newskoseli.Com

विदेशबाट फर्किएका महिला : उता श्रमशोषण र यौनशोषण, यता पारिवारिक तिरस्कार

वैदेशिक रोजगारीका लागि श्रीमानकै सहमतिमा साउदी अरब गएकी सीतापुर, बाँकेकी मीना थापा (नाम परिवर्तन) अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य छिन् । वैदेशिक रोजगारीमा जाँदा महिलालाई कम खर्च लाग्ने भन्दै श्रीमानले नै उनलाई विदेश पठाएका थिए ।

विदेशमा उनले जेनतेन राम्रै कमाई गरिन् तर अहिले उनी श्रीमानबाटै अपहेलित हुनुपरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण सुखी जीवन र सन्तानको राम्रो शिक्षादीक्षाको सपना बोकेर उनी सल्लाहमै विदेशिएकी हुन् । अहिले श्रीमानले आफूलाई विभिन्न खालका लाञ्छना लगाउँदै दुःख दिने गरेको उनले बताइन् ।

साढे तीन वर्षको छोरो छाडेर कुबेत गएकी सीतापुरकै रचना शर्मा (नाम परिवर्तन) ले पनि अहिले सबैतिरबाट तिरस्कार ब्यहोर्नु परेको छ । आठ वर्षदेखि मलेसियामा रहेका श्रीमानले घरखर्च पनि नपठाएपछि छोराछोरीको भविष्यप्रति चिन्तित हुँदै कुबेत पुगेकी रचना अहिले श्रीमान्, सासू र माइतीबाट समेत अपहेलित छिन् ।

उनी भन्छिन्– ‘घरबाट बहिष्कृत हुनुपर्दा अहिले अनुहार लुकाउने ठाउँसम्म छैन । घरमा सासूससुराको अपहेलनासँगै माइतीले समेत राम्रो मान्दैनन् ।’ मीना र रचनाजस्ता थुप्रै महिलाले वैदेशिक रोजगारीबाट फर्किएर पारिवारिक र सामाजिक तिरस्कार व्यहोरिरहेका छन् ।

गीता वली (नाम परिर्वतन) लाई पनि आफ्नो पीडा सुनाउन निकै गाह्रो भयो । सुरुमै उनको गला अवरुद्व भयो, उनका आँखा रसाए । विदेशबाट फर्किएदेखि उनलाई श्रीमानले बारम्बार घर छाड्न धम्की दिइरहेका छन् । ‘तँ घरबाट निस्किइहाल्, म तँलाई राख्दिनँ भन्दै श्रीमानले सधैंजसो पीडा दिने गर्छन्,’ उनले भनिन्– ‘श्रीमानले राम्रो नगरे समाजले पनि नरामै्र गर्दोरहेछ ।’

विदेश पुगेपछि पनि आठ महिनासम्म तलब नपाएर दुःख पाएको स्मरण गर्दै गीताले भनिन्– ‘दुःखीलाई जहाँ पनि दुःख नै हुने रहेछ ।’ वैदेशिक रोजगारीमा गएका महिलाहरु स्वदेश फकिर्एपछि सानोतिनो व्यवसाय सञ्चालन गरेर आर्थिकस्तर बढाउने सपना बुन्ने गर्छन् तर उनीहरुलाई समाजमा अपहेलित हुनुपर्ने डर छ ।

श्रीमानको मृत्युपछि कमजोर आर्थिक हैसियतकै कारण विदेशिएकी सीतापुरकै भावना विक (नाम परिवर्तन) ले स्वदेश फर्किएपछि चिया पसल सुरु गरिन् तर उनले त्यसलाई केही समयमै बन्द गर्नुपर्‍यो । चिया पसल गर्दा समाजले कुरा काट्न थाले । ‘पसलमा आउने ग्राहकसँग मस्किन्छे, आजभोलि त यसको धेरैसँग लसपस बढेको छ भन्दै कुरा काट्न थालेपछि चिया पसल बन्द गर्नुपर्‍यो’– आँशु झार्दै भावनाले भनिन् ।

श्रीमान्ले दोस्रो बिहे गरेपछि छोराछोरीको पालनपोषण र शिक्षाको सपना बोकेर साउदी अरब गएकी अर्की महिलाको पनि दुःख यस्तै छ । परिश्रम र समय एउटै भए पनि खाडी मुलुकमा बस्ने नेपालीले आफ्नो श्रमको उचित मूल्य पाउन नसकेको त्यहाँ जाने महिलाहरुको भनाइ छ । लामो समयसम्म काम गराउने, खान नदिने, कुटपिट गर्ने, गालीगलौच गर्ने र यौन दुर्व्यवहार गर्ने उनीहरुको अनुभव छ ।

