पृष्ठभूमि
नाथ सम्प्रदायमा महायोगी गुरु गोरक्षनाथको स्थान महत्त्वपूर्ण एवं सर्वश्रेष्ठ रहेको छ किनकि गोरक्षनाथ नै त्यस्ता व्यक्ति हुन्, जसले नाथ सम्प्रदायको समग्र संगठन तथा सक्षम नेतृत्व गरेका थिए ।
गोरक्षनाथ नाथपन्थ योगी थिए । उनको हठयोग मार्गको प्रभाव जगतमा नै विख्यात छ । उनले योगसिद्धिद्वारा सम्पूर्ण जगतरुपी समाजलाई सुसंस्कृत, रक्षित तथा उन्नत गरे ।
गुरु गोरक्षनाथ नाथ पन्थको उन्नतिका लागि बाह्रपन्थको निर्माण गरे । त्यसो त गोरक्षनाथले १२ पन्थको निर्माण गर्नुभन्दा पहिले नै आदिनाथद्वारा प्रतिपादित १८ पन्थ छँदै थिए । गोरक्षनाथद्वारा १२ पन्थ बनाइसकेपछिको समयदेखि अहिलेसम्म नाथ सम्प्रदायमा यही १२ पन्थलाई नै अँगाल्दै आएको पाइन्छ ।
नाथ सम्प्रदायका बाह्रपन्थको बनावट
नाथ पन्थमा आदिनाथका १८ पन्थ र गोरक्षनाथका १२ पन्थ गरी जम्मा ३० पन्थ हुन्छन् । तर, त्र्यम्बक क्षेत्रको कुम्भमेलामा सम्पूर्ण नाथहरु नवनाथ चौरासीसिद्धहरुको जमघटमा पन्थको विषयलाई लिएर ठूलो विवाद भएपछि आदिनाथका १८ पन्थबाट ६ र गोरक्षनाथका १२ पन्थबाट ६ गरी जम्मा १२ पन्थ निर्क्यौल गरियो ।
त्यसकारण नाथ सम्प्रदायमा १२, १८ पन्थको पन्थधारी भन्ने चलन चलेको छ । कतै–कतै अनेकानेक पन्थ भन्ने गरेको पाइन्छ ।
नाथ सम्प्रदायका बाह्रपन्थको बनावट निम्नानुसार छन्–
आदिनाथबाट लिइएका ६ पन्थः
सत्यनाथी पन्थ, रामनाथी पन्थ, पागल पन्थ, पाव पन्थ, धर्मनाथी पन्थ र माननाथी पन्थ ।
गोरक्षनाथबाट लिइएका ६ पन्थः
कपिल पन्थ, गंगानाथी पन्थ, नाट्येश्वरी पन्थ, आईनाथ , बैराग पन्थ र रावल पन्थ ।
नाथ सम्प्रदायका बाह्र पन्थ
नाथ सम्प्रदायका बाह्र पन्थ र तिनको वर्णन निम्नानुसार छ–
(१) सत्यनाथी पन्थ (२) रामनाथी पन्थ (३) पागल पन्थ (४) पाव पन्थ (५) धर्मनाथी पन्थ (६) माननाथी पन्थ (७) कपिल पन्थ (८) गंगानाथी पन्थ (९) नाट्येश्वरी पन्थ (१०) आईनाथ (११) बैराग पन्थ (१२) रावल पन्थ ।
सत्यनाथी पन्थः
यो पन्थका मूल प्रवर्त्तक भगवान् आदिनाथ शिव हुन् भने यस पछिका प्रवर्त्तक चाहिँ सत्यनाथ ब्रह्माजी हुन् । यसका मुख्य स्थानहरु पातालपुरी उडिसाको भुवनेश्वर र खण्ड प्रदेश, उत्तराखण्ड हुन् । यो पन्थका मुख्य विशेषताहरुमा रजतत्त्वको साधना, ध्यान, समाधिरत रही उर्ध्वत्त्वमा ब्रह्माण्ड भ्रमण, सम्प्रदायिक कार्यमा योगप्रचार, धर्मप्रचार, सिद्धपीठका पात्रदेवको पीर, महन्थ, कोठारी, पंख, भण्डार सेवा आदि हुन् ।
सत्यनाथी पन्थका योगी भएसम्म अरु नाथ योगीहरुले साम्प्रदायी कार्य गर्न पाउँदैनन् । यो सत्यनाथी पन्थको मुख्य विशेषता हो ।
रामनाथी पन्थः
यो पन्थको मूल प्रवर्त्तक भगवान् आदिनाथ शिवजी हुन्, यसका पछिका प्रवर्त्तक परशुराम (विष्णुजी) लाई मानिन्छ । यसको मुख्य स्थान धनौरी गद्धी सिरमथ्या हरियाणा र नेपाल हो । यो पन्थका योगीहरु निर्भयी, शुर, मर्यांदित ,कामक्रोधरहित हुन्छन् । यिनीहरु आफ्नो धुनमा रमाइरहने, साधनयुक्त रहिरहने, सहस्रागारमा अनाहदनाद सुनेर बस्ने, शान्तिपे्रमी, सत्यवादी, साम्प्रदायिक कार्यमा योगसाधनाका प्रचारक, पात्रदेवताको कुम्भमेलामा भण्डार सेवामा लागिरहने हुन्छन् ।
पागल पन्थः
यो पन्थको मूल प्रवर्त्तक भगवान् आदिनाथ शिवजी हुन् भने पछिकाप्रवर्त्तकका रुपमा पालकनाथजीलाई लिइन्छ । यो पन्थको मुख्य स्थान रोहतास पेशावर र अस्थलवेहर हरियाणा हो । यस पन्थका व्यक्तिहरु धुनी जगाउने, ब्रह्माण्ड भ्रमणमा आनन्द लिने, हठयोग तामसतत्त्वको साधनारत हुने गर्दछन् । यिनीहरु ध्यान–योगद्वारा ब्रह्मअग्नि उत्पन्न गर्ने शक्ति राख्दछन् । धर्मप्रचार, योगसाधनाप्रचार, साम्प्रदायिक कार्यमा पात्रदेव कुम्भमेलामा पञ्च भण्डारी, स्थानधारी महन्थ, पीर भएर बस्दछन् ।
पाव पन्थः
यस पन्थका मूल प्रवर्त्तक पनि भगवान् आदिनाथ शिवजी नै हुन् भने जिम्मा पाएका प्रवर्त्तक जलन्धरनाथ हुन् । मुख्य स्थानका रुपमा जालौर राजस्थानलाई लिइन्छ । यस पन्थका योगीहरु धुनी जगाउने, तमतत्त्वको साधन गर्ने, हठयोगी, शून्य ध्यान, उनमनी अवस्थामा रहने, निरालम्बी, करनी–कथनीको विचार, दार्शनिक सिद्धान्तलाई मान्यता, योगप्रचार, साम्प्रदायिक कार्यमा, कुम्भ मेलामा पञ्चका रुपमा सबैको सेवा गर्ने गर्छन् ।
धर्मनाथी पन्थः
यस पन्थका मूल प्रवर्त्तक पनि भगवान् आदिनाथ शिवजी नै हुन् । पछिका प्रवर्त्तकका रुपमा धर्मराज युधिष्ठिरलाई लिइन्छ । मुख्य स्थानका रुपमा दुल्लु दैलेख नेपाल र हिजोआज गोरखपुरलाई पनि मानिन्छ । यो पन्थका योगीहरु सत्यधर्म, नाथधर्म पालन गर्दै साधनाद्वारा शिवतत्त्व प्राप्त गर्ने हुन्छन् । यिनीहरु घुमफिरमा रमाएर बस्दछन् । उनमनी अवस्थामा आननिन्दत रहन्छन् भने कार्यका रुपमा योगप्रचार, धर्मप्रचार, साम्प्रदायिक कार्यमा, कुम्भमेलामा कारोबार तथा लेनदेनको कार्य, भण्डारी तथा पञ्च भई सेवा गर्दछन् । त्यस्तै, आफ्नो घर तथा मठ–मन्दिरमा महन्थ भएर बस्दछन् ।
