राजधानी काठमाडौंलाई छपक्कै छोपेको छ चुनावले । उपत्यकाका ३ जिल्लासहित दोस्रो चरणमा परेका ४५ जिल्लामा बिहीबार बिहानैदेखि चुनाव हुँदैछ ।
चुनावको ७२ घन्टा अगाडि अर्थात् सोमबार राति १२ बजेदेखि सुरु भएको ‘मौन अवधि’ का कारण भित्रभित्रै जतिसुकै तात्तिइरहे तापनि बाहिरबाहिर चाहिँ काठमाडौं साँच्चिकै ‘मौन’ छ ।
बुधबार अपराह्नको पौने ४ बजे । राजधानीका सडकको सन्नाटा नियाल्दै बबरमहलस्थित नेपाल टेलिकमको आडैमा रहेको सानो चिया पसलमा पस्यो पंक्तिकार । भित्तापट्टिको टेबलमा झोलसहितको तात्तातो चाउचाउ खाँदै थिइन् एक ‘म्यादी प्रहरी’ ।
पटक्कै साइज नमिलेको तर जबर्जस्ती मिलाउन खोज्दै उनले पहिरिएको ‘म्यादी ड्रेस’ माथि देखियो उनको ‘नेम प्लेट’ । अङ्ग्रेजी लेखिएको थियो– ‘सुजाता बस्नेत ।’
सामान्य जिज्ञासा राख्दै पंक्तिकारले सोध्यो– ‘नाम त यहीं देखियो, घर चाहिँ कहाँ नि तपाईंको ?’
जवाफ आयो– ‘घर रामेछाप ।’
पंक्तिकार पनि रामेछापवासी नै हुनुका कारण यत्तिमै सकिने कुराकानी तन्कियो ।
‘रामेछाप कहाँ नि ?’
उनले भनिन्– ‘बेताली ।’
‘अहिले त म्यादी हुनुभो, अघिपछि चाहिँ के गर्नुहुन्छ नि ?’ प्रश्न सिद्धिन नपाउँदै जवाफ आयो– ‘अलिअलि सिलाईको काम गर्छु ।’
‘बुढाको जागिर होला नि त ?’
‘थियो तर छाडेर अहिले बेपत्ता छन् ।’
‘केमा थियो जागिर, अहिले कहाँ गए ?’
‘पुलिसमा थिए, जागिर छाडेर बेपत्ता छन्, निकै भो, केही थाहा छैन ।’
‘माइती कहाँ त ?’
‘सोलुखुम्बु ।’
‘बालबच्चा छैनन् ?’
‘दुइटा छन्, बाबु १३ वर्षको, नानी ११ वर्षकी ।’
‘कति–कतिमा पढ्छन् त ?’
‘बाबु ७ मा, नानी ५ मा ।’
‘खोज्नु पर्दैन त बुढालाई ?’
‘केही पत्तो लागेन, अब त खोज्नै छाडिदिएँ ।’
हेर्दा १८–२० वर्षकी किशोरी झैं देखिने कालो–कालो वर्णकी सुजाताले चाउचाउ खाइसकिन् । होचो कदकी उनी आफूभन्दा अग्लो लाठो समातेर लागिन् ‘ड्युटी’ तिर ।
पंक्तिकारलाई जिज्ञासा लागिरह्यो–
२ सन्तानकी आमा सुजाता बालबच्चा पाल्न लाठो बोकेर ‘म्यादी प्रहरी’ बनेकी छन् । तर, नेपाल प्रहरीका स्थायी जागिरे उनका श्रीमान् ध्रुव बस्नेत भने जागिर, २ छोराछोरी र श्रीमती छाडेर कता ‘फरार’ छन् ?