newskoseli.Com

सत्ता गठबन्धनको निर्णय : पौडेलको नेतृत्वमा राजनीतिक संयन्त्र (यस्ता छन् जिम्मेवारी)

सत्ताधारी पाँचदलीय गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ । सोमबार साँझ बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको हो ।

सत्ताघटक दलहरुबीच दुई–दुई महिनामा संयन्त्रको नेतृत्व परिवर्तन हुने गरी आलोपालोका आधारमा नेतृत्व गर्ने सहमति भएको छ । पौडेलले दुई महिनापछि अर्को सत्ताघटक दललाई नेतृत्व हस्तान्तरण गर्नेछन् । सत्ताधारी दलहरूबीच समन्वय कायम गरी सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन, गठबन्धनबीच अन्तर्विरोध उत्पन्न भए त्यसको भए निवारण गर्न तथा राष्ट्रियसभा र उपनिर्वाचनको तालमेलमा सहजीकरण गर्न संयुक्त संयन्त्र गठन गरिएको सत्तापक्षको भनाइ छ ।

संयन्त्रमा सत्ता गठबन्धनका ५ दलका २–२ जना सदस्य रहने जानकारी नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले दिएका छन् । सो संयन्त्रमा मन्त्रिपरिषदका तर्फबाट समेत सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहने भएका छन् । संयन्त्रमा सदस्य नरहे तापनि प्रधानमन्त्री शेरबहादुर देउवा कार्यदलको बैठकमा सहभागी हुने माओवादी नेता श्रेष्ठले बताए ।

संयन्त्रमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल र थप अर्का नेता (अर्का नेताको नाम दिन बाँकी), जसपाबाट उपेन्द्र यादव र अर्का एक नेता (नाम दिन बाँकी), राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र अर्का एक नेता (नाम दिन बाँकी) सदस्य रहने भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर