newskoseli.Com

‘मदन भण्डारीको पाइन्ट’ कहाँ हरायो ?

जसले पहिलो पटक देखे मदनको लाश, उनले सँगालेको यो अनुभूति !

४ जेठ, २०५० । चितवनको चर्को घाम । बिहानको करिव ११ बजे । माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गाँजिपुरसँग जोडिएको नारायणी नदीमा गएका थियौं ।

नदीमा माछा मारेर नै हामीले जीवन धान्नुपर्थ्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल हान्दै जति अघि–अघि जान्थें, त्यति नै धेरै काभ्रे माछा पर्दै थिए ।

दुई चट्टानको बीचमा, एउटा मुढोजस्तो देखिने वस्तुमा मेरा आँखा प¥यो । कसैको लाश हो कि भन्ने मलाई लाग्यो । आफूले लाश देखेको खबर साथीहरुलाई गरें । लाशको नजिकै पुगें । लाश घोप्टो अवस्थामा अड्किएर बसेको पाएँ ।

लाश पानीको माथिल्लो सतहभन्दा करिव आधा फिट तल डुबेको थियो । साथीहरुसँग मिलेर हामीले लाशलाई बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौं । लाशलाई ओल्टाइपोल्टाइ हेर्‍यौं । लाशमा हेर्दा आँखाको नानी बाहेक अरु ठाउँमा चोटपटक थिएन । लास हेर्दा लाग्थ्यो– उठेर बोल्छ कि जस्तो । एकदमै फ्रेस । लाशको शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो । पाइन्ट भने थिएन, दुवै खुट्टामा मोजा थिए ।

लाश त भेटिसकेका थियौं तर जिप दुर्घटनामा मदन भण्डारीको मृत्यु भएको छ भन्ने कुरा हामीलाई थाहा थिएन । चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चार जना शाही सेना त्यही बेला आइपुगे । उनीहरुले लाश हेरे । मदन भण्डारीको मृत्यु भएको कुरा सेनाहरुलाई थाहा रहेछ । लाश हेरिसकेपछि सेनाहरुले ‘कालो छ, कुनै भारतीयको हुन सक्छ’ भने । उनीहरुले त लाशलाई बगाइदिन पो खोजे । तर, हामीले बगाउन दिएनौं ।

जेठ ४ गते साँझ त्यो लाशलाई नदी किनारमै छाडेर हामी घर फर्कियौं । आफूले लाश भेटेको कुरा घरमा बाजेलाई बताएँ । बाजेले ‘शायद त्यो लाश मदन भण्डारीको होला’ भन्नुभयो । हामीले लाश भेटेको कुरा पुलिसलाई खबर गर्न बाजेले अह्राउनुभयो । तर, मैले पुलिसलाई खबर गर्ने आँट गरिनँ ।

दिवंगत नेता मदनकुमार भण्डारी

जेठ ५ गते । म कुलो खन्दै थिएँ । ‘पौडी खेल्न जान्ने मान्छे’ खोज्दै दासढुंगाबाट एउटा टोली गाँजीपुर आइपुगेछ । त्यो टोलीसँग मेरा बुबाको भेट भएछ । बुबाले ‘हाम्रा छोराहरुले लाश भेट्टाएका छन्’ भन्ने जानकारी त्यो टोलीलाई दिनुभएछ । लगत्तै हामी काठेडुंगा लिएर टोलीसँग लाश भएको ठाउँमा पुग्यौं । नभन्दै त्यो लाश त नेता मदन भण्डारीकै पो रहेछ !

डुंगामा लाश हालेर हामी वारि आयौं, जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ । हामी फर्केर आउँदा चौरमा मान्छे अटाएका थिएनन् । ठूलो मेला लागेको जस्तो भीड । पत्रकारहरुले मसँग सोधी–खोजी गर्न लागे । जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोध्न लागे । मान्छेहरुले धेरै दिनसम्म म र मेरा तीन जना साथीलाई त्यस घटनाबारे सोधिरहे ।

त्यति ठूलो मान्छेको लाश आफैंले भेटेकामा म आफूलाई भाग्यमानी र अभागी दुवै ठान्छु । ती घटनाक्रमहरु अहिले पनि मेरो आँखा अगाडि घुमिरहन्छन् । म १८ वर्षको हँदा त्यो लाश भेटेको थिएँ । अहिले ४३–४४ वर्ष पुगें । त्यति ठूलो नेताको लाश भेट्टाउँदा मलाई पक्कै पनि सरकारले सेनामा जागिर दिन्छ भन्ने लागेको थियो । त्यो समयमा सिपाहीको लाश भेट्टाउने मान्छेले सेनामा जागिर खान पाउँथे । कुरा पनि चलाएँ तर मेरा लागि केही भएन । अनि म वैदेशिक रोजगारीका लागि साउदी अरबतिर लागें । १२ वर्ष साउदीमा बसेर नेपाल फर्किएँ । विदेशबाट फर्किएको पनि ११ वर्ष भयो । एउटा ट्रयाक्टर किनेको छु । आर्थिक अवस्था कमजोर नै छ । मसँगै लाश भेट्टाएका किसान ठकुरी नेपालमै छन् । श्यामबहादुर थापा मगर साउदीमा छन् भने टेकबहादुर आले चाहिँ मलेसियामा छन् ।

मदन भण्डारी पार्ककै विकासको योजनासहित डेलिगेसनमा काठमाडौं जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग मेरो भेट भयो । अरुले राष्ट्रपतिका अगाडि मलाई ‘मदन भण्डारीको लाश भेट्टाउने मान्छे यही हो’ भनेर चिनाइदिए । म विदेशमै भएको बेला मेरो नाममा आएको प्रशंसापत्र बुबालाई दिइएको रहेछ । त्यो प्रशंसापत्र जतन गरेर राखेको छु ।

अब मेरो कुनै व्यक्तिगत इच्छा बाँकी छैन । मेरो इच्छा केवल गाँजिपुरलाई सरकारले नमूना वस्तीका रुपमा विकास गरिदेओस् भन्ने छ । त्यतिबेला मदन भण्डारीहरुले नै विकास गरेको अहिलेको नेकपाकै सरकार छ मुलुकमा यतिबेला । अझ दिवंगत मदन भण्डारीकै पत्नी देशको राष्ट्रपति समेत हुनुहुन्छ । यस्तो बेला मलाई नभए पनि मेरा छोराछोरीलाई कुनै अवसर दिए हुन्थो भन्ने लाग्छ ।

(गाँजीपुर, चितवनका हेमबहादुर थापा मगरसँग कुराकानी गरेर राससले तयार पारेको सामग्री)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर