सिरियाको राजधानी दमासकसनजिकै विद्रोहीहरूको एक समूह रहेको स्थानलाई लक्ष्यगरी बुधबार भएको बमबारीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको मानव अधिकारबादी समूहले जानकारी दिएको छ । रसियाले सो इलाकामा हवाई आक्रमण बन्द गर्ने घोषणा गरेको २४ घण्टा पनि नपुग्दै सो आक्रमण भएको बताएको छ ।
डुउमास्थित भएको यस हवाई आक्रमणमा परी एक युवक र महिलाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देलले बताए । आर्बिन सरहमा भएको अर्को हवाई आक्रमणमा परी कम्तीमा २४ व्यक्तिको घाइते भएका छन् । यी हवाई आक्रमणहरू मङ्गलबार अपराह्नमा गरिएको युद्धविरामपछि पहिलो पटक भएको रहमानले बताए । सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट (आईएस) हाबी हुँदै गए । यस आन्दोलनमा परी २०११ देखि हालसम्म ३ लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी यस द्वन्द्वका कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँले आफ्नो घर छोडी देशभित्र र विदेशमा शरणार्थी जीवन बितारहेका छन् ।