नारायणगढ बजारमा निकै कोलाहाल छ । तर, त्यसको नजिकै शान्त र रमणीय जङ्गल छ । नेपाली सेनाको घेरामा रहेको उक्त जङ्गलभित्र एकान्तमा छ दियालो बङ्गाला । ऐतिहासिक रूपले निकै महत्वपूर्ण मानिएको उक्त दरबार यतिबेला हेरचह र प्रयोगबिहीन भएकाले ओझेलमा परेको हो । सुरक्षार्थ सेना र नेपाल ट्रष्टका ७ जना कर्मचारीबाहेक अरु कोही पनि छिर्न पाउँदैनन् दरबार परिसरमा ।
वि.सं. २०२६ मा निर्माण भएको सो बङ्गला राजा र राजपरिवारका सदस्यले काठमाडौंको कोलाहाल छल्न आउने मुख्य गन्तव्य बनेको थियो । २०४१ देखि बगैंंचे पदमा काम गर्दै आएका घनश्याम केसी दियालो बङ्गला राजपरिवारको रमाउने ठाउँ रहेको बताउँछन् । विगतको स्मरण गर्दै उनी भन्छन्– “२०५० मा बगैंचामा घुम्दै राजा वीरेन्द्रले अब ९ महिना यहाँ र ३ महिना काठमाडौं बस्ने बताउनुभएको थियो तर परिस्थिति प्रतिकूल बनेपछि राजाले भनेअनुसार ९ महिना यहाँ भने बिताउन सक्नु भएन । त्यसै वर्ष यही दरबारको भर्याङमा लडेर वडामहारानी ऐश्वर्यको खुट्टा भाँचियो । उहाँले लामो समय चिकित्सकको निगरानीमा आराम गर्नुपर्ने भएकाले काठमाडौंमै बस्नुपर्यो । ”
राजा आइरहने भएकाले दियालो बङ्गला झकिझकाउ हुने गर्थ्याे, केसीका अनुसार राजा आएका बेला एक महिना बराबरको तलब बक्सिस हुने भएकाले पनि कर्मचारी फुरुङ्ग हुने गर्दथे । राजा वीरेन्द्रले २०५७ मा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएको केसीको स्मरण छ । त्यतिबेला पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतका नेता पनि शुभकामना दिन यहीं आएका थिए । त्यसो त राजा महेन्द्रको निधन पनि यही दरबारमा भएकाले र यससँगै पवित्र तीर्थस्थल देवघाटको मुख्य प्रवेशद्वार समेत भएकाले पनि यो दरबारको महत्व बढेको छ ।
पूर्वराजपरिवारको सम्पत्तिको संरक्षण नेपाल ट्रष्टले गरिरहेको छ । ट्रष्टको इकार्इ कार्यालय दियालो बङ्गला आँपटारीका प्रमुख रमेश वाग्लेका अनुसार अहिले ७ कर्मचारीले दरबारको संरक्षण र सरसफाइको काम गरिरहेका छन् । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ, जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । २०२६ मा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही भर्याङमा सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।
दरबारमा ५ वटा खोपी (बेडरुम) छन् । बगैंचे केसीका अनुसार १ नं. खोपी मुमा रत्नराज्यको हो भने २ नं. राजा र ३ नं. रानी तथा ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालय सँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छन् । दरबारको छेउमा महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वाटर पनि छ । केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडीपोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको कार्यालय चलेको छ ।
सो क्षेत्रमा धमिराको गोला, कमिलाजस्ता कुनै पनि कीराले त्यहाँका सामग्री बिगार्न नसक्ने कर्मचारी बताउँछन् । भवन निर्माण गर्दा नै दीर्घकालीन सुरक्षाका विधि अपनाएका कारण यस्तो भएको उनीहरुको भनाइ छ । सो क्षेत्रमा खानेपानीका लागि छुट्टै अग्लो फिल्टर ट्याङ्की निर्माण गरिएको छ, जसबाट अहिले पनि यहाँ पानी वितरण हुँदै आएको छ ।
ऐतिहासिक र सुन्दर ठाउँ भएर पनि दियालो बङ्गाला सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । ५७ बिघा १३ कठ्ठा ७ धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबारक्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरमा रहेको बगैंंचा अहिले पनि जस्ताको जस्तै छ । जो–कोहीलाई दरबारभित्र राजा नै भएको भान हुन्छ ।
यति सुन्दर र ऐतिहासिक ठाउँ भएर पनि दियालो बङ्गाला किन पर्यो त ओझेलमा ? नेपाल ट्रष्टका सहसचिव लेखबहादुर कार्की भन्छन्–“सङ्ग्रहालय निर्माणका लागि सरकारसँग बजेट माग गरे पनि नपाएकाले केही गर्न सकिएन ।” उनका अनुसार २०७३ असारमा सम्पन्न ट्रष्ट सञ्चालक समितिको बैठकले दियालो बङ्गलालाई सङ्ग्रहालयका रूपमा विकास गर्ने निर्णय गरेको थियो ।
सङ्ग्रहालय सञ्चालनका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग २ करोड रूपैयाँ माग गरिए पनि स्वीकृत भएन । दरबार परिसरमा टिकट काउन्टर, शौचालय, बस्ने ठाउँ, तारबार, मर्मत–सम्भारलगायतका भौतिक पूर्वाधार बनाउन बजेट मागिएको थियो । थोरै रकम समेत नपाउँदा सङ्ग्रहालय बनाएर सर्वसाधारणलाई खुला गर्न नसकिएको कार्कीले बताए ।
नारायणगढको विकासको सुरुअत नै दियालो बङ्गलाबाट भएको भन्दै राजा महेन्द्रको निधन भएको पवित्र तीर्थस्थल देवघाटको प्रवेशद्वार पनि यही भएकाले यसको ऐतिहासिक महत्व बुझाउन पनि सङ्ग्रालय बनाउनुपर्ने उनले बताए ।