त्यतिबेला म गुल्मीको एरिया सेक्रेटरीका रुपमा कार्यरत थिएँ । एक दिन पार्टी कामकै सिलसिलामा पश्चिम गुल्मीको अर्खावाङ जानुपर्ने भयो । त्यहाँ विशेष क्षेत्रबाट स्कुलिङ विभागमा कार्यरत छ जना कमरेडहरु आउनुभएको रहेछ । रोल्पा, रुकुम, सल्यान, प्युठान, दाङ, अर्घाखाँची, कपिलवस्तु र गुल्मी गरी आठ जिल्ला मिलाएर विशेष क्षेत्र बनाइएको थियो । आधारइलाका र प्रचारइलाकालाई मिलाएर बनाइएको विशेष क्षेत्रमा कार्यकर्ताहरुको राजनीतिक र वैचारिक स्तरवृद्धिका लागि सो क्षेत्रको राजनीतिक ब्युरोले प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । सोही योजनाअनुसार हामीलाई प्रशिक्षण दिनका लागि कमरेड विश्वासलगायतको क्षेत्रीय स्कुलिङ टिम गुल्मी आइपुगेको थियो ।
टिममा सल्यानका कमरेड तिलक मल्ल ‘क्षितिज’ को नेतृत्वमा प्युठानका कमरेड बादलसिंह, दाङका कमरेड विश्वास, रुकुमका कमरेड मुस्कान, रुकुमकै कमरेड सौभाग्य र गुल्मीका कमरेड मनोज गरी छ जना हुनुहुन्थ्यो । उहाँहरु खाना खान जानै लाग्दा मैले सरसर्ती त्यो टोलीलाई हेरें । मलाई कमरेड विश्वाससँग खास रुचि लागिरहेको थियो । विश्वास भन्ने नामले मलाई आकर्षित गरिरहेको थियो ।
त्यहाँ चिनाजानी गर्ने समय मिलेन । जिल्ला सेक्रेटरी सुदर्शन बराल उर्फ कुमार दाइसँग पूर्वी क्षेत्रको स्कुलिङ कार्यक्रमको तयारीका लागि केही सल्लाह गरेर म फर्किएँ । पूर्वी क्षेत्रको स्कुलिङ कार्यक्रम हँसरा गाविसको भण्डारवनमा हुने भयो । हामी एक हप्ते कार्यक्रमको तयारीमा लागेका थियौं । स्कुलिङ विभागका कमरेडहरुलाई मैले नै रिसिभ गरेर भण्डारवन पुर्याउनुपर्ने भयो । म खैरेनी बजारमा उहाँहरुलाई पर्खिएर बसें । खैरेनी बजारमा रहेको झोलुंगे पुलको मुखैनेर एउटा पीसीओ थियो । कमरेड विश्वास त्यहींबाट कसैलाई फोन गर्दै हुनुहुन्थ्यो । क्षितिज दाइ पुलनेर यता–उता टहलिइरहनु भएको थियो ।
‘हेल्लो कमरेड, लालसलाम ! म आस्था…, तपाईंहरुलाई लिन आएकी… ।’ म सरासर अगाडि बढेर क्षितिज दाइसँग हात मिलाउन खोजें । तर, क्षितिज दाइ अक्मकिनुभयो । उहाँ अलमल्ल पर्नुभयो, मसँग हात मिलाउन मान्नुभएन । उहाँलाई लागेछ– म दुस्मनको कुनै एजेन्ट थिएँ र सीआईडी गर्दै त्यहाँ आइपुगेकी थिएँ । मैले बिस्तारमै आफ्नो बारेमा बताएपछि मात्र उहाँहरु कन्भिन्स हुनुभएको थियो । इन्चार्ज पारशमणि दाइ त्यहीं खैरेनी बजारमै हुनुहुन्थ्यो । मैले टिमसँग भेट गराइदिएँ ।
