साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन । संसारका हरेक मानिस धनी छन् तर आफूसँग भएको धनलाई चिन्न नसक्दा गरिबी भाेगिरहेका छन् । त्यसैले अाफूसँग भएकाे धनलार्इ चिन्न सक्नुपर्छ, चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ । त्यो जो–कोहीसँग नहुन सक्छ ।
परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकहाँ पुगे । ‘भगवान् ! म किन गरिब ?’ भन्ने उनको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उनको गरिबी त एक मिनेट पनि टिकेन ।
बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँड्ने अभियानमा थिए । यसै क्रममा एउटा गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँड्न थाले । मानिसहरु गौतम बुद्धकहाँ आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि ऊर्जा र जोशले भरिएर फर्किन्थे ।
म किन गरिब ?
त्यसै क्रममा एक दु:खी व्यक्तिले भगवान् बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खंदै लाइनमा बस्यो ।
भगवान् बुद्ध चुपचाप गाउँबासीका समस्या सुन्दै निकै नै शान्त र शालीन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्यो अनि प्रश्न अघि सार्यो, ‘भगवान् ! म किन गरिब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए– ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ त्यसैले गरिब छौ ।’
उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्यो, ‘मसँग केही हुनु पनि त पर्यो नि दिनलाई ! मसँग केही छैन, बडो मुस्किलले बिहान-बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै शालीनतामा जवाफ दिए– ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान त दिन सक्छौ नि । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रशंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छन्, आवश्यक पर्दा जो–कोहीलाई पनि सघाउन सक्छौ । यी सब तिमीसँग छन्, अनि तिमी कसरी गरिब भयौ ? गरिबी त तिम्रो मनमा छ त्यसैले मनबाट यो भ्रम निकालिदेऊ, तिम्रो गरिबी आफैँ हटेर जाने छ ।’
त्यसपछि ऊ पनि अरुजस्तै ऊर्जावान् भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभव गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो ।
त्यसैले हामी तमाम नेपालीले आजैबाट आफ्नो मनको गरिबीलाई हटाअाैं, हामी अहिल्यैदेखि आफूलाई धनी महसुस गर्न थाल्नेछाैं ।