newskoseli.Com

‘को हुन् गोविन्द केसी ? पूर्वाधार र सुविधाविना डाक्टर गाउँ जान्छन् ?’

प्रा.डा. मथुरा केसी, संस्थापक निर्देशक, काठमाडौं मेडिकल कलेज

गाउँमा जन्मिएर सहर पसेपछि गाउँलाई माया गर्ने र गाउँमै फर्कन चाहने मानिसहरू कमै होलान् । त्यसैमध्येमा पर्दछन् प्रा.डा. मथुरा केसी ।

पाल्पाको गाउँमा जन्मिएर विद्यालय तहसम्मको अध्ययन गाउँमै पूरा गरेका डा. केसी भारत, बंगलादेश, श्रीलंका, इरान, पाकिस्तान र अमेरिकामा पढेर उत्कृष्ठ चिकित्सक एवं कन्सल्ट्यान्ट भई धेरै वर्ष उतै काम गरेपछि नेपाल फर्किए । यता आएर पनि उनले चिकित्सक पेशामै रही चालीस वर्ष जनसेवा गरिसकेका छन् । उमेरले ६९ पुगिसेका उनी युवाजस्तै स्वस्थ र क्रियाशील छन् । उत्पीडित, असहाय र गरिब नागरिकको सेवा गर्दा आफूलाई आनन्द आउने बताउँछन् डा. केसी ।

नले अहिले आफ्नै जन्मस्थान पाल्पाको ताहुँमा एक हेल्थ एन्ड एजुकेसन फाउन्डेसन स्थापना गरेका छन् । आफ्नै निजी स्रोतको एक करोड रूपैयाँ ‘सिड मनी’ राखेर सुरु गरेको फाउन्डेसनमार्फत उनले २० शैय्याको अस्पताल निर्माण गर्नेदेखि अनमी, नर्सिङ र रेडियोलोजीसम्बन्धी अध्यापन गराउने योजना बनाएका छन् । डा. केसीले सोही फाउन्डेसनमार्फत जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न अभियान सञ्चालन गर्ने तथा महिला सशक्तीकरण र डायबिटिज र एनिमियासम्बन्धी अध्ययन समेत गर्ने योजना बनाएका छन् । ‘प्रा.डा. मथुरा केसी हेल्थ एन्ड एजुकेसन फाउन्डेसन’ नाम दिइएको सो अध्ययन एवं अनुसन्धान केन्द्रको शिलान्यास १२ असारमा स्थानीय बयोवृद्ध महिलाले गरिसकेकी छन् ।

काठमाडौंकी डा. उर्मीला कार्कीसँग प्रेमविवाह गरेका डा. केसी उचित स्वास्थ्योपचारको अभावमा क्षयरोगबाट आफ्नी आमा र हार्टएट्याकबाट आफ्ना बुबालाई गुमाउनुपरेको पीडाकै कारण गाउँमा फाउन्डेसन स्थापना गर्ने प्रेरणा प्राप्त भएको बताउँछन् । आमा बित्दा उनी बंगलादेशमा थिए भने बुबा बित्दा अमेरिकामा थिए । गाउँका अरु आमा–बा र नागरिकले आफ्ना आमा–बाले जस्तै स्वास्थ्योपचारको अभावमा अकालमै ज्यान गुमाउन बाध्य हुने अवस्थाको अन्त्य गर्न हेल्थ एन्ड एजुकेसन फाउन्डेसन स्थापना गरेको उनी बताउँछन् ।

‘मर्ने बेलामा मात्रै गाउँको धाराको पानी खाने कुराको पक्षमा म छैन, बाँचुञ्जेल आफ्नो गाउँ र गाउँवासीको सेवा गर्ने कुराको पक्षमा छु,’ उनले भने– ‘हामीले के पायौं भन्दा पनि के दियौं भनेर सोच्नुपर्छ ।’ नेपालमै एचए पढेर गएपछि पनि बंगलादेशमा एमबीबीएस पढ्न पाउने व्यवस्था गराउन भूमिका खेलेका डा. केसी त्यसपछिका सरकार र राजदूतले पहल नगर्दा सो व्यवस्थाले निरन्तरता नपाएकोमा दुःखित छन् । त्यही व्यवस्थाका कारण नै डा. गोविन्द केसी, डा. केदारनरसिंह केसी, डा. अर्जुन कार्की, डा. भगवान् कोइराला, डा. सुरेश कायस्थलगायतले एमबीबीएस गर्न सम्भव भएको उनले प्रष्ट्याए ।

आमा–बुबा दुबै जनाको ‘किरिया’ नगरेका उनले आमा–बुबाको सम्झनामा गाउँकै विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका निम्ति एक लाख रूपैयाँको अक्षयकोष स्थापना गरिदिए । एक त आफू भौतिकवादमा विश्वास गर्ने चिन्तक भएको तथा अर्को, आफूले गुमाइसकेका आमा–बुबाको सम्झना र सम्मानमा समाजमा केही गर्ने उद्देश्य रहेका कारण आफूले त्यसो गरेको उनी बताउँछन् ।

विद्यालयमा ‘नेभर सेकेन्ड’ पोजिसनमा उत्तीर्ण हुँदै आएका उनी भारत र बंगलादेशमा पनि ‘फर्स्ट’ नै भए । त्यहाँबाट ‘कोलम्बो प्लान’ मा पाकिस्तान गएर उनले ‘एफसीपीएस’ र ‘डिपकार्ड’ गरे । उनी ती कोर्षमा पनि फर्स्ट नै भए । त्यसपछि उनलाई त्यहाँको सरकारले कन्सल्ट्यान्टका रूपमा काम दियो । त्यहाँ उनले केही समय कन्सल्ट्यान्टका रूपमा काम गरे । त्यसपछि इरानमा एमडी गरे र दस वर्ष कन्सल्ट्यान्ट भएर काम गरे । इरानी भाषामा समेत पोख्त बनेका उनी त्यहाँ स्थापित र लोकप्रिय चिकित्सक बन्न सफल भए ।

इरानबाट नेपाल फर्केका उनले पाटन मिसन अस्पतालमा ६ महिना कन्सल्ट्यान्टका रूपमा काम गरे । त्यसपछि क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा एक वर्ष काम गरेका उनले काठमाडौं मेडिकल कलेज (केएमसी) खुलेपछि पहिलो डाइरेक्टरका रूपमा काम गरे । त्यसपछि लगातार केएमसीमा आबद्ध उनले हिमाल अस्पताल, पोलीक्लिनिक आदिमा वरिष्ठ कन्सल्ट्यान्टका रूपमा काम गरे । काठमाडौं मेडिकल कलेजको संस्थापक डाइरेक्टर उनी अहिले पनि सोही कलेज र अस्पतालमा क्रियाशील छन् ।

प्रस्तुत छ– नेपालको चिकित्सा शिक्षा नीति, डा. गोविन्द केसीका पटक–पटकका अनसन, सरकारको समीक्षा आदि विषयमा केन्द्रित रही न्युजकोसेलीका लागि सहकर्मी सन्तोष पौडेलले डा. केसीसँग गरेको कुराकानीको सम्पादित अंश–

चिकित्सा क्षेत्रमा कति वर्ष बिताउनुभयो ?

४० वर्षभन्दा बढि भयो म चिकित्सा क्षेत्रमा लागेको ।

नेपालको वर्तमान चिकित्सा शिक्षा नीतिबारे केही बताइदिनोस् न !

नेपालको चिकित्सा शिक्षा नीति दोधारे खालको भयो । एकातिर नेपालमा मेडिकल कलेज खोल्न नदिने, अर्कातिर ‘ब्रेन ड्रेन’ भयो भनेर हौवा पिट्ने । मेडिकल शिक्षा हचुवाको भरमा दिएर हुन्छ ? खर्च त हुन्छ नि मेडिकल शिक्षामा । कि सरकारले सबैलाई पढ्न सक्ने पूर्वाधारसहितका अस्पताल र कलेजहरू खोल्नुपर्‍यो नभए त तिर्न सक्नेले पढ्ने नै भए । निजी कलेजहरूले १० प्रतिशत छात्रवृत्ति त दिएकै छन् नि ।

पैसा हुनेहरू नेपालमा नपाए बाहिर गएर पढ्छन्, त्यसले त नेपालको पुँजी नै बाहिर जाने प्रक्रिया बढ्ने भयो नि । नेपालमा कलेज खोल्न नदिनु भनेको नेपालमा भ्रष्टाचार बढाउनु पनि हो किनकि यहाँभन्दा महँगो मूल्यमा विदेशमा एमबीबीएस पढ्नुपर्ने भएपछि नेपालीले कसरी तिर्ने ? अनि त कि भ्रष्टाचार, दुई नम्बरी वा तस्करी गर्नुपर्‍यो कि आफ्नो जग्गा–जमिन बेच्नुपर्‍यो । अर्कोतर्फ, यदि यहाँ हामीले राम्रा मेडिकल कलेज स्थापना र सञ्चालन गर्न सक्यौं भने विदेशका विद्यार्थी नेपालमा पढ्न आउँछन्, त्यसले विदेशी पैसा नेपाल आउँछ र अर्थतन्त्र पनि बढ्छ । नेपालको पैसा विदेश पठाउनु ठीक कि विदेशको पैसा नेपाल भित्र्याउनु ठीक ?

अनि डा. गोविन्द केसीले त काठमाडौंमा मेडिकल कलेज खोल्न दिनुहुन्न भनेर धेरै पटक अनशन बस्नुभयो त ?

डा. गोविन्द केसी को हुन् ? उनी त सरकारी तलब खाएर काम गर्ने चिकित्सक हुन् नि । उनी तलब खाएर अनसन बस्ने ? उपत्यकाबाहिर त त्यस्तो पूर्वाधार भएका मेडिकल कलेज नै बन्न सकेका छैनन् । चिकित्सकहरू जान मान्दैनन् अनि कसरी चल्छन् काठमाडौंबाहिर मेडिकल कलेज ?

मेडिकल शिक्षालाई सरकारको दायित्वभित्र लैजानुपर्छ भन्ने कुरा कसरी बेठीक भयो त ?

कुरा त ठीक हो तर सम्भव हुनुपर्‍यो नि । उच्चशिक्षा वा १२ कक्षासम्म निःशुल्क शिक्षा दिन नसक्ने सरकारले कहाँ मेडिकल शिक्षा निःशुल्क गराउन सक्ला ? बरु सरकारले अरु पनि मेडिकल कलेजहरू खोल्ने अनुमति दिएर भएकाहरूबाट लिने र नभएकालाई दिने नीति अख्तियार गर्नुपर्छ । बाहिरका विद्यार्थीहरूलाई आकर्षण गर्ने प्याकेज निर्माण गर्नुपर्छ । नेपालका विद्यार्थीहरूलाई स्कलरसिपको वृद्धि गर्नुपर्छ ।

त्यसोभए, गरिबका छोरा–छोरीको डाक्टर बन्ने सपना त तुहिने भयो नि, होइन ?

सबै जनाले डाक्टर नै बन्नुपर्छ भन्ने कुरा कसले भन्यो ? जे बन्नोस्, राम्रो बन्नोस् न । अहिले हेर्नोस् त, बंगलादेश र चीनमा पढेका विद्यार्थीहरूले एनएमसी (नेपाल मेडिकल काउन्सिल) को परीक्षा पास गर्न नसकेर लाइसेन्स् नै पाउन सकेका छैनन् । रहर गरेर मात्रै हुन्छ र ? त्यसैले म त भन्छु– यसलाई अधिकारको रूपमा मात्रै नहेरेर कर्तव्य पूरा गर्ने, सक्षम नागरिक बनाउनेतिर ध्यान दिनुपर्छ । सबैले डाक्टर–इन्जिनियर नै किन बन्ने ? उनीहरूबाट त जनताले सेवा पाउनुपर्‍यो नि धेरै पैसा खर्च गरेर, अनेक गरेर डाक्टर बन्यो अनि ऊ पैसा कमाउनतिरै मात्र लाग्छ । यसो भएकाले विभिन्न दुर्घटनाहरू भैरहेका छन् । त्यसैले ‘जे गर– आफू सक्षम बन, थोरै भए पनि अरुको सेवा गर’ भन्ने पो हुनुपर्‍यो त । असल व्यापारी बने पनि हुन्छ, व्यावसायी, उद्योगी, शिक्षक– जे बने पनि हुन्छ । तर, राम्रो र विज्ञ हुनुपर्‍यो, डाक्टर नै बन्नुपर्छ भन्ने होइन ।

‘ठूला’ र स्थापित चिकित्सकहरू गाउँतिर वा काठमाडौं बाहिर जान किन मान्दैनन् ?

जब चिकित्सा शिक्षा त्यति महँगो छ, सुविधाहरू छैनन् अनि कसरी जान्छन् त डाक्टरहरू ? गाउँबाट लगातार बसाइँसराई र विस्थापनको लर्को सहर र काठमाडौंतिर ओइरिरहेका छन् । नसुविधा छ न त बिरामी नै छन् अनि किन जान्छन् त डाक्टरहरू ? आफूले सिकेको कुरा प्रयोग नै गर्न पाउँदैनन् । झिंगा धपाएर बस्नका लागि त जाँदैनन् नि ।

डाक्टरलाई सुविधा कम भएर उनीहरू गाउँतिर जान नमानेका हुन् त ?

हो, त्यो पनि प्रमुख कुरा हो । ५० लाखभन्दा बढि खर्च गरेर डाक्टर बनेका हुन्छन् अनि सरकारले २० हजार, ३० हजार रूपैयाँ मात्रै तलब दिएर गाउँ जाऊ भन्छ । कसरी मान्छन् त उनीहरू ? कम्तिमा पनि एमबीबीएस डाक्टरका लागि ८० हजार मासिक तलब दिनुपर्छ अनि मात्रै जसलाई जहाँ खटाए पनि उनीहरू सजिलै जान्छन् । अहिलेको खर्च त बालुवामा पानीजस्तो भएको छ– जति हाले पनि उनीहरूको आवश्यकता नै पूर्ति भएको हुँदैन अनि कसरी हुन्छ सही उपचार ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर