कुनै बेला देशकै फोहर नगरमा गनिन्थ्यो नेपालगञ्ज । अहिले सरकारी, नागरिक, समुदाय र घरघरसम्म सरसफाई जागरण चलेको छ ।
नेपालगञ्ज– १२ बेलासपुरका चिडिमारहरु एक वर्ष अघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । वस्तीमा एक सय घरधुरी थिए, कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्– ‘धेरै त वस्ती नजिकैको खेतमा दिशा गर्न जान्थे, कतिले नजिकै नालामै दिशा–पिसाब गर्थे । टोल नै दुर्गन्धित हुन्थ्यो ।’
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घर–घरमा शौचालय बनाइयो । वयोबृद्ध देवीदिन चिडिमार भन्छन्– ‘अहिले खुला ठाउँमा कसैले दिशा–पिसाब गर्दैनन् । वस्तीमा नियमित सामूहिक सरसफाई हुन्छ ।’ सहरको मुख्य बजार घरबारी टोलमा ढलको समस्या छ । व्यापारी जथाभावी सडकमा फोहर फाल्दैनन् । एकै ठाउँमा थुपारेको फोहर उपमहानगरपालिकाको ट्रयाक्टरले लैजान्छ । व्यापारी भानु गौतम भन्छन्– ‘सरसफाईमा उपमहानगरपालिकाकै मुख ताक्ने प्रवृत्ति विस्तारै हट्दै गएको छ ।’
नगरका प्रायः मुख्य चोकमा ठेलामा कारोबार हुन्छ । ठेलाको फोहोर व्यवस्थापन गर्न उपमहानगरपालिकाले ठाउँ–ठाउँमा डस्टबिन राखेको छ । धम्बोझी चोकमा करिव २ दशकदेखि ठेलामा बिरयानी बेच्दै आएका अख्तर अलि डस्टबिन प्रयोगबारे भन्छन्– ‘ग्राहकलाई जथाभावी फोहोर फाल्न दिन्नौं, डस्टबिनमै हाल्न लगाउँछौं ।’
सरसफाई चेतना ल्याउन जनप्रतिनिधि सक्रिय छन् । नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यहरु घरदैलो पुगेर फोहोर व्यवस्थापन सिकाइरहेका छन् । शौचालय निर्माणमा सहयोग, डस्टबिन वितरणसँगै चेतनामूलक कार्यक्रम जारी छ । चिडिमार कसरी सरसफाई गर्न तयार भए त ? वडा नं. १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी ‘सामूहिक सरसफाई कार्यक्रम’ मार्फत फोहर नगर्न र उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा सघाउन गरेको आग्रहलाई स्थानीयले आफ्नै लागि गरिरहेको काम हो भन्ने महशुस गर्नुको प्रतिफल ठान्छन् ।
नागरिक पनि सरसफाईमा जुटेका छन् । २०७३ साउनदेखि उपमहानगरसँगको सहकार्यमा साप्ताहिक रुपमा ‘क्लिन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज’ अभियान जारी छ । ‘नेपालगञ्जको परिचय नै फोहोरसँग जोडिन्थ्यो, त्यो सुन्दा दुःख लाग्थ्यो,’ अभियन्ता डा. विनोद कर्ण भन्छन्– ‘सुरुमा अभियान थाल्दा झगडा गर्न आउनेहरुलाई हामीले गरेको फोहर हाम्रै लागि हानिकारक हुन्छ, यसले टोल र नगरको सुन्दरता बिगार्छ र स्वास्थ्य खराब पार्छ भन्ने चेतना दिन सफल भएका छौं ।’