यातना सहन नसकी घरेलु कामदारको रुपमा गएका केही नेपाली महिलाले आत्महत्या समेत गरेका छन् । खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलाको सङ्ख्या बढ्दो छ । ती मुलुकबाट हिंसामा परेर फर्किने महिला पनि बढेका छन् । वैदेशिक रोजगारीमा हुने भेदभाव र हिंसा न्यून गर्न सरोकारवाला पक्षबीच समन्वय हुनु जरुरी रहेको वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरु बताउँछन् ।

‘महिलाको कमाइ स्वीकार्न नसक्ने र कमाउनेले आफूलाई मालिक सम्झिने पुरुषवादी सोच त्याग्नु जरुरी छ’– उनीहरु भन्छन् । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई घरपरिवारमा सहज वातावरण बनाइदिन उनीहरुले सम्बद्ध निकायहरुसँग आग्रह गरेका छन् । नेपाली महिलामा पछिल्लो समयमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सचेतना जागेको छ । तर, स्वदेशमै रोजगारीको अवसर नहुँदा हजारौं महिला वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य छन् ।

नेपाली महिलाका लागि रोजगारी प्रतिबन्ध भएका देशमा नेपालबाट जान बन्देज भए पनि भारतीय बाटो प्रयोग गरी विदेशिने गरेका छन् । धेरै महिलाले अवैध रुपमा जोखिमपूर्ण यात्रा गर्छन् । स्वदेश फर्केपछि समाजले गलत दृष्टिकोणले हेर्ने भएकै कारण उनीहरुलाई पुनर्स्थापित हुन पनि समस्या छ ।

खाडी मुलुकमा श्रमशोषण र यौनशोषण समेत

भारतलगायत खाडीमा काम गर्न पुगेका अधिकांश महिला यौनशोषण र श्रमशोषणमा पर्ने गरेको चेलिबेटी बेचबिखनविरुद्व क्रियाशील संस्था माइती नेपालको तथ्याङ्कले देखाउँछ । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार दलालको प्रलोभनमा परी भारत र खाडी मुलुक पुगेका महिलाहरू यौनशोषण र श्रमशोषणमा परेका घटना बढ्दो छ ।

माइती नेपालले जोखिममा परेका महिलाहरुको उद्धार पनि निरन्तर गरिरहेकै छ । यौनशोषणका कारण कयौं महिला मानसिक रुपमा विक्षिप्त अवस्थामा पुगेका छन् । भारत र खाडीबाहेक पछिल्ला दिनमा दलालले नेपाली महिलालाई बङ्गलादेशमा पुर्‍याएर देहव्यापारमा समेत लगाएका घटना पनि फेला परेका छन् ।

संयोजक कोइरालाका अनुसार कुबेत, लेबनान, बहराइन र साइप्रस पुगेका थुप्रै महिला यौनशोषणमा परेका छन् र उनीहरुले उद्धारका लागि आग्रह गर्दै निवेदन पनि दिने गरेका छन् । घरेलु कामदारका रुपमा महिलालाई विदेशमा नपठाउन आग्रह भइरहे पनि नबुझेर धेरै महिला खाडी मुलुक जाने र दुःख पाउने क्रम बढ्दो छ ।

वैदेशिक रोजगार विभागको २०७४/७५ को तथ्याङ्क अनुसार बाँकेका १ सय ३६ जना महिला वैदेशिक रोजगारीमा रहेको देखिन्छ । यो सङ्ख्या विभागबाट वैधानिक रुपमा श्रम इजाजत लिएर विदेशिएको हो । तर, यो सङ्ख्याभन्दा धेरै महिला अवैध रुपमा भारत हुँदै वैदेशिक रोजगारीका लागि तेस्रो मुलुकमा गएको अनुमान छ ।

विभागका अनुसार बाँकेबाट सबैभन्दा धेरै कतार र संयुक्त अरब इमिरेट्स (यूएई) मा ३०–३० जना महिला गएका छन् । मलेसियामा २७ जना, कुबेतमा २०, साउदी अरबमा १४, पोल्याण्ड र साइप्रसमा ३–३ जना गएका छन् भने ओमान र माल्दिभ्समा २–२ जना तथा बहराइन, जोर्डन र हङकङमा एक–एक जना रहेको विभागको तथ्याङ्क छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर