थाइल्यान्डकाे सुदूर दक्षिणी भागमा अवस्थित एक रात्रिबजारमा बन्दुकधारीले गरेका गोली प्रहारमा परी तीन सैनिकको मृत्यु भएको छ । पत्तानी प्रान्तको मायो जिल्लामा अवस्थित एक रात्रि बजारमा बिहीबार सादा पोशाकमा रहेका सैनिकमाथि बन्दुकधारीले गरेको गोली प्रहारबाट ती सैनिकको मृत्यु भएको बताएको छ ।
सादा पोशाकमा रहेका ती सैनिकले गरेका कारबाहीमा परी करिब ८ बन्दुकधारीको मृ्त्यु भएको मायो प्रहरी चौकीका क्याप्टेन मुहमद मादवाङ्गले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । बिहीबार नै बिहान सबेरै थाइल्यान्डको दक्षिणी भागमा पर्ने द्वन्द्वग्रस्त क्षेत्रमा पनि एक विद्यालयका विद्यार्थी, उनका पिता, माता र अन्य एकजना आफन्तको हत्या गरिएको छ।
आफ्ना ८ वर्षीय छोरालाई नाराथिवात प्रान्तको एउटा विद्यालयमा पुर्याउन जान एउटा पिक–अप ट्रक हाँकिरहेका स्थानीय एक गाउँका उपप्रमुख, उनकी पत्नी र सालीसमेत चारजना सशस्त्र विद्रोहीले थापेको विद्युतीय धराप (एम्बुस) विस्फोटनमा परी मृत्यु भएको छ । उनीहरु चढेको गाडीमा अन्य २ जना पनि रहेकामा यी दुई जना भने त्यस आक्रमणबाट बच्न सफल भएका छन् । एम्बुसमा पर्नुअघि उक्त गाडीलाई दुइजना सशस्त्र बिद्रोहीले अन्धाधुन्द गोली प्रहार गरेका छन् ।
बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको दक्षिणी थाइल्यान्डको कैयौं प्रान्तमा एक दशकभन्दा बढी समययता सशस्त्र द्वन्द्व जारी रहेको छ । त्यहाँ मलेसियाली मूलका मुस्लिम विद्रोहीले द्वन्द्व मच्चाउँदै आएका छन् । यस द्वन्द्वमा मलाया–मुस्लिम विद्रोहीले थाई सुरक्षाकर्मी, स्थानीय अधिकारी, विद्यालयका शिक्षक तथा राज्यसँग आवद्ध अन्य निकायमा कार्यरत कर्मचारी वा नेताहरुलाई आफ्नो निरन्तर निशाना बनाउँदै आएका छन्
यस्तो सशस्त्र आक्रमण र द्वन्द्वमा परी हालसम्म बौद्ध र मुस्लिम धर्मावलम्बी दुबै पक्षका कम्तीमा ६ हजार ८ सयको मृत्यु भइसकेको छ । यसमध्ये बढी सङ्ख्यामा सर्वसाधारण निर्दोष नागरिक परेका छन् । सशस्त्र द्वन्द्वमा होमिएका दुवै पक्षले एक अर्कालाई मानवअधिकार उल्लङ्घन वा दुरुपयोग गरेको दोषारोपण गर्दै आइरहेका छन् । इल्यान्डमा थुप्रै सानातिना बिद्रोही समूहका अतिरिक्त बिआरएन फ्याक्सन नामक एउटा शक्तिशाली सशस्त्र बिद्रोही सङ्गठनको अस्तित्व रहेको छ ।
विगतका धेरै वर्षदेखि थाइल्याण्डमा राजनीतिक अस्थिरताले निरन्तर जरो गाड्दै आइरहेको छ । तत्कालीन निर्वाचित सरकारलाई सन् २०१४ मा सैनिक बिद्रोहद्वारा जबर्जस्ती अपदस्थ गरी सत्ता हातमा लिएको सैनिक जुन्ता सरकार थाइल्यान्डका सशस्त्र बिद्रोहीलाई नियन्त्रण गरी देशमा शान्ति तथा सुब्यवस्था बहाली गर्न असफल रहेको बताएकाे छ ।