०७२ वैशाख १२ र २९ को भूकम्पले भत्काएको घरअगाडि खोकनाका ज्ञानदास डंगोल बिहानको घाम ताप्न निस्किएका मात्रै थिए, ठूलठूलो स्वरमा नारा लगाउँदै एउटा समूह आइपुग्यो ।
त्रियासी वसन्त पार गरिसकेका डंगोल हेर्दै थिए– ‘होइन केको जुलुस रहेछ ?’ टोलका युवादेखि वृद्धसम्म सहभागी थिए जुलुसमा । खोकनाको पुरानो टोल न्हगुमा उनको भत्किएको घर अझै ठडिएको छैन । तर, पछिल्लो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले अन्यत्र जस्तै उनको टोललाई समेत राम्रै गरी छोएको छ ।
पछिल्ला दिनमा मत माग्दै आउने उम्मेदवार, नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ । पञ्चायतकालदेखि मतदान गरेको अनुभव सुनाउँदै उनले भने– “मलाई त असाध्यै रमाइलो पो लाग्छ त निर्वाचन आएपछि ।”
महर्जनले त्यसो भनिरहँदा नारा लगाउँदै आएको समूह उनकै अगाडि आइपुग्यो र एउटा पर्चा थमायो । “लौ म त राम्ररी पढ्न जान्दिनँ, के लेखेको छ यसमा, नातिलाई पढ्न लगाउनुपर्ला नि हुन्न ?” पर्चा दिनेलाई प्रश्न गरे उनले । “हुन्छ बा हुन्छ”– उत्तर दियो पर्चा दिनेले ।
स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयपछि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सक्रिय सहभागी हुने बताउँदै डंगोलले भने– “मेरो घरमा १३ मत छ, म त सबैलाई सहभागी गराउँछु । तर, भत्किएको घर कहिले बन्ला भन्नेमा मात्रै मेरो चासो छ ।”
ललितपुर महानगरपालिका– २१, खोकनाका बेखा महर्जनलाई जनताले नै प्रतिनिधि चुन्न पाउने निर्वाचन महत्त्वपूर्ण लाग्छ । तर, खोकनाको परम्परागत वस्ती भत्किएको लामो समय भइसक्दा समेत पुनर्निर्माण नभएकामा भने उनलाई दुःख लागेको छ ।
आफ्नो परम्परागत नेवारी वस्तीको पहिचान रहिरहोस्, तोरीको तेल भन्ने बित्तिकै नाम आउने खोकनाको परिचय बाँचिरहोस् भन्ने इच्छा छ उनलाई । निर्वाचनमा मत माग्न आउने सबै राजनीतिक दलका उम्मेदवारलाई आफूले सोही माग राखेको बताउँदै उनले भने– “हाम्रो मौलिक पहिचान जोगिन्छ कि जोगिँदैन भन्ने चिन्ता छ । युवा पुस्ताले सबै भुल्न लागे । सरकार र जनप्रतिनिधिले चासो दिनुपर्यो नि होइन ?”
खोकनाकै चम्पावती डंगोलको पनि ठूलो अपेक्षा छैन । स्थानीय न्हगु टोलमा भेटिएकी उनले भनिन्– “खोकना भनेर हेर्न टाढा–टाढाबाट मान्छे आउँछन्, खोकनालाई खोकनाकै रुपमा रहन दिए हुन्थ्यो ।”
“तेलको नाम त हाम्रै खोकनाले दिएको हो नि । बाटोघाटो सफासुग्घर हुनुपर्यो, पिउने पानीको समस्या छ, नेताहरुले त्यसैमा काम गरिदिए हुन्थ्यो बूढेसकालमा मेरो अरू कुनै माग छैन”– उनले भनिन् ।
स्थानीयवासी देवरत्न डंगोल खोकनावासीको प्रमुख माग नै पुनर्निर्माण रहेको बताउँछन् । सरकारले पुनर्निर्माणका लागि भनेर दिएको ३ लाख रूपैयाँले घर बनाउन सक्ने अवस्था छैन । भूकम्पले भत्काएको घर बनाउन नसक्नेहरु अहिले पनि खेतका टहरामा नै बसेका छन् । डंगोलले भने– “सांस्कृतिक रुपमा नै खोकनालाई परिचय दिने गरी घर बनाउन सरकारले सहयोग गर्नुपर्छ ।”
मत माग्न पुगेका अधिकांश उम्मेदवारलाई स्थानीयवासीले खोकनालाई सांस्कृतिक परिचय दिन मात्रै होइन, पुनर्निर्माणलाई प्राथमिकता दिन समेत माग गरेका छन् । थानकोट–चापागाँउ–भक्तपुर प्रसारण लाइनको एउटा खण्ड समेत सोही क्षेत्रमा पर्छ । काठमाडौंलाई तराई–मधेश जोड्ने द्रुतमार्गको केही खण्ड समेत सोही क्षेत्रमा पर्ने भएकाले उचित मुआब्जा र क्षतिपूर्तिको माग गरेका छन् खोकनावासीले ।
सिफाली बहुउद्देश्यीय सहकारीले तेल मिल सञ्चालन गरेको छ । भुटेको तोरीको शुद्ध तेल उत्पादन हुन्छ, त्यो पनि पुरानै उपकरण र पद्धतिबाट । तोरीको तेलले प्रतिष्ठित बनेको ललितपुरस्थित खोकनामा तोरी पेल्ने यस्ता मिल थुप्रै छन् । तोरीखेतीका लागि किसानलाई सिप र प्रविधिले युक्त बनाउनुपर्ने माग छ स्थानीयवासीको ।
