newskoseli.Com

‘अर्को माओवादी जन्मन्छ’ भनेर प्रचण्डले एमालेहरुलाई तर्साउन खोजे

सीपी गजुरेल ‘गौरव’, वरिष्ठ नेता, नेकपा (क्रान्तिकारी माओवादी) तथा अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा

देशव्यापी ‘रातो मार्चपास’ को तयारी गरिरहनु भएको बुझिन्छ, यसबाट के सन्देश दिन खोज्नुभएको हो ?

देशैभर रातो मार्चपास गरेर २४औं महान् जनयुद्ध दिवस मनाउने कार्यक्रम हाम्रो पार्टीले तय गरेको छ, त्यसको विशेष महत्त्व छ । इतिहासको कुनै कालखण्डमा जनयुद्धका नायक भनिनेहरु र तिनका संगठनले जनयुद्धलाई धराशायी पारेर पनि नपुगेर सकेसम्म अपमानित गरिरहेको अहिलेको अवस्थामा त्यो महान् क्रान्तिको महत्त्वलाई स्थापित गर्न ‘रातो मार्चपास’ महत्त्वपूर्ण सावित हुनेछ ।

फेरि, फागुन ७–२१ मा मेची–महाकाली अभियान पनि चलाउँदै हुनुहुँदो रहेछ, त्यो चाहिँ किन नि ?

अहिले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता रक्षाको प्रश्न संगीन अवस्थामा छ । संघीयताका नाममा संघीयतालाई नै कुरुप बनाउने र दलाल, नोकरशाही पुँजीपति वर्गको गणतन्त्रलाई नै जनयुद्धको माग हो भनेर जनतामा भ्रम पार्ने काम शाषकवर्गका पार्टीहरुबाट भइरहेको अवस्था छ । क्रान्तिका लागि उत्सर्ग गरेका महान् नेपाली जनतालाई वास्तविकता बुझाउने काम अत्यन्त महत्त्वपूर्ण बन्न गएको छ । काठमाडौं, पोखरा, झापाको काँकडभिट्टा र कञ्चनपुरको गड्डा चौकीबाट फागुन ७ गते एकसाथ उदघाटन गरिने अनि पूर्व र पश्चिमबाट अभियान सञ्चालन गर्दै फागुन २१ गते चितवनमा भव्य समारोहका बीच समापन गरिने कार्यक्रम छ । यो अभियानमार्फत् हामी वर्तमान प्रतिक्रियावादी राज्यव्यवस्थाको विकल्पमा प्रगतिशील राज्यव्यवस्था र पश्चगामी संविधानको विकल्पमा अग्रगामी संविधान र लोकतान्त्रिक गणतन्त्रको विकल्पमा संघीय जनगणतन्त्रलाई प्रस्तुत गरी स्थापित गर्नेछौं । यो अभियानको अर्को काम भनेको चैत २४ गते काठमाडौंमा विशाल जनसहभागिता र जनप्रदर्शनका बीच देशभक्त जनगणतान्त्रिक मोर्चाको ऐतिहासिक राष्ट्रिय सम्मेलनको उदघाटनको तयारी समेत गर्नु हो ।

आजको यस घडीमा उभिएर २४ वर्ष अगाडि जनयुद्ध सुरु गर्दाको क्षणलाई कसरी स्मरण गर्नुहुन्छ ?

त्यो दिन हाम्रा लागि अविस्मरणीय दिन थियो । त्यो रोमाञ्चकारी क्षण हाम्रो मानसपटलमा आर्इ नै रहनेछ । त्यतिबेला र अहिलेको राजनीतिक धरातलमा निश्चित रुपमा अन्तर छ । तथापि, नेपाली क्रान्ति नयाँ परिवेशमा तीव्रतामा अघि बढ्ने कुराका पर्याप्त संकेतहरु देखापरेका छन्, जसले हामीलाई उत्साहित बनाइरहेको छ ।

बौद्ध भेलाबाट अलग पार्टी घोषणा गर्दा ‘जनयुद्धको जगमा जनविद्रोह’ को नीति अघि सार्नुभएको थियो, अब ‘जनयुद्धको जग’ र रापताप कति बाँकी छजस्तो लाग्छ ? अब फेरि क्रान्ति अघि बढ्ने कुरामा आफैं चाहिँ कत्तिको आशावादी हुनुहुन्छ ?

यो कुरा सत्य हो कि नेपालको जनयुद्धले ठूलो धक्का खाएको छ । यसका मुख्य उपलब्धिहरुमाथि विश्वासघात भएको छ । तर, त्यसका अनुभव र शिक्षाहरुलाई कसैले मेटौं भनेर पनि मेट्न सक्ने छैन । ठूलो धक्का खाएका बेला त्यसको रापताप पहिलेजस्तो त हुने कुरा भएन । तर, शोषित–पीडित जनताको ठूलो हिस्सा अहिले पनि महान् नेपाली जनयुद्धका उपलब्धिहरुलाई सम्झिइरहेका छन् । साथै, शाषकवर्गको पार्टीका नेताहरुले दिएको ‘नयाँ व्यवस्था’ र ‘नयाँ संविधान’ मार्फत् ‘समृद्ध नेपाल र सुखी नेपाली’ को प्रलोभनप्रति पनि जनताको मोहभंग भैसकेको छ । जनता क्रान्तिकारी विकल्पको खोजी गरिरहेका छन् । यी सबै पक्षबाट विचार गर्दा क्रान्तिकारी आन्दोलनको तयारी र उठान गर्नु नितान्त सम्भव छ ।

तपाईंहरुले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) दसवर्षे जनयुद्धको मात्र होइन, झापा विद्रोहको समेत सच्चा उत्तराधिकारी आफू नै भएको दावी गरिरहेको छ, यसका आधारहरु के–के हुन् त ?

हाम्रो पार्टीले महान् नेपाली जनयुद्धको उत्तराधिकारीका रुपमा आफूलाई प्रस्तुत गर्ने कुरा स्वतःसिद्ध तथ्य हो । जहाँसम्म झापा विद्रोहको कुरा हो, त्यसका कयौं कमी र कमजोर पक्षहरु पनि थिए तथापि तत्कालीन कम्युनिस्ट आन्दोलनमा हावी रहेको दक्षिणपन्थी अवसरवाद र जनआन्दोलनको गोलचक्करवादका विरुद्ध सचेत ढंगले बल प्रयोगको नीतिलाई लागू गर्ने कुराको ठूलो महत्त्व छ । त्यतिखेर प्रारम्भ गरिएको सशस्त्र विद्रोहलाई पछिल्लो चरणमा गएर त्यस पार्टीका नेताहरुले बेवारिसे बनाएर छाडिदिएको अवस्थामा त्यसको उत्तराधिकार पनि हामीले नै लिनु जायज काम हो ।

राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपालमा मौलिक र नौलो रुपमा जनवादी क्रान्ति पूरा भएको विश्लेषण गर्दै अब विकास र समृद्धिमार्फत् समाजवादी क्रान्ति पूरा गर्न सकिन्छ भन्ने सत्तारुढ नेकपालगायतको विश्लेषण पनि सही नै होइन र ?

सामन्ती राजतन्त्रको अन्त्य संसारमा विभिन्न किसिमले हुने गर्दछ । महान् जनयुद्धको उद्देश्य नेपालमा राजतन्त्र समाप्त पारेर जनगणतन्त्रको स्थापना गर्नु थियो, अहिलेको जस्तो लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्था ल्याउनका निम्ति जनयुद्ध भएको थिएन । लोकतान्त्रिक गणतन्त्र ल्याउँदैमा नयाँ जनवादी क्रान्ति पूरा भयो भन्नु बकवास मात्र हो । नयाँ जनवादी क्रान्ति भनेको सर्वहारा वर्गको नेतृत्वमा मजदुर–किसान एकताका आधारमा सम्पन्न गरिने पुँजीवादी जनवादी क्रान्ति हो । त्यस प्रकारको क्रान्ति नेपालमा सम्पन्न भएकै छैन । कुन मितिमा सम्पन्न भयो ? कसैलाई थाहा छैन । जहाँसम्म ‘डबल नेकपा’ को कुरा हो, त्यो त कम्युनिस्ट आन्दोलनबाट विचलित नवप्रतिक्रियावादउन्मूख नवसंशोधनवादी पार्टी हो । त्यो पार्टीका नेताले भनेको समाजवाद फगत प्रतिक्रियावादी समाजवाद हो, त्यसको वैज्ञानिक समाजवादसँग कुनै साइँनो–सम्बन्ध नै छैन ।

देशभित्र र बाहिरको निकै ठूलो तप्काले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई ‘कम्युनिस्ट सरकार’ वा ‘वाम सरकार’ भनिरहेका छन्, तपाईंहरु चाहिँ के आधारमा त्यो कुरा मान्न तयार हुनुहुन्न ?

ओली नेतृत्वको यो सरकार ‘कम्युनिस्ट’ वा ‘वामपन्थी सरकार’ हो भन्ने भ्रम राजनीतिक रुपमा स्पष्टता भएका मानिसहरुमा प्रायः कमैलाई मात्र छ । यो त दलाल र नोकरशाही पुँजीपति वर्गको सरकार हो तथापि यसलाई ‘कम्युनिस्ट सरकार’ हो भनेर प्रचारबाजी भने भर्इ नै रहेको छ । यो काम दुई थरीले गरिरहेका छन्– एकथरीले कम्युनिस्टका रुपमा यिनीहरुलाई उभ्याएर असली कम्युनिस्टहरुलाई नङ्ग्याउने काममा प्रयोग गरिरहेका छन् । अर्काथरी शाषक वर्ग र शाषक पार्टीले वामपन्थी समर्थक जनतालाई भ्रम पार्नका लागि प्रयोग गरिरहेका छन् । जेहोस्, सच्चा कम्युनिस्टहरुले भने यिनीहरुको असली अनुहार जनतामा चिनाउन र भण्डाफोर गर्न केही मेहनत गर्नैपर्छ ।

भेनेजुयलामाथि अमेरिकी हस्तक्षेपको विरोधमा नेकपाका अध्यक्ष प्रचण्डले जारी गरेको वक्तव्य र उनले ‘फेरि नयाँ माओवादी जन्मिन सक्छ’ भनेर दिएको अभिव्यक्तिलाई कसरी लिनु भएको छ ?

भेनेजुयलामाथि अमेरिकी हस्तक्षेपको विषयमा प्रचण्डको वक्तव्य त्यति उग्र अमेरिकाविरोधी देखिँदैन । ट्रम्प सरकारसँग नजिकको सम्बन्ध भएको भारत सरकारले पनि लगभग त्यही स्तरको वक्तव्य दिएको छ । अमेरिकी सरकार केही उत्तेजित भएको देखिनु त्यसले ओली सरकारलाई हेपेको कारणबाट देखिन्छ । अर्कातिर, त्यत्तिको वक्तव्यलाई पनि ओलीले ’प्रचण्ड चिप्लिएको’ भन्ने सार्वजनिक अभिव्यक्ति दिनुबाट पनि आफ्नो पार्टी एमालेमा लगेर बुझाएका प्रचण्डले थप अपमानित भएको ठानेको हुन सक्छ । उनले ‘फेरि अर्को माओवादी जन्मन सक्छ’ भनेर एमालेका नेताहरुलाई तर्साउन खोजेका छन्, त्यसमा कुनै तुक छैन । किनभने, नेपालमा माओवादी पार्टी धेरै पहिले नै बनिसकेको छ र त्यस प्रकारको पार्टी अहिले पनि क्रियाशील छ । त्यसैले यस घटनाबाट त्यति धेरै, कुनै नयाँ भ्रम पैदा हुने देखिँदैन ।

तपार्इंहरुले गर्ने भनेको नयाँ जनवादी क्रान्ति अब कसरी अगाडि बढ्छ छ ? क्रान्तिकारी माओवादीको अबको भूमिका के हुन्छ ?

हरेक क्रान्तिले दुश्मन शक्तिहरुको घेराबन्दीलाई तोड्दै, भ्रमहरुलाई चिर्दैै अघि बढ्नुपर्ने अवस्था आउनु ऐतिहासिक भौतिकवादको नियम नै हो । नेपाली क्रान्तिले यसलाई पूरा गर्ने कुरा अनिवार्य छ । नेपालको सच्चा कम्युनिस्ट पार्टीको हैसियतले क्रान्तिको तयारी र लागू गर्ने दौरानमा यो कार्यभार नेकपा (क्रान्तिकारी माओवादी) ले पूरा गर्नेछ ।

नेपालको भूराजनीतिक अवस्थिति र समकालीन सन्दर्भमा क्रान्तिको कत्तिको सम्भव होला र ?

भारतबाट तीन तिरबाट घेरिएको हुनु र त्यहाँको सरकारको चरित्र विस्तारवादी हुनु नेपाली क्रान्तिका निम्ति प्रतिकूल अवस्था मानिन्छ । तर, यसको अर्थ– यति नै कारणले नेपालमा क्रान्ति नै सम्पन्न हुन सक्दैन भन्ने निष्कर्ष निकाल्नु चाहिँ गलत हो । भारतमा क्रान्तिकारी शक्तिको विकास भएको खण्डमा त्यही कारण अनुकूल पनि हुन सक्दछ । अन्ततः नेपाली क्रान्तिको भविष्य नेपालका क्रान्तिकारी पार्टी र नेपाली जनतामा निर्भर हुन्छ ।

यहाँ त देशभक्त जनगणतान्त्रिक मोर्चाको अध्यक्ष समेत हुनुहुन्छ, चैत २४ मा मोर्चाको राष्ट्रिय सम्मेलन हुने बताउनु भयो, त्यसबारे पनि केही खुलाइदिनोस् न !

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल एउटा क्रान्तिकारी संयुक्त मोर्चा संगठन हो । यो नेपाली क्रान्तिका तीन जादुगरी हतियारमध्येको एउटा हतियार हो । यसको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन आगामी चैत २४ गते काठमाडौंमा सम्पन्ने गर्ने निर्णय भएको छ । यसको तयारी एउटा जनआन्दोलनकै बीचमा हुँदैछ । फागुन ७ देखि २१ सम्म ‘मेची महाकाली जनजागरण तथा जनपरिचालन अभियान’ सञ्चालनपश्चात बृहत् जनपरिचालनसहित चैत २४ गते सम्मेलनको उदघाटन सम्पन्न गरिने कार्यक्रम छ ।

२४औं जनयुद्ध दिवसको पूर्वसन्ध्यामा सहिदपरिवार तथा बेपत्ता योद्धाका परिवारजन, जनयुद्ध र आन्दोलनका घाइते–अपाङ्ग योद्धालगायत जनयुद्धमा प्रत्यक्ष–परोक्ष सहभागीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

उहाँहरु सबै हाम्रा सम्मानित र प्रेरणाका स्रोत हुनुहुन्छ । विगतमा जनयुद्धको नेतृत्व गरेका केही नेताहरुले सहिद, बेपत्ता र अपाङ्ग तथा परिवारजनप्रति गरेको विश्वासघात, धोका र अपमानले उहाँहरुमा जुन पीडाबोध भएको छ, त्यसको मर्म हामीले बुझेका छौं । उहाँहरुप्रति सच्चा सम्मान भनेको उहाँहरुले देखाएको बाटोमा अघि बढ्नु नै हो । त्यो काममा निरन्तर अघि बढ्ने हाम्रो प्रतिबद्धता छ । फेरि हुने क्रान्तिकारी आन्दोलन अघि बढाउनका लागि प्रेरणाका रुपमा अघि बढ्न उहाँहरु सबैलाई पनि हामी अपिल गर्न चाहन्छौं ।

मूलबाटोबाट सम्पादनसहित

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर