newskoseli.Com

किम जोङ्ग नाम हत्याकाण्ड कारबाही सुरू

उत्तर कोरियाका शासक किम जोङ्ग उनका सौतेला भाइ किम जोङ्ग नामको गतः १३ फेब्रुअरीका दिन मलेसियाली राजधानी क्वालालम्पुरको अति ब्यस्त विमानस्थलमा रहस्यमय हत्या भएपछि मलेसियाली सरकारले केही संदिग्ध ब्यक्तिहरुलाई तत्कालै र अन्य शंकास्पदलाई केहीपछि पक्राउ गरेको थियो ।

नामको हत्या भएको चारदिन पछि गिरफ्तार गरी प्रहरीले हिरासतमा लिएको एकजना ४५ बर्षीय उत्तर कोरियाली नागरिक – रि जोङ्ग कोलसँग हत्याकाण्ड बारे गहिरो सोधपूछ गरिएको थियो । अभियुक्तको बयान र प्रहरी अनुसन्धान पश्चात् यस हत्याकाण्डमा कोलको खासै संलग्नता भएको प्रमाण नभेटिएका कारण उनलाई हिरासत मुक्त गरिने भएको मलेसियाली सरकारी अधिकारीले विहिबार जनाएका छन् । यसअघि, मलेसियाली सरकारले कोललाई पक्राउ गर्नु पर्नाको ठोस कारण कहिल्यै खुलासा गरेको थिएन ।

तर, मलेसिया भ्रमणमा आउन उत्तर कोरियाली नागरिकका लागि आवश्यक पर्ने बैध कागजपत्र कोलसँग मौजूद नभएको कारण देखाई उनलाई हिरासत मुक्त गरी तत्कालै उत्तर कोरिया नै फर्काइने भएको महान्यायाधिवक्ता मोहम्मद अपान्डि अलिले बताएका छन् ।
नातामा उत्तर कोरियाली शासकका सौतेनी भाइ पर्ने मृतक किम जोङ्ग नामका दुइजना छोरा र एउटी छोरी गरी ३ जना सन्तान रहेका बताइएको छ । उनले चीनको बेइजिङ्ग र मकाउमा बेग्लाबेग्लै बसोबास गर्ने नातेदार महिलाहरुकहाँ आफ्ना सन्तानहरु पठाई त्यहीँ नै पढाउँदै आएका जनाएको छ ।

उनीहरुमध्ये मकाउ बस्ने एकजनालाई भेटघाट गर्न जान भनी क्वालालम्पुर विमानस्थलमा उडान कुरिरहेको मौका पारी महिलाद्वयः एकजना इन्डोनेसियाली र एकजना भियतानमेलीले नामको अनुहारमा बिषाक्त रासायनिक पदार्थ – भिएक्स नर्भ एजेन्ट छर्केर भागेका थिए । नर्भ एजेन्ट छर्किएको एक घण्टामै उनको मृत्यु भएको थियो । नाम–हत्याकाण्डका थप अभियुक्तहरुमा अन्य ७ जना उत्तर कोरियाली पनि संलग्न छन् भन्ने आशंकामा मलेसियाली सरकारले उनीहरुको ब्यापक खोजबीन गरिरहेको छ ।

तीमध्ये ४ जना त नामको हत्या भएकै दिन मलेसिया छोडेर भागी उत्तर कोरिया नै फर्किसकेका अनुमान गरिएको छ । खोजीमा परेका अन्यमा क्वाललम्पुरस्थित उत्तर कोरियाली राजदूतावासका द्वितीय सचिव र उत्तर कोरियाली सरकारको स्वामित्वमा रहेको एयर कोरियो विमान सेवाका एकजना कर्मचारी पनि रहेको जनाइएको छ । यसैबीच, मलेसिया सरकारले उत्तर कोरियाली नागरिकहरुलाई प्रदान गरिँदै आएको प्रबेशाज्ञा (भिसा) सम्बन्धि नियममा पनि परिवर्तन गरेको छ ।

हालसम्म मलेसिया प्रवेश र भ्रमण गर्नका लागि उत्तर कोरियाली नागरिकहरुलाई भिसा आवश्यक नपर्दै आएकोेमा सो नियम खारेज भएको छ । उत्तर कोरियाली नागरिकहरु बिना रोकतोक मलेसिया प्रवेश गर्न पाएका र यसले आफ्नो मुलुकमा अपराधका घटना बृद्धि हुनमा सघाएको पो हो कि भन्ने पछिल्लो समयमा सरकारको बुझाइ रहेको जनाइन्छ ।
भिसा सम्बन्धमा उत्तर कोरियालीहरुलाई दिइएको सहुलियत वा खुकुलो नियमलाई मलेसियाली सरकारले हालैको किम जोङ्ग नाम–हत्याकाण्डसँग जोडेर हेरेको कारण यस अधिको नियम खारेज गरिएको जनाइन्छ ।

धेरैजसो मलेसियाली अपराध बिज्ञहरुले नाम–हत्याकाण्ड प्योङ्गयाङ्गद्वारा रचना गरिएको षडयन्त्र हो भन्ने आशङ्का गरेका छन् ।
नाम–हत्याकाण्ड पश्चात् उत्तर कोरिया र मलेसियाबीच गाँसिएको पुरानो दौंत्य सम्बन्ध तुरुन्तै चिसिएर जानुका साथै २ देशबीच राजनीतिक शीतयुद्ध शुरु भएको छ । यसअघि, उत्तर कोरिया र मलेसिया विश्व सामु २ अभिन्न मित्र र राजनीतिक साझेदारका रुपमा स्थापित भएका थिए । यसैका आधारमा, उत्तर कोरियाली नागरिकका लागि भिसा नचाहिने संसारका साह्रै कम गन्तब्य देशहरुमध्ये मलेसिया नै एक प्रमुख र सहज मुलुक थियो । विगतका धेरै बर्षसम्म उत्तर कोरियालीहरुले मलेसियालाई एक मौन गन्तब्य मान्दै जागीर वा ब्यबसायको अवसरको खोजी, अध्ययन वा पठन पाठन, उद्योग वा ब्यापारको अवसरका लागि सुरक्षित भूमिका रुपमा उपयोग गर्दै आएका छन।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर