एमालेका एक शालीन तथा इमानदार नेताका रुपमा चिनिन्छन् खेमप्रसाद लोहनी । २०३६ को विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका लोहनी धादिङमा राम्ररी भिजेका नेता हुन् । २०३६ देखि रेड गार्ड अर्गनाइजेसन, युथ लिग, क्याम्पस कमिटी सदस्य हुँदै राजनीतिमा क्रियाशील उनी २०४३ देखि निरन्तर जिल्ला र केन्द्रीय राजनीतिमा सक्रिय छन् ।
२०५४ को स्थानीय निर्वाचनमा भारी बहुमतका साथ जिल्ला विकास समितिको सभापतिमा चुनिएका लोहनी एमालेको जिल्ला अध्यक्ष हुँदै अहिले केन्द्रीय कमिटीका वैकल्पिक सदस्य तथा धादिङ–नुवाकोटका इन्चार्ज छन् । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उनी धादिङ– २ बाट प्रतिनिधिसभामा वाम गठबन्धनको उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट बहालवाला राज्यमन्त्री एवं निवर्तमान सांसद् दिलमान पाख्रिनसँग प्रतिस्पर्धामा उत्रिएका छन् लोहनी । प्रस्तुत छ उनै खेमप्रसाद लोहनीसँग आसन्न निर्वाचन र उनका भावी कार्ययोजनामा केन्द्रित रहेर न्युजकोसेलीले गरेको कुराकानीको सम्पादित अंशः
पहिलो पटक संसदीय चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ, जित्ने विश्वास कत्तिको छ ?
हो, राजनीतिमा लामो समयदेखि सक्रिय भए पनि म पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैछु । पार्टी कमिटी र जिल्लामा दशकौंदेखिको मेरो योगदानलाई मध्यनजर गरेर नै मलाई वाम गठबन्धनका तर्फबाट उम्मेदवार चयन गरिएको हो । यसमा मभन्दा अग्रज र पार्टीमा लामो योगदान भएका कमरेडहरुले बलियो साथ दिनुभएको छ, जसले मलाई थप प्रोत्साहित गरेको छ । तर, चुनावी प्रतिस्पर्धा यो नै मेरो पहिलो चाहिँ होइन । म २०५४ मै भारी बहुमतका साथ जिल्ला विकास समितिको सभापतिमा विजयी भएको व्यक्ति हुँ ।
रह्यो, हारजितको सवाल । घमण्ड गरेको नठान्नुहोला, हामी कम्तिमा १५ हजारको मतान्तरले विजयी हुनेछौं किनभने एक त धादिङ सदैव वामपन्थीहरुको प्रभावक्षेत्र हो; इतिहास पल्टाउने हो भने २०४६ को परिवर्तनपश्चात धादिङका विभिन्न क्षेत्रबाट गरी नेपाली कांग्रेसका केवल २ जना उम्मेदवारले मात्र प्रत्यक्ष चुनाव जितेका छन् । २०६४ को संविधानसभा निर्वाचनमा तीन वटै क्षेत्रमा माओवादी र दोस्रो संविधानसभा निर्वाचनमा तीन वटै क्षेत्र एमालेले जितेको हो । गत वैशाखमा सम्पन्न स्थानीय चुनावको चर्चा गर्ने हो भने पनि हामी नेपाली कांग्रेस र राप्रपाभन्दा कम्तिमा १५ हजार मतले अगाडि छौं । वाम गठबन्धनपश्चात हामीप्रति विश्वास र आकर्षण थप बढेको छ ।
तपाईंले आशा गरेजस्तो सबै वामपन्थीहरुले इमानदारीसाथ तपाईंलाई नै मत देलान् र ?
तपाईंलाई शंका लाग्न सक्छ– यो चुनावी तालमेल मात्र हो, त्यसैले सबै वाम पक्षधरहरुले इमानदारीसाथ मतदान नगर्न सक्छन् । तर, यहाँलाई एउटा कुरा प्रस्ट पारौं– यो एकता चुनावसम्मका लागि मात्रै होइन, यो त सम्पूर्ण वाम र अग्रगामी शक्तिहरुको एकताको सुरुआत हो । निर्वाचनलगत्तै पार्टी एकता, सरकार निर्माणका साथसाथै संविधान कार्यान्वयनका लागि प्रतिबद्ध रहने दीर्घकालीन अभियान हो । संविधानमा यसअघि नै प्रस्ट लेखिसकिएको छ कि अबको नेपाल समाजवादतर्फ उन्मूख हुनेछ । हाम्रो गठबन्धन त्यही यात्राको सुरुआत हो । त्यसैले मलाई पूर्ण विश्वास छ, माओवादी केन्द्रका समर्थकहरुले मात्र होइन, नयाँ शक्तिमा रहेका वाम समर्थक साथीहरुले समेत हामीलाई सक्रियतापूर्वक हृदयदेखि नै साथ दिनेछन् ।
तपाईंको प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार पाख्रिन बहालवाला राज्यमन्त्री र भूतपूर्व गोर्खा सैनिक हुन् । आर्थिक दृष्टिले प्रभावशाली र सत्तासीन समेत भएकाले उनलाई परास्त गर्न सजिलो छ र ?
हेर्नोस्, सत्ता र धनले मात्रै चुनाव जित्न सकिन्छ भन्नेमा म विश्वास गर्दिनँ । यदि त्यसो हुँदो हो त सत्तामा बसेर चुनाव गर्नेहरु कहिल्यै पराजित हुनुपर्थेन । साथै, पैसाका बलमा मात्र चुनाव जितिने भए धनीहरु कहिल्यै हार्थेनन् । तर, उहाँ २०६४ को चुनावमा पराजित हुनुभयो त ! त्यसैले जनताले कसैको धन या शक्तिलाई चुन्ने होइनन् । मतदाताहरुले त आफ्नो मतबाट चुनिने व्यक्तिले आफ्नो जीवनस्तर उकास्न के–कस्ता योजना ल्याउँछ र त्यसलाई लागू गर्दछ वा गर्न सक्दछ भन्ने पक्षमा निकै विचार गरिरहेका हुन्छन् ।
म पाख्रिनजीलाई आदर गर्छु । तर, जुन बेला उहाँ बेयालती सेनामा जागिर खाएर साम्राज्यवादीहरुको सेवा गर्दै हुनुहुथ्यो, त्यसबेला म गरिब, किसान–मजदुर र आमजनताको भलाईका निम्ति प्रहरीका लाठी र राज्यआतंकको परबाह नगरी लडिरहेको थिएँ । यो कुरा कसैलाई बताइराख्नु पर्दैन, उत्तरी धादिङवासी सबैलाई थाहा छ । चुनाव जित्न राजनीतिक इमानदारिता, जनताप्रतिको सेवाभाव र विकासका लक्ष्यका साथै जनविश्वास आवश्यक पर्दछ ।
तपाईं संसदमा चुनिनुभयो भने के–के गर्नुहुन्छ त ? के–कस्ता छन् तपाईंका कार्ययोजनाहरु ?
अबको केन्द्रीय संसद मुख्यतः नीति निर्माण गर्ने थलो हो । मेरो प्रयास एमाले पार्टी र वाम गठबन्धनले घोषणापत्रमा उल्लेख गरेका र मार्गनिर्देशित गरेका विषयहरुलाई ध्यानमा राखी केन्द्रीय नीति निर्माण तहमा सक्रियतापूर्वक लाग्नुमा नै केन्द्रित हुनेछ । जसअन्तर्गत मैले भूकम्पबाट विस्थापितको शीघ्र पुनस्र्थापना, आवास निर्माण, जिल्ला तहमा बढीभन्दा बढी रोजगारीको सिर्जना इत्यादिका निम्ति कार्यक्रम तय गर्नेछु र तिनको कार्यान्वयनका लागि निरन्तर लाग्नेछु ।
बुढीगण्डकी जलविद्युत् परियोजनाबाट डुबानमा पर्ने स्थानीयवासीलाई सरकारले जुन क्षतिपूर्ति तय गरेको छ, त्यो अत्यन्तै न्यून छ । त्यसले धेरै स्थानीयलाई अर्को ठाउँमा गएर पुरानो अवस्थाको जीवन गुजार्न पनि हम्मे हुनेछ । त्यसैले क्षतिपूर्तिको प्रस्तावित रकम कम्तिमा दोब्बर पार्नुपर्दछ । १ हजार २ सय मेगावाटको उक्त परियोजना यथासमयमै सम्पन्न गरी स्थानीयवासीलाई बढीभन्दा बढी सेयर स्वामित्व हस्तान्तरण गराउने काममा मेरो भरमग्दुर प्रयास हुनेछ ।
म जिल्ला विकास समितिको सभापति हुँदाखेरि नै अधिकांश गाविसका सदरमुकाम र वडा कार्यालयहरुसम्म सडक सञ्जाल विस्तार गरिएको थियो । तर, गाउँहरुमा बाह्रै महिना चल्ले पक्की सडक विस्तार भएको छैन । अब यो चुनावमा विजयी भएलगत्तै म हरेक गाउँपालिकाका वडासम्म कालोपत्रे सडक र प्रत्येक घरमा पानीका धारा र बिजुली जोड्ने काममा गम्भीरतापूर्वक लागिपर्ने छु र यो काम यही कार्यकालभित्रै पूरा गरिछाड्ने प्रतिबद्धता जाहेर गर्दछु ।
विगतमा म जिल्ला विकास समितिको सभापति हुँदा विकट पहाडी गाउँहरुमा झोलुंगे पुल निर्माण गरी तुइन विस्थापन गर्ने कार्य भएको थियो । अब म ती ठाउँमा पक्की सडक र गाडी ओहोर—दोहोर गर्ने पुल बनाउन लागिपर्ने छु । धादिङ कृषि र पर्यटनका हिसाबले निकै सम्भावना भएको जिल्ला भएकाले स्थानीय उद्यमशीलता अझै विस्तार गरेर व्यापक रोजगारी सिर्जना गर्ने कार्यमा पूरै ध्यान लगाउनेछु ।
यी सबै काम तपाईंले नै गर्ने हो भने प्रदेश र स्थानीय सरकारले चाहिँ गर्ने के हो त ?
ठीक सवाल उठाउनुभयो । म एक्लैले मात्र यो गर्ने होइन । तर, केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने हिसाबले मैले केन्द्रमा यी र यस्ता नीतिगत निर्णयमा भूमिका खेल्नेछु । साथै, जिल्लामा बजेट विनियोजन गर्न, त्यसको प्रभावकारी र शीघ्र निकासा तथा कार्यान्वयनका लागि केन्द्रबाटै पहल गर्नेछु । स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा यस्ता योजना र नीति कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्नु नै मेरो मुख्य काम हुनेछ ।
राजनीतिक आन्दोलन अथवा जनअधिकार प्राप्तिको आन्दोलन लगभग समाप्त भैसकेको छ । अब देशलाई आर्थिक रुपान्तरणको नयाँ बाटोमा लैजानु जरुरी छ । नयाँ भिजनका साथ देश विकासको स्पष्ट खाका कोर्न सक्ने नयाँ नेतृत्वको खाँचो छ । यो जिम्मेवारी पूरा गर्न पुरानै धार वा कथित प्रजातान्त्रिक धारबाट कदापि सम्भव छैन । राष्ट्रको यो विशिष्टता धादिङ– २ को प्रतिनिधिसभा निर्वाचनका हकमा पनि लागू हुन्छ । यस क्षेत्रले पटक–पटक मन्त्री पायो तर यहाँका समस्या अझै पनि जहाँको त्यहीं नै छन् । जनता चरम अभावबाट छटपटाइरहेकै छन् ।
त्यसैले अब उत्तरी धादिङको समग्र विकासका लागि नै मेरो उम्मेदवारी हो । मेरो अनुरोध छ, तपाईंको एक मत नै जिल्लाको समग्र स्वरुप परिवर्तनका निम्ति काफी हुनेछ, केवल एक मौका हामीलाई दिनुहोस् ।