newskoseli.Com

मिथिलाका नारीले सम्पन्न गरे खोइँछ भर्ने विधि, दुर्गाको आँखा पनि उघारियो

बडादसैंको अष्टमीका दिन बुधबार मिथिलाका नारीहरूले सौभाग्यवती बन्ने माग एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि सम्पन्न गरे ।

नवरात्र सुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दुर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका हुन् । सो विधिका सन्दर्भमा भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, ९ दिनसम्म माइतमै बस्ने र दशमीका दिन ससुराली (घर) फर्कने गर्दछिन् भनी खोइँछ भर्ने मान्यता रहेको पाइन्छ ।

पण्डित मिथिलेश ठाकुरका अनुसार यस पटक भगवतीको आगमन डुङ्गा र प्रस्थान हात्तीमा रहेको छ । डुङ्गामा आगमन र हात्तीमा प्रस्थानलाई सुखदको सूचक मानिन्छ । मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिर र देवीको प्रतिमास्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको थियो ।

खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित भएकाले भगवती दुर्गाको सान्निध्यले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाहरूले खोइँछ भर्ने गरेको प्राध्यापक परमेश्वर कापडी बताउँछन् । भगवतीको उपासना मातृपूजा भएकाले यो शारीरिक, मानसिक र आमाको शक्ति जागृतिसँग पनि सम्बन्धित रहेको उनको भनाइ छ ।

खोइँछलाई जनभाषामा खोइँछा पनि भनिन्छ । खोइँछ दिनुलाई समृद्धि, परिपूर्णता, र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचलसँग हुन्छ । आँचल महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचल यस्तो अमूल्य चिज हो, जसलाई बाँधिएमा खोइँछ र खोलेमा आँचल हुन्छ । खोइँछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ, जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहोस् भन्ने हो । दुबोलाई भगवान् शिव र विष्णुको प्रतीक मानिन्छ, जसको अर्थ ईश्वरको अनुकम्पा सधैं रहिरहोस् भन्ने हो । तयस्तै, बेसारलाई विष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ ।

त्यसो त मिथिलाञ्चलमा महिलाले माइतीबाट ससुराली (घर), ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जाने बेलामा पनि खोइँछ भर्ने प्रचलन रहेको पाइन्छ । यो विधि कुलदेवता र देवीको मन्दिरमा गरिन्छ । कुलदेवता र देवीको मन्दिरमा खोइँछ भर्नुको अर्थ कुलदेवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र सङ्कल्प गर्नु हो ।

खोइँछ भर्ने प्रचलन अनादिकालदेखि रहिआएहेको मानिन्छ । माता सीता र सावित्रीले पनि खोइँछ भर्ने विधि गरेको जनधारणा पाइन्छ । प्राचीनकालमा छोरीलाई घरबाट बिदाइ गर्ने बेलामा आमाले आँचलभर खोइँछ भरी बिदा गरेको र छोरीको घरमा अन्नपूर्णाको बास होस् भनी कामना गरेको प्रसङ्ग पनि जनमानसमा पाइन्छ ।

यसैबीच, देवी दुर्गाका नवनिर्मित प्रतिमाहरूमा आँखा उघार्ने विधि समेत सम्पन्न गरिएको छ । मिथिलामा माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमामा सप्तमीका दिन बेलको पातको डाँठबाट आँखा उघार्ने विधि सम्पन्न गर्ने चलन छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर