
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच छिटै नै पार्टी एकता गर्ने घोषणासहित ‘वाम’ गठबन्धनको घोषणा गर्न राजधानीस्थित एक तारे होटलमा आयोजित कार्यक्रममा प्रचण्डको छेउमा बसेर तत्कालीन एमाले अध्यक्ष खड्ग ओलीले भनेका थिए– ‘अबको एकाध महिनापछि हाम्रो सरकार बन्दैछ त्यसपछि तमाम नेपालीहरुले यही देशभित्र बेग्लै संसारको अनुभूति गर्न पाउनेछन् ।’

सोही क्रममा ओलीले अझ अगाडि बढ्दै भनेका थिए– ‘हाम्रा चेलीबेटी/युवतीहरुले मध्यरातमा छोटा लुटा लगाएर निर्धक्कसँग काठमाडौंका सडकमा हिँड्न सक्नेछन्, कोही–कसैले गिद्धेनजर लगाउने सक्ने अवस्था बहाल रहने छैन, नारी अस्मिताको सम्पूर्ण सुरक्षा सरकारले गरिरहेको हुनेछ । शान्ति–सुरक्षा, अमनचयन र सुशासनको नमूना देख्न पाइनेछ ।’

त्यसपछिका विभिन्न चुनावी अभियानमा, ओली सरकार बनिसकेपछिका विभिन्न कार्यक्रम, घोषणा र पर्व–अवसरहरुमा यस्ता अरु सयौं आश्वासन बाँडिए । वैदेशिक रोजगारीबाट फर्किएकालाई सहुलियतपूर्ण ऋण, शिक्षित बेरोजगारहरुलाई सहुलियतपूर्ण ऋण, महिला उद्यमीहरुका निम्ति सहुलियतपूर्ण ऋण, शतप्रतिशत साक्षरता अर्थात निरक्षरतामुक्त नेपाल, सामाजिक सुरक्षा र पूर्ण रोजगारीको प्रत्याभूति आदिजस्ता घोषणा बडो तामझामका साथ गरिए । ती घोषणाका अवसरमा राज्यकोषबाट खर्बौं रकमको दोहन पनि गरियो ।

सडक नागरिकमुक्त नेपाल, सडक बालबालिकामुक्त नेपाल, भिखारीमुक्त नेपाल, खुला दिसा–पिसाबमुक्त नेपालजस्ता अरु दर्जनौं घोषणा समेत स्वयं प्रधानमन्त्रीकै मुखबाट पटक–पटक गरिए । र, यिनै बहानामा गरिब नेपालीमाथि थुप्रै शीर्षकमा करको बोझ पनि थपियो र राज्यकोषको थप दोहन समेत गरियो । तर, प्रधानमन्त्रीका ती आश्वासनको तीन वर्षपछि, भारी बहुमतका साथ स्वयं ओलीकै शासन बहाल रहेको अवस्थामा आज कस्तो छ त नेपाल र नेपालीको हविगत ?
०७७ को मध्य ‘बडादसैं’ अर्थात् ‘महाष्टमी’ का दिन राजधानीको सिनामंगल भत्केको पुल नजिकै भेटिएका एक बेवारिसे वृद्ध, हालै बडो तामझामका साथ उदघाटन गरिएको रानीपोखरी छेउमा अवस्थित जमलतिरको आकाशेपुलमा मादल बजाएर भीख मागिरहेका वृद्ध र पर्यटन बोर्डनजिकै भृकुटीमण्डप पट्टिको फुटपाथमा बसेर सडकतिर खुट्टा तेर्स्याइरहेकी एक बेवारिसे महिलाका विभिन्न हाउभाउ माथि प्रस्तुत तस्बिरहरूमा देखिहाल्नु भयाे ।