(नेपाली तथा मैथिली दुवै भाषामा उत्तिकै सशक्त कलम चलाउने रोशन जनकपुरी साहित्यिक क्षेत्रमा मूलतः कवि र निबन्धकारका रूपमा सुपरिचित छन् । समालोचनामा पनि कलम चलाउन थालेका जनकपुरी मार्क्सवादप्रति प्रतिबद्ध स्रष्टाका रूपमा स्थापित छन् ।
मातृभाषा मैथिली भएका कतिपय लेखक तथा मधेशी नेताहरूले हिन्दीलाई राष्ट्रभाषा बनाउन जोड गरिरहेका बेला महाकवि विद्यापतिको विरासत बोकेको समृद्ध मैथिली भाषाका पक्षमा दरिलो उभिएर उच्च कोटीको साहित्य–सिर्जना गर्न सक्षम स्रष्टाका रूपमा पनि जनकपुरीको नाम लिइन्छ ।
हालै उनलाई मैथिली विकास कोष जनकपुरद्वारा स्थापित मैथिली भाषिक क्षेत्रको बहुप्रतिष्ठित पुरस्कार ‘डा. धीरेन्द्र साहित्यिक पुरस्कार– २०७३’ प्रदान गरियो । जनकपुरस्थित ‘दूधमति’ अनलाइनका सम्पादक सुजीतकुमार झाले जनकपुरीसित मैथिलीमा गरेको कुराकानीलाई जनमेलले नेपालीमा अनुवाद गरेको थियो, यहाँ प्रस्तुत छ जनमेलबाट सोही वार्ता)
५१ हजार राशिको पुरस्कार प्राप्त गर्दा कस्तो अनुभव गरिहनुभएको छ ?
पुरस्कार प्राप्त गर्नु खुसीको विषय हो । मैथिलीमा पहिलो पुरस्कार पाएको छु, योभन्दा पहिले ‘चित्रगुप्त सेवा समिति’ ले सम्मान गरेको थियो, पुरस्कार चाहिँ अहिले पाएको छु । २०५८ मा ‘पारिजात सिर्जनशील पुरस्कार’ पाएको थिएँ । जहाँसम्म मेरो कुरा छ, म लेखनमा विश्वास गर्ने मान्छे हुँ । मेरो लेखन जसरी चलिरहेको छ, त्यसरी नै चलिरहन्छ ।
लेखकहरू त पुरस्कार पाएपछि धमाधम पुस्तक प्रकाशित गर्न थाल्छन्, तपाईंको चाहिँ के योजना छ नि ?
पुरस्कारकै कारण पुस्तक प्रकाशित गर्ने भन्ने कुरा होइन । केही पुस्तकको तयारीमा लागिरहेको छु, अस्तव्यस्त जीवनको क्रममा कहिले निस्कने हो, थाहा छैन । पाश्चात्य दर्शनशास्त्र मैथिलीमा लेखिरहेको छु, मैथिलीमै कथासङ्ग्रह तथा कविता सङ्ग्रह प्रकाशित गर्ने विचारमा छु । जनकपुरको इतिहास नेपालीमा लेखेको छु, त्यसलाई पनि प्रकाशित गर्ने योजना छ ।
समालोचनाका सन्दर्भमा तपाईंलाई ‘समालोचक’ भन्दा बढी ‘आलोचक’ भन्न थालिएको छ, यसको कारण के होला ?
मैले जे खोजेको छु, त्यो आइरहेको छैन त्यसैकारण म आलोचक बनेको हुँ । मेरो आलोचनाका कारणले पनि केही महत्वपूर्ण रचनाहरू आउँछन् भन्ने मलाई लागेको छ । भजनमण्डली बनेर तथा स्तुतिगान गरेर हाम्रो उद्देश्य पूरा हुन सक्तैन । आज मान्छेहरूले प्रेमचन्द्र, गोर्कीलगायतकाहरूको सम्झना गर्नुको कारण उनीहरूले कसैको स्तुतिगान गरेकाले होइन, समाज परिवर्तनको संवाहक बनेको कारणले हो । लेखकहरूले जोखिम मोल्नैपर्ने हुन्छ । मैथिली साहित्यमा विचारहीनता बढ्दै गएको छ ।
कसरी विश्वस्तरीय बन्छ त मैथिली साहित्य ?
विश्वस्तरको साहित्य लेखनका लागि पनि वैचारिकस्तरमा काम गर्नुपर्छ । मैले पहिले नै भनिसकेको छु, स्तुतिगानले विश्वस्तरको साहित्य निर्माण हुँदैन । यथास्थितिवादलाई भत्काउनैपर्छ । के भएर हो, अधिकांश रचना एउटा खास घेराबाट माथि उठ्न नसकेको पाइरहेको छु ।
डा. धीरेन्द्रको नजिक कहिल्यै रहनुभएन र पनि तपाईं आफूलाई उहाँको शिष्य भन्नुहुन्छ, कारण के हो ?
उहाँबाट क्लास लिनु मात्र उहाँको शिष्य हुनु होइन, उहाँको व्यवहार र लेखनप्रतिको बुझाइले पनि शिष्य होइन्छ । उहाँ वामपन्थी लेखक हुनुहुन्थ्यो, म पनि हुँ । हाम्रो वैचारिक आधार मिल्छ । म उहाँकै परम्पराको अनुयायी हुँ, वैचारिक रूपले नजिक छु ।
माओवादीको केन्द्रीयस्तरमै काम गर्नुभएका तपाईंको यतिबेला खासै राजनीतिक सक्रियता देखिँदैन, राजनीति छाडिदिनुभएको हो ?
छाडेको छैन, केही समयका लागि विश्राम लिएको हुँ । यो विश्रामसँगै चिन्तन पनि गर्दैछु । राजनीतिबाट होस् अथवा साहित्य–लेखनबाट, उत्पीडित वर्ग तथा समुदायको परिवर्तनका लागि काम गर्नु मेरो उद्देश्य रहिआएको छ । जनता, समाज र राष्ट्रलार्इ शोषणबाट कसरी मुक्ति दिलाउने भन्नेमै मेरो मूल चिन्ता र चिन्तन छ । तत्कालका लागि अध्ययन–चिन्तनमा लागे पनि शोषित वर्गका लागि काम गर्न म सक्रिय भएर राजनीतिमै लाग्नेछु ।