कोरोना महामारीले यतिबेला विश्वका अरू देशमा झैं नेपालमा धेरैलाई आक्रान्त पारेकाे छ । दैनिक पाँच हजारभन्दा बढी नयाँ संक्रमित थपिँदैछन्, दैनिक सय जनाभन्बदा ढीको मृत्यु हुने गरेको छ । हुन त यो संख्या त्यति विश्वसनीय छैन । परीक्षण नै एकदम कम मात्र गरिएकाले संक्रमित संख्या थाेरै देखिएकाे प्रस्ट छ । नेपालमा समेत नयाँ भेरियन्टको कोरोना संक्रमण फैलन थालेपछि दैनिक दसाैं हजारसम्म संक्रमित देखापर्न थालेका थिए ।
कोरोना संक्रमण राेकथाम तथा नियन्त्रणका लागि भन्दै वैशाखको दोस्रो सातादेखि मुलुकका विभिन्न भाग हुँदै करिवकरिव पूरै देशभर निषेधाज्ञा सुरु गरियो । गत वर्षको जस्तो देशव्यापी लकडाउन घोषणा नगरिए पनि संक्रमित संख्याका आधारमा सहरी क्षेत्रमा पाँच सय र पहाडी क्षेत्रमा दुई सय सक्रिय संक्रमित भएपछि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिइयो । बिस्तारै नेपाल राष्ट्रभर निषेधाज्ञा जारी भयो । कोरोना महामारीको ‘हटस्पट’ का रुपमा देखा परेकाे काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा अझै कायम छ ।
कोरोना महामारीका कारण सर्वसाधारणका लागि निकै ठूलो चुनौती खडा भएको छ । परिवारका लागि गाँस बास जुटाउन दैनिक ज्याला मजदुरी गर्नेहरुलाई निकै समस्या परेको छ । महामारीका कारण बन्द भएको आयस्रोतले ‘रोगले मर्ने कि भोकले’ भन्ने विकल्प छान्न बाध्य भएका छन् उनीहरु । त्यसमा पनि मागेर गुजारा गर्दै आएका रुद्र बुढाथोकीको कन्तविजोग छैन यहाँ ।
रुकुम पश्चिम सानीभेरी गाउँपालिका–८ साविक सिम्ली गाविस–७ का रुद्र (नागरिकतामा नाम रुद्रे बुढाथोकी) काठमाडौंमा मागेर जिविकोपार्जन गर्दै आएका थिए । दुवै मृगौलाले काम गर्न छोडेपछि विगत तीन वर्षदेखि काठमाडौंमा मागेर नै आफूलाई बचाई राखेका थिए । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा डाइलोसिस गराउँदै आएका ४६ वर्षीय रुद्रले सहयोगको हात फैलाउँदै धेरै मान्छे जम्मा हुने स्थान, सडक, पसल, मठ–मन्दिर परिसरमा माग्दै हिड्थें ।
सहयोगी मनहरुबाट पाँच रुपैयाँ, १० रुपैयाँ गरी जम्मा गर्थे र आफ्नो उपचार पनि गरेका थिए, काठमाडौंमा बाँचेका पनि थिए । अस्पतालले डाइलोसिसको शुल्क मिनाहा गरिदिएपनि आवश्यक सुई तथा औषधिहरु भने उनले किन्नुपथ्र्योे । हप्तामा दुई पटक डाइलोसिस गर्दा झण्डै ७ हजार खर्च हुने उनी बताउँछन् ।
‘मेरो दुवै मृगौलाले काम गर्न छोडेको छ । मलाई बचाई दिनुस’ भन्ने व्यानर बोकेर हिड्ने रुद्रका लागि अब भने कोरोनाका कारण ती सबै स्थान बन्द भएका छन् । तीन महिना अघि समाचार संकलनकै सिलसिलामा लेखकसँग रुद्रेको भेट अस्पताल परिसरमा भएको थियो । त्यतिबेला रुद्रले ‘जति दुःख परेपनि बाँचेकै छु’ भनेका थिए ।
‘मागेरै बाँचेको छुृ, परिवार पनि हेर्छु’ भन्ने आत्मविश्वास थियो उनमा । अहिले रुद्रका लागि माग्न बन्द भयो यता मुखमा माम । ‘गरिबका लागि को नै हुँदा रहेछ र हजुर, अब त मर्छु होला ! खाने रासन छैन, काम गर्न सक्दिन, मागेर जेनतेन बाँचेको थिए, त्यो पनि कोरोना महामारी र सरकारले जारी गरेको निषेधाज्ञाले सकियो । अब मेरा लागि सम्पूर्ण ढोकाहरु बन्द भए, कहिले काल आउँछ र लान्छ ।’ उनको पीडाडादी शब्दहरु पोखिरहेका थिए ।
एक हप्ता अघि टोखा नगरपालिका वडा नं. ३ ले केही खाद्यान्न सामग्री बाँडेको थियो । एक बोरा चामल, पाँच केजी दाल, गेडागुडी, नुन मसला लगायत गरी ७० परिवारलाई प्रदान गरेको थियो । त्यसमा रुद्रे पनि परेका थिए । ‘खाने रासन सकिएर भोकै थिए, त्यस्तैमा वडामा खाद्यान्न बाँडेको थाहा पाए र म पनि गए, मैले पनि पाए ।’
निषेधाज्ञाका बेला सामान्य मानिसहरुका लागि पनि कमाउला र खाउँला भन्ने स्थिती छैन । अझ रुद्रे जस्ता शारीरिक असक्त व्यक्तिहरुका लागि यो महामारी निकै सकसपूर्ण बनेको छ । ‘कसैले सहयोग गरे बाँच्थे कि’ भन्ने रुद्रेको आशा समाप्त भएको छैन । उनी अझै पनि सहयोगका लागि याचना गरिरहन्छन् ।
महाराजगञ्ज हस्पताल पछाडि रहेको सुकुम्बासी बस्तीमा मासिक ३ हजार तिरेर रुद्रे कोठामा बस्छन् । यसअघि श्रीमतीले उनको स्याहार गर्दै आएको भएपनि नयाँ भेरियन्टको कोरोनाका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने भएपछि उनले श्रीमतीलाई घर पठाए । अहिले उनी कोठामा एक्लै बस्छन् । उठ्दा–बस्दा थुर्थुर काम छुट्ने उनलाई हेर्ने कोही छैन । ‘श्रीमतीलाई यतै बस भन्न सकिन, गाउँमा छोरीहरुको विचल्ली हुने पीर, यता खान नपाइएला भन्ने ।’
घरको आर्थिक स्थिति कमजोर भएका कारण त्यहाँको उत्पादनले दुई महिना खान नपुग्ने उनी बताउँछन् । आफूले मागेर नै उपचार खर्च, खाना, कोठा भाडा समेत तिर्दै आएका रुद्रे कहिलेकाँही घरमा छोरीहरुलाई खर्च समेत पठाउथे ।
पहिला डाक्टरकै सिफारिसमा नजिकैको ‘आरोग्य विरामी आश्रम’मा बसेका रुद्रे कोभिड १९ महामारीमा उनी संक्रमित भएपछि आश्रमबाट निकालिए । त्यसपछि अस्पताल नजिकै कोठा लिएर बसे, र ‘माग्न’ सुरु गरेको बताउँछन् ।
धुम्रपान तथा मदिरापान नगर्ने रुद्रे माग्न बसेको बेला कतिले रक्सी खानलाई मागेको भन्दा उनको मन अमिलो हुन्थ्यो । उनी भन्थे, ‘रहरले कसैले पनि माग्दैन होला । जीवनको अन्य विकल्पहरु सकिएपछि मान्छे बाँच्नका लागि ‘माग्न’ बाध्य हुदोरैछ । बरु सहयोग नगरुन, तर त्यस्तो तिखो बाँण हान्दा, मुटुमा गहिरो चोट लाग्दो रैछ हजुर ।’
पहिले भारतमा मजदुरी गरेर परिवार पालेका उनका ६ वटी छोरी छन्, जेठीको गाउँमै विवाह भइसक्यो, माइली मानसिक अपांग जस्तै छिन् । कान्छी छोरी तीन वर्षकी भईन् ।
५ दाजुभाईमध्ये साइलो रुद्र, एउटा दाजुलाई द्वन्द्वकालमा सेनाले मारेको रहेछ । सबै दाजुभाई अंश–वण्डा गरी आ–आफ्नो बाटो लागि सकेका छन् । विरामी भएपछि सुरुवाती अवस्थामा गाउँका केहीले अलि अलि सहयोग गरेको भएपनि पछिल्लो समय भने उनले मागेर नै जिविकोपार्जन गर्दै आएका थिए । ‘गाउँको ठाउँ कति सहयोग गरुन्’ उनी सम्झिन्छन्, ‘रुकुमबाट निर्वाचित जनप्रतिनिधि जनार्दन शर्मासँग गत साल भेटेर आफ्नो अवस्थाबारे अवगत गराउँदै आर्थिक सहयोगको प्रस्ताव गरेका रहेछन् रुद्रले । पूर्वमन्त्री शर्माले पार्टीले सहयोग गर्न नसक्ने भन्दै, व्यक्तिगत रुपमा १०/१५ हजार सहयोग गरौंला भनेर आश्वासन मात्रै दिएछन् । ‘त्यसपछि उनीसँग भेट गर्नै पाइएन, के को सहयोग मिल्नु !’ उनी सम्झिन्छन् ।
‘सन्चो भएको बेला त पशुपति मन्दिर परिसरमा जान्थे, त्यहाँ माग्न बस्थे, भक्तजनहरुले ५/१० रुपैयाँ दिन्थे’ ती दिन सम्झिन्छन् । कोही मनकारीहरुले आफूलाई १००/२०० रुपैयाँ पनि दिने गरेको सम्झना छ रुद्रेलाई । माग्दै हिड्ने क्रममा कोहीले भने साह्रै नमिठो हुने गरी बचन लाउने गरेको सम्झना छ उनलाई । कहिले बाटोमा, कहिले पसल–पसलमा माग्दै उनको दैनिकी चलेको थियो ।
गाउँमै छँदा एक्कासी स्वास फुल्ने समस्या देखिएपछि स्थानीयको सहयोगमा टिचिङ अस्पताल ल्याइयो । मुटुमा समस्या र मृगौला पनि खराबी देखिएपछि एक वर्षसम्म औषधि खाएका थिए उनले । त्यसपछि मुटुको समस्या हल भएपनि मृगौला दुवै सकियो । ‘२०७५ सालदेखि दुवै मृगौला विग्रियो । डाइलोसिस गरेर मात्रै हुँदैन, ट्रान्सप्लान्ट गर्नुपर्छ भनेका छन् डाक्टर साब’हरुले । २२/२४ लाख चाहिन्छ रे । कहाँबाट ल्याउनु ?’ निराश अनुहार बोलिरहेको छ, ‘५/१० रुपैयाँ मागेर हिड्नेले कहाँबाट ल्याउनु २२/२४ लाख ?’
रुद्रेको दुवै मृगौलाले काम गर्न छोडेको र उनको पारिवारिक स्थिति कमजोर भएको भनी सानोभेरी गाउँपालिकाले सिफारिस बनाइदिएको रहेछ । त्यसैका आधारमा टिचिङ अस्पतालले डाइलोसिस निःशुल्क गरिदिएको रहेछ । अहिले बाँच्न कठिन भएको भन्दै कुनै आश्रमतिर बस्न पाए हुनथ्यो भन्ने इच्छा व्यक्त गर्छन् रुद्रे ।
सरकार भन्छ, ‘काठमाडौं माग्नेरहित शहर भईसक्यो । प्रधानमन्त्री केपी ओलीले पटक पटक सार्वजनिक रुपमा आफ्नो सरकारले कसैलाई भोक्कै बस्नु नपर्ने, कोही भोकले नमर्ने अवस्था सृजना गरेको बताउने गरेका छन् । तर सडकको यथार्थ भिन्न छ । देशमा हजारौं रुद्रहरु एक मुठी सास धान्न भौंतारिरहन्छन् । अझ कोरोना महामारीपछि उनीहरु आशा निभ्न लागेको दियो बनेको छ । ‘पैसा र पहुँले मानिस शक्तिबाली बन्दोरहेछ, म कसैलाई चिन्दिन, दिनदिन भोकै मर्ने दिन आयो ।’ रुद्रले पीडा पोखे ।
संविधानमा सामाजिक सुरक्षा ज्ञारेण्टी गरिएको छ । बाँच्न पाउने अधिकार छ, स्वास्थ्य उपचारको ज्ञारेण्टी गरिएको छ । तर त्यसको पालना कहिले हुने ? रुद्रहरुले बाँच्न पाउने दिन कहिले आउने ?
सहयोगी मनहरुले निम्न मोबाइल नम्बरमा सम्पर्क गरी रुद्रे बुढाथोकीलाई
बैंकमार्फत रकम उपलब्ध गराएर सहयोग गर्न सक्नुहुनेछः
माेबाइल नं.: ९८४८४५०९८२
बैंकः एनआईसी एसिया बैंक
खाता नामः Rudra Budhathoki, महाराजगञ्ज शाखा
खाता नम्बरः ०१३५७५०७९३६२७००१