Police and rescue workers work at the scene of a blast in Lahore, Pakistan February 13, 2017. REUTERS/Stringer
राति एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी १ जना सुरक्षाकर्मी सहित ५ जनाको मृत्यु हुनाको साथै करिब ४० जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ । अपरान्ह (नेपाली समय अनुसार बुधवार राति) केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उपरोक्त आक्रमण र हताहतीका घटना भएको लन्डनका महानगरीय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन् । कत्र्तब्य पालनको क्रममा ४८ बर्षीय प्रहरी अधिकृत किथ पामरको सो आक्रमणको घटनामा परी मृत्यु भएको सहायक आयुक्त रोलेले समाचारदाताहरुलाई बताए ।
किथ पामरले बेलायती प्रहरीमा पन्ध्र बर्षसम्म सेवा पुर्याएका थिए । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतङ्कबादविरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन् । आक्रमणकारी को थियो त भन्ने कुरा प्रहरीले सार्वजनिक रुपमा खुलासा गरिसकेको छैन । तर बेलायती प्रहरीलाई आक्रमणकारीको पहिचान भएको जनाएको छ । प्रहरी अधिकृत पामरको हत्याको तत्कालै अन्य प्रहरीले सो आक्रमणकारीलाई गोली हानी घटनास्थलमै ढालिदिएका थिए ।
यस अघि, प्रत्यक्षदर्शीका अनुसार एकजना ब्यक्ति एउटा अति तीब्र गतिको कारमा एक्लै आई संसद् भवन परिसर बाहिरको वेस्टमिन्स्टर ब्रिजको फुटपाथमा गाडीलाई जबर्जस्ती चढाएर संसद् भवन भित्र घुस्न खोजेको र सो कारले ठक्कर दिई ३ जना प्रहरीहरुलाई ठहरै पार्नुका साथै सडकमा हिँडिरहेका कम्तीमा २० जना पदयात्रीहरुलाई घाइते बनाएको थियो । फुटपाथमा उक्लिएपछि सो तीब्र गतिको कारको सन्तुलन बिग्रन गएर संसद् भवन – हाउस अफ कमन्स परिसर बाहिरको बार र पर्खालमा ठोक्किन पुगी उक्त कार दुर्घटनाग्रस्त भएको तर भित्र बस्ने चालकलाई केही पनि भएको थिएन ।
अकस्मात् उक्त चालक गाडीबाट बाहिर निस्केर लामो र धारिलो छुरा निकाली वरिपरि रहेका मानिसहरु उपर जथाभावी आक्रमण गर्न थाल्यो । आक्रमणकारीको पहिलो निसानामा प्रहरी अधिकृत किथ पामर पर्न पुगे, छुराको प्रहारबाट तत्कालै ढली उनले ज्यान गुमाउन पुगेका थिए । उक्त आक्रमणको घटनामा अरु कसैको संलग्नता छ छैन, यसबारे पत्तो लगाउन बेलायती प्रहरी सूक्ष्मरुपले अनुसन्धानरत रहेको जनाएको छ ।