रछ्यानको पानीलाई कुलेसो बनाएर
पानीघट्ट खेल्दै गर्दा
कति भाइरससँग खेलियो– पत्तै भएन ।
भैंसीगोठालो जाँदा
भैसीसँगै आहलमा डुब्दैगर्दा
कति ब्याक्टेरिया निलियो– थाहै भएन ।
मलको डोकामा मलसँगै
आमाले बोक्दैगर्दा
यो शरीरमा कति प्रकारका ब्याक्टेरिया छिरे
कुनै लेखाजोखा छैन ।
बा–आमाले रोपाइँ गर्दैगर्दा
मेरा पनि मजत्रै साना खेतहरु थिए
हिलोमा धान रोप्दै गर्दा
कति जीवाणुसँग खेलियो– यादै रहेन ।
घाँस काट्दा काटिएको आलो घाउमा
पिसाब फेरेर माटो दल्दैगर्दा
कति कीटाणु सरे– हिसाबै रहेन ।
महाशय !
स्यानिटाजरले हात धोएर मात्रै
छुने गर्छौ आफ्ना नानीहरु
यो धर्तीको माटो त झन्
छोएकै छैनन् तिम्रा नानीहरुले
जन्मँदै आइसोलेसनमा या आईसीयूमा छन्
तिम्रा नानीहरु
जन्मेदेखि नै आईसीयूमै छौ तिमी ।
एउटै ग्रहमा पनि
अर्कै विश्वमा बाँचेका तिमी
एउटै प्रजातिमा पनि
अर्कै जाति हुँ भन्ने तिमी ।
मेरो विश्वमा त रोग उस्तै छ
मेरो विश्वमा त भोक उस्तै छ
मेरो विश्वमा त शोक उस्तै छ
कोरोनाभन्दा पनि धेरै
भयानक छन् कहरहरु ।
महाशय !
मृत्यु तिम्रो होस् या मेरो
मृत्यु त मृत्यु नै हुँदोरहेछ होइन र ?