माननाथी पन्थः
यस पन्थका मूल प्रवर्त्तक पनि आदिनाथ भगवान् शिव नै हुन् । पछिका प्रवर्त्तक राजा ऋषालूलाई मानिन्छ । यसको मुख्य स्थानका रुपमा टाई, जोधपुर सिकर, राजस्थानलाई मानिन्छ । यस पन्थका योगीहरु मनलाई नियन्त्रण, इच्छादमन, विकारलाई त्याग, निर्भयी, सत्य–तत्त्वका साधक हुन्छन् । सधैं आनन्दित रहन्छन् । धर्मप्रचार, योगप्रचार, साम्प्रदायिक कार्यमा, कुम्भ मेलाको समयमा भण्डारी, पञ्चसेवक तथा औघडको रुपमा सेवारत रहन्छन् । मठ–मन्दिरका महन्थ पनि हुन्छन् ।
कपिलनाथ पन्थः
यस पन्थका मूल प्रवर्त्तक महायोगी गोरक्षनाथलाई मानिन्छ । उत्तराधिकार प्रवर्त्तक महर्षि कपिलमुनि हुन् । महर्षि कपिलमुनिलाई नाथ सम्प्रदायमा कपिलनाथजी पनि भनिन्छ । मुख्य स्थानका रुपमा गोरखवंशी कलकत्ता, बंगाल र जिहाण गद्धिखरक हरियाणालाई मानिन्छ । यस पन्थका योगीहरु काली तथा भैरवको उपासक हुन्छन् । शक्तिपूजा, तन्त्रमन्त्रका साधक हुन्छन् । तामसी, उग्रतपस्वी, त्यागी, हठयोगी, कपिल साङ्ख्यद्वारा पिण्ड ब्रह्माण्ड–प्रकृतिपुरुष, प्रकृतिको ज्ञानी भई शिवस्वरुप प्राप्त गरेका हुन्छन् । योगी तथा धर्मप्रचार पनि गर्दछन् । साम्प्रदायिक कार्यमा कुम्भमेलामा राजाजी, पीरजी, भण्डारी तथा पञ्चका रुपमा सेवारत रहन्छन् ।
गङ्गानाथी पन्थः
यस पन्थका मूल प्रवर्त्तक महायोगी गोरक्षनाथ हुन् । पछिका प्रवर्त्तक महर्षि भगीरथ तथा भीष्मलाई मानिन्छ । मुख्य स्थानहरुमा गंगासागर, बंगाल र गुरुदासपुर पञ्जाब हुुन् । यस पन्थका योगीहरु प्रज्ञवादी, हठयोगी, भगीरथी प्रयत्नद्वारा शिवतत्त्व प्राप्त गर्ने हुन्छन् । यिनीहरु शक्तिउपासक, तन्त्रमन्त्रसाधक तथा आफ्नै धुनमा रमाएर बस्ने खालका हुन्छन् । धुनी, स्मशानक्रिया, योगप्रचार, धर्मप्रचार, कुम्भमेलामा राजाजी, पीरजी, भण्डारी, पञ्च आदि भई सेवा गर्दछन् ।
नाट्येश्वरी पन्थः
यस पन्थका मूल प्रवर्त्तक पनि महायोगी गोरक्षनाथ नै हुन् । पछिका प्रवर्त्तकका रुपमा लक्ष्मणजीलाई लिइन्छ । नाथ सम्प्रदायमा यिनलाई बालनाथ अथवा नागनाथ पनि भनिन्छ । मुख्य स्थान गोरखटिल्ला झेलम पञ्जाब प्रदेशलाई मानिन्छ । यो पन्थका नाथ योगीहरु पनि सत्यवादी भगवान् शिवसमान हुन्छन्, राजयोगका साधक हुन्छन् । ब्रह्माण्ड भ्रमण, अमर बज्रकायी तथा आनन्दित अवस्थामा रहन्छन् । साम्प्रदायिक कार्यमा धर्मप्रचार, योगप्रचार, कुम्भमेलामा पात्र, देवताका राजाजी, पीरजी, पूजारी, भण्डारी, पञ्चका रुपमा सेवा गर्दछन् ।