स्कुलिङ टिम भोकाइरहेको रहेछ । छिटै हिँड्नुपर्ने बाध्यता पनि छँदैथियो । म टिमका लागि एक–एक वटा समोसा लिन गएँ । आउँदा उनीहरु हिँडिसकेका रहेछन् । म पनि हातमा समोसाको पोको बोकेरै उकालो लागें । मसँग लिम्घा घर भएका एक जना सुरेश नाम गरेका कमरेड थिए ।
भण्डारवन पुग्न करिव चार घन्टा जति उकालो हिँड्नुपर्थ्यो । म पुग्दा टोली खाना खाँदै थियो । विपना मेस कमान्डर थिइन् । उनैले स्कुलिङको टिमलाई खाना खुवाउँदै थिइन् । बाटामा भोक लागे पनि हातमा भएको समोसा खान मन लागिरहेको थिएन । म स्कुलिङ विभागको एक जना सदस्य– कमरेड विश्वासकै बारेमा सोचिरहेकी थिएँ । एक्लै खान मन लागेन । कमरेडहरुले के सोच्लान् भन्ने लाग्यो । चार घन्टाको उकालो बाटो कमरेड सुरेशसँग खासै नबोलेरै चढेकी थिएँ मैले । मेरो मनभरि कमरेड विश्वासको अनुहार नाचिरहेको थियो ।
बेलुकी कमरेड विश्वाससँग केही कुरा गर्न मन लागिरहेको थियो । तर, हाम्रो बीचमा कुनै बोलचाल नै भैरहेको थिएन । यो सिलसिला उनले सुरु गरुन् भन्ने म चाहन्थें । तर, उनले भने मलाई बेवास्ता गरिरहेका थिए । ‘भैगो….’, मैले आफ्नो मनभित्रको बोल्ने रहर मारिदिएँ । भोलिदेखि स्कुलिङ कार्यक्रम सुरु हुनेवाला थियो । साथीहरु सबैतिरबाट आउने क्रम जारी थियो । हामी व्यवस्थापनमा खटिइरहेका थियौं । विशेष क्षेत्रबाट आएको टिमले स्कुलिङ दिनेवाला थियो । धेरै कुराहरु सिक्न पाइने कुराले मन यसै–यसै रोमाञ्चित थियो । राति सुत्नु अगाडि फेरि कमरेड विश्वासको अनुहार मेरो मानसपटलमा नाच्न लाग्यो । बल गरेर त्यो अनुहारलाई बेवास्ता गर्दै म निदाएँ ।
अर्को दिन निर्धारित समयमै स्कुलिङ कार्यक्रम सुरु भयो । पहिलो दिन विश्वासको क्लास थिएन । अरुले आ–आफ्ना क्लास दिए । भोलिपल्ट मात्र विश्वासको पालो आयो । उनले आफ्नो मृदुल मुस्कानका साथ सेतो बोर्डमा कालो रङको मार्कर पेनले लेखे– ‘सैन्यविज्ञान…’ । उनका अक्षर एकदमै चम्किला, उज्याला र मिलेका थिए । असाध्यै सुन्दर अक्षर लेख्ने उनको प्रस्तुति पनि निकै राम्रो थियो । म हेरेको हेर्यै भएकी थिएँ । दिउँसो चिया खाने समयमा म हत्त न पत्त विश्वास र मनोजको टिममा मिसिएँ । विश्वास हल्का मुस्कुराए, मैले पनि मुस्कुराएरै उनको जवाफ दिएँ ।
मैले तीन वटा गिलास सफा गरेर ल्याएँ । पालैपालो तीन वटा चिया ल्याएँ । हामी तीन जनाले कुरा गर्दै चिया पियौं । मैले नै ती गिलास लगेर सफा गरें जबकि म यसरी अगाडि सरेर कसैका गिलास वा थाल माझ्नेमध्येकी केटी थिइँन । यसै पनि त्यो समयमा सबैले आ–आफ्ना भाँडा आफैं माझ्ने चलन थियो । म बिस्तारै विश्वाससँग आकर्षित हुँदै गइरहेकी थिएँ । तर, यो कस्तो प्रकारको आकर्षण थियो– ठम्याइसकेकी थिइँन ।
मलाइ उनकै बारेमा सोचेर बसिरहन मन लाग्थ्यो । उनलाई आफूतिर आकर्षित गर्न मन लाग्थ्यो । उनी मसँग गफिइरहून् भन्ने लागिरहेको थियो । यहाँसम्म कि, कार्यक्रम चलिरहेको बेलामा समेत उनले मलाई मात्र प्रश्न सोधिरहून्, अरु कोहीसँग नबोलून् जस्तो पनि मलाई लागिरहेको थियो । यस्तो त कसैका बारेमा पनि भएको थिएन ।
स्कुलिङ चलिरहेकै बेला एक दिन विश्वासले एउटा दस्तावेज देखाए र भने– ‘सकेसम्म यो सबैले सारेरै राख्ने कोशिस गर्नुहोला, यो धेरै राम्रो दस्तावेज हो ।’ मैले त्यो दस्तावेज मागें र रातभर लगाएर डायरीमा सारें । एक्लै सार्न सकिन्न कि भनेर मैले अरु तीनवटी जतिलाई पनि एक–एक पाना सारिदिन लगाएँ र भोलिपल्ट बिहानै लगेर विश्वासलाई बुझाइदिएँ ।
एकिना हाम्रो एरियाकी सेक्रेटरी थिइन् । उनले विश्वासका बारेमा कुरा गरिरहन्थिन् । विश्वास र एकिना गफिइरहेका देखिन्थे । त्यस्तो देख्दा मलाई डाहाजस्तो लागेर आउँथ्यो । अन्ततः स्कुलिङ कार्यक्रम समापनको दिन आयो । मलाई औडाहा भएर आयो– अब कार्यक्रम सकिएपछि विश्वास पनि फर्किएर जानेछन्, हाम्रो भेट फेरि हुन पनि सक्थ्यो र नहुन पनि । चिठ्ठी लेख्नका लागि हामीसँग एक–अर्काको ठेगाना पनि थिएन ।
विश्वासहरु जुन घरमा बसिरहेका थिए, त्यो घरको अगाडि सयपत्री फूल फुलिरहेका थिए । मैले बिदाइका लागि माला तयार पार्नुपर्ने जिम्मा पाएकी थिएँ । फूल टिप्दै गर्दा मैले विश्वास आएर मसँगै फूल टिपिरहेको, हाँसेको, कुरा गरेको कल्पना गरें । विश्वास त्यो घरभित्र बसिरहेका थिए । म बाहिर आफैंसँग आन्दोलित भैरहेकी थिएँ । खासमा मैले उनलाई एकतर्फी प्रेमजस्तो केही गरिरहेकी थिएँ । फूल टिपेर सकियो तर उनी घरबाट बाहिर निस्किएनन् । मेरो मुटु जोड–जोडले हल्लिइरहेको थियो । मेरो मुटुजस्तै वरपरका रुखबिरुवाहरु हावाको झोक्कासँगै हल्लिइरहेका थिए । मलाई चिच्याएर उनलाई बोलाउन मन लागिरहेको थियो– ‘कमरेड विश्वास ! म तिमीलाई मायाँ गर्छु ।’ मलाई सारा दुनियाका अगाडि यस्तै भन्न मन लागिरहेको थियो । उनलाई अँगालोमा कस्न मन लागिरहेको थियो ।
नैतिकताको कुन्नि कुन बन्धनले हो, म अगाडि बढ्न सकिनँ । मेरा नौ नाडी गलेर आए । जीवनमा आफूले मन पराएको मान्छे आज टाढा जाँदैछ । म उसलाई रोक्न सकिरहेकी छैन । मैले उसलाई ‘मन पराउँछु’ भनेर पनि भन्न सकिरहेकी छैन । कस्तो विरोधाभाष ! त्यो बेलाको विरोधाभाषपूर्ण अवस्था र मेरो विक्षिप्त मानसिकता सम्झिएर म आज पनि भावुक हुन्छु । समवेदनाको तरलतामा तैरिएर जब त्यो विगत सम्झन्छु, मन यसै–यसै कुँडिएर आउँछ । मैले डोकाभरि फूल टिपेर सकेकी थिएँ । ऊसँग मनभरिको एक नजर जुधाउनु थियो, मिलेन । म उसको नजिकै पुगेर पनि उसलालाई नदेखी फर्किएर आउनुपर्यो, आएँ ।
मैले छ वटा माला तयार पारें । मनमनै एउटा संकल्पजस्तो के गरें भने यदि मैले गरेको प्रेम चोखो प्रेम हो भने मैले उनेको यो सबैभन्दा राम्रो र केही लामो माला विश्वासको गलामा परोस् ! नभन्दै त्यो त्यस्तै भयो । त्यो माला विश्वासको गलामै पर्यो । मेरो खुशीको सीमा नै रहेन । कार्यक्रम सकियो । उनीहरु फर्कने भए । म पनि केही तल, खैरेनी बजारसम्म सँगै आएँ । बाटामा हामीले केही कुरा गर्यौं । मैले कुरैकुरामा फ्याट्ट सोधें– ‘दाङ कस्तो छ हँ ?’
‘जाने हो र दाङ ?’ उसले पनि फ्याट्ट प्रतिप्रश्न गर्यो । कतै मेरो मनको कुरो उसले बुझेछ कि भनेर लाज–सरमले म झुकेकी थिएँ । विश्वासका सवै परिवार पार्टीमा लागेका रहेछन् । भाइ बेपत्ता रहेछन् । एउटी बहिनी गण्डक क्षेत्रको तनहुँ, अर्की बहिनी जनमुक्ति सेनामा र दिदी प्युठान जिल्ला पार्टीमा काम गर्दा रहेछन् । यो कुरा थाहा पाएर मलाई उसको झनै माया लागेर आयो ।
हामी खैरेनी बजारमा आइपुग्यौं । विश्वाससँग यहींबाट छुट्नु थियो । मलाई मुटु चुँडिन लागेजस्तो भएको थियो । उनले झोला बोकेर लमकलमक आफ्ना पाइला अगाडि बढाए । मै हेरी मात्र रहें, न ‘आई लभ यु विश्वास’ भन्न सकें न उनको ठेगाना नै सोध्न सकें न त हात समातेर ‘नजाऊ’ नै भन्न सकें । बस्, हात मिलाएर उनी गएको हेरिरहें ।
एक छिनका लागि म मूर्तिवत् उभिइरहें । बोल्नै सकिनँ । के गर्ने, कसो गर्ने सोच्नै सकिनँ । मैले जीवनमै पहिलो पटक प्रेमको अनुभूति गर्दै थिएँ । तर, जसलाइ प्रेम गरेकी थिएँ, ऊ मसँगबाट पर–पर गैरहेको थियो । मेरो मुटु रोकिएला जस्तो भएको थियो । एउटा रोमाञ्चक अनुभूति गर्न नपाउँदै बिछोडको तिक्तता भोग्नु परिरहेको थियो ।
युद्ध चरम अवस्थामा थियो । संकटकालका नारकीय दिनमा थियौं हामी । के थाहा, यो भेट नै अन्तिम भेट पनि हुन सक्थ्यो । उनीहरु कहाँ जाने हुन्, मलाई केही पनि थाहा थिएन । वस्, एउटै कुरा थाहा थियो कि म उसको प्रेममा परेकी थिएँ । यो कस्तो विडम्बना ! जीवनमा मेरा लागि कति प्रेम प्रस्तावहरु आए, कतिले प्रेमपत्र पठाए । मैले तिनलाई कहिल्यै गम्भीर रुपमा लिइँन । कसैको प्रेम प्रस्तावलाई ‘यस्’ वा ‘नो’ भनेर जवाफ दिन समेत आवश्यक ठानिनँ । तर, आज म यस्तो मान्छेको प्रेममा पागल भइरहेकी थिएँ, जसको बारेमा मलाई केही पनि थाहा थिएन । उसको पृष्ठभूमि, उसको घरपरिवार वा उसको गन्तव्य… । बस्, म उसलाई एकतर्फी प्रेम गरिरहेकी थिएँ ।
म खैरेनीको बीच बजारमा उभिइरहेकी थिएँ, ऊ गएको बाटोतिरै हेरेर… । उसले छाडेका पदचापहरु पछ्याउँदै कुदेर उसलाई भेट्टाउन मन लागिरहेको थियो । उसको हात समातेर उसलाइ फर्काउन र आफूसँगै राख्न मन लागिरहेको थियो । तर, ऊ त ओझेल परिसकेको थियो ।
आँखाभरि आँशु लिएर म बाटामा अलपत्र उभिइरहेकी थिएँ । कमरेड सामना आएर मलाई बोलाइन् । म झसंग भएँ । मेरा साथीहरु नजिकैको सेल्टरमा झोला बिसाएर बजारतिर निस्कने तयारीमा थिए । मलाई भने उसलाई सम्झिएर रुन मन लागिरहेको थियो । नुहाउने निहुँ बनाएर पानीको धारो भएको ठाँउमा गएँ र कपडैसँग पानीमा थापिएँ । आखाँबाट आँशु बरबर खसिरहेका थिए । मुखबाट हिक्क–हिक्क आवाज आउन थालेको थियो । धन्न म त्यहाँ एक्लै थिएँ ।
म मन लागेजति रोएँ, एक छिनपछि उठें र यसरी आफ्नो मन बुझाएँ– त्यो कुनै प्रेम थिएन, केवल एउटा सामान्य आकर्षण थियो । विपरीतलिङ्गीप्रतिको स्वाभाविक आकर्षण । म एउटा महान् उद्देश्य लिएर क्रान्तिमा होमिएकी मान्छे । यस्ता झिनामसिना कुरामा अल्झिनु हुँदैन । यस्तै सोचेर म उठेकी थिएँ । प्रशस्त रोएकी पनि थिएँ । त्यसैले मन हल्का भएको थियो ।
खैरेनी बजारमा हाम्रो आउने–जाने चलिरहन्थ्यो । प्रहरी चौकी उठिसकेका थिए । कहिलेकहीं गस्तीमा आउनुका अलावा सेना यता आउने हिम्मत गर्दैनथ्यो । त्यस रात त्यतै बसेर भोलिपल्ट आफ्नो एरिया अर्थात् लुम्पेकतिर जाने योजना बनाएर हामी खैरेनीमै बास बस्यौं ।
तर, बिहानै अर्कै खबर आइपुग्यो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले जिल्लाका अगुवा महिला कार्यकर्ताका लागि प्रशिक्षण भेला आयोजना गरेको थियो । सोही भेलामा सहभागी हुनका लागि छापहिले गाविसमा आउनू भन्ने खबर एकाबिहानै आइपुग्यो । बाटामा इन्द्रेगौंडा नाका क्रस गर्नुपर्दथ्यो । त्यहाँ आर्मीले ब्यारेक नै खडा गरेर बसेको थियो । त्यसपछि तम्घास नजिकै पर्ने हुनाले मुसिकोट नाका पनि उत्तिकै खतरनाक थियो । रातारात नाका काट्नु कम जोखिमपूर्ण मानिन्थ्यो । तिनताका प्रायजसो लामो यात्रा रातमा नै गरिन्थ्यो ।
हामी रातभर हिँडेर भोलिपल्ट बिहान छापहिलेमा रहेको कार्यक्रमस्थल पुग्यौं । त्यहाँ पुग्दा खाना खाने बेला भैरहेको थियो । कमरेड विश्वास खाना खाएर थाल माझ्दै थिए । उनलाई देख्न वित्तिकै मनको अन्तरकुन्तरमा कतै थन्क्याएको प्रेमिल भावना फेरि तरंगित हुन थालेको थियो । मैले टाढै पुगिसके होलान् भनेका स्कुलिङ विभागका सवै जना त्यहीं थिए । आज यतै बसेर भोलि जाने उनीहरुको योजना रहेछ ।
एउटा गोठको भित्तामा छेलिएर मैले विश्वासलाई मनभरि हेरें । पातलो शरीर, गहुँगोरो अनुहार, ओंठमा हर्दम नाचिरहने एउटा चिरपरिचत मुस्कान, आँखामा चश्मा, न अग्लो न होचो– ठिक्कको उचाइ, लरक्क कोरिएको बाल, घ्यु कलरको भुइँमा कतै–कतै सुन्तला र कतै कालो कलरका धर्का भएको ज्याकेट । ऊ उस्तै थियो, जस्तो अवस्थामा मैले बिदाई गरेकी थिएँ ।
धेरैजसो कमरेडहरुले मसँग लालसलाम भन्दै हात मिलाउन आए । म चाहन्थें– ऊ पनि मलाई बोलाउँदै, परैबाट हात हल्लाउँदै आओस् र दरिला हात चपक्क समातेर ‘लालसलाम कमरेड आस्था’ भनोस् । म चुपचाप पर्खिरहेकी थिएँ तर ऊ मसँग नबोलेरै हिँडिदियो, देखेको नदेख्यै गरेर । म फेरि पनि हेरेको हेर्यै भएँ । म पो उसलाई मन पराउँछु त, उसले मलाई मैलेजस्तो नजरले हेरेकै छैन । धत्, पागल केटी ! मैले आफूलाई आफैंले सम्झाएँ ।
खाना खाएपछि कार्यक्रम सुरु भयो । महिला संगठनको जिल्ला कमिटी सचिव हुनुको हैसियतले म नै कार्यक्रम सञ्चालक थिएँ । स्कुलिङ विभागका सवै जना अतिथि बनाइएका थिए । विश्वास पनि मञ्चमा अतिथि भएर बसेकामा मलाई लाजजस्तो लागिरहेको थियो । जसोतसो त्यो दिनको कार्यक्रम सकियो । महिला संगठनकी नेता विमला केसी र अर्की एक जना केन्द्रीय सदस्य सुनिता शाही तथा जिल्ला इन्चार्ज पारशमणिले प्रशिक्षण दिए ।
भोलिपल्ट ८ बजेदेखि कार्यक्रम सुरु गर्नुपर्ने थियो । पुसको चिसो स्याँठ चलिरहेको थियो । घरका छत र कान्लाका डिल सवैतिर तुसारो परेर सेताम्य भएको थियो । पारि पाखाका टुप्पाहरुमा बिहानी घामका सुनौला किरणहरु पोतिएका थिए । आरुका गर्भिणी बोटमा गुलाबी फूल फुल्न लागेका थिए । मेसमा चिया पाकिरहेको थियो । आगो ताप्दै चिया पिइरहेकी मलाई मनोजदाइ बोलाउन आए । गुल्मीको सिर्सेनी घर भएका मनोजदाइ स्कुलिङ विभागका सदस्य थिए र विश्वासका मिल्ने साथी पनि ।
म झसंग भएँ । कसले पो बोलाउन पठाएको होला ? यसो मनमा गमेर हेरें । विश्वासले त होइन ? मनमा एकखाले रोमाञ्चकताले जिउ सिरिङ्ग गर्यो । होइन होला, आफैंलाई थुम्थुम्याएँ । क्षितिजदाइले बोलाउन लगाएहोलान् । क्षितिजदाइले मसँग के–के कुरा गरिरहनुहुन्थ्यो । एकहप्ते स्कुलिङ कार्यक्रममा पनि क्षितिजदाइले मलाई घरी–घरी उठाउँदै प्रश्न सोध्दै गर्नुहुन्थ्यो । आज पनि पक्का क्षितिजदाइले नै बोलाउनुभएको होला भन्ने सोच्दै म मनोजदाइको पछि–पछि गएँ । भित्र कतै अवचेतन मनमा भने मेरो मनको राजकुमार विश्वासले नै बोलाउन पठाएको भए पनि हुन्थ्यो, त्यस्तो भयो भने कति जाति हुन्थ्यो, त्यस्तै होस् भन्दै मनमनै पुकारा गर्दै म नबोलीकन मनोजदाइको पछि–पछि हिँडिरहेकी थिएँ ।
एउटा घरको पिँढीमा ठड्याइएको हरियो भर्याङबाट हामी माथिल्लो तलामा उक्लियौं । मनोजदाइले मलाई एउटा साघुँरो कोठामा लिएर जानुभयो । त्यहाँ सिरकले छोपिएर त्यही मानिस बसिरहेको थियो, जसलाई मैले मन पराएकी थिएँ, जसको अनुपस्थितिमा जीवन फिका लाग्न थालेको थियो । त्यही चश्मावाल पातलो मान्छे मेरा अगाडि बसेर मुस्कुराइरहेको थियो । म टुक्रुक्क घुँडा टेकेर उसको सामुन्नेमै बसें ।
एक–अर्कालाई हेरेर विश्वास र मनोज रहस्यमयी तरिकाले मुस्काए । मलाई त्यो मुस्कानको रहस्य थाहा भैहाल्यो । अब विश्वासले मलाई प्रेम प्रस्ताव राख्दैछ भनेर मैले पहिल्यै अनुमान लगाएँ । विश्वास र म करिव १० मिनेट कुरा गरेर बस्यौं । उनले धेरै कुरा गरे । आफूले मन पराएको मान्छेले यसरी एकान्तमा प्रेम प्रस्ताव राख्दा म अक्क न बक्क भएकी थिएँ । मनैमन त म खुशीले बुरुकबुरुक उफ्रिएकी थिएँ । औपचारिकताका लागि ‘मैले सोच्नुपर्छ’ भनेर केही समय मागें ।
म खुरुर्र कुदेर कार्यक्रम हलमा पुगें । एकातिर लाजले पानी–पानी भएकी थिएँ, अर्कोतिर कस्तो मान्छे हो, पृष्ठभूमि कस्तो हो, घर कहाँ हो, भविष्यमा दुःख पाइने पो हो कि भन्ने सोचेर गम्भीर भएकी थिएँ । कार्यक्रम सुरु हुन लाग्दै थियो । हलमा सवै आइसकेका थिए, म सञ्चालक नै गायब थिएँ । हत्तपत्त माइक समातेर म कार्यक्रम सञ्चालन गर्न लागें । बोली लटपट–लटपट भैरहेको थियो ।
यस्तो महत्त्वपूर्ण कुरा कसलाइ सुनाऔं भैरहेको थियो तर उपयुक्त पात्र भेट्टाइरहेकी थिइँन । दाइलाइ खुब मिस गरें । दाइ त्यतिबेला सेनाको कम्पनी कमिसार भएर जिल्ला बाहिर जानुभएको थियो । सिर्जना भाउजू त्यहीं थिइन् । उनी महिला संगठनकी अध्यक्ष थिइन् । उनी अलि कडा स्वभावकी थिइन् । उनलाई यस्तो कुरो सुनाउने हो भने उल्टै झपार्लिन् भन्ने लाग्यो । अर्की भाउजू निशाना पनि त्यहीं थिइन् । उनीसँग भावनात्मक कुरा पनि हुन्थे । मैले उनैलाई विश्वासको कुरा सुनाएँ । निशाना भाउजूले प्रस्ताव स्वीकार गर्दा ठीकै हुन्छ भनेर सुझाव दिइन् । मलाई अलि राहत भयो ।
खाना खाने बेलामा क्षितिजदाइले मलाई एक घन्टाजति कन्भिन्स गरे । उनी विश्वासका आफ्नै भिनाजु रहेछन् । विश्वासले मलाई फेरि बोलाउन लगाएर भने– हामी आजै हिँड्दैछौं, मलाई ‘यस् अथवा नो’ चाहियो । तपाईंले यतै बस्न भन्नुहुन्छ भने म एक हप्ता पनि यतै बस्न तयार छु तर हाम्रो टिम आजै अर्घाखाँचीका लागि हिँड्दैछ । मलाई तपाईंको जवाफ लिएर मात्र यहाँबाट हिँड्नु छ ।
मैले दुई वर्षपछि बिहे गर्ने शर्तमा प्रेम प्रस्ताव स्वीकार गरें । विश्वासले मेरो फोटो मागे, मैले दिएँ । उनको फोटो रहेनछ । उनले मेरो डायरीमा आफ्ना सुन्दर अक्षरले दाङको ठेगाना टिपिदिए । खाना खाएपछि कार्यक्रम स्थगित भयो । सवैले मेरो प्रेमकहानी थाहा पाइसकेका थिए । बाह्र बजेतिर जिल्ला इन्चार्ज पारशमणि, सेक्रेटरी जीतजंग, महिला नेताहरु विमला केसी, सुनिता दिदी, भाउजू सिर्जना, स्कुलिङ टिमका सवै जना र म समेत बसेर हाम्रो बिहे गराउने बारेमा छलफल भयो ।
सवै जनाले आजै, यही कार्यक्रममा बिहे गर्दा राम्रो हुन्छ भनेर आफ्नो विचार राखे । खासगरी जीतजंग र क्षितिजदाइले आफ्नो बिहेको उदाहरण दिएरै कुरा राखे । प्रेम र विवाह भनेको एउटै कुरा हो, प्रेम गर्ने विवाहकै लागि हो, विवाह गरेपछि पनि प्रेम हुन्छ । लडाइँ एकदमै पेचिलो अवस्थामा छ, कतिखेर, कहाँ मरिने हो– थाहा छैन । छिटो बिहे गर्दा सवैलाई राम्रो हुन्छ भन्ने उनीहरुको विचार थियो । विश्वासले आफ्नो अभिभावक भन्नु नै पार्टी भएको बताउँदै पार्टीले जे निर्णय गर्छ, त्यो आफूलाई मान्य भएको विचार राखे । सिर्जना भाउजूले एक–अर्काको बारेमा राम्रोसँग थाहा नभईकन बिहे गर्नु नहुने धारणा राखिन् ।
अन्त्यमा मेरो बोल्ने पालो आयो । मैले कम्तिमा दुई वर्ष प्रेम गर्न पाउनुपर्ने माग राख्दै यदि आजै बिहे गर्न कर गर्ने हो भने यो प्रेममा यहीं पूर्णविराम लगाउने विचार राखें । एक–अर्कालाई राम्रोसँग बुझेर मात्र विवाह गर्नु राम्रो हुने मेरो बुझाइ थियो । त्यो दिन बिहे नहुने भयो । विश्वासहरु त्यही दिन अर्घाखाँची हुँदै कपिलवस्तुतिर गए । हामी पनि कार्यक्रम सकेर फिल्डमा फर्कियौं ।
त्यसको पन्ध्र महिनापछि जिल्ला इन्चार्ज वामदेव क्षेत्री ‘विकल्प’ ले प्युठान जिल्ला इन्चार्ज कमरेड अजितसिंह र दाङ जिल्ला इन्चार्ज कमरेड डायमण्डको नाममा लेखिदिएका दुई चिठी बोकेर म र रोल्पा घर भएकी साथी रेणुका गुल्मीबाट दाङ पुग्यौं । नेताहरु देव गुरुङ र नेत्रविक्रम चन्द ‘विप्लव’ को उपस्थितिमा दाङको दाङवाङ भन्ने स्थानमा विश्वाससँग म जनवादी ‘बिहे–बन्धन’ मा बाँधिएँ । देशमा भने त्यतिबेला जनआन्दोलन– २ को तयारी भैरहेको थियो ।
केसीकाे ब्लग शब्दशिखाबाट