हिँउदे मौसम सुरु भएसँगै कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लामा दिनप्रतिदिन चिसो बढ्दै गएको छ । दिउँसोको घामले चिसो केही कम हुने भए तापनि कर्णालीवासीको दैनिकी बिहान–बेलुकी एकदमै कष्टकर बन्दै गएको छ ।
बिहान–बेलुकीको कठ्यांग्रिँदो जाडोले गर्दा कर्णालीवासीको दैनिकी कष्टकर बन्दै गएको हो । “दिउँसो घाम लाग्ने भएकाले केही तातो हुन्छ, बिहान बेलुकी चिसोले सताउने गर्दछ, अत्यधिक चिसोले नियमित सरसफाइमा पनि धेरै समस्या हुने गर्दछ” त्रिपुरासुन्दरी नगरपालिका– १ का दिलीप गिरीले भने । अत्यधिक चिसोले नियमित सरसफाइमा समेत समस्या हुने गरेका कारण यतिखेर गाउँघरमा धेरैजना चिसोका बिरामी समेत रहेको उनको भनाइ छ ।
जाडो छल्न तराईतिर
यतिखेर कर्णालीका विमानस्थलमा सर्वसाधारणको घुइँचो लागेको छ । डोल्पाको जुफाल, हुम्लाको सिमीकोट, मुगुको ताल्चालगायतका विमानस्थलमा दिन प्रतिदिन चाप बड्दै गएको हो । नेपालगञ्जको हुस्सुले कर्णालीका विभिन्न विमानस्थलमा हवाई उडान प्रभावित हुँदा दिन–प्रतिदिन विमानस्थलमा यात्रुको चाप बढ्दै गएको हो । उडान कम यात्रु धेरै हुने भएकाले टिकट वितरणमा समस्या हुने गरेको जुफाल विमानस्थलका कर्मचारी लंक भण्डारीले बताए ।
महिनाैंदेखि विमानस्थलमै थन्किएकाले हप्तौंपछि पालो आउने भन्दै कतिपय सर्वसाधारण पैदल यात्र गरेरै गन्तव्यसम्म पुग्न थालेका छन् । यतिखेर अन्य सर्वसाधारणको तुलनामा जाडो छल्न बेंसी झर्ने सर्वसाधारण धेरै आउने गरेको डोल्पाको जुफाल विमानस्थलले जनाएको छ ।
यस समयमा अत्यधिक जाडोले खपिनसक्नु हुने भएकाले अधिकांश कर्णालीवासी जाडो छल्नका लागि तराईका विभिन्न जिल्लामा झर्ने गर्दछन् । जाडो छल्नका लागि धेरैजसो नेपालगञ्ज, सुर्खेत, दाङ, काठमाडौंलगायतका सहरमा झर्ने गर्दछन् ।
अन्य सहरभन्दा काठमाडौंमा धेरै सर्वसाधारण जाने गर्दछन् । यतिखेर जाडोसँगै फुर्सद हुने भएकाले पनि विभिन्न व्यक्तिगत कामकाजदेखि लिएर राजनीतिक भेटघाटका लागि समेत तुलनात्मकरुपमा काठमाडाैं धेरै आउने गरेको डोल्पाबाट काठमाडौं पुगेका स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए ।
जाडो समयमा अत्यधिक चिसो पनि हुने र आफूले पढाउने विद्यालय पनि बन्द भएकाले छोराछोरी र आफन्त भेट्न काठमाडौं आएको उनले बताए । जाडो छल्न तराई झरेका कर्णालीवासी फागुन महिना लागेपछि मात्रै घर फर्कने गर्दछन् ।
फुर्सदका लागि पहिल्यै जोहो
बाह्रै महिना कर्णालीवासी घरायसी कामकाजमा व्यस्त हुने भए पनि हिँउदको पुस र माघमा भने फुर्सदिला बन्ने गर्दछन् । मंसिर महिनामै हिँउदे बालीका रुपमा गहुँ, जौ, उवालगायतका अन्नबाली लगाइसक्ने र जेठ–असारमा मात्र भित्र्याएर धान, मकै लगाउने भएकाले यी दुई महिना फुर्सद हुने डोल्पा त्रिपुरासुन्दरी नगरपालिका नैनानन्द देवकोटाले बताए ।