पछिल्लो समय खोकनामा खेतीयोग्य जमिन घट्दै गएको छ । अव्यवस्थित सहरीकरणले तोरी फल्ने फाँट मासिएकामा बुद्ध डंगोललाई पीर परेको छ । “राजनीतिक नेतृत्वले यस विषयमा ध्यान दिए राम्रो हुन्थ्यो । भोट माग्न आउनेलाई मैले त तेलकै कुरा गरेको छु”– उनले भने ।
पहिलेजस्तै आकर्षण छ–छैन खोकनाको तेलमा ? तर, आफ्नै पहिचान लामो समयसम्म रहोस् र भावी सन्ततिले देख्न पाऊन् भन्ने अपेक्षा स्थानीयवासीले राखेका छन् ।
भूकम्पले भत्काएको रुद्रायणी देवीको मन्दिर पनि राम्ररी बनेको छैन । त्यहाँको जात्राको पनि आफ्नै महत्व छ । दसैंमा जात्रा लाग्छ । मन्दिरको शिरमा स्वयम्भू भगवानको मूर्ति छ । स्थानीय बासिन्दाले काटमार नगर्ने, नाचगान नगर्ने, घन्टा नबजाउने र रेडियो समेत नबजाउने भएकाले गाउँमा पूरै शान्ति छाउने स्थानीयवासीको भनाइ छ ।
मन्दिर पुनर्निर्माण समेत स्थानीयवासीको माग छ । स्थानीयवासी कृष्णभक्त डंगोल भन्छन्– “अरू काम त हामी आफैं गरिहाल्छौं तर हाम्रो कला–सस्कृंति र पहिचानको संरक्षणमा राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ ।”
खोकनामा मत माग्न पुगेकी वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल खोकनाको पहिचान जोगाउन र स्थानीयवासीको माग सम्बोधन गर्न आफू तयार रहेको बताउँछिन् । “खोकनाको तेल, यहाँको संस्कृतिको संरक्षण एवं पुनर्निर्माण नै हाम्रो गठबन्धनको प्रमुख कार्यसूची हो । हामीले घोषणापत्रमा नै ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने सङ्कल्प गरेका छौं”– उनले भनिन् ।
ललितपुरको मात्रै नभई नेपालकै पुरानो वस्तीका रुपमा रहेको खोकना, बुङमतीजस्ता स्थानलाई सांस्कृतिक क्षेत्रका रुपमा लिँदै त्यसको प्रचार प्रसार गर्ने र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको बताउँछिन् एमाले नेतृ एवं पूर्वसांसद सुशीला नेपाल ।
ललितपुरको विशिष्टता र महत्त्व आफूलाई बढी थाहा भएको बताउँछन् क्षेत्र नं. ३ मै कांग्रेसका तर्फबाट उम्मेदवार रहेका मदनबहादुर अमात्य । क्षेत्र नं. ३ लाई समृद्ध बनाउने र विकास निर्माणमा केन्द्रित गर्ने योजना आफूसँग भएको उनले बताए । सो क्षेत्रमा कांग्रेसले प्रदेश (क) मा नवराज महत र (ख) मा शिवराम बानियाँलाई उम्मेदवार बनाएको छ ।
वाम गठबन्धनले भने प्रतिनिधिसभातर्फ भुसाल तथा प्रदेश (क) मा राजकाजी महर्जन र (ख) मा जीवन खड्कालाई उम्मेदवार बनाएको छ । सो निर्वाचन क्षेत्रमा कूल ८६ हजार ४ सय ३९ मतदाता छन् । सो निर्वाचन क्षेत्रमा संघीय समाजवादी फोरम, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी नेपाल र स्वतन्त्र उम्मेदवार समेत चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्रमा १ सय २ मतदान केन्द्र र ललितपुर महानगरका २२ वटा वडा पर्छन् ।
चुनावलाई आफ्नो पक्षमा पार्न उम्मेदवारले घरदैलो, कोणसभा, भेटघाट तथा प्रचारप्रसारलाई तीव्र पारेका छन् । सबैको एउटै नारा र एउटै भाषा छ– हाम्रो पार्टी र हाम्रो गठबन्धनले मात्रै ललितपुरको सांस्कतिक पहिचानको संरक्षण गर्दछ ।
आफ्नै गठबन्धनले विजय हासिल गर्ने दाबी प्रदेश (क) का वाम गठन्धनका उम्मेदवार महर्जनले गरिरहँदा कांग्रेस उम्मेदवार महतलाई पनि आफ्नो एजेन्डा र लोकतन्त्रप्रतिको कांग्रेसको प्रतिबद्धताले इतिहास कायमै नै रहन्छ भन्ने लागेको छ ।
प्रदेश (ख) मा पनि वाम गठबन्धनका उम्मेदवार खड्का र कांग्रेस उम्मेदवार बानियाँ दुवै आफ्नै जित सुनिश्चित रहेको बताउँछन् । तर, खोकना, बुङमती, ठेचोलगायतका मतदाता भने पुनर्निर्माण र सांस्कृतिक पहिचान कसरी जोगाउन सकिन्छ र उम्मेदवारको प्रतिबद्धता के रहन्छ भन्ने प्रस्ट जवाफ उम्मेदवारसँग खोजिरहेका छन् ।