राउटे समुदायकी २० वर्षीया गाजली शाही महिनावारी भएको बेलामा छाउगोठ जान्नन् । उनी परिवारका सबै सदस्य बस्ने झुपडीकै एउटा कुनामा बस्छिन् । ‘छुई भयाको बेला हामी खाना बनाउँदैन’– गाजलीले भनिन् ।
सोही समुदायकी ६० वर्षीया दुर्शी शाहीले महिनावारीका बेला खाना छुनु र पूजा गर्नु नहुने बताइन् । ‘छुई भयाको बेला घरभित्रै बस्छ छोरी, घरबाट बाहिर पठाउँदैन हामीहरु’– उनले भनिन् । २१ वर्षीया किशोरी सिन्गी शाहीले पनि महिनावारी हुँदा झुपडीभित्रैको कुनामा बस्ने गरेको सुनाइन् । ‘खाना पकाउँदैनौं र पानी छुदैनौँ,’ लजाउँदै उनले भनिन्– ‘छुई भयाको बेला नुहाउन पठाउँछ हामीलाई ।’
महिनावारी भएका बेला बाक्लो लुङ्गीको कपडा प्रयोग गर्ने गरेको उनले बताइन् । महिनावारीका बेला लगाइने प्याडको बारेमा आफूले थाहा नभएको उनको भनाइ छ । ‘मैले लगायाको जस्तै बाक्लो लुगा लगाउछौं,’ उनले भनिन्– ‘रगत लाग्यो भने फालिदिन्छौं ।’
फिरन्ते भएका कारण एक ठाउँबाट अर्को ठाउँमा वस्ती सर्दा महिनावारीको समयमा समस्या हुने गरेको सोही वस्तीकी गोल्पी शाही बताउँछिन् । ‘टोपी लायाको (मुखिया) ले भन्याको त मान्नैपर्यो, छुई भयाको बेला हिँड्दा दुःख हुन्छ’– उनले भनिन् । महिनावारीका बेलामा प्रायोग गर्ने प्याड र सरसफाइबारे अनभिज्ञ रहेको उनीहरुको भनाइ छ । महिनावारीका बेला बाक्लो कपडा लगाउने तर भित्री कपडा भने प्रयोग नगर्ने उनीहरु बताउँछन् ।
यसाे भन्छन् मुखिया…
महिनावारीका बेला आफ्ना ‘जनता’ लाई घरभित्रकै एउटा कुनामा बस्न दिइने गरेको राउटे मुखिया महिनबहादुर शाहीले बताए । घरबाहिर असुरक्षा हुने हुँदा परिवारसँगै एउटा छुट्टै कुनामा राख्ने गरेको उनले सुनाए । महिनावारी भएका महिलालाई दुई तरिकाले बार्ने गरेको उनले बताए । किशोरीले ७ दिन र बच्चा भइसकेका महिलाले ५ दिन महिनावारी बार्नुपर्ने नियम छ । ‘छुई भयाको बेलामा खाना बनाएमा देउता रिसाउने भएकाले अलग्गै बस्ने नियम बनाएका छौं’– मुखिया महिनबहादुरले भने ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा व्याप्त छ । कर्णाली र सुदूरपश्चिमकै जिल्लामा अरु सबै समुदायका महिला महिनावारीको समयमा सात दिनसम्म घरदेखि केही पर छाउगोठमा बस्छन् । तर, सोही प्रदेश र जिल्लाहरुमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका महिला भने महिनावारीका बेला घरभित्र नै बस्नु सकारात्मक पक्ष हो ।
जान्नेसुन्नेहरूकाे भनाइ…
राउटे समूदायमा छाउगोठ नहुनुले अन्य समूदायलाई पनि छाउगोठमा बस्नुहुँदैन भन्ने सकारात्मक सन्देश दिएको स्थानीय सत्यदेवी खड्काको धारणा छ । ‘कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा व्याप्त छाउपडी प्रथाका कारण शिक्षितवर्ग समेत छाउगोठमा बस्छन् तर राउटे समूदाय नै सुरक्षित तरिका अपनाएर घरभित्रकै एउटा कुनामा बस्छन्,’– खड्काको भनाइ छ ।
छाउगोठमा बसाउनेहरुले राउटेबाट सिक्नुपर्ने उनले बताइन् । राउटे उत्थान प्रतिष्ठान कर्णाली प्रदेशकी संयोजक कृष्णादेवी वली पनि राउटे समुदायबाट अन्य समुदायले पाठ सिक्नु जरुरी रहेको बताउँछिन् ।
राउटे समुदायमा शिक्षकका रुपमा कार्यरत दुर्गा थापा छाउपडी प्रथाको सन्दर्भमा राउटे समुदाय अन्य समुदायभन्दा अगाडि रहेको बताउँछिन् । ‘छाउ भएको बेलामा घरमा बस्नु राम्रो पक्ष हो तर महिनावारीको सरसफाइमा भने उति ध्यान दिएको पाइएको छैन’– थापाले भनिन् । दैलेखको गुराँस गाउँपालिकास्थित जङ्गलमा बस्दै आएका राउटे समुदायको सङ्ख्या १४० छ, जसमध्ये ५४ जना महिला छन् ।