फागुनदेखि खेतीपातीको काममा व्यस्त हुने भएकाले यी दुई महिनामा अन्नबाली जोहोदेखि घाँसपात, दाउरालगायतको जोहो गर्ने उनको भनाइ छ । हिँउदमा भारी हिमपात हुने भएकाले हिमपात भएको समयमा चिसोले घर बाहिरसमेत निस्कन नसकिने भएकाले आगो ताप्नका लागि दाउराको जोहो धेरै हुने गर्दछ । त्रिपुराकोटमा दाउरा लिन घन्टौं हिँडेर वनमा पुग्नुपर्ने बाध्यता रहेको देवकोटाले बताए ।
चिसोमा घट्ट तथा मिलमा जान समेत समस्या हुने भएकाले खाद्यान्नको संकट नहोस् भनेर पहिले नै धेरै परिमाणमा खाद्यान्न कुटानी–पिसानी समेत गर्ने गरिन्छ ।
कर्णालीका महिला चिसोमा पनि घरधन्दामै
हिँउदे मौसम सुरु भएसँगै कर्णालीमा हुने अत्यधिक चिसोले महिलालाई भने छुँदैन । अत्यधिक चिसोमा पनि कर्णालीका महिला चुलोचौकामै व्यस्त हुने गर्दछन् । चिसो छल्न भन्दै पुरुष सबै तराईका जिल्लामा झर्ने भएकाले अधिकांश महिला घर कुरुवाको रुपमा घरमै बस्ने गर्दछन् ।
कर्णालीका जिल्लामा अझै पनि पुरुषवादी समाजको हाबी रहेकाले पुरुषले महिलाको समस्याप्रति गम्भीर देखिँदैनन् । छोराछोरीको हेरविचारदेखि घरधन्दा, खेतीपाती, वस्तुभाउको सबै काम महिलाकै काँधमा गुनासाे रहेको डोल्पाकी महिला नेतृ दिलमाया विष्टले गरिन् ।
बैंकको ऋणबाट जाडो छल्ने खर्च
प्रत्येक वर्ष हिँउदे मौसम सुरु भएसँगै कर्णालीमा अत्यधिक जाडो हुने गर्दछ । जाडो याममा तराई झर्ने खर्चका लागि स्थानीयस्तरमा स्थापित विभिन्न सहकारी, समूह तथा लघुवित्तबाट धेरैले ऋण लिने गरेका छन् । जाडो समयको सुरुवातीका रुपमा रहेको मंसिरमै जाडो छल्न झर्ने खर्चको जोहोका लागि अधिकांश स्थानीय वासिन्दा बैंक धेरै धाउने गरेको रिलायबल माइक्रो फाइनाइन्स डोल्पाका कर्मचारी हेमन्त बुढाले बताए ।
यतिखेर ऋण पनि तुलानात्मक रुपमा धेरै जाने उनको भनाइ छ । तराईका जिल्लामा जाने, बस्ने, खाने खर्च र जहाज भाडाको लागि दसाैं हजार रुपैयाँ ऋण लिने गरेको उनको भनाइ छ । अधिकांशले यतिखेर लिएको ऋण यार्सागुम्बा टिपेर चुक्ता गर्ने गर्दछन् । कतिपयले गाउँकै साहुसँग चर्को ब्याजमा पनि ऋण लिने गर्दछन् ।
कर्मचारी पनि फुर्सदिला
जाडो समयमा धेरैजसो सर्वसाधारण जाडो छल्न तराई झरिसक्ने भएकाले सरकारी तथा गैरसरकारी कार्यालयमा समेत नियमित कामकाजको चाप कम हुने गर्दछ । अन्य महिनाको तुलनामा पुस–माघमा सेवाग्राही पनि कम आउने हुँदा कामको चाप कम हुने गरेको जिल्ला हुलाक कार्यालय डोल्पाका कर्माचारी हरि विष्टले बताए ।
यो समयमा कर्मचारी पनि फुर्सदिला हुने गर्दछन् । यतिखेर अधिकांश सरकारी तथा गैरसरकारी कार्यालय कर्मचारीविहीन हुने गर्दछन् । कतिपय कार्यालय सहयोगीको भरमा रहेका हुन्छन् । अधिकांश कर्मचारी जाडो छल्न तथा घुमघामका लागि तराई झर्ने भएकाले यस समयमा कार्यालय कर्मचारीविहीन हुने गरेका छन् । यतिखेर डोल्पाका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पनि काठमाडौंतिरै छन् ।
जाडोको समयमा स्थानीय तहका अधिकांश जनप्रतिनिधि पनि राजधानीकेन्द्रित भएपछि सेवा लिने सेवाग्राही मर्कामा परेको जानकारी नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले दिए । स्थानीय तहका प्रमख–उपप्रमुख पालो मिलाएर झरेको भए राम्रो हुने उनको भनाइ छ ।
उपल्लो क्षेत्रका तल्लो क्षेत्रमा, तल्लो क्षेत्रका तराईमा…
कर्णालीका डोल्पा, जुम्ला, मुगु र हुम्लाको उपल्लो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण चिसो बढेसँगै ६ महिनाको अस्थायी बसोबासका लागि पशु चौपायसहित जाडो छल्न बेंसी झर्ने गर्दछन् ।
आर्थिक रुपमा मजबुत भएका भने काठमाडौं, पोखरा, नेपालगञ्जलगायतका सहरमा झर्ने र आर्थिक हिसाबमा कमजोर भएकाहरू भने जिल्लाकै तुलनात्मक रुपमा कम चिसो हुने क्षेत्रमा झर्ने गर्दछन् ।
तल्लो क्षेत्रका सर्वसाधारण भने जाडो छल्न तराईतिर झर्ने गर्दछन् । यतिखेर उपल्लो क्षेत्रका मान्छेले फुर्सदको समयको उपयोग गर्दै राडी, पाखी, झोला बनाएर बेच्ने र जिम्बु अन्नबालीसँग साटासाट गरेर आय–आर्जन गर्दछन् ।
सम्पूर्ण विद्यालय बन्द
हिमाली जिल्ला डोल्पामा यस वर्षको शैक्षिक सत्र सकिएको छ । शैक्षिक सत्र सकिएपछि डोल्पाका १ सय २३ वटै विद्यालय बन्द भएका छन् । डोल्पालगायतका कर्णालीका जुम्ला, हुम्ला मुगमा पनि प्रत्येक वर्ष पुसदेखि नै शैक्षिक सत्र सकिएर फागुन महिनामा नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ ।
सदा झैँ यस वर्ष पनि फागुनमा खुल्ने गरी ४५ दिनका लागि तल्लो डोल्पाका मावि, निमावि र प्रावि तहका १ सय वटा विद्यालय बन्द भएका छन् । मंसिर २४ देखि पुस ३ सम्म वार्षिक परीक्षा सम्पन्न भएर सम्पूर्ण विद्यालय बन्द भएका हुन् ।
डोल्पा हिमाली जिल्ला भएकाले मंसिरदेखि नै अत्यधिक चिसो बड्ने हुँदा जाडो बिदाका लागि पुस १५ देखि फागुनसम्मको ४५ दिनसम्म जिल्लाका सम्पूर्ण विद्यालय बन्द हुने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय भने ६ महिनाका लागि बन्द भएका छन् ।
उपल्लो डोल्पाका २३ वटा विद्यालय कात्तिक अन्तिम साताभित्रै वार्षिक परीक्षा सम्पन्न गरेर बन्द भएको जानकारी जिल्ला शिक्षा कार्यालय डोल्पाका शाखा अधिकृत सिंहराज डाँगीले दिए ।
उपल्लो डोल्पामा पनि कात्तिकदेखि नै भारी हिमपात सुरु भई अत्यधिक चिसो बढ्ने भएकाले कात्तिकको अन्तिम सातादेखि नै सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । कात्तिकमा बढेको चिसो वैशाख लागेपछि मात्रै हट्ने भएकाले वैशाखमा खुल्ने गरी ६ महिनाका लागि उपल्लो डोल्पाका विद्यालय बन्द हुने गर्दछन् ।