छाडेपछि ओयाक्जुङ– ४ का उमानाथ रिमालले बीजका लागि किनेको राँगो अहिले आम्दानीको राम्रो स्रोत बनेको हो ।
रिमालले राँगो लगाएवापत वार्षिक ३ लाख ५० हजार रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । बीजका लागि पालेको राँगोको एउटा भैंसीबाट १ हजारदेखि २ हजार ५ सयसम्म ‘शुल्क’ लिने गरेको रिमाल बताउँछन् । “बिहान उठेदेखि साँझसम्म राँगोको स्याहारमै बिताउँछु”, रिमाल भन्छन्– “राँगोको स्याहार गरेर सबै साथीभाइको चित्त बुझाउन सके आम्दानी पनि राम्रै हुने रहेछ ।”
रिमालले ओयाक्जुङ गाविससँगै जलजले, पौठाक, श्रीजुङ, म्याङलुङ, साब्ला, तम्फुला, आम्बुङ र सोल्मासम्म राँगो लगिदिएर ‘सेवा’ दिने गरेको बताए । आजभोलि रिमालको परिवारको आम्दानीको मुख्य स्रोत नै राँगो बनेको छ । राँगोबाट आएको आम्दानीले नै सामान्य खर्चदेखि चाडपर्व समेत धान्ने गरेको छ ।
राँगो पालेर बीउका लागि प्रयोगमा ल्यार्इ आफूले पनि राम्रो आम्दानी गरेको बताउँछन् इसिवु– २ का कृषक धर्मसिङ बस्नेत । गाउँमा बीजका लागि राँगो पाउन छाडेपछि यहाँका भैंसीपालक किसानले लुकुवा चौतारा सामुदायिक बन समूहमार्फत नै कृषक बस्नेतलाई राँगो किन्न सघाएर गाउँमै बीउको राँगो पालिएको हो ।
सामान्य आर्थिक अवस्था भएका बस्नेत अहिले राँगोबाट आएको आम्दानीबाटै छोराछोरीको पढाइ, बिहानबेलुकाको दुई गाँस र चाडपर्व समेत राम्रैसँग मनाइएको बताउँछन् ।
बीजका लागि खरिद गरी ल्याएको राँगोबाट सिम्ले र इसिवु तथा सम्दुका किसानलाई समेत सेवा दिँदै आएका बस्नेतले पनि ३ लाख रूपैयाँभन्दा बढी कमाउँदै आएका छन् । बस्नेतलाई सामुदायिक वन समूहले बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत २५ हजार रूपैयाँ बिनाब्याज ऋण उपलब्ध गराएर सहयोग गरेको थियो ।
सो सामुदायिक वनमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था र सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घले साझेदारीमा बहुसरोकारवाला वन कार्यक्रम सञ्चालन गरिरहेका छन् । बस्नेतले पालेको राँगोबाट यहाँका ४ सयभन्दा बढी घरधुरीले ‘सेवा’ लिइरहेका छन् । राँगोकै आम्दानीले अहिले राँगो खरिदका लागि लिएको ऋण चुक्ता गरेर अरु दुई वटा दुहुना भैंसी पनि जोडिसकेको बस्नेतले बताए ।
गाउँमै उन्नत जातको राँगो ल्याएर व्यावसायिक रुपमा नै पाल्न थालेपछि अहिले बहाल उठाउन पनि खासै समस्या नरहेको ओयाक्जुङ– ४ का अम्बिका दुलालले बताए । उन्नत जातको बीउ राँगोको प्रयोगबाट गाउँका भैंसीमा दूध–घ्युको मात्रामा वृद्धि हुनुका साथै पाडापाडी पनि फस्टाउन थालेका छन् ।