newskoseli.Com

म नभएको भए कांग्रेस सकिन्थ्यो : शरतसिंह भण्डारी

नेपाली कांग्रेस छाडेर मधेसी जनअधिकार फोरम हुँदै क्षेत्रीय दलमा खुम्चिएका पूर्वकांग्रेस नेता शरतसिंह भण्डारीले आफू नभएको भए नेपाली कांग्रेस सिद्धिने दाबी गरेका छन् । भण्डारीले महाधिवेशन सकिएकाे सन्दर्भमा केपी ओली नेतृत्वको सरकार ढाल्न समेत कांग्रेसलाई सल्लाह दिएका छन् ।

नेपाली कांग्रेसबारे

प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको कांग्रेस महाधिवेशनमा अहिले सबैको चासो छ । मेरो त झन् चासो हुने नै भयो । किनकि मैले यही पार्टीमा आफ्नो राजनीतिक जीवनको लामो कालखण्ड व्यतीत गरेँ । कांग्रेसको यो महाधिवेशन अत्यन्त महत्त्वपूर्ण समयमा हुन गइरहेको छ । महाधिवेशनपछि कस्तो नीति र नेतृत्व आउँछ भनेर राष्ट्रिय-अन्तर्राष्ट्रिय जगतले हेरिरहेका छन् ।

मेरो विचारमा देशको सबैभन्दा ठूलो पार्टी भएको नाताले कांग्रेससामु यतिबेला तीनवटा मूलभूत जिम्मेवारी छन् । पहिलो, लोकतन्त्रको संरक्षण र संवर्द्धन । दोस्रो, समावेशी नेपालको निर्माण । तेस्रो, छिमेकीसँग बिग्रेको सम्बन्ध सुधार्दै देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने । म शुभकामना दिन चाहन्छु, यी तीनवटै दायित्वलाई निर्वाह गर्न सक्ने नीति र नेतृत्व यो महाधिवेशनबाट कांग्रेसले पाउन सकोस् ।

कांग्रेसमा मेरो यात्रा

म अहिले कांग्रेसबाहिर छु । मधेसका विषयमा नेतृत्वले अनुदार नीति अवलम्बन गरेकाले पार्टी छाड्न बाध्य भएँ । यद्यपि व्यक्तिगत रूपमा भन्ने हो भने, मैले कांग्रेस राजनीति गरेर धेरै कुरा पाएको छु र कांग्रेसलाई धेरै कुरा दिएको पनि छु । कांग्रेस पार्टीबाटै म ६-७ पटक मन्त्री भएँ ।

त्यसो त म विद्यार्थीकालबाटै कांग्रेस राजनीतिमा आकषिर्त भएको हुँ । पहिले अमृत साइन्स क्याम्पस र त्यसपछि त्रिचन्द्र क्याम्पसमा साइन्स पढ्दा, खुला ढंगले त होइन, भूमिगत ढंगले कांग्रेस राजनीति गरियो । त्यतिबेला पूर्णबहादुर खड्का र प्रकाशमान सिंह मेरा समकालीन थिए ।

मेरो बुवा राष्ट्रिय पञ्चायतको सदस्य हुनुहुन्थ्यो । यद्यपि उहाँ पनि कांग्रेसप्रति झुकाव राख्नुहुन्थ्यो । उहाँले पञ्चायतभित्र पनि प्रजातान्त्रिक विचारधाराको प्रतिनिधित्व गर्नुहुन्थ्यो । बुवाको अवसानपछि म पनि दुईपटक राष्ट्रिय पञ्चायतको सदस्य बनेँ, ०३८ र ०४३ सालमा । पञ्चायतकालमै दुईपटक मन्त्री बनेँ, पहिलोपटक स्थानीय विकास सहायकमन्त्री र दोस्रोपटक वाणिज्य राज्यमन्त्री ।

बहुदल आएपछि कांग्रेस राजनीतिमा संलग्न भएँ । ०४८ सालको चुनावमा पार्टीले मलाई टिकट दियो, तर मैले हारेँ । ०५१ सालको मध्यावधि चुनावमा मैले टिकट पाइनँ । टिकट नपाएपछि आफ्नो गृहक्षेत्र महोत्तरी- ४ बाट स्वतन्त्र उम्मेदवार भएर उठेँ । कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराएर चुनाव जितेँ ।

संकटमा कांग्रेसलाई जोगाएँ

चुनावपछि एमालले अल्पमतको सरकार बनायो । मनमोहन अधिकारी प्रधानमन्त्री भए । तर, उनको सरकारविरुद्ध कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गराएपछि मनमोहनले संसद विघटन गर्दै अर्को चुनावको घोषणा गरे । त्यतिबेला अविश्वासको प्रस्तावका पक्षमा बहुमत पुर्‍याउन मेरो भोट निर्णायक बनेको थियो ।

कांग्रेसलाई सरकार बनाउने बहुमतका लागि १०३ भोट आवश्यक थियो । स्वतन्त्र चुनाव जितेका दुई संसद पाल्देन गुरुङ र नरेश सिंह कांग्रेस प्रवेश गरिसकेका थिए । तर, म कांग्रेस बाहिरै थिएँ । म कांग्रेसमा नआउँदासम्म १०३ भोट मात्रै पुग्नेे अवस्था भयो । यदि बहुमतको सरकार बन्ने अवस्था नआएको खण्डमा संसद विघटन भएर नयाँ चुनाव हुने खतरा थियो ।

मैले कुनै निर्णय लिन सकेको थिइनँ । मलाई किसुनजीले भेट्न बोलाउनुभो । उहाँले सीधै भन्नुभो, ‘तुरुन्तै पार्टी सदस्यता लिनुस् । तपाईंजस्तो खान्दानी कांग्रेसीले यस्तो अप्ठेरो अवस्थामा साथ नदिएर हुन्छ ?’

मैले उहाँलाई भनेँ, ‘मलाई कांग्रेसले टिकट दिएको होइन । आफ्नै बलबुतामा जितेको हुँ । जसले मलाई भोट दिएर जिताए, उनीहरूसँग सल्लाह नगरीकन म कुनै निर्णय लिन सक्दिनँ ।’

त्यसपछि किसुनजी पड्किनुभो, ‘केको सल्लाह ? यहाँ प्रजातन्त्र सकिने भो । एमालेले संसद विघटन गराएर चुनाव गर्‍यो भने दुईतिहाइ ल्याउँछ । कांग्रेसलाई बचाउनुस् ।’ साँच्चिकै त्यतिबेला चुनाव भएको भए देश एमालेले कब्जा गर्नेवाला थियो । त्यसको लक्षण स्थानीय चुनावमा नै देखिएको थियो । त्यही सोचेर मैले कांग्रेस प्रवेश गर्न सहमति जनाएँ । किसुनजीले तत्कालै सही गरेर मलाई क्रियाशील सदस्यता दिनुभयो । मेरो प्रवेशले कांग्रेसलाई अविश्वास प्रस्तावका लागि बहुमत पुग्यो । त्यसैका आधारमा सर्वोच्च अदालतले पनि प्रधानमन्त्रीको संसद विघटनको निर्णय उल्टाइदियो । वास्तवमा त्यतिबेला मैले कांग्रेसलाई ठूलै गुन लगाएको हुँ । नत्र एमालेले देश कब्जा गथ्र्यो र कांग्रेस समाप्त हुन्थ्यो ।

एमाले सरकार ढलेपछि शेरबहादुर देउवाको नेतृत्वमा मिलिजुली सरकार बन्यो । त्यो सरकारमा मन्त्रालय नपुगेपछि म बिनाविभागीय मन्त्री बनेको थिएँ । मेरो जिम्मेवारी ‘प्रधानमन्त्रीलाई सहयोग गर्ने’ थियो । त्यो सरकार १८ महिना टिक्यो । त्यसपछि म कांग्रेसबाट पटकपटक मन्त्री बनेँ । काम पनि गरेर देखाएँ ।

हारेको ठाउँबाट जितेँ

०५६ सालमा अर्को संसदीय निर्वाचन भयो । त्यो निर्वाचनअगाडि कांग्रेसले किसुनजीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर भोट मागेको थियो । म किसुनजीसँग पहिलेदेखि नै निकट रहेका हिसाबले उक्त निर्वाचनमा कांग्रेसलाई जसरी पनि बहुमत ल्याउन मरिमेटेर लागेँ ।

मेरो गृहजिल्ला महोत्तरीमा चारवटा निर्वाचन क्षेत्र थिए । त्यहाँका चारवटै क्षेत्र जित्ने लक्ष्य पार्टीले लिएको थियो । मैले यसअघि ४ नम्बरबाट स्वतन्त्र चुनाव लडेर जितेको थिएँ । ३ नम्बर क्षेत्रमा पार्टीका उम्मेदवार महेश्वरप्रसाद सिंह राप्रपाका रामविलास यादवबाट १२ हजार भोटको अन्तरले पराजित भएका थिए । महोत्तरीमा कांग्रेसका लागि त्यो सबैभन्दा कठिन निर्वाचन क्षेत्र मानिएको थियो । सो क्षेत्रका एक लाख मतदातामध्ये ३५ हजार यादव थिए । पहाडी मतदाता केवल ६० जना थिए ।

‘चारवटै क्षेत्र जित्ने हो भने म ३ नम्बरबाट उठ्नुपर्छ’ मैले नै पार्टीमा यस्तो कुरा राखेँ । पार्टीले पनि मलाई ३ नम्बरकै टिकट दियो । मेरो टक्कर उनै रामविलाससित भयो । यादव बाहुल्य क्षेत्रमा म पहाडी मूलको नेताले चुनाव जित्नु असम्भव मानिएको थियो । तर, मैले जितेर देखाएँ । पहिले कांग्रेस उम्मेदवारलाई १२ हजार भोटले हराउने रामविलासलाई मैले पराजित गरेँ । महोत्तरीका चारवटै निर्वाचन क्षेत्र नेपाली कांग्रेसले कब्जा गर्‍यो । यो मैले कांग्रेसलाई लगाएको अर्को गुन हो ।

यसकारण छोडेँ कांग्रेस

कांग्रेसको जन्म नै मधेसमा भएको हो । यसको जति पनि शक्ति छ, त्यो मधेसबाटै सिर्जित हो । तर, मधेसप्रतिको जिम्मेवारीमा कांग्रेस चुक्यो । मधेसभित्र असन्तुष्टिको आगो दनदनी बलिरहँदा त्यसलाई निभाउन कांग्रेसले कुनै पनि किसिमको नेतृत्वदायी भूमिका खेल्न सकेन । मधेसी समाजलाई विश्वासमा लिएर हिँड्न चाहेन । जब कि हरेक चुनावमा मधेसीले एकलौटी रुपमा कांग्रेसलाई सहयोग गर्दै आएका छन् ।

विगतमा बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई मधेसप्रति अत्यन्त सकारात्मक भावना राख्नुहुन्थ्यो । उहाँहरूले मधेस बुझ्नुभएको थियो । तर, गिरिजाप्रसाद कोइरालाले मधेसलाई सकारात्मक रूपमा लिनुभएन । सुशील कोइराला त मधेसको मामलामा सबैभन्दा ठूलो ‘फेलिअर’ नै हुनुभयो ।

मधेसीले आफ्नो अधिकार र पहिचानको कुरा गर्दा कांग्रेस त्यसमा निरपेक्ष बसिदिएपछि पार्टीभित्र आवाज उठायौं । तर सुनुवाई भएन । मैले स्पष्ट शब्दमा भनेँ, ‘भोलि मधेस जोगाउन सकिएन भने देश पनि जोगिँदैन । हाम्रो कुरालाई गम्भीरतापूर्वक नै लिइएन । त्यसपछि म, विजय गच्छेदार, रामजनम चौधरी, मंगल थारु लगायत नेता कांग्रेसबाट अलग्गियौं र फोरम नेपालमा प्रवेश गर्‍यौं । फोरमबाट म रक्षामन्त्री बनेँ । रक्षामन्त्रीमा बहाल रहेको अवस्थामा मधेस अधिकारको कुरा गर्दा ठूलो विवाद आयो । मलाई माफी माग्न भनियो । तर मैले मानिनँ । जुन सरकारमा ५१ प्रतिशत मधेसी मन्त्री थिए, त्यहाँ मधेस अधिकारको कुरा गर्दा म मन्त्री पदबाट बर्खास्त भएँ ।

संविधान निर्माणपछि प्रधानमन्त्रीको चुनावमा हामीले सुशील कोइरालालाई भोट हाल्यौं । त्यो भोट हाल्नुको तात्पर्य उहाँ मधेसप्रति सकारात्मक हुनुहुन्छ भनेर होइन, एमाले र कांग्रेसलाई सँगै सरकारमा बस्न दिनुहुन्न भन्ने मान्यताले गर्दा हो । तर, राजनीति नबुझेकाले हामीले भारतको इसारामा कोइरालालाई भोट हाल्यौं भनेर आरोप लगाए । कांग्रेस र एमाले दुवै ठूला पार्टी सरकारमा गएको भए हास्यास्पद हुन्थ्यो । हामीले त्यो अवस्थाबाट जोगाएका हौं ।

५-६ महिनाको आन्दोलनका बाबजुद मधेस समस्या ज्युँका त्युँ छ । ठूलो पार्टी भएको नाताले कांग्रेस यसमा चुकेको छ । ऊ एमालेको पिछलग्गुमा सीमित भएको छ । यति मात्रै होइन, उसले एमालेलाई आफ्नो बुईमा नै राखेर हिँडेको छ । एमाले त मधेस समस्या समाधान होस् भन्ने नै चाहँदैन ।

शेरबहादुरले जिते, राम्रो भयाे

महाधिवेशनबाट नेतृत्वमा को आयाे भन्ने त कांग्रेसको आन्तरिक मामला हो । तर, शेरबहादुर देउवा सभापति हुनुभयो, म खुसी छु । म कांग्रेसमा हुँदा शेरबहादुर देउवाको गुटमा थिएँ । पार्टी र सरकारमा पनि उहाँसँग निकट रहेर काम गरेँ । उहाँलाई नजिकबाट चिनेको छु ।

देउवामा सबैलाई समेटेर लैजान सक्ने र आवश्यकता अनुसार लचिलो बन्न सक्ने क्षमता छ । त्यतिबेला त्रिशंकु संसद भएको अवस्थामा मिलिजुली सरकार बनाउनु र टिकाउनु अप्ठेरो काम थियो । देउवाले त्यस्तो सरकारलाई दुई-तीनपटक अविश्वास प्रस्ताव फेस गरेर पनि १८ महिना टिकाउनुभएको थियो । अहिले कांग्रेसलाई उहाँजस्तै लचिलो र उदार नेतृत्व आवश्यक छ, जसले मधेसका मुद्दा समाधानका लागि अग्रसरता लिन सक्छ ।

जहाँसम्म भविष्यमा कांग्रेसमा फर्किन सक्ने सवाल छ, म त्यो सम्भावना देख्दिनँ । अहिलेसम्म कांग्रेसको ढर्रा हेर्दा छाडेर ठीक गरियो भन्ने लाग्छ । भविष्यमा एजेन्डाका आधारमा कांग्रेससित हाम्रो सहकार्य र सहयात्रा हुन सक्छ । तर कांग्रेसमा जाने कुरा सम्भवना छैन ।

अब कांग्रेस नेतृत्वको सरकार

अहिले कांग्रेस सरकारमा छैन । तर, महाधिवेशनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ र बन्नुपर्छ भन्ने मलाई लाग्छ । किनकि केपी ओली सरकारले मधेसलाई अवहेलना र तिरष्कार गरेको छ । यो सरकार रहुन्जेल मधेस समस्या समाधान हँुदैन । त्यसैले कांग्रेसले जति चाँडो यो सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउँछ, त्यति देशको कल्याण हुन्छ । त्यो सरकारमा एमाले रहनुहुन्न । सबैभन्दा ठूलो पार्टी कांग्रेस भएको नाताले कांग्रेसले सरकारको नेतृत्व गर्नु र एमाले प्रतिपक्षमा रहनु प्राकृतिक कुरा पनि हो । देशमा कांग्रेसको विकल्पमा आउन सक्ने अर्को लोकतान्त्रिक शक्ति पनि छैन ।

महाधिवेशनपछि यही सरकारमा कांग्रेस सहभागी हुने कुरा पनि सुनिएको छ । मेरो विचारमा कांग्रेस यो सरकारमा सहभागी हुनु भनेको लोकतन्त्रलाई तिलाञ्जली दिनु हो । सहमतीय सरकारको नाममा भागबन्डाको राजनीतिले देशको भलो गर्दैन । सरकार सहमतिको होइन, बहुमतको बन्नुपर्छ । कांग्रेसले सरकारको नेतृत्व गरेर मधेसीलाई विश्वासमा लिएर संविधानको सफल कार्यान्वयन गर्न अग्रसर हुनुपर्छ भने एमालेले प्रतिपक्षमा बसेर उसलाई साथ दिनुपर्छ । यो नै तार्किक कुरा हो ।

साभार : कर्णाली न्युज

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर