अदानचुली गाउँपालिका– ४, बिगुठी, हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किइन् ।
थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परेकी हुन् । कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि थापेको जर्जन (चलाउँदा बन्दुक पड्केर कुनै पनि प्राणीलाई गोली लाग्ने गरी थापिएको पासो) पड्कँदा रमिलाको दाँया घुँडामुनि तिघ्रामा लागेर हड्डी र नसा छिनाल्यो ।
‘ब्वाङ्ग आवाज आउने बित्तिकै ढलेछु,’ त्यस क्षणलाई सम्झँदै उनले भनिन्– ‘उठ्न खोज्दा खुट्टा टेक्न सकिएन, छाम्दा हड्डी भाँचिएको र मासु समेत भ्वाङ परेको देखेर बेहोस भएँ ।’ त्यसरी दुर्घटनामा परेकी उनलाई त्यहाँ उपचारको कुनै विकल्प थिएन । त्यसैले उनलार्इ ३ लाख ५० हजार रूपैयाँमा हेलिकप्टर चार्टर गरेर तत्काल सुर्खेत पुर्याइएको रमिलाका मामा ज्योति गिरीले बताए ।
‘सुर्खेतमा समेत उपचार हुन नसकेपछि जिप बुक गरेर भारतको लखनउ लग्यौं,’ गिरीले भने– ‘गोली लागेको ३६ घन्टा नाघिसकेकाले खुट्टा मरिसकेको रहेछ, काट्नुको विकल्प रहेन र शल्यक्रिया गरेर खुट्टा फाल्नुपर्यो’– उहाँले दुःख प्रकट गरे । बुमीको उपचार गर्न हालसम्म ७ लाख रूपैयाँ खर्च भइसकेको उनले बताए ।
लखनउमा खुट्टाको शल्यक्रिया गरेकी बुमीको ड्रेसिङ भने यतिबेला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भइहेको छ । छिमेकीको कमजोरीका कारण सकुशल (सपाङ्ग) रमिला बुमीले अब सधैंका लागि अपाङ्ग भएर वैशाखीको सहारामा बाँच्नुपर्ने बाध्य आइलागेको छ । छिमेकीको सानो गल्तीले गर्दा रमिला सधैंभरिका लागि अपाङ्ग भएकी छन् ।
त्यही घटनालाई लिएर रमिलाकी आमा पवित्रा र बुबा जनकले जिल्ला प्रहरी कार्यालय जुम्लामा ती छिमेकीविरुद्ध जाहेरी निवेदन हालेको गिरीले बताए । छिमेकीले अञ्जानवश ठूलो भूल हुन गएको भन्दै क्षमायाचना गरेका छन् र रमिलाको जीवनभर स्वास्थ्य अवस्थामा आउने समस्या तथा अहिलेसम्म भएको सबै उपचार खर्च तिर्न मञ्जुर भएका छन् । त्यसैले कानुनी प्रक्रियामा कारबाही चलाउने भन्दा मेलमिलाप गर्ने शर्तमा घटनाक्रम अघि बढ्ने सङ्केत उनका मामा तथा आमा–बुबाले दिएका छन् ।
कक्षा ५ मा अध्ययरत रमिला अदानचुली गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालयकी कक्षाकै प्रथम विद्यार्थी हुन् । उक्त विद्यालयमा मेधावी छात्राका रूपमा नाम दर्ज गरेकी उनले एक महिनाको पढाइ छुटेकामा चिन्ता व्यक्त गरिन् । पढेर असल मान्छे बन्ने र आमा–बुबाको सहयोगी बन्ने सपना लिएकी रमिलालाई अब उल्टै सधैंका निम्ति सहयोगीको आवश्यकता हुने भएको छ ।