नगर सफा गर्ने अभियानमा उद्योगी–व्यापारीको पनि साथ छ । न्युरोडमा व्यापारीकै सरसफाई कर्मचारी छन् । नेपालगञ्जलाई सरसफाईसँगै हिलो, धुलो र धुवाँमुक्त पार्दै व्यवस्थित ढल र शौचालयको उचित प्रयोगतर्फ ध्यान दिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठको सुझाव छ ।
नगर सरसफाईमा खुला दिशामुक्त अभियानको पनि देन छ । नालामा जोडिएका सेफ्टी ट्यांकी हटाउन र नालामा फोहोर फाल्न नदिन समुदायलाई नै सक्रिय बनाइएको छ । विपन्नलाई शौचालय बनाउन सहयोग तथा शौचालय नबनाउने र खुला स्थानमा शौच गर्नेमाथि कारबाही गर्ने काम भइरहेको छ ।
‘एकथरीसँग घर, जग्गा र गाडी भए पनि शौचालय थिएन, बनाउनुपर्छ भन्ने चेतना पनि थिएन,’ अभियानका ‘फोकल पर्सन’ ओविराज आचार्य अभियान थाल्दाको अनुभव सुनाउँछन्– ‘अर्कोथरीमा जग्गा, पैसा र चेतना– तिनै चिजको अभाव थियो ।’
उपमहानरपालिका खुला दिशामुक्त घोषणा भइसकेको छ । उपमहानगरपालिकाले सरसफाईमा वार्षिक ८ करोड रुपैयाँ खर्च गर्छ । १ सय ४ जना स्वीपर र ७ वटा ट्रयाक्टर खटाइन्छन् । दैनिक ३५ टन फोहोर संकलन हुन्छ । स्थानको अभावमा अहिले ३२ टन मात्रै व्यवस्थापन हुने गरेको छ ।
फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न हिरमिनीयामा ल्यान्ड फिल्ड साइट निर्माणको काम अन्तिम चरणमा छ । वातावरण तथा सरसफाई शाखा प्रमुख इन्जिनियर प्रकाश डीसी नगरवासीमा सरसफाईप्रति जागरण बढेको देख्छन् । ‘डेढ वर्ष अघिसम्म फोहोर नगरपालिकाले सफा गरिदिने हो भनीठान्ने प्रवृत्ति फोहोर व्यवस्थापनमा चुनौती थियो तर अहिले आफैं फोहोर व्यवस्थापन गर्ने जनजागरण आएको छ ।’ उनी अगाडि भन्छन्– ‘उपमहानगरले ५ वर्षे वातावरणमैत्री रणनीतिक योजना बनाइरहेको छ र यसमा सरसफाई, जलवायु अनुकूलन, वातावरण सन्तुलनलगायतका विषय समेटिनेछन्, फोहोर र ढल व्यवस्थापन गरी नगरलाई पूर्ण सरसफाईयुक्त बनाउने हाम्रो लक्ष्य हो ।’
नगरका घर–घरमा सरसफाई चेतना आएको छ । नेपालगञ्ज– १८ की निर्मला केसी भान्साबाटै कुहिने र नकुहिने फोहोर छुट्याउँछिन् । कुहिने फोहोर कुहाएर मल बनाउँछिन्, प्लास्टिकका झिल्ली पुनः प्रयोग गर्छिन्, काम नलाग्ने फोहोर मात्र फोहर बोक्ने ट्रयाक्टरमा हाल्छिन् । ‘आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्नु हाम्रो कर्तव्य हो,’ उनी भन्छिन्– ‘घरको फोहर घरमै व्यवस्थापन गरे आधा समस्या समाधान हुन्छ ।’
नेपालगञ्ज– ७ का वडाध्यक्ष जुमन खाँ नगरवासीको जागरणमा ४० प्रतिशत सुधार आएको दाबी गर्छन् । नगरवासी पनि सरसफाईमा परिवर्तन अनुभूति गर्न थालेका छन् । ७५ वर्षीय कृपाराम वर्मा सरसफाईमा जागरण नै आएको ठान्दै भन्छन्– ‘शौचालयमा मात्रै शौच गर्ने बानी बस्नु पनि धेरै ठूलो प्रगति हो ।’
‘सहर फिचर सेवा’, नेपालगञ्ज उपमहानगरबाट