आई पन्थः
यस पन्थका मूल प्रवर्त्तक महायोगी गोरक्षनाथ नै हुन् । उत्तराधिकार प्रवर्त्तक आमाशक्ति विमला उदयनाथ पार्वती भवानीलाई मानिन्छ । यसको मुख्य स्थानका रुपमा विमला गुफा, बंगाल र कोथ हरियाणालाई लिइन्छ । यो पन्थका योगीहरु आदिशक्तिका उपासक, निर्भयी सिद्धसाधक हुन्छन् । उध्र्वमुखी सहस्रागारमा आनन्दित भई रमाउँछन् । यिनीहरु मठधारी ऋद्धि सिद्धिपूर्ण, शिवका अभिन्न हठयोगी, बैरागी मोहमायात्यागी हुन्छन् । साम्प्रदायिक कार्यमा योगप्रचार गर्ने तथा हरेक मठमा महन्थ, भण्डारी, पञ्च भई सेवारत रहन्छन् ।
वैराग पन्थः
यस पन्थका मूल प्रवर्त्तक पनि महायोगी गोरक्षनाथ नै हुन् । यसका पछिका प्रवर्त्तकका रुपमा भर्तृ हरिनाथलाई लिइन्छ । मुख्य स्थान राताडुण्डा राजस्थानलाई मानिन्छ । यस पन्थको नेतृत्व राजा भर्तृहरिले गरेका हुँदा यसका योगीहरु नीतिनिपूण भई बैरागी, शृङ्गारनिपूण, पूर्णत्यागी, हठयोगी, मनलाई आफ्नो नियन्त्रणमा राख्ने, ध्यानी, शून्य अवस्थामा आनन्दित रहने हुन्छन् । साम्प्रदायिक कार्यमा, कुम्भमेलामा राजाजी, पीरजी, भण्डारी तथा पञ्च भई कार्य गर्दछन् ।
रावल पन्थः
यस पन्थका मूल प्रवर्त्तक महायोगी गोरक्षनाथ हुन् । पछिका प्रवर्त्तक सिद्ध रावलनाथलाई मानिन्छ । मुख्य स्थानका रुपमा गैलपुर बाँदरबारी अफगानिस्तानलाई लिइन्छ । यस पन्थका योगीहरु समतायोगी, हठयोगी, पञ्चतत्त्वभेदन गर्ने बलवान्, विर्यवान, श्रद्धाविश्वासी, शिवकृपाधिन हुन्छन् । साम्प्रदायिक कार्यमा योगप्रचार, धर्मप्रचार, कुम्भमेलामा पत्र देवताको भण्डारी, पञ्च तथा सेवक औघडका रुपमा कार्य गर्दछन् ।
नाथ सम्प्रदाय गृहस्थीविहीन नाथ वा गृहस्थरुपी नाथ, १२ पन्थी वा १८ पन्थी वा अनेकानेक पन्थी जे भन्ने गरे तापनि निक्र्याैल भएका १२ पन्थलाई नै सबै नाथ योगीहरुले मानेको पाइन्छ ।
(स्रोतः योगी दिलीपनाथः नाथ सम्प्रदायमा ब्राहपन्थ )
सत्यनाथी पन्थका नाथ तथा बाह्रपन्थी नाथ योगी संघ नेपालका आजीवन सदस्य रहेका लेखक केन्द्रीय गाईभैंसी प्रबर्द्धन कार्यालय, हरिहरभवन, ललितपुरमा पशु विकास अधिकृत पदमा कार्यरत छन् ।