‘कि त जोत हलो कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्ने नारा दिएर सामन्तवादविरुद्ध किसानका पक्षमा सशस्त्र आन्दोलन गर्दै जीवनको आहुति दिएका क्रान्तिकारी नेता भीमदत्त पन्तलाई शब्दमा मात्रै चिन्ने गरिएको छ ।
पन्तका आदर्श र क्रान्तिमा उठाइएका मागलाई अगाडि नबढाइँदा किसान, सुकुम्बासी, विपन्न, दलितलगायत समुदायले न्याय पाउन सकेका छैनन् । नेता पन्तलाई आदर्श मान्दै आएका राजनीतिक पार्टीले सडकमा हुँदा उनलाई सम्झने र सत्तामा गएपछि बिर्संने परीपाटीका कारण भूमिहीनलगायतका उपेक्षित समुदायले न्याय पाउन नसकेको भूमिअधिकारकर्मी रामबहादुर चुनारा बताउँछन् ।
दलहरुमा आदर्शभन्दा सत्ता साँठगाँठलाई महत्त्व दिने प्रवृत्ति बढेका कारण र किसानलाई उपेक्षा गर्दै आएकाले पनि पन्तका सपना पूरा हुने नसकेको बताउँदै उनले भने– ‘भीमदत्तलाई सहिद घोषणा गरेर मात्र सम्मान भएको मान्न सकिँदैन, सच्चा सम्मान गरेको तब मानिनेछ जब उनले उठाएका मुद्दाहरु सम्बोधन हुनेछ ।’
भूमिहीन, सुकुम्बासी, बाढीपीडित, हलिया, मुक्त कमैया, आरक्षपीडित, ऐलानीवासी र किसानले जग्गा र जग्गाको अधिकार पाए मात्रै पिछडिएका जाति र समुदायले न्याय पाउने बताउँदै उनले भने– ‘गरिबलाई खाना, बास, सुरक्षा, शिक्षा, उपचार र रोजगारीको ग्यारेन्टी गर्नु नै भीमदत्त पन्तलाई सम्मान गर्नु हो ।’
पन्तका स्वराज, स्वाभिमान, आत्मनिर्भर अर्थतन्त्र, कृषिमा आधुनिकीरणलगायतका माग अहिले पनि आत्मसात् गर्न सकिने खालका रहेको प्रा. लोकराज भट्ट बताउँछन् । किसान नेता पन्तले गरेको आन्दोलन र उठाएका माग जनतादेखि नेताहरुसम्मका मानसपटलमा रहे पनि कार्यान्वयन गर्ने आँट अहिलेसम्म देखिएको छैन । उनले भने– ‘कृषिलाई निर्वाहमुखीभन्दा व्यवसायीमुखी बनाइए प्रदेशकै कायापलट हुन सक्छ तर विडम्बना ! अहिलेसम्म त्यस्ता नीति र कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन् ।’
वि.सं. १९८३ मंसिर १० मा डडेल्धुराको कारीगाउँमा आमा सरस्वती र बुबा तारनाथका सुपुत्रका रुपमा जन्मिएका थिए भीदत्त । वि.सं. २०१० साउन १७ मा बुडरको गइलेक भन्ने ठाउँमा मगरका घरमा खाना पकाउन लागेका बेला टाउको काटेर उनको हत्या गरिएको थियो ।
काटेको टाउको बाँसको टुप्पामा झुन्ड्याई ‘राजद्रोहीलाई यस्तै हुन्छ’ भन्ने प्रचार गरियो । पन्तले सामन्तीप्रथा उन्मूलन र छुवाछुतविरुद्धको आन्दोलन सशक्त रुपमा चेतना छर्दै सामन्तवादको अन्त्य र जनसत्ता स्थापनाका लागि सशस्त्र आन्दोलनको सुरुआत गरेका थिए । सामन्तका घरबाट तमसुक फाँड्ने तमसुक फट्टाकाण्ड, ब्रह्मदेव नुनकाण्ड आदि उनका चर्चित पहल थिए । सामन्तलाई लक्ष्य गरी नेता पन्तले लगाउने गरेको ‘कि त जोत हलो कि त छाड थलो…’ भन्ने नारा त्यसबेला जनजिब्रोमा झुन्डिएको थियो ।
उत्तरप्रदेश, भारतको सिंहाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पन्त नै थिए । अन्याय र सामाजिक भेदभाव सहन नसक्ने पन्तले वि.सं. २००७ देखि आन्दोलनको सुरुआत गरे । त्यसबेला उनलाई ‘भीमदत्त कांग्रेस’ भन्ने गरिन्थ्यो ।
अन्याय गर्नेलाइ दण्डसजाय तथा गरिब, दलित, जनजाति र किसानलाई सङ्गठित गरी राणाविरोधी आन्दोलनमा समेत पन्तको ठूलो भूमिका रह्यो । तर, वि.सं. २००७ को राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको व्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनी राणासित मिलेर बनेको कांग्रेस सरकारको विरोध गरे ।
परिवर्तनका पक्षमा स्पष्ट अडान भएका पन्तले दलित, मगर र थारुहरु सङ्गठित गरी मुक्तिसेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपसिंह सेनाका कमान्डर थिए । दक्षिण भारतका कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए ।
किसानलाई बेदखल गर्ने, उनीहरुका नाममा जाली तमसुक बनाउने र श्रमशोषण गर्ने ठालूहरुलाई उनले कारबाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । उनको क्रान्ति केवल ‘विरोध गर्ने’ र ‘कारबाही गर्ने’ मा मात्र सीमित थिएन । गरिबहरु संगठित हुनुपर्छ, अन्न खेर फाल्नु हुँदैन, उत्पादन बढाउनुपर्छ, अनावश्यक खर्च घटाउनुपर्छ, प्रकृति बिग्रने काम गर्नु हुँदैन भन्नेजस्ता कुरामा पनि उनले सचेतना अभियान चलाएका थिए ।
सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लामा भ्रमण गर्दा गरिबले नून समेत खान नपाएको थाहा पाएर उनले नून आन्दोलनको घोषणा गरे । कञ्चनपुरको ब्रह्मदेवमा भएको गोदामबाट कब्जा गरेर उनले गरिबलाई नुन र कपडा वितरण गरे । त्यति नै बेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगञ्ज पुर्याइयो तर भागेर ज्यान बचाई उनी कञ्चनपुर आए । उनले आफ्ना बुबालाई पनि ‘सामन्त’ घोषणा गरी घरमा भएका तमसुक च्याते, जलाइदिए । मालअड्डामा भएका मोठहरु जलाइदिए ।
त्यसपछि बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई बसे । क्रान्तिमा सहयोग गर्नेहरुलाई कर्मचारी बनाए । चार महिनासम्म उनले शासन चलाए । उनले बेलौरीमा बैंक कब्जा गरी त्यहाँबाट लिइएको पैसा सैनिकलाई तलब दिएर बाँकी कमैया र हलियालाई सहयोग गरे । ‘उठ जाग रे, नेपाली नवजवान जाग रे, नेपालमा तम म, नेपाल देशलाई स्वतन्त्र बनाऊँ रे…’ भन्ने उनको देशभक्तिपूर्ण गीत थियो ।
सरकारले पन्तलाई पटक–पटक काराबासको सजाय दियो । उनी विचलित नभएपछि मार्ने षडयन्त्र गरी भारतीय सैनिक समेत बोलाइयो । पन्त बेलौरी कब्जा गरी धनगढी कब्जा गर्ने तयारीका साथ हिँडिरहेका बेला भारतीय सैनिकले घेरामा पारे । उनी त्यहाँबाट बच्न सफल भई केही सैनिकका साथ निंगाली, सहजपुर हुँदै डोटीको बुडर पुगे ।
सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सैनिक मारिए । वि.सं. २०१० साउन १७ मा बुडरको गइलेकमा मगरका घरमा खाना पकाउन लागेका बेला उनीमाथि गोली हानियो र पछि टाउको काटी मारियो । टाउको लगेर बडाहाकिम सिंहलाई बुझाइयो । काटिएको टाउको बाँसको टुप्पामा झुन्ड्याई ‘राजद्रोहीलाई यस्तै हुन्छ’ भनेर प्रचार गरियो ।
किसान आन्दोलनको नेतृत्व गरी सबै दलका आदर्श बनेका पन्त लामो समयपछि सहिद घोषित भएका छन् । वि.सं. २०७२ फागुनमा सरकारले पन्तसहित किसान विद्रोहका २२ नेतालाई सहिद घोषणा गरेको छ ।
पन्तका सपना साकार पार्न सरकारले जनमुखी योजना ल्याई देशलाई अग्रमगमनतर्फ डोर्याउनुपर्ने बताउँछन् पूर्वउपसभामुख भोजराज जोशी । पन्तको शालिकमा फूलमाला चढाएर मात्रै उनले देखेका सपना पूरा नहुने भएकाले नीति, योजना बनाई कार्यान्वयन गर्ने दृढ निश्चयको खाँचो रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।