समुदायले आँट्यो भने गाउँको विकासका लागि सरकारको मात्र मुख ताकेर बस्नुपर्दो रहेनछ भन्ने उदाहरण म्याग्दीको शिख गाविसमा पर्ने पाउद्वार गाउँका बासिन्दा बनेका छन् ।
यहाँका बासिन्दाले स्थानीयस्तरबाट नै ३० लाख रुपैयाँ लगानी गरेर पदमार्ग निर्माण गरी उदाहरणीय बनेका हुन् । गाउँदेखि पर्यटकीय तथा धार्मिक क्षेत्र खोप्रा लेक जाने विभिन्न स्थानमा गरी तीन किलोमिटर पदमार्ग निर्माण गरेको पाउद्वार माविका शिक्षक भीमबहादुर पुनले जानकारी दिए ।
गाउँका ३० घरधुरीले दिवङ्गत आफन्तको स्मृतिमा दिएको रु. ३० लाख चन्दा रकमबाट पदमार्ग निर्माण भएको हो । दाताले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्गका विभिन्न स्थानमा विश्रामस्थलसमेत बनाएका छन् । शिख गाविस वडा नं–५, ६, ७, ८ र ९ मा पर्ने पाउद्वारमा तीन वर्षअघि कसैको निधन भएमा ऐच्छिकरुपमा पदमार्ग निर्माणमा सहयोग गर्ने निर्णय गरिएको थियो ।
मृतकको स्मृतिमा पदमार्ग बनाउन थालिएपछि खोप्रा जाने पर्यटकलाई सहज हुनुका साथै दातालाई पुण्य मिलेको खोप्रा सामुदायिक लज व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर मगरले बताए। संस्कारगत क्रियाकलापमा हुने अनावश्यक खर्च कटाएर पदमार्गलाई सहयोग गरिएको दाताले बताएका छन् । पदमार्ग निर्माणपछि पर्यटकीय तथा धार्मिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिने खोप्रालेकमा पुग्न निकै सुविधा भएको स्थानीयवासीले बताएका छन् । रासस